बेलाबखत प्रहरीको अनुसन्धान प्रक्रिया अनि कानुनी कारबाहीलाई लिएर अनेक प्रश्न उठाइन्छन्। शंका गरिन्छ अझ भनौं प्रहरीलाई राजनीतिको पक्ष-विपक्षमा बाँड्ने प्रयास गरिन्छ।
यसो गर्दा पनि शंका, उसो गर्दा नि शंका!
अझ कानुनत: आफ्नो प्रक्रियामा रहेका प्रहरी कारबाहीविरूद्ध सामाजिक सञ्जाल अनि मिडिया रंगिनेमात्र होइन प्रहरी कार्यालय घेराउ र बन्द हड्तालजस्ता गतिविधि देख्दा झन्डै साढे दुई दसकअघिका दृश्य आँखाअगाडि आए।
२०५२ सालमा म जिल्ला प्रहरी कार्यालय, झापामा थिएँ।
तत्कालीन नेकपा एमालेको नौ महिने सरकार ढलेर नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन भएको थियो।
राजनीतिक रूपमा एकदम सजग झापा, अहिलेका प्रधानमन्त्रीको गृहजिल्ला।
राजनीतिक गतिविधि धेरै नै हुन्थे। सानोतिनो कुरामा कुनै पनि बेला राजनीतिक रङ दिने काम भइहाल्थ्यो। त्यसैले प्रहरीले विशेष सजगता अपनाउनु पर्ने हुन्थ्यो।
यस्तैमा एकदिन प्रहरीमा खबर आयो- नेपाली कांग्रेसका कार्यकर्ताले एमाले सरकारको पालामा ‘आफ्नो गाउँ, आफैं बनाऔं’ कार्यक्रमअन्तर्गत अनारमनी क्षेत्रमा बनाइएको कच्ची बाटो, व्यक्तिगत जग्गा जबर्जस्ती मिचेर बनाएको भन्दै भत्काउन बेल्चा, कोदालो, ५-६ हल गोरु लिएर जोत्न, खन्न थालेका छन्। त्यसलाई रोक्न एमालेका कार्यकर्ता पनि लाठी बोकेर फिल्डमा पुगेका छन्।
सम्भावित भिडन्त रोक्न तत्कालै प्रहरी परिचालन गर्नुपर्ने भएकोले इन्स्पेक्टरको कमान्डमा प्रहरी त्यस क्षेत्रमा खटाइयो।
प्रहरीले रोक्ने प्रयास गर्यो, तर कांग्रेसको कार्यकर्ताले व्यक्तिगत जग्गा भएकोले भत्काउने र आफ्नो जग्गा समथर पार्ने जनताको अधिकार भएको भन्दै हस्तक्षेप नगर्न दबाब दिए। बाटोको केही भाग भत्काए।
उता एमालेका कार्यकर्तालाई बनिसकेको बाटो भत्काउने कार्य सह्य भएन। उनीहरू पनि प्रतिकारमा उत्रिए। भिडन्तको स्थिति भएपछि प्रहरीले रोक्ने प्रयास गर्यो।
साँझ पर्यो सबै आ-आफ्नो घर लागे। तर तनावको स्थिति यथावत् थियो।
साँझ कार्यालय आएर कमान्डर इन्स्पेक्टरले त्यहाँको यथार्थ विवरण ब्रिफिङ गरेपछि थाहा भयो- भोलि स्थिति झन् भयावह हुँदैछ। दुवै पक्ष पूरा तयारीका साथ आउँदैछन्।
ब्रिफिङ सुनिसकेपछि जिल्ला प्रहरी प्रमुख (एसपी)ले मलाई सम्बोधन गर्दै भन्नुभयो- इन्स्पेक्टर सा'ब तपाईं भोलिको लागि तयार हुने, खटिने प्रहरी टोली अनि आवश्यक सामग्रीसहित बिहानै फिल्डमा पुग्नुस्।
आफू भोलि खटिने भएपछि स्थिति र परिस्थितिको मूल्यांकन गर्दै तयारी गर्न त्यसदिन फिल्डमा खटिएका इन्स्पेक्टरसँग सरसल्लाह गरें।
उनलाई धेरै आरोप आइरहेको थियो, एउटा पक्ष (सत्तापक्ष) ले ‘लुते अफिसर’ भन्ने अर्को पक्ष (प्रतिपक्ष)ले चाहिँ अर्को पक्षको राजनीतिक स्वार्थको लागि काम गरेको भन्ने।
कुरा बुझ्दा उनले इमान्दार प्रयास गरेका थिए। सत्तापक्ष सरकारमा रहेको फाइदा लिन चाहन्थ्यो भने प्रतिपक्ष फिल्डमा आफ्नो स्थानीय प्रभाव देखाउन।
यी दुईको चेपुवामा प्रहरी परेको थियो। दुवै पक्ष आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्थे, प्रहरी शान्ति सुव्यवस्था।
म गम्भीर थिएँ। भोलिको स्थिति आंकलन गरे तब जिल्ला प्रहरी प्रमुखबाट स्पष्ट निर्देशन चाहें- सर लाइन के हो? भोलि के गर्ने हो? कुन हदसम्म (बल प्रयोग)जान सकिने हो?
