‘जिब्रोको गरिमा, मीठो बोलीमा’ .... एक बिहान कार्यालय जाँदै गर्दा आफू चढेको गाडीको ढोकामा टाँसिएको स्टिकरमा आँखा ठोक्कियो।
कार्यालय समय ,कोचाकोच यात्रु, सहचालकको कर्कस आवाज र चालकको बेसुरको गाडी कुदाइले यात्रु आजित थियौं।
ग्वार्को पुलदेखि नै जाम थियो। सातदोबाटोमा लामै जाम थियो, एकजना यात्रु त्यहीँ जामको मेसोमा सुटुक्क ओर्लिए। बीच बाटोमा सिठी फुकिरहेका ट्राफिक दाइले आँखा तरे , सहचालक भाइले गाडीको ढोका लगायो, ‘ल दाइ जाम ..जाम.. मामा(ट्राफिक)ले छड्के आँखा लाउँदैछ । अस्ति भर्खर आएको हो यो, खुब कडा छ , बीच बाटोमा मान्छे झारेको देख्यो भने चिट काटिहाल्छ , छिटोछिटो कटिहालौं।’
चालक दाइले रिसाएको पाराले झ्याप्प झ्याप्प ब्रेक हाने। उभिएका यात्रु आपसमा ठोक्किए , अगाडि उभिएकाहरू हुत्तिएर पछाडिसम्म पुगे। ठोक्किएपछि यात्रुहरू कराए, ‘कस्तो ड्राइभर हो? मनलाग्दी ब्रेक लगाउँछ राम्रोसँग गाडी चलाउन आउँदैन?’ चालक दाइ रिसाएरै स्टेरिङ घुमाए, ट्राफिकले अरु गाडीलाई जान इशारा गरे, हामी चढेको गाडीलाई जान दिएनन्। चालक जर्वजस्ती अगाडि बढ्न खोजे, सहचालक भाइले ढाडस दिँदै भने , ‘ए दाइ उता हेरेको छ यही बेलामा कटाइहाल्नुस्.. छिटोछिटो’... तर ट्राफिक दाइ टसमस भएनन्।
ट्राफिक दाइ सिठी फुक्दै गाडीको नजिकै आए र चालकलाई हप्काए, ‘ओइ कान सुन्दैनस्? गाडी साइड लगा’...चालक ट्राफिकको सामू फतक्कै गले , ‘सर मैले गल्ती गरेको छैन, अफिस टाइम छ यत्रा यात्रु दस बजे अफिस पुग्नुपर्छ, जाममा एकजना यात्रु झर्यो त्यो मेरो गल्ती होइन सर।’
चालकले निकै नम्र भएर सरका सर साइनो लगाइरहे।
‘ओइ मुख सम्हालेर बोल, सब देखिराछु,उल्टै सिकाउँछस्?’ ट्राफिक दाइ जंगिए।
यो वार्तालाप नियालिरहेका यात्रु कैदी बन्दीजस्तै निरिह बनिरह्यौं। एकजना वकिल दाइ रहेछन सहचालक भाइलाई ढोका खोल्न अह्राएर ओर्लिए।
ट्राफिक र चालक दुवैलाई सम्मान गर्दै उनले चालकको गल्ती नभएको बताए। ‘बाटो जाम भएको बेलामा कोही यात्रु ओर्लन्छ भने त्यसले ट्राफिक नियममा कसरी असर पार्छ बताउनुस् ? फेरि कहिल्यै मान्छे ओर्लंदै नओर्लने ठाउँ हो र यो? अरु बेलामा ओर्लंदा केही नहुने तपाईंले देख्दा महाभारत हुने? जाम थियो यात्रु झरे, जाम खुल्यो गाडी कुदयो इश्यु यत्ति होइन?’
