भारतीय लेखक मनु जोसेफले सामाजिक सञ्जाल युगमा मानव समाजमा विकसित प्रवृत्तिहरूबारे एउटा घतलाग्दो कुरा भनेका छन्ः यो युगमा मान्छेको सोच्ने, कुनै विषयमा जाँच पड्ताल गर्ने र गुणदोषका आधारमा निश्कर्षमा पुग्ने क्षमता हराइसकेको छ। कुनै विषयमा गलत निश्कर्षमा पुगेको पत्ता लागेपछि व्यक्ति त्यसलाई स्वीकारेर पछि फर्कने सम्भावना झनै क्षीण हुँदै गइरहेको छ। बरु त्यसको साटो जति ठूलो गल्ती त्यति नै धेरै बल लगाएर गलतलाई सही प्रमाणित गर्ने कोशिस गर्नु आमप्रवृत्ति बनेको छ।
मानिसलाई आफू पुगेको निश्कर्ष वा आफूमा विकसित विश्वासको परख गर्ने धैर्य छैन। हामीलाई दिमागमा कुनै भाव वा विश्वास झुल्किनासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत् प्रसारण गर्न हतार हुन्छ। एकचोटि त्यसरी दुनियाँसामु पेस गरेपछि गलतै भए पनि त्यो व्यक्तिको पहिचानको हिस्सा बन्छ। त्यसबाट पछि फर्कनु भनेको त्यसरी बनेको पहिचानको एउटा हिस्सा गुमाएसरह हुन पुग्छ। त्यसो गर्दा व्यक्तिको ‘इगो’मा चोट पुग्छ।
मान्छेको विचार निर्माण प्रक्रिया कुनै सूचना ग्रहणबाट सुरू भई त्यसका गुण–दोष परख गर्ने मस्तिष्कभित्रको लामो र अर्थपूर्ण प्रक्रियापछि मात्रै परिपक्व भएर व्यक्त गर्न तयार हुन्थ्यो। यसबीच व्यक्ति कुनै पनि धारणा वा विचारमा अघि बढ्न र पछि फर्कन सक्थ्यो। अब त्यो प्रक्रिया छोटिएर ग्रहण–प्रसारणमा सीमित भएको छ। एकचोटि प्रकट गरेको विचार वा विश्वासबाट मानिस पछि फर्कने, गल्ती स्वीकार्ने, प्रायश्चित गर्ने प्रवृत्ति दिनानुदिन घट्दो छ।
रामबहादुर बमजनका करतुतहरूबारे सेतोपाटीमा पढेपछि मैले सुरूमा जोसेफको यही भनाइ सम्झेँ। जब बमजनका अनुयायीहरूले पत्रकार सम्मेलन गरेरै उनको बचाउको प्रयास गरे, जोसेफले यिनै मानिसलाई आधार मानेर त्यसो भनेजस्तो भयो।
यो समग्र प्रकरणमा मलाई लागेको के भने, यसले जति बमजनको ढोंग र आपराधिकताबारे बोल्छ, त्यति नै हाम्रो सामाजिक मनोविज्ञान र समग्र समाजको शुष्कता, निकम्मापन र संवेदनहीनताबारे बोल्छ।
सुरूमा जसरी किशोर तपस्वीको हौवा फैलियो, त्यतिखेर मानिसमा उनीप्रति उत्सुकता हुनु स्वाभाविक हो। सही अर्थको धार्मिक वा आध्यात्मिक प्रवृत्ति समाजमा खस्किँदै गर्दा मानिसमा जुन भावनात्मक खाडल विकास भएको छ, त्यसलाई अझै भौतिक वस्तु र सुविधाहरूको बढ्दो उपभोगले भर्न सकेको छैन। मानिस दैनिक जीवनको उराठलाग्दो एकांकीपनबाट मुक्तिका लागि कुनै जादुमयी हौवा वा व्यक्ति पछि लाग्न हिच्किचाउँदैनन्। आधुनिक समाजमा मानिसको यही कमजोरी बुझेका हरेक रङका धर्म–गुरूहरू अहिले भारतमा अकुत धन कमाइरहेका छन्। हत्या र बलात्कारको धन्दा दशकौंसम्म निर्धक्क चलाइरहेका छन्।
मानिसको त्यस्तै व्यग्रता र उत्सुकतावश सुरूमा रामबहादुर बमजन वरिपरि भीड जम्मा हुन पुग्यो। त्यो भीड देखेर झनै ठूलो भीड जम्मा भयो। मानिसका लागि कुनै पनि तमासाको जस्तो चुम्बकीय आकर्षण केहीको हुँदैन।