उहाँले घुमाएर केही कुरा भन्नुभयो। मलाई बुझ्न गाह्रो भएन कि उहाँ दबाबमा हुनुहुन्छ। दबाब पनि एकतर्फको होइन, दुवैतर्फको।
झापाजस्तो राजनीतिक रूपमा अति सचेत जिल्ला, त्यही कुरालाई मनन गरेर भोलिको फिल्ड अफिसरको रूपमा म विशेष तयारी गर्न चाहन्थें अनि प्रहरी प्रमुखको स्पष्ट लाइन र निर्देशन पनि।
तर शान्ति सुरक्षा कायम राख्नु भन्ने एकमात्र निर्देशन थियो, जुन एउटा कूटनीतिक निर्देशन थियो, र जुन दिइरहनु नपर्ने निर्देशन पनि थियो।
जे होस् परिस्थिति अनि प्रहरीको स्थिति आंकलन गर्दै अर्को दिनको तयारी गरियो।
फिल्डमा पुग्नै लाग्दा ठूलो जमात प्रहरीको गाडीअगाडि आएर नाराबाजी गर्यो। गाडी चल्न दिएन।
उनीहरूको आरोप थियो- एमालेको नौ महिने सरकारको पालामा बनेको त्यो बाटो भत्काउने जमात (कांग्रेस कार्यकर्ता)को सुरक्षा गर्न प्रहरी आएको हो, हिजो पनि सुरक्षा दिएर केही भत्कायो, आज पनि त्यसैको निरन्तरता हो।
मैले गाडीबाट तल ओर्लिएर निकै सम्झाउने प्रयास गरें। भीड टसमस भएन। हामीलाई अगाडि बढ्न दिएन।
मैले सुनाएँ- पुनरावेदन अदालतमा यसबारेमा मुद्दा परेर विचाराधीन अवस्थामा बाटो जुन अवस्थामा छ, त्यही अवस्थामा राख्नु भन्ने आदेश भएको हुँदा यसमा हामी तलमाथि हुन दिनेछैनौं।
तपाईंहरू हेरिराख्नुस्, यदि मैले बाटो भत्काउन आउने जमातलाई आज रोक्न सकिनँ भने तपाईंहरूलाई पनि अगाडि बढ्नबाट हामी रोक्ने छैनौं।
हामी त्यो विवादास्पद बाटोमा पुग्दा ५-६ हल गोरु, खन्ती, बेल्चा, कोदालोसहित भीड बाटो भत्काउन थालेको थियो।
हामीले रोक्ने प्रयास गर्यौं, सम्झाउन खोज्यौं तर भीड रोकिएन। यता एउटा जमात बाटो भत्काउने, उता अलिमाथि बसेर अघि हामीलाई अगाडि बढ्न रोक्ने खोज्ने भीड।
त्यहाँ तत्कालै केही नगरे दुई पक्षबीच भीडन्त हुने देखियो।
बाटो भत्काइरहेकाहरूलाई चेतावनीको भाषा प्रयोग गर्दै मैले भनें- अदालतले यथास्थितिमा राख्न आदेश दिएको यो बाटो भत्काउन नदिनु हाम्रो कर्तव्य हो, जसको लागि हामी बल प्रयोग गर्न बाध्य हुनु नपरोस्।
तर, भीड त्यो कुरा सुन्न तयार थिएन। हामी सम्झाउन प्रयासरत् थियौं, यस्तैमा एक स्थानीय नेताले सबैको अगाडि मलाई सोधे, ‘किन तपाईंलाई माथिबाट आदेश आएको छैन र?’
