किताब चर्चा
म ‘फुलब्राइट’ छात्रवृत्तिअन्तर्गत अमेरिकाको कोर्नेल विश्वविद्यालयमा स्नातकोत्तर गर्न गएको थिएँ।
सेप्टेम्बर, १९९४।
सुरुआती दिनमै एक जना विद्यार्थीसँग भेट भयो।
‘म जो काइलिन,’ उनले भने, ‘बर्माबाट।’
‘नेपालीजस्तै देखिन्छौ त?’ मैले जिस्क्याएँ।
‘हाम्रो बर्मामा थुप्रै नेपालीहरू छन्, हामी जसलाई गोर्खाली भन्छौं।’
मैले आफ्नो नाम बताएपछि मेरो जिस्काइ मैतिर फर्कियो, ‘तिमी चाहिँ इन्डियनजस्तो देखिँदो रैछौ।’
दुवै हाँस्यौं।
कम समयमै हाम्रो दोस्ती जम्यो।
हामी एकै भूगोलका। म नेपाली, उनको देशमा बस्ने एउटा जाति पनि नेपाली।
सीमा नजोडिएको भए पनि नेपालीको पहिचान हाम्रो सम्बन्ध जोड्ने पुल बन्यो।
गोरू बेचेको साइनो भन्छन् नि! त्यस्तै त्यस्तै।
एकदिन उनले मेरो विषयबारे निधिखोजी गर्दै सोधे, ‘तिमीले के–के कोर्स लिएका छौ?’
अमेरिकी विश्वविद्यालयमा विद्यार्थीले कुन–कुन विषय पढ्ने भनेर आफैं छान्न सक्छ। आफूलाई मनपर्ने प्राध्यापकको कक्षा रोज्न सक्छ।
गुरू थापेर पढ्ने परम्परा कहीँ छ भने अमेरिकामा छ। यहाँ विश्वविद्यालयको नामले मात्र विद्यार्थीहरू नाम लेखाउन आउँदैनन्। पढाउने प्राध्यापक झन् नामी हुनुपर्छ।
अमेरिकी विश्वविद्यालयको यस्तो विधान थाहा पाएर पनि मैले आफ्नो थिति बसाल्न सकेको थिइनँ।
‘मैले त कोर्स छानेकै छैन,’ आफ्नो असमर्थताप्रति दिक्क मान्दै भनेँ, ‘एकचोटि एड्भाइजरलाई सोध्नुपर्ला।’
त्यसपछि उनको प्रश्न उनैतिर फर्काएँ, जसरी उनले मेरो जिस्काइ मैतिर फर्काएका थिए।
‘तिमी चाहिँ के–के पढ्दै छौ?’
‘म त बेनेडिक्ट एन्डर्सनसँग पढ्ने हो,’ उनले फूर्तिसाथ भने, ‘म यहाँ आएकै बेनेडिक्टसँग पढ्न।’
‘है।’
मेरो संक्षिप्त जवाफ सायद उनले सुनेनन्, अगाडि भने, ‘तिमीलाई थाहा छ, कोर्नेलमा आधाभन्दा बढी विद्यार्थी उनकै नाममा आउँछन्।’
उनी वाल्मिकी वा वशिष्ठ वा परशुरामलाई नै गुरू थाप्न लागेझैं छाती चौडा पार्दै थिए, म भने वाल्ल।
‘हेर पाँच–छ वर्ष पढाइमा लगानी गर्नुछ। आफ्नो मन खाएको प्राध्यापक भएन भने किन समय फाल्नु।’
म चकित थिएँ। मेरा आँखा पनि अलमलिए होलान् सायद।
उनले सोधिहाले, ‘तिमीले ‘बेनेडिक्टले लेखेको ‘इम्याजिन्ड कम्युनिटिज’ पढेका छैनौ?’
मैले सन् १९८३ मा निस्केको यो किताबबारे सुनेको थिएँ, पढेको थिइनँ।
सामाजिक विज्ञानमा दुइटा किताब यस्ता छन्, जुन संसारभरका अध्येताहरूले उद्धृत गर्छन्– एउटा बेनेडिक्टको ‘इम्याजिन्ड कम्युनिटिज’ र अर्को एडवर्ड डब्लू सइदको ‘ओरियन्टलिजम’।
बेनेडिक्ट बढी उद्धृत हुन्छन् कि एडवर्ड भन्नेमा अध्येयताहरूबीच बहस नै चल्छ।
यस्तो बहुचर्चित किताब प्रकाशित भएको एघार वर्षसम्म नपढेकोमा थकथकी मान्दै मैले मनमनै ठानेँ, अब नपढी छाड्दिनँ।
किताब पढ्नुभन्दा अगाडि लेखक, प्राध्यापक तथा राजनीतिशास्त्री बेनेडिक्टसँग भेट्ने हुटहुटी जाग्यो। उनैसँग कक्षा लिने रहर पनि।
‘बेनेडिक्टको कक्षामा त धेरै भिडभाड हुन्छ होला हगि,’ मैले भनेँ, ‘अहिलेसम्म सबैले प्राध्यापक छानिसके होलान्, मैले चान्स पाउँला र?’
