अघिल्लो लेखमा (छोटा लगा र बलात्कारको सम्बन्ध) मैले सुरूतिर पुँजीवादले बलात्कार बढाएको भन्ने गृहमन्त्री रामबहादुर थापाको भनाइलाई सतही बहसको उदारहण भनें। अलि तल गएपछि समाजमा कायम लैंगिक तहीकरण (जेण्डर हाइरार्की)का लागि पितृसत्ता र बजारको गठजोडको प्रसंग थियो। कतिका नजरमा त्यो विरोधाभाषपूर्ण कुरा हुन सक्छ।
साँच्चिकै बजार वा पुँजीवादले पितृसत्तालाई भरथेग वा मलजल गरेको हो भने थापाको भनाइ सही हैन र? आज यही विषयमा लेख्दैछु।
गृहमन्त्री थापाको मात्रै नभएर आमरूपमा कम्युनिष्टहरूको अरु विषयमा झैं यसमा पनि एउटा अकाट्य धारणा हुने गर्छ- पुँजीवादले मानिसलाई फगत उपभोक्तामा बदलिदिन्छ। यो व्यवस्थामा मान्छे हैन, बजार सर्वशक्तिमान हुन्छ। त्यसैले पुँजीवादले बजारको सर्वश्रेष्ठता स्थापित गर्न प्रयत्न गर्छ।
उपभोगलाई बढवा दिएर पुँजीपतिहरूलाई झनै धनी बनाउन यो व्यवस्थामा जे पनि स्वीकार्य हुन्छ। त्यसैको एउटा कडी हो- स्त्री शरीरको वस्तुकरण (कमोडिफिकेसन)। त्यसको परिणामस्वरुप स्त्री शरीर उपभोग्य वस्तुमा बदलिन्छ र बलात्कारजस्ता अपराध मौलाउँछन्।
यो समस्याबाट मुक्तिका लागि पनि धेरै कम्युनिष्टसँग अकाट्य सुत्र छ- वर्गरहित समाजको निर्माण। त्यसो नहुँदासम्म अहिलेका कुनै पनि समस्या समाधान हुँदैनन्। त्यसो भएपछि अहिलेका कुनै पनि समस्या बाँकी रहँदैनन्।
धेरै कम्युनिष्टका यस्ता तर्कको आधार काल्पनिक र आदर्श वर्गविहीन व्यवस्था हो। तर, त्यस्तो दाबीको परख काल्पनिक आदर्श समाजका आधारमा हैन, विगतमा सोभियत संघ र चीनमा साम्यवादका नाममा जस्ता समाज निर्माण भए तिनका आधारमा गरिनुपर्छ।
त्यसो गर्नु किन पनि सान्दर्भिक हुन्छ भने नेपालमा तत्कालीन माओवादी पार्टीले माओनिर्मित चिनियाँ समाजलाई आदर्श थापेर रक्तपातपुर्ण युद्धसमेत चलाएको हो। नेपालमा माओवाद नमानिहाल्ने कम्युनिष्ट पार्टीले पनि ‘माओ विचारधारा’ मान्ने कर्मकाण्ड पूरा गर्ने गरेका छन्। लेनिन र स्टालिन त मार्क्स र एंगेल्सपछि कम्युनिष्टहरूका देव–मनुष्य (डेमीगड) भइहाले।
सोभियत संघ र चीनमा कम्युनिष्टहरू सत्तामा पुगेपछि साँच्चि लैंगिक न्याय स्थापित भएको थियो त?