म स्पष्ट हुन सकिनँ। को माथिको आदेश? उनी मुस्कुराए मात्र।
मैले भनें, ‘मलाई एउटै मात्रै आदेश थाहा छ। बाटो यथास्थितिमा राख्नू।’
स्थिति भयावह हुँदै गयो। अघि हामीलाई रोक्ने जमात पनि नजिकै आइपुग्यो, दुवै पक्ष उत्तेजित छन् र उनीहरूको दूरी नजिकिँदैछ। मैले त्यस टोलीलाई रोक्न मेरो दुई आइसी (सहायक कमान्डर)लाई पठाएँ र भनेँ, ‘मलाई एकछिन समय दिनू।’
मैले गाडीमा रहेको सेटबाट जिल्ला प्रहरी प्रमुख (एसपी)लाई फिल्डको तत्कालीन स्थिति रिपोर्ट गर्दै आवश्यक बल प्रयोग गर्नको लागि आदेश मागे। एसपी सा'बले सिधै ‘बल हैन, विवेक प्रयोग गर्नुस्’ भन्ने आदेश दिनुभयो।
मैले फेरि पनि विवेक प्रयोग गरेँ। तर, त्यो काम लागेन। अब अन्तिम अस्त्र भनेको बल नै हो। त्यसको लागि आदेश मागेँ।
म चाहन्थें सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिने। तर, यो घटना राजनीतिक उद्देश्यप्रेरित भएको हुँदा म जिल्ला प्रमुखको अनुमति लिन चाहन्थें। तर, उहाँले दिनुभएन। मात्रै भनिरहनुभयो, ‘बल हैन विवेक प्रयोग गर्नुस्।’
तर, दुई प्रमुख राजनीतिक शक्तिको ‘इगो’को बीचमा हामी प्रहरी परिरहेथ्यौं। यसलाई सुझबुझसाथ सम्बोधन नगर्ने हो भने स्थिति भयावह हुनसक्थ्यो। जसको लागि त्यस क्षणमा बाटो भत्काउने कार्य कुनै हालतमा रोकेर जिल्लास्तरीय नेतृत्वबीचमा छलफल गराएर निकास होस् भन्ने चाहन्थ्यौं। तर, दुवै पक्ष रोकिन तयार थिएन।
यता जिल्ला प्रहरी प्रमुखले मलाई कुनै पनि हालतमा बल प्रयोग नगर्न आदेश दिइरहनु भएको थियो।
म किंकर्तव्यविमुढको अवस्थामा थिएँ, सबैले मलाई नै हेरिरहेका थिए। प्रहरी टोली पनि माथिको आदेश के आउँछ भनेर मेरो मुख ताकिरहेका थिए। भीड पनि त्यो जान्न उत्सुक थिए।
मैले हिजो कमाण्ड गरेर आउने इन्स्पेक्टरको निराश स्थिति सम्झिएँ। तर, म त्यो हुन चाहन्नथें। अगाडि भीड उत्तेजित नाराबाजीमा उग्र भइरहेको थियो। मैले स्थितिको आंकलन गरेँ। अनि एसपी सा'बको आदेश पनि सम्झिएँ। यी दुई राजनीतिक पार्टीका कार्यकर्ता अनि भीडले प्रहरीलाई पारेको अप्ठ्यारो अनि दबाबमा उत्पन्न स्थितिप्रति दिक्क लागेर आएको थियो। एउटा मनले सोचिरहेथ्यो- कसरी काम गर्ने? कसरी शान्ति सुरक्षा कायम गर्ने? के प्रहरीले स्वतन्त्र भएर काम गर्ने नपाउने? कानुन हातमा लिएर काम गर्दा पनि प्रहरी रमिते भएरै बस्नुपर्ने?
