केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा मेयर भएको नेपालगन्ज उपमहानगरपालिकाले समातेर काञ्जी हाउसमा राखेका ३७० गाईलाई ट्रकमा हालेर दैलेखतिर पठाइयो। यसरी पठाएका गाई सुर्खेतको वीरेन्द्रनगर कटेपछि कटुवाको भीरबाट खसालेको अवस्थामा भेटिए। तीमध्ये करिब ३७ वटा मरेका र केही घाइते अवस्थामा थिए भनिन्छ।
नेपाल प्रहरीले गाई छाडेर फर्कंदै गरेका आठवटा ट्रक र त्यसका चालक तथा सहचालकलाई तत्कालै पक्रेर अनुसन्धान सुरू गरेको छ। यसबीच गौहत्या भएको भनी गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार, नेपालगन्ज उपमहानगर लगायतले अनुसन्धान समिति गठन गरेका छन्।
ट्रकहरू सकुशल भेटिनुले यो कुनै दुर्घटना नभई योजनाबद्ध रूपमै ती गाईगोरु मारिएजस्तो देखिन्छ। यसरी, तराईको सहर नेपालगन्जबाट गाईहरू दैलेख पठाउने र भीरबाट लडाउने काम किन गरियो? यसबारे फरक-फरक खालका समाचार आएका छन्। तथ्यपरक विश्लेषण गरी भविष्यमा यस्ता घटना नदोहोरिऊन् भनेर सचेत हुनु जरुरी छ।
गाईगोरुसँग मेरो व्यक्तिगत सम्बन्ध कहिले जोडियो म आफैंलाई थाहा छैन। म बुझ्ने हुँदादेखि नै मेरो घरमा एकहल गोरु, एउटा गाई र ८-१० वटा भैंसी थिए। हामी केटाकेटी गाई वा भैंसीको दूधमा खासै फरक राख्दैनथ्यौं, तर हजुरआमाले चाहिँ सधैं गाईको दूध खुवाउन विशेष जोड दिनुहुन्थ्यो। यसले हाम्रो बाल मस्तिष्कमा गाईले मनोवैज्ञानिक रूपमा 'विशेष' स्थान पायो। त्यसमाथि भैंसी अलि भद्दा, गाईगोरु अलि चिल्ला र सफा, त्यसै राम्रो लाग्ने।
त्योभन्दा मुख्य कुरा, गोठमै बाँधिने भएकाले भैंसीसँग केटीकेटीको खासै संगत र सम्बन्ध विस्तार हुने भएन। गाईगोरूसँग भने सम्बन्ध नजिकियो। अरूको भन्दा आफ्नो गोरु बलियो, ठूलो जुरो र चिल्लो छ भने त सानै अर्कै हुन्थ्यो। स्कुल छुट्टी भयो कि गाईगोरु चराउन जाने र दिनभरि आफ्नै उमेरका साथीहरूसँग खेल्ने। हिउँदको लामो छुट्टीमा त योजना भनेकै गोरु जुधाउने र सुख्खा चौरमा आगो (जुरजुरे) लगाउने, दाउरा जम्मा पारेर आगो बाल्ने र खाली खेतमा डन्डीबियो खेल्ने। गाईगोरु हेर्ने त बहाना मात्र हुन्थ्यो। यो बहानाले केटाकेटीलाई एउटा पर्व वा जात्राकै अवसर दिन्थ्यो। यसले पनि गाईगोरुप्रति दृष्टिकोण सकारात्मक बनाइरह्यो।
मैले सम्झेसम्म, मैले चिनेको पहिलो गाईको नाम 'राती' हो। यो गाई गाढा खैरो रङको अलि ठूलो र चिल्लो थियो। घरमा यसको विशेष स्थान थियो। यसो हुनुमा मुख्य कारण, यो गाई मेरो बुबालाई उहाँको मामाले कुनै अवसरमा दान गरेर दिनुभएको थियो रे। अर्थात्, मेरो हजुरआमाको माइत आरुचौरको उपहार थियो यो। माइती गाउँको गाई, त्यो पनि भाइले दान गरेर दिएको भनेपछि हजुरआमाले विशेष रेखदेख गर्नु हुन्थ्यो नै। गोठमा उसको स्थान र सम्मानै छुट्टै थियो। बर्खाभरि जोत्ने गोरुले भन्दा सधैं पोषिलो खान पाउँथ्यो। चरनबाट समयमा फर्केन भने हजुरआमाको सोधखोज सुरू भइहाल्थ्यो। मेरी आमाले भनेअनुसार यो गाई हाम्रै घरमा सात-आठपटक ब्यायो। पछि बिरामी भएर मर्यो रे।