‘बेनेडिक्ट विदेशी विद्यार्थीलाई पढाउन रुचाउँछन्,’ काइलिनले मलाई फुरुंग पार्दै भने, ‘एसियालीहरू भेटे त हत्ते हाल्छन्।’
उनले मलाई भोलिपल्टै बेनेडिक्टसँग भेटाइदिने भए।
त्यसअघि मैले आफ्नो ‘एड्भाइजर’ योनास पोन्टुससँग कुरा गर्नु थियो।
अर्को दिन बिहानै योनासलाई भेटेर आफ्नो योजना सुनाएँ।
‘पहिलो सेमेस्टरबाटै पढ्छौ त बेनेडिक्टसँग?’ उनले सोधे।
‘किन र?’
‘उनको कोर्स एकदमै गाह्रो हुन्छ। बढी दार्शनिक। तिम्रो भाषा कस्तो छ कुन्नि?’ उनले चासो र सुर्ता एकैचोटि देखाउँदै भने, ‘तिमीले सुरुबाटै उनको कक्षा लिन सक्छौ कि सक्दैनौ भनेर?’
यो त अब चुनौतीजस्तै भयो।
त्यसै दिन दिउँसो ११ बजेतिर काइलिनले कोर्नेलका ‘सेलेब्रिटी’ प्राध्यापक बेनेडिक्ट एन्डर्सनसँग मलाई भेटाए।
झुस्स दारी, जिङरिङ्ग कपाल। लाम्चो ललाट, अग्लो ज्यान।
मैले परिचय दिएँ।
नेपालबाट भन्नेबित्तिकै उनी उत्साहित भए।
‘मेरो कक्षामा नेपाली विद्यार्थी छैन,’ उनले सोचेर भने, ‘कुनै बेला पढाएको हुनसक्छु, तर सम्झन्न। नेपालको बारेमा थाहा छैन भन्ने चाहिँ नसोच्नू है।’
उनको सहज स्वभावले पहिलो भेटमै मलाई सजिलो बनाइदियो।
मैले भेट्न आउनुको कारण बताएँ।
उनले सोधे, ‘तिम्रो स्नातकोत्तरको विषयसँग मिल्छ त मेरो कक्षा?’
‘मैले संक्रमणकालीन प्रजातन्त्रबारे पढ्न लागेको हुँ,’ म राजनीतिशास्त्रका प्राध्यापकसमक्ष आफूलाई व्याख्या गर्न थालेँ, ‘प्रजातन्त्रको आन्दोलनसँग राष्ट्रवादी आन्दोलन जहिले पनि जोडिएको हुन्छ।’
उनी उत्सुक विद्यार्थीझैं सुनिरहे।
‘प्रजातन्त्रको आन्दोलन भनेकै उपनिवेशविरुद्धको अभियान भएकाले यो राष्ट्रवाद र सामाजिक न्याय सँगसँगै जान्छ भन्ने मलाई लाग्छ। त्यसैले, तपाईंले पढाउने राष्ट्रवाद र मैले पढ्न चाहेको प्रजातन्त्र आपसमा जोडिएका विषय हुन्।’
काइलिन बीचैमा प्वाक्क बोले, ‘हरि त राजनीतिक कार्यकर्ता पनि हो नि प्रोफेसर।’
‘राजनीतिक कार्यकर्ताले प्रजातान्त्रीकरणबारे किन पढ्नुपर्यो त?’ बेनेडिक्टले मलाई खिपे, ‘तिमीहरूका लागि त प्रजातन्त्र भनेको जीवन–मरणकै कुरा पो हो।’
मैले भनेँ, ‘नेपालमा हाम्रा एक जना प्रसिद्ध नेता हुनुहुन्थ्यो। उहाँ लोकतन्त्र र राष्ट्रवाद सँगसँगै जानुपर्छ भन्नुहुन्थ्यो।’
बेनेडिक्टले जिज्ञासु हुँदै सोधे, ‘को हुन् उनी?’
‘उहाँ नेपालका पूर्व प्रधानमन्त्री र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका नेता हुनुहुन्थ्यो, बिपी कोइराला।’
‘मैले धेरै सुनेको छु उनको बारेमा।’
‘कसरी?’
‘भारतीय स्वतन्त्रता संग्रामबारे अध्ययन गर्दा विभिन्न किताब र लेखहरूमा उनको नाम आइरहन्थ्यो, मलाई उनको बारेमा चासो भयो,’ बेनेडिक्टले भने, ‘उनी साहित्यिक व्यक्ति पनि त हुन् नि है?’
उनले एउटा रोचक प्रसंग सुनाए।
कोलम्बिया विश्वविद्यालय, बर्नार्ड कलेजका राजनीतिशास्त्र प्राध्यापक डेनिस गिल्मोर डाल्टनले बिपीको जीवनी लेख्न खोजेका रहेछन्। उनले महात्मा गान्धीको अहिंसा र सत्याग्रह आन्दोलनबारे केही किताब लेखेका छन्।
‘डाल्टन नेपाल गएर बिपीको जीवनीमा काम गर्न चाहन्थे,’ बेनेडिक्टले सुनाए, ‘नेपाल जानुअघि मलाई भेट्न आएका थिए। मसँग बिपीको समाजवादी आन्दोलन र उनको व्यक्तित्वबारे प्रशस्त चर्चा गरे।’
‘अनि?’