यो प्रश्नको मोटामोटी उत्तर सकारात्मक नै हुन्छ। जुन परम्परावादी र पुरातन सामाजिक व्यवस्थालाई लेनिन वा माओका सत्ताले विस्थापित गरे, तीभन्दा कम्युनिष्ट सत्तामा लैंगिक न्याय बढी थियो। खास गरी भुइँ तहको राजनीति, लडाकुहरूको भर्ती र कम्युनको निर्माण र सञ्चालनमा लैंगिक विभेद न्युन थियो। कति अवस्थामा त्यस्तो विभेद अन्त नै पनि भएको थियो। त्यस खालको परिवर्तन हठात् भएको पनि थिएन। कम्युनिष्टले स्थापित गर्दै गरेको भनिएको आदर्श समाजमा लैंगिक विभेद नामेट हुन्छ भन्ने प्रोपागाण्डाको महत्वपूर्ण पाटो थियो। कम्युनिष्टको आगमनसँगै अफगानिस्तानजस्तो अतिशय पुरुषवादी समाजमा समेत महिला सशक्तीकरण भएको भनेर लेखक खालेद होसेनीका उपन्यासमा पढ्न पाइन्छ।
कम्युनिष्टको शासनमा लैंगिक न्यायको पूरै कथा त्यतिमात्र हैन। झण्डै साढे आठ दशक चलेको सोभियत सत्ताका आठ शासक सबै पुरुष थिए। माओकालीन ‘साम्यवादी’ चीन होस् वा उनीपछिको कम्युनिष्ट पार्टीले नै चलाएको पुँजीवादी चीन, त्यहाँ पनि सत्ताको निर्णायक पदमा महिला पुग्न सकेका छैनन्।
यसका अरू धेरै सान्दर्भिक आयाम छन् जुन झट्ट हेर्दा ठम्याउन गाह्रो हुन्छ।
सन् १९६७ मा प्रकाशित संस्मरण मा जोसेफ स्टालिनकी छोरी स्भेत्लाना अलिलुएभा लेख्छिन्(१): सन् १९४८ मा गिरफ्तारीको नयाँ चरण शुरु भयो। मेरा दुई काकी, अंकल पावेल र रिडेन्सका विधवा र तिनलाई चिन्ने सबै गिरफ्तार भए। ... मैले काकीहरूको के दोष थियो भनी सोध्दा बुवा (स्टालिन)ले भनेः उनीहरूले धेरै कुरा गरे। उनीहरूलाई धेरै थाहा थियो र धेरै बोले। त्यसो गर्दा हाम्रा शत्रुलाई बल पुग्छ।
अलिलुएभाका अनुसार शासनकालको उत्तरार्धतिर स्टालिन नितान्त एक्लो थिए। कारण, उनी यति माथि भगवानजस्तो उचाइमा पुगिसकेका थिए कि उनको हाराहारीमा कोही मनुष्य पुग्दैनथ्यो। फलस्वरूप उनी भावनात्मक मानव संसर्ग विनाको ‘भ्याकुम' वा शून्यतामा बाँचेर विश्वको एउटा महाशक्तिलाई हाँकिरहेका थिए। बाबुलाई व्याख्या गर्न अलिलुएभाले ‘प्याथोलोजिकल’ र ‘पर्सेक्युशन म्यानिया’ शब्द प्रयोग गरेकी छन्। त्यस्तो गम्भीर मानसिक समस्याले ग्रस्त स्टालिनले आफू वरपर दुश्मन मात्रै देख्न थालेको दशकौं भइसकेको थियो। उनको दुश्मन बन्न कसैले उनलाई घात वा अरु कुनै काम गरेको हुनु पर्दैनथ्यो, जसको भविष्यमा नियत खराब हुने सम्भावना थियो भन्ने उनलाई लाग्थ्यो, ऊ स्वतः प्रतिक्रान्तिकारीमा दरिएर सफायाका लागि योग्य हुन्थ्यो।
कथित प्रतिक्रान्तिकारी वा सोभियत विरोधीहरूमाथिको आरोप समयअनुसार बदलिन्थ्यो। बेलाबेला त्यसमा चर्को नश्लभेद झल्किन्थ्यो। जस्तो कि आफैं वरपरका धेरैलाई उनले ‘जायोनिस्ट’वा यहुदीवादी भएको आरोपमा पक्रेर मारिदिन्थे। अलि दिनपछि पक्रेर मारिनेमाथि फेरि ‘कस्मोपोलिटान’ वा सर्वदेशीय भएको आरोप लाग्थ्यो। ती आरोपमाथि प्रश्न उठाउने वा प्रतिकार गर्ने हैसियतमा कोही हुँदैनथ्यो।
