एक भब्य समारोहका बीच यस वर्षको बर्लिन पर्यटन मेला सुरू भयो । जर्मनीको बर्लिन शहरमा आयोजना हुने यो मेला पर्यटनको कुम्भ मेलाका रुपमा रहेको छ । यस मेलामा कुनै न कुनै तरिकाले सहभागी हुनु धेरै पर्यटनकर्मीको लक्ष्य हुने गर्छ।
हिटलरको जर्मनी अनि आज बहुसांस्कृतिक शहरका रुपमा आफूलाई जोडदार उभ्याउन खोज्ने बर्लिनका बीच कुनै तादाम्यता देखिदैन र धेरै अर्थमा नदेखियोस् भनेर पर्यटनलाई तुरूपका रुपमा उपभोग गर्न खोजेको प्रस्ट देखिन्छ ।
उद्घाटन मन्तब्यमा बर्लिनका मेयर माइकल मुल्लरले बर्लिन स्वतन्त्रताको शहर भएको उद्घोष गरे ।
मुस्लिम वा अन्य कुनै धर्मावलीहरु, समलिङ्गीहरु वा कुनै आस्था भएका, कसैलाई बर्लिनले आफ्नो ब्यक्तिगत स्पेस दिने पनि भने।
पर्यटन शान्तिमा मात्र फस्टाउने होइन शान्ति स्थापना गराउने प्रमुख माध्यम समेत भएकाले यसको प्रवर्धनमा दत्तचित्त लागिपर्ने समेत प्रष्ट्याए।
पर्यटन ट्राभल एजेण्टहरु, अपरेटरहरु, होटलहरु, रेष्टुरेन्टहरुमा मात्र सिमित नभई अघि चर्चा गरेको स्वतन्त्रताका कविता/गीतहरुमा फैलिएको, नाटक/सिनेमाहरु सँगै झाङ्गिएको पनि छ।
आज त्यही भएर गैरपर्यटन केही छैन, सबै पर्यटनका अवयवहरु, परिपूर्वकहरू।
देश कै कुरा गर्ने हो भने पनि तारुकामा हुने गोरूजुधाई, पाटनको रातो मच्छिन्द्रनाथको रथ जात्रा, भक्तपुरको गाईजात्रा, हाँडिगाउँको जात्रा सबै पर्यटन उपज भइसके।
‘टाकी टाकी..’ बोलको गीतले बजार पिट्दो छ। डेढ वर्षकी छोरीदेखि कुनै पनि उमेर समूह यसको लयमा झुमिरहेका छन्। गीतले के भनेको छ कमैलाई थाहा छ, कुन भाषा हो पत्तो छैन। ल्याटिन फ्यूजन विधाको यस गीतमा स्पेनी र अंग्रेजी शब्दहरु छन्।
हालसम्मको युट्यूवको सर्वाधिक हेरिएको रेकर्ड देसपासितोको छ जुन स्पेनी गीत हो, त्योभन्दा अगाडि कोरियन ग्याङ्गनम स्टाइल थियो। छिमेकको तामिल भर्सन कोलावरी डिले बजार एक समय तताएकै हो।
सिनेमा हलमा टिकट भन्दा बढी पपकर्नले ब्यापार गर्ने, हजुरबा हजुरआमा नाति नातिनीका फेसबुक साथी हुने समयमा कुन फण्डाले काम गर्छ भनि आँकलन गर्न गाह्रो छ।
पर्यटन प्रवर्धनका मामिलामा समयले कोल्टो मात्र होइन छलाङ नै हानेको छ।
सिङ्गापुर पर्यटन बोर्डले हिन्दी सिनेमा क्रिसलाई २००५ मा नै छायाङ्कनलगायतका कार्यका लागि सहयोग गरेको थियो। यस सिनेमामा सिङ्गापुरको धेरै भागहरू भत्किएका, बिगारिएको देखाइएको छ।
त्यसैगरि २०१३ मा रिलिज भएको अर्को हिन्दी सिनेमा धुम ३ का धेरै दृश्य लण्डन वरिपरि कैद गरिएको छ र यो पनि बैंक चोरी कै विषयमा नै केन्द्रित थियो।
नकारात्मक विषय देखाइएको सिनेमाले गन्तब्यको नकारात्मक प्रचार गर्ने परम्परागत सोचलाई गतिलै झापड हो यो ।