म डाल्टनले लेख्न खोजेको जीवनी के भयो भनेर जान्न इच्छुक थिएँ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको जति अग्लो कद छ, उनीमाथि लेखिएका किताबको खात भने उति होचा छन्।
बिपी आफैंले लेखेका आत्मकथा र जेल जर्नलबाहेक उनको राजनीतिक जीवन र सैद्धान्तिक चेतमा ऐना हाल्ने काम कमै भएको पाइन्छ।
‘उनले खुब कोशिस गरे,’ बेनेडिक्टले भने, ‘तर, बिपीको जीवन बुझाउने सूचनाहरू कसैबाट पाइएन भन्दै दिक्क मानेर फर्के।’
यो सुनेर मलाई थकथकी लाग्यो।
गान्धीबारे लेखेका डाल्टनले बिपीको जीवन खोतलेर पुस्तकको रूप दिन पाएका भए हाम्रो निम्ति कति महत्वपूर्ण ग्रन्थ हुन्थ्यो होला!
हामीले प्रजातान्त्रिक आन्दोलनको इतिहास बुझ्ने एउटा राम्रो अवसर इतिहासमै बिलाएको थाहा पाउँदा नमज्जा लाग्यो।
डाल्टनको अधूरो इच्छा पूरा गर्न अब को अघि सर्ला?
यही तर्कना मनमा खेलाउँदै थिएँ, बेनेडिक्टले हात बढाए, ‘हरि, तिमीलाई मेरो कक्षामा स्वागत छ।’
अर्को साताबाट कक्षा सुरु भयो।
मैले पहिलो सेमेस्टरको छ महिना बेनेडिक्टसँग ‘तुलनात्मक राष्ट्रवाद’ पढ्ने मौका पाएँ।
पहिलो भेटमै काइलिनले सोधेर अक्कबक्क पारेको ‘इम्याजिन्ड कम्युनिटिज’ पनि पढेँ। त्यतिबेलासम्म किताबको दोस्रो संस्करण र धेरै मुद्रण आइसकेको थियो।
राष्ट्रियता र प्रजातन्त्रमा बिपीको विचार बुझ्दै हुर्केको म, मेरो बुझाइमा बेनेडिक्टको यो किताबले ठूलो प्रभाव छाड्यो।
बेनेडिक्ट भन्छन्, ‘राष्ट्रवादको सिर्जना भाषाबाट हुन्छ, न कि रगतबाट।’
उनी एकै प्रकारको भाषा बोल्ने र एउटै लिपि लेख्ने समुदायलाई उन्ने काम राष्ट्रवादले गर्छ भन्छन्।
उनको भनाइलाई नेपालको सन्दर्भमा हेरौं।
करिब साढे दुई दशकअघि भुटानबाट खेदिएका नेपालीभाषी समुदायमा विभिन्न जातजाति थिए। बाहुन थिए, क्षत्री थिए। राई, लिम्बू, मगर, गुरुङ थिए।
बाहुन, क्षत्री हुनु उनीहरूको पहिचान होइन। राई, लिम्बू पनि होइन।
उनीहरू सबै नेपाली भाषा बोल्छन्, यही भाषा उनीहरूलाई उन्ने कडी बन्यो। जुनसुकै जातजातिका होऊन्, उनीहरूले ‘नेपालीभाषी’ भनेर आफूलाई चिनाए, चिनिए।
भारतको दार्जिलिङ, सिक्किम, आसामदेखि म्यानमारका मेरा मित्र काइलिनले ‘गोर्खाली’ भन्ने नेपालीभाषीलाई पनि एउटै समुदायका रूपमा ‘नेपाली जाति’ भनिन्छ।
यहाँ विभिन्न जातजातिलाई भाषाका आधारमा एकसूत्रमा बाँधिएको छ।
नेपालभित्रका हामीलाई पनि भाषा र लिपिले नै जोडेका छन्।
हुन त नब्बेको दशकपछि नेपाललाई संविधानले नै बहुजातीय, बहुभाषिक राज्य भनेको छ, तर हिजोसम्म यहाँका विभिन्न जातजाति, भाषाभाषीलाई एकात्मक राज्यमा बाँध्ने काम यही भाषा र लिपिले गरेका थिए।
भाषा र लिपिले हामीलाई कसरी फूलको माला उनेजस्तो उन्छ?
बेनेडिक्टको ‘इम्याजिन्ड कम्युनिटिज’ ले यसलाई सैद्धान्तिक रूपमा बुझ्न मद्दत गर्छ।
उनले छापाखाना विकासपछि भाषाको विस्तार तीव्र भएको बताएका छन्।
हिजोसम्म हातले किताब लेखिन्थ्यो। थोरै मान्छेकहाँ पुग्थ्यो, थोरैले पढ्थे। जब छापाखाना आयो, ठूलो संख्यामा प्रकाशन हुन थाल्यो। कहिल्यै नदेखेका, नभेटेका मान्छे पनि समान भाषा र लिपिले एकअर्कासँग जोडिए।
बेनेडिक्ट यसलाई ‘प्रिन्ट क्यापिटलिजम’ भन्छन्।
अर्थात्, मुद्रण पुँजीवाद।
नेपालीभाषी समुदायको विकास पनि नेपाली साहित्य र मुद्रणसँग जोडिएको छ।
नेपाली भाषामा लेखिएको सबैभन्दा लोकप्रिय ग्रन्थ कुन होला, जसले भाषिक रूपमा समग्र नेपालीभाषीलाई जोड्छ?