‘चालकले यति नम्र भएर माफी माग्दा पनि तपाईं के बादशाह हो सडकको ? तपाइलाई राजा महाराजा जस्तो जिउजिउ गर्नुपर्ने? शासन चलाउने पनि तरिका हुन्छ नि, हिँड भाइ गाडी चलाऊ , दस बजे बहसमा जानुपर्ने अनावश्यक लफडामा फस्नुपर्छ ’..रन्किँदै गाडीमा चढे वकिल दाइ।
नजर त्यही स्टिकरमा धेरैबेर रोकियो, महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा भन्ने वाक्यांश लेखिएको थियो।
‘जिब्रोको गरिमा मीठो बोलीमा’ भन्ने श्लोगान तिनै ट्राफिक दाइजस्तै कर्मचारी कार्यरत कार्यालयकै हिस्सा थियो।
उनले त्यही कुरा राम्रो भाषामा भनेको भए के बिग्रन्थ्यो होला र? दस मिनेटसम्म चालकले सर मेरो यसमा केही गल्ती छैन, अबदेखि यस्तो हुँदैन भनिरहँदा, वकिल दाइले मध्यस्थता गर्दा पनि केही पार लागेन, गाडी अगाडि बढ्ने छाँट देखिएन।
‘ओइ ब्लुबुक निकाल, लाइसेन्स निकाल’ एकदम हुकुमी शैलीमा ट्राफिकले आदेश दिइरहे, चालक रिसले मुर्मुरिँदै भने जतिका कागजात निकाल्दै गए। सातदोबाटोको प्रहरी बिट पारीपट्टिको बाटोमा गाडी साइड लगाएर ती ट्राफिक दाइले चिट काटिहाले।
ट्राफिकले काटेको चिटको विवरणमा लेखिएको थियो अभद्र व्यवहार ....अबचाहिँ गाडी अगाडि बढ्यो। मनपरी बोल्ने उनै ट्राफिक दाइ, फेरि उनैले सर सर भन्दै साइनो लगाउने चालकलाई चिट काट्ने अभद्र व्यवहार गरेको भनेर! कस्तो नियम हो? मनमनै अचम्म लाग्यो । गलत कामलाई गलत भन्नुपर्छ तर गलत काम जान अन्जानमा भइहाल्यो र त्यसको प्रायश्चित सम्बन्धित व्यक्तिले गरिसक्यो, उसले दसौंपटक माफ पाऊ गल्ती भयो भन्दै झुकिसक्यो तर पनि माफ नपाइने कस्तो संस्कार हो?
चिट समातेपछि चालकको रिसको पारो सीमाभन्दा स्वाट्टै माथि पुग्यो। बेसूरले गाडी हुइँकाए, ‘साला चिट काटिहाल्यो, प्यासेन्जर पनि घाँस खाने मात्रै चड्छन् मनलाग्दी गर्छन्, एक पाइला हिँड्न नसक्ने जहाँ जे गर्दा पनि हुने, उसलाई पनि यहीँनेर झर्नुपर्ने? बाटो क्रस भएपछि झरेको भए पनि हुन्थ्यो नि ....। चढ्ने र ओर्लने केही ठेगान हुँदैन, अगाडि नहेरी रोक रोक भनिरहन्छन्। पन्ध्र रुपैयाँको लागि पाँच सयको चिट काट्यो , तँलाई पख्लास नि!’ एकसूरले कराउँदै बाटोको ख्याल नगरी गाडी हुइँकाइरहे।
सहचालक भाइलाई झनै कराए, ‘ओए केटा थाहा पाइस् नि अब? अफिस टाइम दोस्रो ट्रिप गरौंला भनेको सालाले लोप्पा खुवायो यसलाई जान्या छ।’ जावलाखेल आइपुग्ने बेलामा सहचालक भाइले जनाउ दिए, जावलाखेल झर्नेछ, पछाडिबाट ‘छ’ भन्ने आवाज आयो।
‘ए केटा झार्दिहाल फेरि अर्को कप्स (ट्राफिक)आउँला नि!’