गाईसँगको सम्बन्ध यतिमा मात्र सीमित थिएन। प्रत्येक वर्ष तिहारमा, सबैको जस्तै गाईको विशेष पूजा हुन्थ्यो। हामी केटाकेटीलाई त गाईको टाङमुनिबाट छिर्न लगाइन्थ्यो। घर वा छिमेकमा कुनै पूजा वा पर्व हुँदा अनिवार्य रूपले बनाइने पञ्चामृतमा पनि अनिवार्य रूपले गाईकै दूध, घ्यू र गौउत (पिसाब) प्रयोग गरिन्थ्यो। र, पाएसम्म अहिले पनि प्रयोग हुन्छ। पञ्चामृतमा मिसाइएको गाईको पिसाब नै मैले खाएको एक मात्र जनावरको पिसाब हो। न अरू कुनै जनावरको पिसाब खाएको छु, न भविष्यमा खान सकिएला।
पछि पढ्नलाई घरदेखि टाढा भइयो। गाईगोरुसँगको अन्तर्क्रिया स्वाभाविक रूपले कम हुँदै गयो। विदामा जाँदा यो प्रक्रिया दोहोरिन्थ्यो नै। देख्दादेख्दै गाँउबाट गाईगोरुको संख्या कम हुँदै गयो। खेती गर्ने मान्छेहरू अरबतिर लागे। सहरतिर पसे र पशुपालन गर्नै छाडे। केही वर्षको अन्तरालमा त गाउँमा खासै गाईगोरु नै देखिन छाडे। कुनै धार्मिक कार्यमा दान दिन गाईको बाच्छी चाहिँदा पूजा गराउने पण्डितले सँगै लिएर आउने, उनैसँग केही सय रुपैयाँमा किन्ने र उनैलाई दान दिएर पठाउने चलन चल्यो।
खासमा म हुर्केको स्याङ्जाको पहाडबाट मान्छे मात्रै बसाइँ सरेका हैनन्, खेती गर्ने जमिन बाँझो भएको मात्र हैन, स्थानीय जातका पशुहरू पनि हराउँदै गएका छन्। यीसँगै एउटा जीवनशैली र संस्कार पनि हराएको छ।
के साँच्चै मैले देखे र भोगेजस्तै गाईगोरु हराउँदै गएका हुन् त?
ठ्याक्कै त्यस्तै त हैन, तर गाईगोरु पाल्ने शैली, उपयोग र संख्यामा भने परिवर्तन हुँदै गएको छ। पछिल्लो समय किसानहरू गाईगोरुभन्दा दूध र मासु दुवैमा प्रयोग हुने भएकाले भैंसीपालनमा बढी आकर्षित छन्। कूल दूध उत्पादनको ६५ प्रतिशत भैंसीबाट प्राप्त हुन्छ भने ३५ प्रतिशत मात्र गाईबाट। साथै, भैंसी-राँगाले हाम्रो मासुको मागको ५४ प्रतिशत पूर्ति गर्छन्।
कृषि तथा पशु विकास मन्त्रालयका अनुसार सन् २००२ देखि २०१७ को १५ वर्ष अवधिमा भैसीको संख्या २१ लाखबाट बढेर ३१ लाख पुगेको छ भने गाईगोरुको संख्या ६० लाखबाट ६४ लाख जति मात्र। ती ६४ लाखमध्ये ३.१ प्रतिशत मात्र शुद्ध उनन्त जातका हुन्।
२०१७ को तथ्यांकअनुसार एक नम्बर प्रदेशमा करिब १६ लाख गाईगोरु छन् भने गण्डकी प्रदेशमा जम्मा ४ लाख ७५ हजार। भैंसी भने एक नम्बर प्रदेशमा करिब ४ लाख ५० हजार छन् भने गण्डकी प्रदेशमा ६ लाख ७५ हजार। अर्थात् १ नम्बर प्रदेशमा गाई लोकप्रिय देखिन्छ भने गण्डकी प्रदेश आसपास भैंसी।
तथ्यांकले के देखाउँछ भने, पशुपालन तथा डेरीको विकास र बजार विस्तार भएका इलाम, झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, नवलपरासी, कैलालीजस्ता जिल्लामा गाईको उल्लेखनीय संख्यासँगै उन्नत जातका गाई पाल्न थालिएको छ। अझ चितवन, नवलपरासी, मकवानपुरजस्ता जिल्लामा त उन्नत जातको भैंसीपालन व्यवसायको पनि व्यापक विस्तार भएको छ।
प्रदेश नम्बर २ मा भने गाईको संख्या उल्लेख्य छ तर उन्नत जातको गाई विस्तार हुन सकेको छैन। अर्थात्, व्यावसायिकीकरण भएको छैन। सुदूर-पश्चिममै पनि कैलालीमा उल्लेख्य रूपमा उन्नत जातको गाईपालन भए पनि कञ्चनपुरमा हुन सकेको देखिएन।
जिल्ला | कूल संख्या | उन्नत जातका गाई | न.पा | कूल संख्या गाई-भैंसी |