तर, त्यतिखेर त्यो सोचेर स्थिति नियन्त्रण हुनेवाला थिएन। सोच्ने समय अनि सोचेर बस्ने अवस्था पनि थिएन। तत्कालै केही कदम चालिहाल्नुपर्ने वा सम्भावित दुर्घटनाको रमिते भएर बस्नुपर्ने अवस्था थियो।
तब मनमा एउटा आइडिया फुर्यो- प्रहरीको गाडीको सेटमा भएको मेरो र एसपी सा'बबीचको वार्तालाप अरु कसैले सुनेको थिएन।
सबैको आँखा प्रहरीको गाडीभित्र बसेको मतिर थियो। मैले आफूलाई तम्तयार पार्दै गाडीको ढोका खोल्दै बडो फूर्तिका साथ जम्प गर्दै निस्किएँ।
भावभंगीमासहित मैले ठूलो स्वरमा प्रहरी टोलीलाई सम्बोधन गर्दै भने, ‘ए केटा हो, आदेश आयो, आदेश आयो लौ एक्सनको लागि तयार होऊ। राइफल टोली एक साइडमा आऊ र तयारी अवस्थामा बस। लाठी टोली अगाडि पोजिसनमा बस।’
त्यतिन्जेलसम्म वाक्क दिक्क भएर रमिते बनेका प्रहरी टोली मेरो आदेशसँगै फूर्तिका साथ तयार हुँदै मेरो आदेश पालनातर्फ लागे। मेरो आदेश र प्रहरीको एक्सन देख्नेवित्तिकै बाटो भत्काउन आएका जमातमध्ये आधाभन्दा बढी यताउता दौडिँदै साइड लाग्न थाले। त्यहीबीचमा मेरो नजिक आएको मेरो सहायक कमान्डर सई सा'बलाई विस्तारै भनेँ- हतियार टोलीको नजिक तपाईं बस्नुस्, तर कुनै पनि हालतमा मेरो आदेश नआएसम्म कसैले पनि केही गर्ने छैन।
त्यसपछि सा'बलाई भनें- अन्तिम अवस्थासम्म पनि लाठी नचलाउनु होला।
उनीहरूले मेरो कुरा बुझिहाले। हाम्रो एक्सन यस्तो नाटकीय थियो कि अब कोही त्यहाँ अगाडि बढे प्रहरीले गोली हान्न सक्छ। यस्तैमा अर्को अगाडि बढ्दै गरेको जमात पनि पछि हट्न थाल्यो, केही त भाग्न पनि थाले। लगभग लगभग सबैजसो साइड लाग्न थाले।
मैले थप आदेश दिएँ, ‘केटा हो, यो जुवामा बाँधिएका गोरु फुकाइदेओ, कतै यी निर्दोष गोरुलाई गोली नलागोस्।’
हाम्रो केटाहरूले त्यो काम पनि तुरुन्तै फत्ते गरिहाले। गोरु दौडिएर यताउता भाग्न थाले। गोरु धनी पनि त्यही गोरुको पछिपछि दौडिए। स्थिति हाम्रो अनुकूल बन्दै गएको देखेँ, हाम्रो मनोबल बढ्दै थियो।
यस्तैमा एउटी बुढीआमा मनिर आउनु भो र भन्नु भो, ‘ए इन्स्पेक्टर सा'ब यो के गर्नु भएको? हाम्रो जग्गामा बनाएको बाटो हामीले भत्काउन नपाउनु?’
मैले शान्त भएर भने, ‘आमा, पुनरावेदन अदालतको आदेश नै त्यस्तै छ, फैसला नआएसम्म धैर्य गरिदिनुस् न।’
तर, ती बुढीआमा शान्त हुनुभएन। उहाँ म सँग कुरा गर्दैगर्दा फेरि अघि साइड लागेको भीड जम्मा हुन थाल्यो। आमा उत्तेजित हुनुभयो र मलाई सोध्नु भो, ‘ए बाबु, हामीले तिम्रा आदेश नमानेर बाटो भत्काए के गर्छौ? गोली हान्छौ?’