लामो तपस्या लगायत उनका कथित चमत्कारका समाचार जति धेरै फैलिए, तिनमा त्यति नै अलौकिकता र तिलस्मीपनको लेप लाग्दै गयो। समयको कुनै विन्दुमा गएर विदेशीहरू पनि भीडमा मिसिए। यसै पनि पश्चिमको चरम् उपभोक्तावादी जीवन शैलीबाट विचलित भएर शान्तिको खोजीमा पूर्वतिर फिर्ने अमेरिकी र युरोपेलीहरूको कमी छैन।
बमजनका भक्तमा गोराहरूको मिसावट देखिएपछि त्यसले उनको ‘कल्ट’ लाई झनै जब्बर बनाइदियो। विदेशी त यिनका पछि लागेका छन् भने पक्कै यिनमा केही शक्ति हुनुपर्छ भन्ने धेरैलाई पर्न गयो।
तर गएका १३ वर्षमा यति मात्रै भएको रहेनछ भन्ने अब खुलस्त भइसकेको छ। बमजन आश्रमका कर्तुत पढ्दा कुनै बर्बर मध्ययुगीन युद्ध–सरदारको झल्को आउँछ, जसका लागि आफू वरपरका सबै मानिस वस्तुसरह हुन् जसलाई आवश्यकताअनुसार उपयोग गर्न सकिन्छ र नष्ट पनि। ती मानिसका लागि यथास्थितिबाट निस्कने बाटो निकै निम्छरो बनाइएको हुन्छ।
उसो भए त्यस्ता करतुत र अपराधहरू यति लामो समय कसरी छिपेर बसे? बलात्कार लगायतका गम्भीर आरोप लगाएर पीडितले राज्यलाई गुहार्दासमेत किन राज्य संयन्त्र मौन बस्यो? मिडियाले किन बमजनसम्बन्धी सतहमा देखिएका कुरा मात्रै लेखी वा देखाई टोपलेर त्यसलाई खोस्रने काम यति लामो समय गरेन? जसलाई बमजनका करतुतबारे थाहा थियो, तीमध्ये पीडितहरू किन खुलेर बाहिर आउन सकेनन्? पूर्वमन्त्रीलगायत कथित बोधी धर्म संघसित जोडिएका मानिसले त्यस्ता अपराधबारे जानकार भई भई किन बमजनलाई साथ दिनुका साथै उनको बचाउमै ओर्लिरहेका छन्?
राज्य संयन्त्रले उनको आश्रमबाट बेपत्ता पारिएकाहरूको खोजी गर्दै गर्दा नागरिकका तर्फबाट हामीले यी प्रश्नको उत्तर खोज्नु जरुरी छ।
बमजन प्रकरणमा गडबडी कहाँबाट सुरू भएको देखिन्छ भने, आफूलाई गुरू भन्ने बमजन र उनका चेलाहरूको ‘एलिट’ हिस्साका लागि अध्यात्म सुरूदेखि नै एउटा सुविधाजनक खोल मात्रै थियो। त्यही खोल ओढेर उनीहरूले सांसारिक लाभ, पैसाले किन्न सकिने र भीडको बलमा हडप्न सकिने तमाम सम्पत्ति र सुविधाहरू हासिल गर्न सक्थे। धर्मको खोल जति बाक्लिंदै गयो, धनार्जन र अपराध पनि त्यसभित्र उति नै मौलाउँदै गए र पीडितहरूलाई विद्रोह गरेर निस्कन कठिन बन्दै गयो।
उसो भए बमजन आफैंको मनोविज्ञान कसरी विकृत र आपराधिक बन्न गए होला त? यसमा सुसूचित अनुमानसम्म लगाउन सकिन्छ।
बमजन सुरूमा घरबाट हराउँदा १४ वर्षे किशोर थिए। किशोरकाल त्यस्तो समय हो जब बालबालिकाहरू संसार र सम्भावनाको असीमित प्रकृति हेरेर एकसाथ सशक्त र अशक्त महसुस हुने नयाँ युगमा प्रवेश गर्छन्।
सशक्त यसर्थ कि, बाल्यकालको दायराबाट बाहिरिएको शारीरिक–मानसिक फुर्तिका बलमा त्यतिखेर संसार जित्ने आत्मबल आउँछ।
अशक्त यसर्थ कि, त्यो आत्मबलअनुसारको व्यवहार देखाउन आवश्यक आर्थिक–सांगठनिक पूर्वाधारहरूको अभाव सर्वत्र देखिन्छ। त्यही सशक्तता र अशक्तताको द्वन्द्वबीच वर्षौंको सिकाइ र अनुभवपछि महत्वाकांक्षाहरूमा लगाम लगाउँदै र जीवनका लागि यथार्थपरक लक्ष्य चयन गर्दै किशोरकिशोरीहरू युवायुवतीमा बदलिन्छन्।