आफ्नै छोरीसँग स्टालिनको रवैया पनि कम्युनिष्टले दाबी गर्ने गरे झैं महिला मुक्तिको भावनाअनुकुल थिएन। जब कसैले नगर्ने दुस्साहस गरेर अलिलुएभा स्टालिनका बर्बर कामहरूमाथि प्रश्न उठाउँथीन्, उनी क्रुद्ध भएर भन्थे- तँ आफैं सोभियतविरोधी अभिव्यक्ति दिन्छेस्। अलिललुएभाका दोस्रो पति झ्दानोभको परिवारबारे स्टालिन भन्थे, 'त्यहाँ किन जानुपर्यो? त्यहाँका आइमाइले तिमीलाई ज्यूँदै खानेछन्। त्यो घरमा चाहिनेभन्दा ज्यादा महिलाहरू छन्।’
तीसको दशकको अन्ततिर कुख्यात ‘पर्ज’ वा ‘ग्रेट टेरर’का बेला स्टालिनको मान्छे मार्ने काम ढल सफा गर्नेजस्तै कर्मकाण्डका रूपमा चलेको थियो। स्टालिनका बायोग्राफर सिमोन सेबाग मन्टेफियरले बीबीसीको वृत्तचित्र ‘स्टालिनः इन्साइड द टेरर’का लागि बताए अनुसार स्टालिन आदेश दिन्थे: यो शहरमा मारिनुपर्ने ५ हजार, निकाला गरिनुपर्ने २० हजार, बस्। (२)
न कुनै कारण न कुनै निहुँ वा औचित्य। यसरी स्टालिन र उनको सानो समूहले निर्धारित गरेको संख्या वा कोटाको आधारमा मानिस बाँच्थे वा मारिन्थे। तिनको दोष त के पहिचान र नामसितसमेत उनीहरूलाई सरोकार हुँदैनथ्यो। त्यति हुँदाहुँदै पनि खास व्यक्तिको चाहिं नाम तोकेर मृत्युको आदेश दिन पनि भ्याउँथे स्टालिन। तीमध्ये धेरै गृहयुद्ध र बोल्सेभिक क्रान्तिताका उनी सरह वा उनले भन्दा बढी भूमिका निभाएका उनका आफ्ना जीवनभरका साथी कमरेडहरू हुन्थे। त्यस्ता धेरै आदेशका प्रमाणहरू अहिलेसम्म सुरक्षित छन्।
स्टालिनको शासनबारे पछिल्लो समय उत्खनन भएका प्रमाणहरूमा आधारित उक्त वृत्तचित्रका अनुसार उनी आफैंले हस्ताक्षर गरेका मारिनुपर्ने मानिसका ४०० वटा सूची थिए। तिनमा ४० हजार जति मानिसको नाम थियो। स्टालिन आतंकको उत्कर्षका बेला सात लाख जति मानिस त्यसरी मारिएका थिए। सन् १९३७ डिसेम्बर १२ का दिन मात्रै स्टालिन र उनका सहयोगी मिखाइलोभिच मोलोतोभले ३१६७ जनाको मृत्युदण्डमा हस्ताक्षर गरेर सिनेमा हेर्न गएका थिए।
इतिहासकार टिमोथी स्नाइडरका अनुसार (३) १९३३–१९४५ को अवधिमा स्टालिनका गुलागहरूमा २० देखि ३० लाख मानिस मारिएका थिए। ‘ग्रेट टेरर’ लगायतमा करीब १० लाख मानिसको हत्या गरियो। उनको तीव्र औद्योगिकरणको आर्थिक नीतिका कारण सन् १९३०–१९३३ को भोकमरीमा कम्तीमा ५० लाख मानिस मारिए। यसरी स्टालिन शासनमा मारिएका कुल गैरसैन्य मानिसको संख्या ८०–९० लाख रहेको मानिन्छ।
बीसौं शताब्दीमा हिटलरबाहेक मान्छे मार्ने काममा स्टालिनलाई उछिन्ने मान्छे माओ त्से तुङ मात्रै थिए।