पछाडिबाट यात्रु अगाडि आउँदै थिए फेरि ट्राफिकको सिठी बज्यो, ‘ओइ झारिहाल हिँडाइ हाल किन रोकिराख्या?’ यात्रु राम्रोसँग ओर्लन पनि नपाउने कस्तो ट्राफिक नियम हो? ओर्लने यात्रु कराउँदै ओर्लिए।
कुपन्डोलमा एउटा माइक्रो सडकपेटीको बारमा ठोक्किएछ, यात्रुलाई केही भएनछ, त्यसकै कारण बाटो पूरै जाम।
त्यहीँ माइक्रोका आधाभन्दा बढी यात्रु हामी चढेकै गाडीमा चढे। के कारणले दुर्घटना भयो? के के भयो? गाडीमा चढ्ने जतिलाई प्रश्न सोधियो।
‘ट्राफिक र ड्राइभरको झगडा परेको थियो, त्यही रिसले आँखा नदेखि गाडी हाँक्दा झन्डै हामीलाई मारेन ... गल्ती गर्ने उनीहरू ज्यान धरापमा पर्ने हाम्रो ...धन्न बाँचियो.’.यात्रुले सुनाए।
‘ए गुरुजी सुन्नु भो नि, अलि शान्त भएर चलाउनुस् है’ .. अगाडिको सिटमा बसेका यात्रुले चालकलाई सम्झाए।
‘गाडी चलाउन तपाईंहरूले सिकाउनुपर्छ? ’ चालकको रिसले अझै शान्ति पाएको थिएन।
चिल्ला कारहरूले नियम पालना नगर्दा पनि उनीहरूसँग निकै साइनो लगाएर बोल्छन् ट्राफिक दाइ दिदीहरू।
भाडाका सवारी साधनमाथि किन यति क्रुर बनिदिन्छन्? क्षमता भन्दा बढी यात्रु कोच्दा ट्राफिक बोल्दैनन, मनलाग्दी भाडा उठाउँदा बोल्दैनन्, एकठाउँ जाने भनेर चढाउने गन्तब्यमा नपुराइ यात्रु ओराल्ने चालकसँग ट्राफिक मौन रहने तर आँखाले देखुन्जेलसम्मको लामो जाममा आजित भएर एक दुई जना यात्रु ओर्लंदा नियम उल्लंघन भयो भनेर चिट काट्ने? यो तरिका ठीक भएन। यात्रुलाई पनि जाममा गुम्सिएर बस्नुभन्दा हिँडेरै जान छिटो लाग्यो ऊ ओर्लियो। यसबाट हानी कसैलाई भएको थिएन तर पनि चालकले सवाल जवाफ गर्दा अभद्र व्यवहारको चिट पाइहाले।
थापाथली पुल अगाडिको बाटोबाट एउटा मोटरसाइकल मोडिन खोज्यो, यात्रुहरू कराउँदै थिए , ‘बाइकवालालाई एक इन्च ठाउँ खुला देख्नुहुँदैन बाइक घुमाइहाल्नुपर्छ। बाइकवालाकै कारण जाम हुन्छ।’
परैबाट ट्राफिकले बाइकलाई सिधै जान अह्राए तर पनि बाइकवाला आफ्नै रूटमा घुमाउनै खोजे।
ट्राफिक दाइ दौडिएर आइपुगे, ‘ए भाइ तपाईंलाई कति पटक भन्नुपर्छ? यहाँबाट बाइक घुमाउन मिल्दैन’, बाइकवालाले नर्भिक अस्पतालमा जाने बताए। ‘तपाईं जहाँ जानुस् त्यो मेरो सरोकार होइन तर सिधै जानुस् यहाँबाट मोड्न मिल्दैन।’
बाइकवाला सरकारी नम्बर प्लेटको बाइकमा थिए, ‘सरकारी कर्मचारीसँग बोल्ने सोमत छैन? किन मिल्दैन? कतिपटक यहीबाट घुमाएर गइराछु, तपाईंले भनेर हुन्छ ? थापाथली जाने मान्छे माइतीघर पुगेर घुमाउनुपर्ने? ’ सवालजवाफ चल्यो एकैछिन ।
‘ए सरकारी नम्बर प्लेट पो? गृहमन्त्रालयका सहसचिवको गाडीको हावा त फुस्कियो नियम पालना नगर्दा यस्ता सरकारी नम्बर प्लेटमा फूइँ नलाउनुस् भाइ, सरक्क जानुस्।’
चालक निऊँ खोज्न थालेपछि बाइक साइड लगाएर चिट काटिहाले।
‘ए टेम्पो किन रोकिराख्या?’