भानुभक्त आचार्यको ‘रामायण’।
वाल्मिकी रामायण पढ्न संस्कृतको ज्ञान थिएन। भानुभक्तले सबैले बुझ्ने गरी नेपाली भाषा र देवनागरी लिपिमा लेखेपछि घर–घरमा रामायण पाठ हुन थाल्यो। भाषामार्फत् नेपाली जातिको पहिचान बन्यो।
पृथ्वीनारायण शाहले नेपाल राज्य त निर्माण गरे, नेपाली राष्ट्रियताको नीब भने भानुभक्तले बसाले।
गोर्खा भाषा प्रकाशिनी समितिबाट छापिएको भानुभक्त रामायणमा संसारभरका नेपालीभाषीले आफ्नोपन भेटे। चाहे ती झापाका होऊन् वा कञ्चनपुरका। दार्जिलिङ वा बर्माका।
दार्जिलिङ बस्ने नेपालीभाषीले ‘एकदिन नारद सत्यलोक पुगी गया, लोकको गरूँ हित’ भन्दै रामायण वाचन गर्दा कञ्चनपुरका नेपाली उही लयमा ‘तहाँ सीतारामका चरणकमलमा शिर पनि धरी, अयोध्यै लैजान्छु भनीकन ठूलो मनसुब गरी’ भन्दै हुन्छन्।
दार्जिलिङका नेपालीभाषीले कञ्चनपुरका नेपालीलाई चिनेका हुँदैनन्। न झापाका नेपालीले बर्माका नेपालीभाषीलाई चिन्छन्। यी सबै भेगका नेपालीलाई भाषा र लिपिले जोड्छ।
उनीहरू आफूले पढ्ने वा बोल्ने भाषा अर्को ठाउँमा त्यसैगरी पढिँदैछ वा बोलिँदैछ भन्ने कल्पना गर्छन्। यही कल्पनाले समुदाय बन्छ। चासो राखिन्छ, सुर्ता गरिन्छ। शुभेच्छा साटिन्छ, सहानुभूति बाँडिन्छ।
बेनेडिक्टले यसैलाई ‘इम्याजिन्ड कम्युनिटी’ भनेका हुन्।
अर्थात्, कल्पित समुदाय।
उनले भनेझैं नेपाली भाषा बोल्नेले भाषाकै आधारमा आफूलाई पहिचान गर्छ। यही पहिचानले भावनात्मक रूपमा नेपाली राष्ट्रियता उदय हुन्छ।
‘इम्याजिन्ड कम्युनिटिज’ को रमाइलो संयोग के भने, जति बेला यो किताब लेखियो, राष्ट्रवाद वा राष्ट्रियताका विषयमा थुप्रै किताब लेखिए।
टम न्यारिन भन्ने स्कटिस राजनीतिशास्त्रीले ‘ब्रेकअप अफ ब्रिटेनः क्राइसिस एन्ड नियोन्यासनलिजम’ लेखेका थिए। सन् १९७७ मा प्रकाशित यो किताबले बेलायत विभाजनको विवेचना गरेको छ।
उनका अनुसार भाषा वा जातीय आधारमा बेलायत टुक्रिएको थिएन। टुक्रिनुको कारण उनले ‘उदार राष्ट्रवाद’ भनेका छन्। जसमा एकै भूगोलका मान्छे समान आकांक्षा साकार पार्न आफ्नो स्वतन्त्रता, स्वायत्तता र सम्प्रभुताको परिकल्पना गर्छन्।
नभए इङ्ल्यान्ड र स्कटल्यान्ड, वेल्स र आयरल्यान्डमा के फरक?