सिनेमा वा अन्य कुनै पनि सिर्जनामा राम्रा दृश्य देखाइऊन्, हेरेर पर्यटक ओइरिउन् भन्ने सोचलाई यी दुई सिनेमा छायाङ्कन भएको देशमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रुपमा बृद्धि भएको पाइनुले दह्रो च्यालेन्ज गरेको मात्र छैन पर्यटन प्रवर्धनका पुरातन सोचलाई पुनरावलोकन गर्न पनि झकझकाएका छन्।
२०२० लाई देशले भ्रमण वर्षका रूपमा मनाउँदै छ। संसारभर हामी जसरी अन्य मुलुकहरुले यस्ता प्रबर्धनात्मक वर्षहरु मनाइराख्दा देशले गर्ने कामहरु जस्तै पर्यटकलाई भिसा नचाहिने वा भिसा आएर प्राप्त गर्न सकिने बनाउने नै मुख्य हो।
सँगसँगै पर्यटकले त्यो वर्ष कुनै किसिमको सेवा उपभोग गर्दा प्याकेज शुल्कमा छुट। यो पूरातन शैलीलाई पछ्याउनु किमार्थ नराम्रो हैन बरू पर्यटनका लागि केही गरेको पक्कै तब ठहर्ला जब हाम्रा प्रयासहरु र अहिलेको पर्यटन आवागमनका कारकहरू बीच सम्बन्ध स्थापित होला।
नेपालमा छायाङ्कन भएको सन् २०१३ मा रिलिज भएको चिनियाँ चलचित्र अप इन द विण्डले राम्रो ब्यापार मात्र गरेन नेपालमा चिनियाँ पर्यटकहरको आवागमन संख्यामा राम्रै बृद्धि गरायो ।
बिगतमा भारतीय पर्यटकको संख्याको नजिक कतै नभएको चिनियाँ पर्यटक संख्या अहिले हाराहारी रहेको र निकट भविश्यमा जित्ने प्रबल सम्भावना देखिन्छ। यो स्थिति कुनै एकरातमा भएको कामले नभई माथि उल्लेख गरिएको जस्तो रुचाइएको सिनेमामा नेपाल अटाउनुले पनि हो।
देशमा सिनेमा खिच्न आउने समूहलाई मुर्गा बनाएर ठग्ने सोच राखेर आशातीत पर्यटनका लक्ष्य कसरी हाशिल होला? बरू बढीले रूचाउने कलाकारका सिनेमा देशमा छायाङ्कन गराउन सजिलो नीति, एकद्धार प्रणालीको अबलम्बन गरी सिनेमा छायाङ्कन मैत्री देश भएको सन्देश सम्प्रेषण गराउनतिर पहलकदमी जरूरि छ ।
अधिकारका लडाँइ भन्दा पर सहअस्तित्वको वोध र ब्यवहार। समतामूलक समाज, समब्यवहारको प्रबर्धन पर्यटनले गर्नसक्छ। दशकौं देखिको नेपाली सपना जसलाई बर्लिनका मेयरले भने झैँ बहुलवाद, बहुभाषिक, बहुसाँस्कृतिक समाजको साकार हुने अवस्था भनेको आजको दिनमा पर्यटनको विकास र स्थानीयको रोजगारीसँग मात्रै सम्भव देखिएको छ ।
अहिले भ्रमण वर्षको रन्कोमा गन्तब्य घोषणा गर्ने, कार्यक्रम उद्घाटन गर्नेमा भन्दा संसारभर छरिएर रहेका खर्च गर्न सक्ने युवाहरु जो बढी समय सिनेमा, गीत सङ्गीतमा तल्लीन हुन्छन् उनीहरुले रुचाएका माध्यममा देशको उपस्थिति जोडदार बनाउनमा बढी जोड आवश्यक छ।
यहाँ विचार गर्नुपर्ने कुरा एउटा मात्र के हो भने यो ठीक वा बेठीक भन्नु भन्दा पर्यटकको संख्या बढ्ने, बस्ने अवधी बढ्ने र दैनिक खर्च बढ्ने अवस्था ल्याउन के कस्ता उपायहरू चाहिएलान् तिनको खोजी गरिनुपर्छ। निश्चित रूपमा ती खोजीहरु पुराना कामका निरन्तरतामा नभई तिनका क्रमभङ्गता वरिपरि केन्द्रित हुनेछन्।