इलाम | १४२११६ | १५७६४ | | |
झापा | २४७१९५ | १३५५२ | मेचीनगर | ९९४३ गाई |
१६२२ भैंसी |
मोरङ | २५६३०२ | १५७८६ | बिराटनगर | १४६२८ गाई |
२०८४ भैंसी |
उदयपुर | १३००२१ | ९० | दमक | १०९४२ गाई |
१०२१ भैंसी |
खोटाङ | ९५७५६ | ० | | |
सर्लाही | ९३००९ | ११५० | | |
महोत्तरी | ८२६६३ | २४६ | | |
सिन्धुली | १३३१४४ | १४८ | कमलामाई | ९९४४ गाई |
३३८९ भैंसी |
मकवानपुर | ११७०९१ | ७९३३ | भक्तपुर | ५९ गाई |
६४ भैंसी |
चितवन | ७१८६४ | २४७४४ | भरतपुर | ४५८१ गाई |
८१४५ भैंसी |
नवलपरासी | ९६११३ | १२०९२ | काठमाडौं | १२६९गाई |
२९ भैंसी |
रोल्पा | १४२६१२ | ० | नेपालगञ्ज | ६४२ गाई |
४०२ भैंसी |
सल्यान | १२६६६० | ७४ | बुटबल | ७८३ गाई |
१३५२ भैंसी |
बझाङ | १३५९०४ | ० | पोखरा | ६८४९ गाई |
१३३४२ भैंसी |
कैलाली | १९४४५५ | ९६४४ | धनगढी | १५६४५ गाई |
५५६५ भैंसी |
कञ्चनपुर | १५११२२ | ३९२ | भिमदत्त | ३००३२ गाई |
१२७८१ भैंसी |
श्रोत: पशु तथ्याङ्क, २०१७, कृषि तथा पशुविकाश मन्त्रालय |
यी तथ्यांक पशु गणना बेला संकलन गरिएका हुन्। पक्कै पनि यो तथ्यांकले सहर तथा जंगलमा छाडा छाडिएका गाईगोरुलाई समेटदैन। तै पनि, जुन ठाउँमा भैंसीपालनको विस्तार र उन्नत गाईपालन भएको छ, तिनीहरूको मूल्य र बजारका कारण पनि गाईगोरुलाई छाडा छाड्ने सम्भावना कम हुन्छ। तर, केही सहरी क्षेत्र र चुरेको आसपासतिर असंख्य गाईगोरु छाडा छाडिएका छन्।
स्थानीय जातका गाईगोरु बेवारिसे छाड्नुमा केही आर्थिक कारण छन्। परम्परागत रूपमा गाई मल र दूधका लागि तथा गोरु जोत्न र गाडा तान्न प्रयोग हुने भए पनि प्रविधिको विकाससँगै गोरुको आवश्यकता कम हुन थाल्यो र लागत पनि कम भयो।
स्थानीय जातको गाई पाल्दा दूधबाट जति आम्दानी हुन्छ, त्योभन्दा बढी कमाई अरूबाट हुने भयो। यसले अवसर पाउनासाथ किसानहरू उन्नत जातको गाई वा भैंसीतिर आकर्षित हुने भइहाले। परपरागत रूपमा पाल्दै आएको स्थानीय जातको गाई विशेष गरी तराई तथा सहरी क्षेत्रमा बेवारिसे छाडिन थाले। समस्या यहीँबाट सुरू भएको हो। अझ केही समय पहिला त भारत र बंगलादेशतिर वैध-अवैध रूपमा रातारात निकासी हुन्थे, त्यो पनि अहिले भारत सरकारको गौरक्षा नीतिपछि रोकिएको छ।
छाडा छाडिएका पशुहरूको समस्या विशेषगरी सहरी क्षेत्र, राजमार्ग तथा मध्य र पश्चिमको चुरे र आसपासको क्षेत्र हो। अहिले यी क्षेत्रमा कति गाईगोरु छन् भनेर यकिन तथ्यांक छैन, तर हजारौं गाईगोरु जंगलमै छन्। चुरेको वन संरक्षण र माटो संरक्षणका लागि यिनीहरूको व्यवस्थापन चुनेौतीपूर्ण बन्दै गएको छ। अर्कातिर, सहर र राजमार्गमा छाडिएका गाईवस्तु अकालमा मरेका मात्र छैनन्, दुर्घटनाको कारण पनि बनिरहेका छन्।
त्यसैले, वातावरणीय, आर्थिक, धार्मिक तथा सांस्कृतिक हिसाबले यो पेचिलो र चुनौतीपूर्ण विषय बन्दै छ। त्यसैले, चुरे संरक्षण, सहरी सवारी दुर्धटनाको न्यूनीकरण र गाईगोरुकै जीवन संरक्षणका लागि पहल गरिनु जरुरी छ। ताकि, सडकका गाईगोरु ट्रकमा हालेर छिमेकी जिल्लाको भीरबाट लडाएको समाचार फेरि फेरि सुन्नु नपरोस्।