उही भाषा, उस्तै जात।
तै स्वायत्तताको समान आकांक्षाले बेलायतभित्र अलग–अलग राष्ट्रवाद जन्मायो। ती ठुँस्किन्छन्, बाझ्छन्, फेरि मन माझ्छन्।
यो सिलसिला निरन्तर चलिआएको छ। स्कटल्यान्डको मुद्दा अहिले पनि सुल्झिएको छैन। बेलायतबाट अलग्गिने उसको चाहना पछिल्लो जनमत संग्रहमा झन्डै पूरा भएको थियो।
टम न्यारिनको यही किताबले बेनेडिक्टलाई ‘इम्याजिन्ड कम्युनिटिज’ लेख्न प्रेरित गर्यो भनिन्छ।
त्यस्तै, अर्को किताब छ– अर्नेस्ट गेल्नरको ‘नेसन एन्ड न्यासनलिजम’।
अर्नेस्ट गेल्नर भनेका नेपालबारे अध्ययन गर्ने मानवशास्त्री डेभिड गेल्नरका बाबु हुन्। उनी बेलायतमा बसोबास गर्ने चेक शरणार्थी हुन्।
आफ्नो भूमि छाडेर पराई मुलुकमा आश्रित शरणार्थीहरूलाई म कहाँबाट आएँ, मेरो समुदाय के हो भन्ने खोजी हुन्छ। सन् १९८३ मै छापिएको अर्नेस्टको किताबले यही पृष्ठभूमिमा राष्ट्रवादलाई वर्णन गरेको छ।
राष्ट्रवादलाई हेर्ने बेनेडिक्ट दृष्टि यी सबैभन्दा फरक छ।
उनी यसलाई ‘कल्पित राजनीतिक समुदाय’ मान्छन्, जसलाई अपनत्व, सीमा र सम्प्रभुताको भावनाले जोड्छ।
जिन्दगीमा कहिल्यै नभेटेका, नदेखेका मान्छेमा ‘हामी एक हौं’ भन्ने अपनत्वको भावना आउनु नै राष्ट्रवाद हो।
कुनै पनि राष्ट्र जतिसुकै ठूलो वा सानो होस्, उसको निश्चित सीमा हुन्छ। त्यही सीमाभित्र बस्ने मान्छेको साझा आकांक्षाले राष्ट्रवादी सोचलाई जन्म दिन्छ।
स्वाधीनता र स्वायत्तताको आकांक्षाले पनि राष्ट्रवाद जन्माउँछ।
राष्ट्रवादको ऐतिहासिक परिवेश गतिशील छ। भाषाका आधारमा राष्ट्रवादको विकास युरोपबाट दक्षिण अमेरिका बसाइँ सर्नेहरूबाट भयो भन्ने बेनेडिक्टको भनाइ छ।
युरोपेलीहरूले आफूसँगै स्पेनिस भाषा लिएर गएका थिए। नयाँ ठाउँमा उनीहरूको बोली स्थानीयसँग मिसिँदै गयो। मेक्सिकोदेखि चिलीसम्मै नयाँ खाले स्पेनिस भाषा बोलिन थाल्यो। नयाँ समुदाय निर्माण भयो, नयाँ पहिचान बन्यो।
यसरी कुनै कालखण्डमा उदय भएको राष्ट्रवादी विचार उपनिवेशको विरोध क्रममा दक्षिण एसिया प्रवेश गरेको हो।
नेपालमा पनि राष्ट्रवादी विचारको प्रवेश स्वतन्त्रता संग्रामसँगै जोडिएको पाइन्छ।
कुनै पनि थिचोमिचो वा वर्चश्वमा बस्दै आएको मान्छे स्वतन्त्र भएपछि आफ्नो समुदाय खोज्छ, आफ्नो वर्ग खोज्छ। हिजो राजारजौटाको सामन्ती व्यवस्थाबाट प्रजातान्त्रिक युगमा प्रवेश गर्दा हामीमा सामूहिकताको भावना प्रबल थियो। राष्ट्रिय स्वाधीनता आन्दोलनले सामूहिक आकांक्षा र सामूहिक पहिचान परिकल्पना गरेको थियो।
बिपी कोइरालाले यसैलाई परिभाषित गर्दै ‘लोकतन्त्र र राष्ट्रियता एकै सिक्काका दुई पाटा’ भनेका हुन्। उनी लोकतन्त्रसँगै राष्ट्रियता बलियो हुँदै जान्छ भन्ने मान्यता राख्थे।
लोकतन्त्र र अधिनायकवादले राष्ट्रवादलाई फरक-फरक ढंगले परिभाषित गर्छ। अधिनायकवादमा नागरिकभन्दा राज्य सर्वोपरी हुन्छ। राज्यका लागि नागरिक अधिकार त्याग गर्नुपर्छ भन्छ। श्रमदान गर्न बाध्य पार्छ। बोल्ने र लेख्ने अधिकारधरी खोस्छ।
लोकतन्त्रमा भने नागरिक अधिकार अगाडि आउँछ। नागरिक अधिकार स्थापित भएपछि मात्र राष्ट्रवाद बलियो हुन्छ भन्छ।
के तपाईंलाई देशभक्ति र राष्ट्रवादको फरक थाहा छ? देशभक्ति माटोसँग सम्बन्धित हुन्छ भने राष्ट्रवाद जातजाति र मान्छेसँग।