त्यही संवेदनशील किशोर–युवा संक्रमणमा जो असफल हुन्छन्, तीमध्ये यथार्थको धरातल बिर्सेर आफूलाई अतिशय सशक्त सम्झिरहनेहरू ‘मेनिया’ नामक मानसिक समस्याले ग्रस्त हुन्छन्। उनीहरूका सपना र आत्मविश्वास यथार्थको धरातलबाट निकै माथि हुन्छन्। त्यसविपरित आफ्नो अशक्तताप्रतिको विरक्ति झेल्न नसक्नेहरू डिप्रेसनमा जान्छन्। तिनका लागि संसारमा निराशा र अन्धकारबाहेक केही हुँदैन।
यी दुई ध्रुवबीच उस्तै प्रकृतिका अलि कम लक्षण हुने ‘हाइपोमेनिया’ र ‘सबक्लिनिकल डिप्रेसन’ नामक समस्या हुनेहरू समाजमा झनै ठूलो संख्यामा भेटिन्छन्।
आफू बूद्धभन्दा ठूलो ‘मैत्रेय बुद्ध’ भएको दाबी गर्नु, विश्वशान्तिका लागि तडकभडकसाथ पूजा लगाउनु, तपस्याको बलमा गढीमाइको पशुबलि रोक्ने दाबी गर्नु, यस्ता विभिन्न गतिविधिले बमजनमा मेनियाका लक्षण भएको देखाउँछन्। यद्यपि विस्तृत मानसिक जाँचपडताल नगरी उनको मानसिक स्वास्थ्यबारे यकिन भन्न सकिंदैन। जे भए पनि उनको मानसिक स्वास्थ्य विकृत भएकोमा अब कुनै दुविधा छैन।
उनको मनोवृत्तिमा आपराधिकता कहिले प्रवेश गर्यो र कसरी मौलायो भन्ने यकिन गर्न कठिन छ। त्यो मौलाउन पर्याप्त अवसरको सिर्जना उनी वरिपरिको भीडले गरेको हो। वरिपरिका सबैले गुरुदेखि भगवानसम्मको कोटीमा राखेपछि आफू जवाफदेहिता र देशको कानुनभन्दा माथि रहेको भान बमजनमा पर्न गएको प्रस्टै देखिन्छ। अपराधलाई दण्डहीनताले जस्तो मलजल केहीले गर्दैन। त्यसमाथि उनले बेलाबेला झुट बोलेको र गलत व्यवहार गरेको प्रमाणित भइसक्दा पनि मानिस उनको पछि लागिरहेपछि उनको आपराधिकता झनै मौलाएको देखिन्छ।
समग्र प्रकरणमा जसले बमजनको आपराधिकताबारे थाहा पाएर उनीसित टाढिए, उनीहरूमार्फत यो विषय चाँडै सतहमा नआउनु दुर्भाग्यपूर्ण कुरा हो। तीमध्ये धेरै त गंगामाया तामाङजस्तो नाजुक र संवेदनशील अवस्थामा थिएनन्। यथार्थ के पनि हो भने, केही अपवादबाहेक एउटा आममानिसले बोलेको कुराको अर्थपूर्ण सुनुवाइ हुने अवस्था नै समाजमा छैन। त्यसमाथि त्यति धेरै मानिसले गुरू वा भगवान मानेको मानिसविरुद्ध दरो प्रमाणविना बोल्नु कुनै व्यक्तिका लागि आत्मघाती पनि हुन सक्थ्यो।
त्यस्ता प्रमाण जुटाएर कानुनी शासन स्थापित गर्ने जिम्मा बोकेको राज्य त गंगामायाको सार्वजनिक खुलासापछि साढे तीन महिनासम्म कानमा तेल हालेर बस्यो भने जीविकाका अनेक टन्टा बोकेर हिंडिरहेका आममानिसलाई कसरी दोष दिनु।
केही वर्षअघि यो प्रकरणबारे खुलासा भएको भए धेरैको जीवन बर्बाद हुन वा जानबाट बच्ने रहेछ भन्ने अहिले सबैलाई परेको छ। यथार्थ के पनि हो भने, गंगामायाले ठूलो जोखिम मोलेर खुलासा नगरेको भए अरू लामो समय अझ धेरै जीवनहरू बर्बाद हुने पनि थिए।
बमजनको ‘कल्ट’ ले सेतोपाटीले गरेको खुलासालाई तर्कमा गएर खण्डन गर्ने प्रयासै नगरी ‘सडेको’ समाचार भएको आरोप लगाएको छ। उता उनले शोषण, यौन–हिंसा गरेका तथा बेपत्ता पारेका पीडित वा आफन्तहरूले राज्यसित छानबिन र न्याय माग गरेका छन्। जवाफमा पूर्वमन्त्री मणि लामाले पत्रकार सम्मेलनमा आरोपको प्रतिकार कम र प्रवचन ज्यादा दिएका छन्।