स्वभावतः धेरै वामपन्थीहरूले यी तथ्यांकलाई पुँजीवादी प्रोपागाण्डा मान्छन्। तर स्टालिनकी छोरी मात्रै नभएर उनकी नातिनी, भान्जा–भान्जी लगायतका जीवित सदस्यहरूले उल्लिखित वृत्तचित्र लगायतमा स्टालिनको क्रुरता र उनको शासनको प्रलयकारी अवस्थाबारे खुलेर बोलेका छन्। फेरि स्टालिनको बर्बरता सोभियत संघ ढलेपछि मात्रै सार्वजनिक भएको हैन। सन् १९५६ मै उनका उत्तराधिकारी निकिता खुस्चेभले पार्टीको बीसौं बैठकमा दिएको विख्यात गोप्य भाषणमा त्यसको खुलासा र निन्दा गरेका थिए। चीनमा त माओको निर्ममता र विध्वंश भोगेको पुस्ता अझै जीवितै छ।
सोभियत संघ र माओका पालाको चिनियाँ कम्युनिष्ट शासनजस्तो समाजको अप्राकृतिक अवस्थामा लैंगिक न्यायजस्ता विषयहरू यसै पनि गौण हुन पुग्छन्।
एउटा अर्को उदाहण हेरौं। एक चिनियाँ उपन्यासकार यु हुआको साथीका बाबुआमा माओको कुख्यात सांस्कृतिक क्रान्तिको भुंग्रोमा परेका थिए। बाबु जमिन्दार परिवारबाट आएका हुँदा बुर्जुवा वा जनताका दुश्मन घोषित भएका थिए। विपन्न परिवारबाट आएकी आमा सांस्कृतिक क्रान्ति सफल बनाउन परिचालित दस्ताकी सदस्य थिइन्। सम्बन्धविच्छेदका लागि पार्टीबाट आएको चर्को दबाब उनले अस्वीकार गरिन्। उनका पतिलाई क्रान्तिकारीहरूले बैठकमा बोलाएर अपराध सकार्न दबाब दिन्थे। नसकारेपछि उनीमाथि लात र मुक्का बर्सिन्थे तर ती थाप्न बीचमा आमा आउँथिन् र सहकर्मी क्रान्तिकारीहरूसित भिड्थिन्। उनको शरीर निलडामले भरिन्थ्यो, दुवै रक्ताम्य हुन्थे तर उनी डटिरहन्थिन्।
सांस्कृतिक क्रान्तिको पागलपन सकिएपछि ती बाबुले आफ्नी छोरीसित भनेछन्ः तिम्री आमाले त्यति नगरेको भए मैले उहिल्यै आत्महत्या गरिसकेको हुने थिएँ। (४)
अब फर्कौं यो लेखको केन्द्रीय विषयतिर। विशुद्ध लैंगिक न्यायका हिसाबले हेर्ने हो भने पुँजीवाद र साम्यवादमध्ये कुन चाहिंले अर्कोलाई उछिन्ला?
एउटा तथ्य के हो भने संसारमा पुँजीवाद वा साम्यवाद जन्मनुभन्दा हजारौं वर्षअघिदेखि पितृसत्ता हावी थियो। त्यसले उत्पन्न गर्ने लैंगिक विभेद र यौन हिंसा लगायतका विकारहरू पनि स्वभावतः मानव समाजमा थिए। पुँजीवादको उदयसँगै पितृसत्ताका जुन अवयवहरूले बजार र नाफालाई प्रश्रय दिन्थे स्वभावतः तिनको मलजल भयो। जस्तो कि पुँजीवादी व्यवस्थामा विज्ञापनको ठूलो भूमिका छ। फेशन वा पहिरन आधुनिक बजारमा किनबेच हुने एउटा महत्वपूर्ण वस्तु हो।
कुनै पहिरन वा अन्य उपभोग्य सामग्रीको विज्ञापनको माध्यमका रूपमा जब मानव शरीरलाई उपयोग गर्न थालियो, पुरुष र स्त्री दुबै शरीर त्यसका लागि उपयोगमा आए। जब विज्ञापनका लागि स्त्री शरीरको उपयोगबाट हुने नाफा बढी हुन आयो (जुन अवस्था स्वतः पितृसत्ताको उपज हो), विज्ञापनको बजारमा महिलाहरू बढी देखिन थाले। सुन्दरी प्रतियोगिताहरू संसारभर झन् ठूलो स्केलमा हुन थाले भने सुन्दर प्रतियोगिताहरूले तिनसित प्रतिस्पर्धा गर्न सकेनन्।