उहाँले त्यसो भन्दा छेउछाउकाले ताली पिटेर उहाँलाई झन् उत्तेजित बनाइदिए। स्थिति फेरि उस्तै हुन लाग्यो। तब मैले ती आमालाई सम्बोधन गर्दै कराएर ठूलो स्वरमा सबैले सुन्नेगरी भनें, ‘आमा, हजुरले प्रहरीको आदेश मान्नु भएन र स्थिति बिग्रियो भने पहिले हजुरलाई नमस्ते गर्छु र त्यसपछि गोली हान्ने आदेश दिन्छु।’
उहाँसँगै उभिएका नातिले तान्दै भनें, ‘ए हजुरआमा छिटो घर हिँड्नुस्, छिटो।’
ती हजुरआमालाई ती नातिले हात समातेर तान्दै गरेको दृश्यले फेरि त्यहाँ भागाभाग भयो। अब म यो स्थितिलाई पूर्णत: आफ्नो नियन्त्रणमा लिन चाहन्थेँ। र, सबैलाई छिटो यहाँबाट पछि हट्न वा प्रहरीको कारबाही व्यहोर्न तयार रहन भनेँ।
सबै भागाभाग भए। आमा-बाबु आफ्नो छोराछोरीलाई घर हिँड् भन्दै दौडिन थाले। श्रीमतीहरूले श्रीमानहरूलाई घर लगे।
साँझसम्ममा स्थिति नियन्त्रणमा आयो। हामीलाई तुरुन्तै अफिस फर्कने आदेश आयो। हामी शान्ति कायम गर्न सकेकोमा दंग पर्दै फर्कियौं। मेरो आइडियाले काम गरेको र बिना बल प्रयोग स्थिति नियन्त्रणमा आएकोले मन आनन्दित थियो। हाम्रा केटाहरू पनि विजयी भावमा थिए।
म मनमनै सोच्दै थिएँ- यसरी प्रहरीले कसरी र कहिलेसम्म काम गर्न सक्छ? के प्रहरीले स्वतन्त्र तवरले शान्ति सुरक्षाको काम गर्न कहिले पाउला? जे होस् आजको स्थितिलाई बिना बल प्रयोग नियन्त्रणमा लिन सकेकोमा म फुरुंग थिएँ।
जिल्ला प्रमुख झन् कति खुसी होलान्! हामीलाई भेट्नेबित्तिकै स्याबासी देलान्।
हामी चन्द्रगढी अफिस पुग्यौं। म रिपोर्ट गर्न एसपी सा'बको कोठामा पस्न खोज्दै थिएँ, डिएसपी सा'बले बाटैमा भन्नुभो, ‘भित्र तपाईंको विरूद्धमा नेपाली कांग्रेस झापा जिल्ला अध्यक्ष कृष्ण सिटौलाको नेतृत्वमा डेलिगेशन आएको छ, एसपी सा'ब तपाईंसँग एकदम रिसाउनुभएको छ।’
म छक्क परेँ। झन् उहाँकै आदेश बमोजिम बल प्रयोग नगरी विवेक प्रयोग गरेर स्थितिलाई बिना कुनै क्षति नियन्त्रण गरेर आएँ। मलाई स्याबासी दिनुपर्ने ठाउँमा उल्टो म सँगै रिसाउने?
त्यतिन्जेलसम्म म एसपी सा'बको कार्यकक्षमा पुगिसकेको थिएँ। कोठाभरि मानिस, देख्छु। एसएसपी सा'ब, सिडिओ सा'ब, नेका झापा अध्यक्ष कृष्ण सिटौला लगायतका व्यक्तित्वहरू एकापसमा चर्काचर्की गरेर बसिरहेका थिए। झन् मलाई देखेपछि सबै कराउन थाले।
एसपी सा'बले रातो आँखा पार्दै सोध्नुभो, ‘तपाईंले यो के गरेर आउनु भो यार?’
मैले पनि उस्तै लवजमा जवाफ दिएँ, ‘बल हैन विवेक प्रयोग गरेर आएँ।
त्यतिन्जेल सरसर्ती सबै अनुहार हेरेँ। भित्र तनाव थियो। मैले बुझ्न सकिनँ। स्थितिलाई शान्तिपूर्ण रूपमा नियन्त्रणमा लिँदा समेत यस्तो? बीचमै सिडिओ सा'बले कड्केर सोध्नुभो, ‘ए इन्स्पेक्टर साब, तपाईंलाईं गोली हान्ने आदेश कसले दियो?’
भोक र थकानमा अब रिस थपिँदै थियो। मैले पनि उस्तै कडकाइमै सिडिओ सा'बलाई प्रश्न सोधें, ‘मैले हानेको गोलीको आवाज यहाँसम्म सुनियो? कि बारुदको वास्ना यहाँसम्म आइपुग्यो?’