फरक भाषा, संस्कृति वा जातजातिका मान्छेलाई भूगोल वा माटोका आधारमा जोड्ने काम देशभक्तिले गर्छ। राष्ट्रियता वा राष्ट्रवाद भने एकता र विभाजन दुवै उद्देश्यको उपकरण बन्न सक्छ। म को हुँ, को मेरो हो, को होइन भन्ने सोचले विभाजन त ल्याउँछ, सँगसँगै निश्चित समुदायभित्र एकता पनि गराउँछ।
अधिनायकवादी शासनले राष्ट्रवाद प्रवर्द्धन गर्दा माटोलाई बढी जोड दिन्छ। ऊ यही राष्ट्रवादका नाममा जायज-नाजायज देशभक्ति बढाउन खोज्छ। र, देशभक्तिका नाममा आफ्नो अधिनायकवादी शासनसत्ता टिकाउने प्रयत्न गर्छ।
पछिल्लो समय आमाका नाममा नागरिकतासम्बन्धी बहसमा राष्ट्रिय सुरक्षाको मुद्दा उठाएर महिला समानता कुण्ठित पार्न खोजिएको छ। राष्ट्रिय सुरक्षाको प्रवर्द्धन अर्कै बहसको विषय हो। हामीले महिला समानताका लागि राष्ट्रिय सुरक्षामा सम्झौता गर्नुपर्छ भनेका होइनौं। तर, राष्ट्रिय सुरक्षाको मुद्दा उठाएर महिला समानताको अधिकार समर्पण गरिनु लोकतान्त्रिक आचरणविपरीत हो।
महिला अधिकारको समर्पण मागेर राष्ट्रवाद बलियो हुन्न।
लोकतन्त्रको आधार व्यक्तिबाट समुदायमा सर्दै जाँदा राष्ट्रियताको चरित्रमा परिवर्तनका संकेत पनि देखिँदै गएका छन्।
विगतमा जातजातीय आन्दोलन मेरो भाषा, मेरो भेष, मेरो पहिचानजस्ता सांस्कृतिक उत्थानमा केन्द्रित थिए। अहिले सांस्कृतिक सवाल राजनीतिक स्वरमा बदलिएको छ। भाषा, भेष, जात, वर्ग र वंशका आधारमा संगठित हुने क्रम सुरु भएको छ। यही पहिचानका आधारमा राज्यका स्रोतसाधन र संयन्त्रमा प्रतिनिधित्वको माग प्रखर बन्दै छ।
खासगरी माओवादी द्वन्द्वपछि भाषा, भेष, वंश र जातका आधारमा पहिचान र प्रतिनिधित्व खोज्ने आन्दोलनले राजनीतिक स्वरूप लिएको हो। आफ्नो पहिचानको यथोचित सम्मान र प्रतिनिधित्व नै जातजातीय आन्दोलनको मुख्य आधार हो।
पहिचानको आधार एउटा मात्र हुँदैन।
यसअघि स्थान विशेषका आधारमा पूर्वेली, पश्चिमेली, पहाडीया, मधेसी भन्ने गरिन्थ्यो। जब बहुलताले राजनीतिक अभिव्यक्ति पायो, हामी विभिन्न जातजातिका आधारमा आफूलाई चिनाउन थालेका छौं।
नेपाली राष्ट्रवादको आधार के हो भन्ने प्रश्नमा एउटा आधुनिक आधार छ, जसमा भाषा, पुँजीवाद र प्रविधिको विकास पर्छन्।
अर्को परम्परागत आधार हो, जसमा वंश वा रगतको नाता प्राथमिक हुन्छ।
संसारभरि नै राष्ट्रवादका दुई धार बहसमा छन् — पहिचान र पुनर्वितरणको धार।
हामीकहाँ जारी पहिचानको राजनीति अर्थात् जातजातीय आन्दोलनलाई पहिचानवादी धार भन्न सकिन्छ।
पुनर्वितरणको धार भने मार्क्सवादी वा समाजवादी अवधारणा हो। जसले स्रोतसाधनको वितरणमा जोड दिन्छ। नेपालमा लामो समयदेखि सुनिएको भूमिसुधार वा जग्गाको हदबन्दी यही धारको एउटा पाटो हो। मुक्त कमैया वा मुक्त हलिया यसैका अंग हुन्।
अझ सहज रूपमा बुझ्नुपर्दा, पुनर्वितरणको धारले गाँस, बास र कपासको प्रश्न उठाउँछ। पहिचानको धारले मानवीय पहिचानको कुरा गर्छ। भन्छ, ‘म भोकै बस्नुपरे बसुँला, तर जुन जातको हुँ वा जुन समुदायको हुँ, त्यसैसँग बस्छु।’
पहिचानको धारले केही आधारभूत प्रश्न पनि उठाउँछ — हामी जतिसुकै विपन्न भए पनि हाम्रो अस्तित्व र मर्यादा किन नहुने? हामीले स्वायत्तताको परिकल्पना गर्न किन नपाउने? हामीलाई मान्छे भएर बाँच्न किन नदिने?