पुँजीवादमा जब अन्य मानवीय मुल्य मान्यताहरूलाई उपभोगको संस्कृतिले ओझेलमा पार्यो, उपभोग्य वस्तुहरूको दायरा फरक हुँदै गयो। असमान शक्ति सम्बन्ध र अर्थोपार्जनका माध्यमहरूमाथिको विगतदेखिको पकडका कारण उपभोक्ताको कित्तामा पुरुषहरू बलियो हुन पुगे। जस्तो कि यौनजन्य आवश्यकताका लागि पोर्नोग्राफिक सामाग्रीहरू सिद्धान्ततः पुरुषकै लागि भनेर बन्ने गर्दैनन् तर त्यसका मुख्य उपभोक्ता उनीहरू नै हुन पुगे। पाप–धर्मका परम्परागत बन्धनहरू फुक्लिंदै गर्दा पितृसत्ता र विषाक्त पुरुषत्व (टक्सिक म्यास्कुलिनिटी)को मेलले बलात्कारी मनोवृत्तिलाई बढावा दियो। समाजमा असमानता बढ्दै गर्दा सम्पन्नहरूले हिंसा नहुँदैको सुरक्षा र भइसकेको अवस्थामा न्यायमा सहज पहुँच पाए भने, विपन्नहरू दुबैबाट वञ्चित भए। विधिको शासन कमजोर भएको हाम्रो जस्तो समाजमा धनाढ्य अपराधीहरू न्याय प्रक्रियालाई नै प्रभावित पारेर उन्मुक्ति खरिद गर्ने अवस्थामा पुगे।
त्यसैले पुँजीवादी समाजमा लैंगिक न्याय र यौन हिंसाको कुरा जटिल छ।
तर साम्यवादको कथाचाहिं बेग्लै छ। सर्वहाराको अधिनायकवाद हुने भनिएका व्यवस्थाहरू सोभियत संघ र चीनमा शुरुदेखि नै सन्की र क्रुर तानाशाहको निरंकुश शासन बन्न पुगे। ‘सर्वहारा शासन’ तिनका नालायकी र अपराध छोप्ने मुखुण्डो मात्रै बन्यो।
सोभियत गुलागमा जबर्जस्ती श्रम गर्न पठाउँदा वा सफाया गर्ने बेला महिला र पुरुषबीच भेद गरिएन। चीनको सांस्कृतिक क्रान्तिका बेला विश्वविद्यालयका प्राध्यापकहरूलाई गाउँमा सुँगुर पाल्न पठाउँदा, वा प्रतिक्रान्तिकारीको आरोप लगाएर आक्रमण र बर्बर हत्या गर्दा महिला र पुरुषबीच कुनै भेद गरिएन। स्टालिन र माओ दुवैका प्रलयकारी आर्थिक नीतिका कारण जनसंख्याको उल्लेख्य हिस्सा लोप हुँदा कुनै लैंगिक विभेद भएन।
निश्कर्ष
अहिले पनि विश्वका धेरै कम्युनिष्टहरूले आदर्श मान्ने गरेको स्टालिनकालीन सोभियत संघको अवस्था कति त्रास थियो भने, स्टालिनकी आफ्नै पत्नि नादेझ्दा अलिलुएभाले सन् १९३२ मा ३१ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन्। छोरी स्भेत्लाना सन् १९६७ मा भारतमा आएको मौका पारेर अमेरिकामा शरण मागेर सोभियत संघबाट सदाका लागि भागेकी थिइन्। निकिता खुश्चेभले स्टालिनको आंशिक भण्डाफोर गरेपछि माओको चीनियाँ कम्युनिष्ट पार्टीले उनलाई संशोधनवादी भएको आरोप लगाएर निन्दा गर्दै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा फुट ल्याएको थियो। आजपर्यन्त नेपाललगायत धेरै देशका कम्युनिष्टहरूले माओको त्यही तर्क समातेर स्टालिनलाई क्रान्तिकारी र खुश्चेभलाई संशोधनवादी नै भन्छन्।
जबसम्म यी छ दशकसम्म बन्द रहिरहेका आँखा खोलेर वामपन्थीहरूले हिजोको सोभियत संघ र चीनको असली रूप हेर्न र स्वीकार्न सक्दैनन्, तबसम्म पुँजीवाद-समाजवाद बहस र तर्कवितर्कको कुनै पनि आयामले गहिराइ भेट्दैन। त्यो बहसको लैंगिक न्याय र यौन हिंसाको पाटो पनि त्यो यथार्थको अपवाद हुन सक्दैन।
सन्दर्भ सामाग्रीहरु:
(१) 20 Letters to a friend by Svetlana Alliluyeva. p. 171.