‘हिजोको ब्लुबुक खोइ?’ टेम्पो चालकले सोधे।
‘पैसा बैंकमा तिर्ने, बग्गीखानामा जाने लिने’, संवादबाटै थाहा भयो हामीभन्दा अगाडिको टेम्पोको पनि चिट काटिएकै परेछ।
त्रिपुरेश्वर खानेपानी संस्थान अगाडि ओर्लने यात्रुले गाडी रोक्न भने, गाडी रोकिएन। यात्रु कराए , ‘खानेपानी संस्थाननिर रोक्नु भन्या होइन भाइ कान सुन्दैनौ?’
‘यहाँ रोक्न दिँदैन’, सहचालक भाइले भने।
‘अघि त्यत्रो चिट काटिसक्यो एक जनाले गर्दा, अर्को जना फेरि चिट कटाउन खोज्दैछ, रोक्न मिल्ने ठाउँमा रोकिहाल्छ नि ’, सुन्धारामा पुगेर बल्ल गाडी रोकियो।
यात्रु निकै रिसाए, भनेको ठाउँमा झर्न नपाएपछि।
चालक, सहचालकसँग राम्रोसँग बोल्दैनन्, सहचालक यात्रुसँग उस्तै कर्कस आवाजमा बोल्छन्।
सरकारी नुनपानी खाएका राष्ट्रसेवक ट्राफिक प्रहरीहरू चालकहरूसँग उस्तै रूखो बोल्छन्, चालक प्रहरीसँग उस्तै रूखो बोल्छन्।
नियम मान्ने ठाउँमा सबै जनाले मान्नुपर्छ। ट्राफिक प्रहरीको सक्रियताले धेरै ठाउँमा आपराधिक गतिविधि न्यून भएका छन, मापसेका कारण हुने दुर्घटना धेरै कम भएका छन्, मनलाग्दी गर्ने चालकहरू ठेगान लागेका छन् तर नियम सबैठाउँमा एकैनासको हुनुपर्छ।
चिट काटेर पैसा तिराउँदैमा ट्राफिक नियम पालना भएको मानिँदैन। चिट काट्ने पनि कारण चाहिन्छ, मनलाग्दी पारामा ट्राफिकले जे लेख्दा पनि हुने चलन राम्रो होइन। सकभर मीठो बोली, भाषामा अनुरोध, आग्रह गर्नुपर्छ त्यति गर्दा पनि भएन भने आवश्यक पर्दा कठोर पनि बन्नुपर्छ तर भाडाका सवारी साधन चलाउनेसँग रूखो र अभ्रद व्यवहार गर्नु राम्रो होइन। नम्र मीठो स्वरमा मीठो बोल्दा कसैलाई घाटा हुँदैन।
ठाउँठाउँमा ठूला होर्डिङ बोर्डहरू देखिन्छन् जहाँ प्रहरी नागरिक दाजुभाइ, सभ्य राखौं समाजलाई, प्रहरी मेरो साथी, जिब्रोको गरिमा मीठो बोलीमा यस्ता नाराहरू टाँसिएका हुन्छन्। नारा र व्यवहारमा आकाश जमिनको फरक छ। व्यवहारमा दैनिक जसो यात्रा गर्दा, भोग्दा भन्न मन लाग्छ जिब्रोको गरिमा, रूखो बोलीमा .....।