यी दुई धारको छिनोफानो सजिलै हुँदैन। लामो बहस र अनुभवले खारिँदै जानुपर्छ।
बेनेडिक्टले राष्ट्रवादको उपकरणका रूपमा जनगणना, नक्सा र संग्रहालयको चर्चा गरेका छन्।
जनगणनाले वर्ग छुट्टयाउँछ, त्यसभित्र एकीकृत परिकल्पनाको अवसर प्रदान गर्छ।
उदाहरणका लागि, सप्तरीको थारूले मैथिली बोल्छ। झापाका थारूलाई मैथिली बोल्न आउँदैन। ऊ अलिकति अपभ्रंश भएको देहाती बोल्छ। रूपन्देहीका थारू अवधि वा भोजपुरी मिसाएर बोल्छन्।
केही वर्षअघि जनगणना क्रममा थारू कार्यकर्ताले आफ्नो समुदायलाई भने, ‘तपाईं मैथिली बोले बोल्नुस्, अवधि बोले बोल्नुस्, तर गणनामा नाम लेखाउँदा थारू भाषा नै भन्नुस्।’
यहाँ थारूको वर्ग छुट्टियो। भूगोल जतासुकै होस्, एकीकृत परिकल्पनाको अवसर दियो। ठाउँअनुसार विभिन्न थरीका लवज बोल्न थालेका थारूहरूमा थारू भाषाको राष्ट्रवाद विकास भयो।
नक्साको कुरा गरौं।
भौगोलिक नक्सा हाम्रो परिकल्पना हो। त्यो कल्पित सीमाभित्र बसोबास गर्नेलाई छुट्टै राष्ट्रवादी सोचले बाँधेर राख्छ।
संग्रहालय त्यस्तै। जहाँ पुराना कलाकृति संग्रहित हुन्छन्। जसलाई हेरेर हामी परिकल्पना गर्छौं। जसले हाम्रो साझा इतिहास निर्माण गर्छ। जुन साझा इतिहासले हाम्रो साझा राष्ट्रवादलाई जन्म दिन्छ।
बेनेडिक्टको योगदान के भने, उनले यी उपकरणलाई राष्ट्रवादी बहसको रूप दिए।
एउटा तथ्यांकशास्त्रीले जनगणनाका नतिजामा तथ्यांक मात्र देख्छ। भूगोल अध्येताले नक्सामा भूगोलको सीमारेखा परिकल्पना गर्छ। एक कुशल कलाकारलाई पृथ्वीनारायण शाहको शालिक अगाडि उभ्याउने हो भने ऊ तत्कालीन समयको कलाकौशल समीक्षामै भुल्छ।
बेनेडिक्टले भने जनगणना, नक्सा र संग्रहालयको विश्लेषणबाट राष्ट्रवादको परिकल्पना गरे।
खानपान र भेषभूषा त्यस्तै विषय हुन्, जसलाई राष्ट्रवादको उपकरण मान्न सकिन्छ।
नेपालीहरू संसारको जुनसुकै कुनामा पुगे पनि ममः भनेपछि हुरुक्कै हुन्छन्। तामाबोडी र गुन्द्रु–भट्मास खोज्छन्। यसले हाम्रो सामूहिकता विकास गर्छ।
न्यूयोर्कको सडकमा दौरासुरुवाल लगाएको मान्छे देख्नेबित्तिकै हामी नेपाली भनेर पहिचान गर्छौं। विदेशी टेलिभिजन च्यानलमा कसैले ढाकाटोपी लगाएको देख्दा हाम्रो अपनत्व जाग्छ। दार्जिलिङका प्रशान्त तामाङलाई ‘इन्डियन आइडल’ बनाउन हामी त्यसै लागेका होइनौं।
राष्ट्रवादका उपकरण समयअनुसार बदलिँदै पनि छ।
बेनेडिक्टले भाषा विस्तारको निम्ति जुन ‘मुद्रण पुँजीवाद’ को कुरा गरेका थिए, त्यो ठाउँ ‘डिजिटल पुँजीवाद’ ले लिँदैछ।
हाम्रो दैनिक व्यवहारमा अंग्रेजी भाषा हाबी हुँदैछ। हाम्रा पार्टीहरूमा हिन्दी गीत घन्कँदैछन्। हामी मोबाइल चलाउँदा देवनागरी लिपि होइन, रोमन अंग्रेजी अक्षरमा संवाद गर्न थालेका छौं।
‘डिजिटल पुँजीवाद’ ले मान्छेको परिकल्पना, आकांक्षा र सामूहिकतालाई परिवर्तन गरिरहेको छ। यो राष्ट्रवादको बहसमा नयाँ चुनौती हो।
बेनेडिक्टले सहरी बसोबासबाट सिर्जित राष्ट्रवादको पनि चर्चा गरेका छन्।
जब गाउँबाट सहरी बसोबासको क्रम बढ्यो, विभिन्न ठाउँका समुदायले सहरमा आ–आफ्नो पकेट क्षेत्र बनाए। तीस वर्षअघि पूर्वबाट आउने मान्छे काठमाडौंको मैतीदेवी, बानेश्वर, तीनकुनेतिर बस्थे। पश्चिमबाट आउनेले बालाजु, सामाखुसी, लैनचौरलाई मुकाम बनाए।
क्षेत्रपाटीमा ‘नौलो भोजनालय’ भन्ने थियो। पश्चिमबाट आउनेहरू बास बस्न वा भात खान त्यहीँ जान्थे। कहिल्यै काठमाडौं नआएका आमाबाबु पनि छोराछोरीलाई सहर पठाउँदा ‘नौलो होटलमा खाना खानू है’ भन्थे।
यो भनेको बसाइसराइले ल्याएको राष्ट्रवादी चेतना वा परिकल्पना हो।