सायद मेरो अनुहारको भाव र स्वरमा आएको कम्पनबाट हुनसक्ने स्थिति बुझ्नु भएर होला त्यहीबीचमा प्रहरीको मनोबल सदा उच्च राख्न खोज्ने अधिकृतको रूपमा चिनिनु भएका एसएसपी (पछि सशस्त्र प्रहरी बलका आइजीपी) सहवीर थापा सर जुरुक्क उठेर आउनुभो र मलाई अंगालो मार्दै बाहिर लिएर जानुभो।
‘वेल डन इन्स्पेक्टर सा'ब, तपाईंले जे गर्नु भो ठीक गर्नु भो, यहाँ यस्तै हुन्छ, तपाईंको बारेमा जसले जे कम्प्लेन गरे पनि तपाईंले ठीक गरेर आउनु भो,’ उहाँले भन्नुभयो, ‘उनीहरूले आशा गरेका थिए। आज पनि हिजोको जस्तै प्रहरी रमिते बनेर फर्केर आओस्। तर, तपाईंले ठीक गरेर आउनुभो, आई एम प्राउड अफ यु। भोकै हुनुहुन्छ, जानुहोस् खाना खाएर आउनुहोस्।’
उहाँको यस्तो प्रेरक मूल्यांकनले मेरो मन भक्कानियो। आवेगमा थिएँ। मेरो आँखामा कतिखेर आँसु आयो थाहै पाइनँ।
बाहिर देख्छु त अघिको प्रहरी टोली युनिफर्म नखोली मेरो प्रतीक्षामा बसिरहेको रहेछ। भएछ के भने मलाई कारबाही हुँदैछ भन्ने हल्ला फैलिएछ। जुन कुरा उनीहरूलाई पाच्य थिएन। तब म सँग ऐक्यवद्धता जनाउन उनीहरू उभिइरहेका थिए। त्यो बुझेपछि एसएसपी सा'बले मलाई भन्नुभो, ‘यिनीहरूलाई सम्झाएर युनिफर्म खोलेर खाना खान पठाइदिनुस्।’
मैले सम्झाएर भनें, ‘हामीले जे गर्यौं, ठीक गर्यौं, तपाईंहरूलाई धन्यवाद।’
क्वार्टरमा जाँदै गर्दा मैले सोचेँ, के गर्नुपर्थ्यो मैले? के हामी कुनै पनि पार्टीको हतियार भएरै उनीहरूको स्वार्थअनुसार काम गर्नुपर्थ्यो? वा प्रहरी भएरै प्रहरी कारबाही गर्नुपर्थ्यो? आफूले गरेको एक्सनप्रति म सन्तुष्ट थिएँ।
तर, त्यस घटनामा दुवै पक्ष प्रहरीप्रति खुसी थिएनन्। एउटा पक्षको आरोप थियो- प्रहरीले सत्ता पक्षको कुरा सुन्यो। बाटो भत्काउनेलाई सुरक्षा दियो।
अर्को पक्षको आरोप थियो- हामीले चाहेअनुसार बाटो भत्काउन दिएन।
तर एउटा कुरा हामीले गरेको कारबाहीप्रति हामी आफू भने सन्तुष्ट थियौं। हामीले कसैको लागि काम गरेनौं तर सबैको लागि गर्यौं।
हामीलाई थाहा छ- जसो गर्दा पनि प्रहरीलाई धर छैन। जस हुँदैन। प्रहरीलाई प्रहरीकै ठाउँमा राखेर हेर्ने अनि काम गर्न दिने वातावरण नै छैन।
अहिले पनि यसो हेर्छु- प्रहरीले कानुनत: कुनै एक्सन लियो वा कुनै कुरामा उजुरी परेपछि वा तत्काल देखिएको प्रमाणको आधारमा कुनै अनुसन्धान सुरू गर्नेबित्तिकै केही समय पर्ख र हेर गर्दै प्रहरीलाई कुनै मौका समेत नदिई सिधै प्रहरीविरूद्ध उत्रिइहाल्ने, आरोप-प्रत्यारोप लगाइहाल्ने र स्थितिलाई भड्काइहाल्ने प्रवृत्ति बढ्दो छ। जसले प्रहरीलाई स्वतन्त्र भएर अनि उच्च मनोबलमा निर्भीक भएर काम गर्ने अवसर दिँदैन। जबसम्म यस्तो अवस्था रहिरहन्छ, तबसम्म प्रहरी कानुनबाट निर्देशित हैन, भीडबाट नियन्त्रित हुने वातावरणको सम्भावना रहन्छ।
त्यस्तो अवस्थाको प्रहरीले जनताले चाहे अनुसार अनि कानुनले निर्देशित गरे अनुसारको शान्ति सुरक्षा र अनुसन्धान गर्न चाहेर पनि सक्दैन।
(लेखक नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक हुन्।)