बमजनका अनुयायीहरूले गर्न थालेको बचाउमा मानसिक आत्मरक्षाका सबैजसो नकारात्मक तत्व (जसलाई मनोवैज्ञानिकहरू ‘लेबल वन’ वा ‘साइकोटिक डिफेन्स मेकानिजम्’ भन्छन्) भेटिन्छन्ः
१) अस्वीकार वा ‘डिनायल’: धर्मगुरुले दुर्व्यवहार गर्ने कल्पनै गर्न सकिंदैन, बेपत्ता भएका भनिएका व्यक्तिहरु आश्रममा कहिल्यै छँदै थिएनन्।
२) विकृतीकरण वा ‘डिस्टोर्सन’: बमजनमाथि बलात्कारको आरोप लगाउने आनी चोरेको आरोपमा निकालिएकी हुन्।
३) भ्रान्तिपूर्ण प्रक्षेप वा ‘डेल्युजनल प्रोजेक्सन’: बमजनले दुराचार गरेको नभई उनका अनुयायी धेरै भएकोमा रिस गर्नेहरूले बमजनबारे आख्यान बनाएर समाचारका रूपमा छापेका हुन्।
जे भए पनि कानुनी लडाइँले अब आफ्नो बाटो समात्ला।
यो विषयको बहसमा पीडक र पीडितबाहेक तेस्रो पक्ष अर्थात् समाजको भूमिकाबारे झनै गम्भीर बहस हुनु जरुरी छ। सुरूदेखि हौवाका भरमा बमजनकहाँ पुग्नासाथ उनलाई भगवानै सम्झेर दानदक्षिणा गर्ने मानिसबाट आत्मनिरीक्षणको प्रक्रिया सुरू हुन जरुरी छ।
मानिसले अझै के बुझ्नु जरुरी छ भने, इमानदारी र मेहनतका साथ काम गर्नुबाहेक संसारका दु:खबाट छुटकारा पाउने अर्को कुनै छोटो बाटो छैन। यो जन्ममा अघिल्लो जन्मको परिणाम भोग्नुपर्ने अनि यो जन्मका असल कामको पुरस्कार अर्को जन्ममा मात्रै पाइने भनेर पण्डितहरूले भुल्भुलैयामा पारिरहेको दक्षिण एसियामा मानिसलाई बुद्धले आफ्नो समयका हिसाबले बिल्कुलै नयाँ कुरा भनेका हुन्ः यो संसार र जीवनमा देखिने परिणामका कारणहरू यहीं छन्। तिनलाई खोतल, आविष्कार गर र स्वीकार। सबै कुरा भाग्य वा दैवको खेल हो भन्ने भाग्यवादी समाजमा बुद्धले क्रान्तिकारी नयाँ धारणा ल्याएका हुन्। अरूलाई पीडा दिएर तिमीले हिंसा गर्छौ भने तिमीभन्दा शक्तिशाली अर्को कोही आएर तिमीमाथि हिंसा गर्छ र तिमीलाई पनि पीडा हुन्छ।
त्यसैले, अरूलाई पीडा नदेऊ, हिंसा नगर। जीवन र संसारलाई सहज र सुन्दर बनाउन तिम्रो वशमा भएका काम गर। अरूमाथि करुणा र प्रेम गर। ज्ञान र चेतनाको उज्यालो फैलाऊ। तर, तिम्रो वशमा नभएका कुराका लागि पीर मानेर दु:खी नबन।
बुद्धको शिक्षामा कहीं पनि कुनै मानिसले झपटा पालेर तपस्या गरेको भन्ने समाचार आयो भने त्यही मानिसको पछि पछि कुद्नु भन्ने कुरा छैन। न त त्यस्तो मानिसको वरिपरि दक्षिणा लेनदेनको हाटबजार चलाउनु वा धर्मका नाममा सार्वजनिक जग्गा हडप्नु वा सयौं गाडीको लस्कर लगाएर युद्ध सरदारझैं यात्रा गर्नु र धुमधामसँग पूजा लगाउनु भन्ने नै छ।
बुद्धको सच्चा अनुयायी हुन गुम्बामा गएर सन्यासपूर्ण जीवन बिताउन पनि अनिवार्य छैन। बुद्धको शिक्षाको जम्माजम्मी सार आफैंलाई व्यवहारतः चेतनशील, इमानदार, शान्तिप्रेमी र दयावान मानिस बनाउने हो।
जबसम्म समाजका रूपमा हामीले यी कुरा बुझ्दैनौं, तबसम्म दुराचारी धर्मगुरूहरू पैदा भइरहनेछन्। बमजन प्रकरणबाट सबैले सिक्नुपर्ने पाठ यही हो।