गाउँमा बस्दा वंश वा रगतको नाताले बाँधिएकाहरू बसाइसराइले सामूहिक हुँदै गए। देख्दै नदेखेको ‘नौलो भोजनालय’ मा अपनत्वको अनुभूति हुन थाल्यो।
राष्ट्रवादका आधुनिक र परम्परागत अवधारणाबीच विवाद पनि देखिन्छ।
नेपालको सन्दर्भमा, मैले आफूलाई बाहुन वा पहाडीयाका रूपमा प्रतिनिधित्व गराउनु मेरो आधुनिक सोच हो। जब म आफ्नो जातजातिको वर्गभित्र पहिचान खोज्छु, त्यसमा परम्परागत अवधारणा जोडिन्छ।
उदाहरणका लागि, रामबहादुर गुरुङले आफूलाई गुरुङ वर्गमा राखेर प्रतिनिधित्व गराउनु परम्परागत राष्ट्रवादी धार हो। त्यो समुदायको छुट्टै राज्य हुने हो भने आधुनिक सम्बन्धले होइन, परम्परागत आधार अर्थात् उसको जात वा वंश वा रगतले राष्ट्रवाद निर्धारण गर्छ।
सामान्यतया हामी बहुजातीय राज्यको जमानामा छौं, जहाँ विभिन्न भाषाभाषीका समुदायलाई एक साझा भाषा र लिपिले जोड्छ।
जहाँ हामी सबैलाई जोड्ने कला सिर्जना गर्छौं। संग्रहालय बनाउँछौं। नक्सा र रङ हाल्छौं। त्यही विविधतामा एकता देख्छौं।
त्यसैले, राष्ट्रियता र राष्ट्रवाद भनेको आधुनिक आन्दोलन हो, स्वाधीनताको आन्दोलन हो। यसको लोकतन्त्रसँग ठूलो सम्बन्ध छ। राष्ट्रियताका नाममा वंशलाई जोड्ने, रगतलाई जोड्ने जुन प्रक्रिया हामीकहाँ सुरु भयो, त्यो जटिल छ। त्यसलाई आधुनिक वा लोकतान्त्रिक मान्न सकिँदैन।
खासगरी २०६२–६३ को जनआन्दोलनपछि भाषा, भेष, रीतिथिति लगायत हरेक कुरा राज्यबाट लादिएको थियो भन्ने व्याख्या हामीले सुन्यौं। तर, भाषाका माध्यमबाट कसरी नेपालीहरू आपसमा जोडिँदै गएका थिए भन्ने हेरेनौं।
राज्यले नै हामीलाई दबाब दिएर त्यहाँ पुर्याएको थियो भन्ने बुझ्यौं, तर त्यो स्वस्फुर्त पनि हुन सक्छ भनेर सोचेनौं।
राष्ट्रवादको चर्चा गर्दा सद्भावको कुरा सँगसँगै जोडिएर आउँछ।
सद्भाव शब्द सकारात्मक छ। समय र सन्दर्भमा कसैका लागि नकारात्मक पनि लाग्न सक्छ। सद्भाव भनिए पनि बलजफ्ती प्रभुत्व जमाउन खोजेको भनी बुझ्न थालिएको छ।
सद्भाव बलका आधारमा कायम हुन सक्दैन। बलजफ्ती लिएको वा दिएको अधिकार फेरि खोसिने वा हराउने डर हुन्छ। छलफल र अहिंसात्मक माध्यमबाट निर्धारण गरिएका अधिकार मात्र सबैलाई मान्य र स्थायी हुन्छन्।
समभाव, अर्थात् समानताको धारणाले स्थापित गरेको सद्भाव बलियो हुन्छ। यसबाट पृथक परिवेशमा रहेका व्यक्ति तथा समुदाय सँगसँगै बस्न सम्भव हुन्छ। यसको निम्ति हामीले बोली र व्यवहार मर्यादित बनाउनु जरुरी छ।
राष्ट्रवादजस्तो जटिल विषयमा बेनेडिक्टको धारणा उनको व्यक्तिगत अनुभवको उपज हो।
आइरिस नागरिक बेनेडिक्टको जन्म चीनको कुनमिङमा भएको थियो, जहाँ उनका बुबा समुद्री पारवहनमा भन्सार अधिकृत थिए।
सन् १९४१ मा जापानी युद्धको लक्षण देखापर्न थालेपछि उनको परिवार अमेरिकाको क्यालिफोर्निया सर्यो।
पछि उनले लामो समय थाइल्यान्ड र इन्डोनेसियामा बिताए।
उनको भाषाको पकड बेजोड थियो। उनी कक्षामा म्यानमारका विद्यार्थीसँग बर्मिज भाषामा बोल्थे, इन्डोनेसियाका विद्यार्थीसँग इन्डोनेसियन भाषामै कुरा गर्थे।
सन् २०१५ डिसेम्बरमा हृदयघातबाट निधन हुनु केहीअघि उनी बैंककमा बस्थे, दुईकोठे अपार्टमेन्टमा।
मैले सोधेको थिएँ, ‘तपाईं किन बैंकक आउनुभयो?’
‘यहाँ एकदमै सामान्य मान्छे बस्छन्– आममान्छे, व्यापारी र यौनकर्मीहरू,’ उनले भने, ‘थरीथरीका समूहमा थरीथरीका रङ छन्। थरीथरीका सपना र आकांक्षा छन्। ती सबै सपना र आकांक्षा बैंककको हावामा समाहित भएझैं लाग्छ।’
‘मलाई यहाँको जीवनको इन्द्रेणी मनपर्छ,’ उनको भनाइ थियो।
बेनेडिक्टले भनेको राष्ट्रवाद पनि इन्द्रेणी नै हो, जहाँ सात रङको विविधता एकाकार हुन्छ।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: