अबिच्युरी
चक्र बाँस्तोलासँगको मेरो अन्तिम कुराकानी लगभग साढे छ वर्षअघिको हो।
मस्तिष्कघात भएर ओछ्यान पर्नुभन्दा झन्डै छ महिनाअघि। उनकै निवास खुमलटार हाइटमा।
उनी प्रसन्न देखिन्थे। मनमा राजनीतिको बोझ थिएन। शरीरमा थकान थिएन। चंगा थियो उनको मन। गफ गर्ने मुडमा थिए।
उनी पनि झापाका। मेरो पारिवारिक चिनजान थियो। म उनलाई दाइ भन्थेँ।
अभिवादनपछि सामान्य प्रश्न सोधेँ, 'दाइ, के छ खबर? कस्तो छ तपाईंलाई?'
प्रश्न एक नम्बर गियरको थियो। उनले चार नम्बर गियरबाट उत्तर सुरु गरे, ‘म चक्र बाँस्तोलालाई रिडिस्कभर गर्दैछु।’
उनका दार्शनिक भावका कुरा मेरा लागि नौला थिएनन्। तर, त्यस दिन त्यो भाव जुन आकस्मिकतासाथ प्रकट भयो, मेरा आँखा र अनुहारको भाव सायद केही बदलिएको हुनुपर्छ।
उनले त्यो तुरुन्तै पढे।
हाँस्दै भने, ‘बस, बस। म विस्तारसँग बताउँछु।’
त्यसपछि धेरै बेर अरू नै कुरा गरे। एउटै विषयमा नअड्ने मन थियो उनको। एउटा हाँगाबाट अर्कोमा बुरुकबुरुक उफ्रिरहने भंगेराजस्तो। अस्थिर हैन, तर साह्रै चञ्चल।
धेरै बेरपछि बल्ल उनी 'रिडिस्कभरिङ चक्र बाँस्तोला’ मा फर्किए। भने, ‘बुझ्यौ, मेरो जिन्दगी दुइटा काम गरेर बितेछ। एउटा, कांग्रेसको केन्द्रीय समिति बैठकमा गएर। अर्को, पार्टीका साथीभाइ विदा गर्न आर्यघाट गएर। यसो फर्केर हेरेको आर्यघाट र कांग्रेस पार्टी कार्यालय दौड्दा दौड्दै चक्र बाँस्तोला त हराएछ।’
मैले उनको अनुहार हेरेँ। खुल्ला हाँसिरहेका थिए। आफैं हराएको पत्ता लगाएर उनका आँखा चम्किएका थिए।
भने, ‘डोन्ट गेट मी रङ। कांग्रेसमा मैले बिताएको समय ‘रिग्रेट’ गरेर यसो भनेको होइन। कांग्रेसमा मैले दिएको समय र गरेको काममा मेरो कुनै गुनासो छैन।’
उनले थपे, ‘मैले यति मात्र भन्न खोजेको, म आफैं हराइरहेको रहेछु।'
त्यसपछि केही समयअघिको आफ्नो भारत भ्रमणबारे सुनाए।
‘म र कुसुम (श्रीमती) यसपालि लामो भारत भ्रमण गरेर फर्कियौं। कुनै हाइफाई भ्रमण हैन। रेलको टिकट किन्यो। सुटकेस गुडायो, चल्यो। त्यो चक्र बाँस्तोला मलाई खुब मजा आयो। फेरि घुम्न जान्छौं केही समयपछि।’
तर, केही समयपछि उनको गुड्ने सुटकेस रोकियो। मोरङमा बाँस्तोला बन्धुहरूको भेलामा उनी मस्तिष्कघात भएर लडे। तुरुन्तै कोमामा गए। भारत र नेपालका विभिन्न अस्पताल र खुमलटार निवासका ओछ्यानमा लगभग छ वर्ष अचेत लडे।
यी छ वर्ष कुसुम भाउजू मात्र एक्लै चलिन्, एकोहोरो उनको सेवामा।
बाँस्तोलाकी कान्छी श्रीमती हुन् कुसुम। जेठी श्रीमती मधु आचार्य हुन्। शैलजा आचार्यकी बहिनी। मधु क्यान्सरले बितेपछि उनले दोस्रो बिहे गरेका थिए। दोस्रो बिहेबाट छोराछोरी थिएनन्। मधुतर्फका दुवै छोरी विदेशमै थिए।
ओछ्यान परेका श्रीमानलाई कुसुमले एक्लै स्याहारिन्, छ वर्ष। कति पत्नीको माया पोखिन्, कति आफ्नो मातृत्वको अंश त्यसमा मिसाइन्, उनै जानून्।
सुटकेस अडिएको छ वर्षपछि गएको शनिबार राति उनको जीवन पनि अडियो। उनी परलोक भए। आफैंलाई 'रिडिस्कभर' गर्ने उनको यात्रा अधुरै रह्यो।
बाँस्तोलाले आफूलाई ‘डिस्कभर' भने सन् १९६० को रोमाञ्चपूर्ण दशकमा गरेका हुन्।
२००३ सालमा झापाको हुनेखाने परिवारमा जन्मिएका उनी स्कुल पढ्न दार्जिलिङको सेन्ट रोबर्टस् स्कुल भर्ना भए। बिए र एमए गर्न २०२६ सालमा वनारस हिन्दु विश्वविद्यालय गए।
साठी दशक अमेरिकामा हिप्पी युग थियो। दोस्रो विश्वयुद्ध समाप्तिपछि जन्मिएका अमेरिकीहरू युवावस्थामा प्रवेश गर्दै थिए।
दोस्रो विश्वयुद्ध जितेपछि अमेरिका विश्व महाशक्तिका रूपमा स्थापित थियो। आर्थिक रूपमा बलियो मध्यमवर्ग तीव्र रफ्तारमा विस्तार हुँदै थियो। आफ्ना बच्चाहरूको आकांक्षा पूरा गर्न त्यो वर्गसँग स्रोत र साधन कमी थिएन।
त्यो समय हुर्किएका युवाहरू भने आफ्ना बुवाआमाको पुस्ताभन्दा फरक निस्किए। एक किसिमले अघिल्लो पुस्ताका मूल्य, मान्यता र परम्परालाई उनीहरूले चुनौती दिए। यो पुस्ताले अमेरिकी समाजको सीमालाई धकेल्यो। फराकिलो बनायो।
त्यो खुल्ला समाजमा पप म्युजिक जन्मियो। नयाँ फेसन जन्मियो। नयाँ मेकअप जन्मियो। घर, सजावट, फर्निचर सबै बदलिन थाले।
यो पुस्ताले देखिने, लाउने र बस्ने कुरा मात्र बदलेन। पुराना अवधारणामाथि नै धावा बोल्यो। घरमूलीको अभिभावकत्व र उसको ‘अथोरिटी’, अनुशासित बन्नुपर्छ, काम गर्नुपर्छ, करिअर बनाउनुपर्छ भन्ने धारणा, धर्मप्रति आस्था, देशभक्तिको परम्परागत भावना, विवाहप्रतिको प्रतिबद्धता सबैमाथि धावा बोल्यो। एक हिसाबले 'काउन्टर कल्चरल रिभोल्युसन’ थियो।
त्यसले एउटा नयाँ संस्कृति जन्मायो। नयाँ पुस्ता जन्मायो। स्थापित सामाजिक मर्यादामा नबस्ने पुस्ता। केही न केही नयाँ खोजिरहने, भौंतारिने पुस्ता। अन्वेषक पुस्ता।
त्यही पुस्ताको उत्कृष्ट वा कतिका नजरमा विकृत रूप थियो, हिप्पी! जुन भौंतारिँदै वनारस र काठमाडौं पनि आइपुग्यो।
जुन बेला चक्र बाँस्तोला दार्जिलिङ पढ्थे, त्यो बेला त्यहाँ हिप्पीको ‘ह’ पनि नछिरेको लेखक पिटर जे कार्थक बताउँछन्। अंग्रेजहरू बंगालको गर्मी छल्न बस्ने दार्जिलिङ धेरै अनुशासित थियो।
हिप्पीहरू दार्जिलिङ गएनन् तर 'क्लासका टुरिस्ट’ जान्थे। भारत, थाइल्यान्ड, बर्मा र सीमित रूपमा नेपाली विद्यार्थी पढ्न जान्थे। संगीत हुन्थ्यो। सिनेमा हुन्थ्यो।
‘सातामा हामी पाँच, छ वटा अमेरिकन र ब्रिटिस सिनेमा हेर्थ्यौं,’ कार्थकले भने।
बाँस्तोलामा सिनेमा, संगीत र कलाको चेत सायद दार्जिलिङमै बसेको थियो। जब उनी वनारस हिन्दु विश्वविद्यालय गए, उनी हेलिने सामाजिक परिवेश झनै फैलियो।
पढ्न वा राजनीतिक निर्वासनमा गएका धेरै नेपालीहरू वनारसको कम खर्चिलो ठाउँ खोजेर बस्थे। बाँस्तोला भने असीघाट बसे। असीघाट बनारसको ‘पोस एरिया’ मानिन्थ्यो। धनीमानी बस्ने ठाउँ। खर्च गर्न सक्ने विदेशी पनि त्यहीँ आएर बस्थे।
वनारस हिन्दु विश्वविद्यालयमा अंग्रेजी साहित्य र राजनीतिशास्त्र पढेका बाँस्तोलाको रुचि असीघाटको संगतले कला, साहित्य, संगीत, पेन्टिङ लगायतमा बस्यो। उनको मन भने केहीमा केन्द्रित थिएन।
असीघाटमै बाँस्तोलाले अमेरिकी कवि तथा दार्शनिक एलेन गिन्सवर्गलाई भेटे। गिन्सवर्ग अमेरिकामा 'काउन्टर कल्चरल रिभोल्युसन’ का मुख्य प्रणेतामध्ये थिए।
बाँस्तोलाले उनीसँग संगत गरे। वनारसका घाटहरूमा गफिए।
वनारसमै उनको भेट निर्वासनमा गएका नेपाली कांग्रेसका सभापति बिपी कोइरालासँग भयो। बिपीको व्यक्तित्व बहुआयामिक थियो। राजनीति, कला, साहित्य, दर्शनमा उनको समान चाख थियो। बिपीले कुरा गर्न र बहस गर्न चक्र पाए। चक्रले बिपी। दुवैको खुब जम्यो।
केही दिन चक्र आएनन् भने बिपी सोध्थे, 'चक्र कहाँ गए? बोलाऊ न।'
बिपीको संगतमा चक्र 'रोमान्टिक रिभोल्युसनरी' बने।
क्रान्तिका लागि उनको पहिलो मुख्य ‘असाइनमेन्ट’ तय भयो।
बिपीले बंगलादेशको स्वतन्त्रताका लागि शेख मुजिबुर रहमानलाई हतियार पठाउने निधो गरेका थिए। ती हतियार चक्र बाँस्तोला र अर्का एक जना कार्यकर्ताको जिम्मा लगाएर पठाए।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा भने उनी जहाज अपहरणबाट जोडिए। कांग्रेसले अपहरण गरेर फारबिसगन्जमा झारेको हवाइजहाजबाट आएको पैसा गन्तव्य पुर्याउने जिम्मा गिरिजाप्रसाद कोइराला र चक्र बाँस्तोलाको थियो। उनीहरूले उक्त पैसा दार्जिलिङ पुर्याए।
जहाज अपहरणको कसुरमा उनीमाथि भारतको दरभंगामा मुद्दा चल्यो। छ महिना जेल बसे। पछि तारेखमा छुटे। राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा बिपी नेपाल फर्किएपछि चक्र पनि नेपाल आए।
२०३९ सालमा बिपीको मृत्यु भयो। बिपीबाहेक उनले आफूलाई कसैको कार्यकर्ता स्वीकारेनन्।
एकदिन उनले खुमलटार निवासमा मलाई भनेका थिए, ‘गिरिजाप्रसाद मेरो नेता हो। तर म उहाँको कार्यकर्ता हैन। कांग्रेसमा म बिपीको मात्र कार्यकर्ता हुँ।’
२०४७ सालमा बहुदल स्थापनापछि उनले ‘नेता' गिरिजाप्रसादसँग काम गरे। २०४८ सालको पहिलो संसदीय निर्वाचन उनले एमालेका राधाकृष्ण मैनालीसँग हारे। तर, कुनै ‘क्लेश' नराखी उनले गिरिजाप्रसादलाई सरकार बनाउन सघाए।
'उहाँ स्काउटिङ गर्न जाउँ भन्नुहुन्थ्यो,' गिरिजाप्रसाद कोइरालाका त्यो बेलाका स्वकीय सचिव हरि शर्माले भने, ‘विभिन्न मानिस भेट्ने, कुरा गर्ने, सुन्ने र गिरिजाबाबुलाई सुनाउने, सल्लाह दिने काम गर्नुहुन्थ्यो।’
कांग्रेस नेता महेश आचार्यले बाँस्तोलाको त्यो खुबीको प्रशंसा गरे।
‘चक्रजी वनारसमै हुँदा पनि मान्छे भेट्न गइरहनुहुन्थ्यो। कुरा सुन्नुहुन्थ्यो। फर्केर आएर बिपीलाई सुनाउने गर्नुहुन्थ्यो,’ आचार्यले भने, ‘बहुदल आगमनपछि पनि गिरिजाबाबुलाई काठमाडौंका ‘इलिट' ले बाहिरिया ठान्थे। चक्रजी बढो सहजतासाथ त्यो वर्गमा पुग्नुभयो। कुरा गर्नुभयो। पहुँच बढाउनुभयो।’
हुन त चक्र बाँस्तोलालाई पनि काठमाडौंका इलिट, पूर्व प्रशासक वा राज्य संयन्त्रसँग जोडिएका तथा राज्य सञ्चालनमा काम लाग्ने मानिसहरूले चिनेका थिएनन्।
‘तिनीहरुले उहाँको नाम सुनेका रहेछन्। एउटा क्रान्तिकारी र पढेलेखेका नेताका रूपमा उहाँलाई सबैले सजिलै भेटे, स्वीकारे,’ शर्माले भने।
गिरिजाप्रसादको मन्त्रीमण्डल निर्माणदेखि महत्वपूर्ण राजनीतिक नियुक्तिहरूमा उनले सघाए।
बाँस्तोलाले त्यो बेला भेटेका सूर्यप्रसाद श्रेष्ठ पछि निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त भए। केदारभक्त माथेमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति भए। माथेमा भने कांग्रेसका लागि नयाँ थिएनन्। उनका ठूला बुवा धर्मभक्त माथेमा राणा शासनकालका चार सहिदमध्ये एक थिए।
अर्थमन्त्री कसलाई बनाउने भनेर गिरिजाप्रसादलाई सकस थियो। अर्थमन्त्रीका लागि सम्भवत: उनको रोजाइमा परेका रामशरण महतले पनि चुनाव हारेका थिए। त्यो बेला अन्तर्राष्ट्रिय मुद्रा कोषमा काम गरिरहेका शुकदेव साहले कोइरालाको ‘अफर’ अस्वीकार गरिसकेका थिए।
चक्रले गिरिजाप्रसादलाई सुझाए, 'कांग्रेसको घोषणापत्र महेश आचार्यले लेखे। अरू दस्तावेज लेख्ने र तपाईंसँग बसेर कैयन काम उनैले गरिरहेका छन्। अर्थमन्त्री तपाईं बाहिर खोज्दै हुनुहुन्छ।'
नेपालमा बहुदल आएसँगै जर्मनीमा चलिरहेको अर्थशास्त्रको पिएचडी हापेर आचार्य नेपाल आएका थिए।
गिरिजाप्रसादलाई जच्यो। आचार्य अर्थ राज्यमन्त्री बने।
बाँस्तोलालाई भने उनले भारतको राजदूत जिम्मा दिए।
पार्टीभित्रको विग्रहले कांग्रेसको बहुमत सरकार ढल्यो। २०५१ सालमा मध्यावधि निर्वाचन लड्न उनी नेपाल फर्किए। चुनाव जिते।
त्यो बेला कांग्रेस एमालेभन्दा एक सिटले पछि पर्यो। त्यसपछि कांग्रेस र एमालेबीच सत्ताको घात-प्रतिघात चल्यो। राप्रपालाई सत्ताको नेतृत्व दिएर दुवै ठूला पार्टी सत्ताका 'जुनियर पार्टनर' बने। एमालेमा विभाजन आयो।
२०५६ सालको संसदीय निर्वाचन गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा हुने भयो। माहोल राम्रो थिएन। कोइरालाई ०५१ सालको झस्का छँदै थियो।
कांग्रेसले बहुमत कसरी ल्याउने भन्ने कोइरालाको टाउको दुखाइ थियो?
बाँस्तोलाले एकदिन कोइरालालाई भने, 'तपाईं मान्नुहुन्छ भने मसँग अचुक उपाय छ।'
कोइराला हौसिए, 'के हो उपाय?'
बाँस्तोलाले सुझाए, 'किसुनजीलाई कांग्रेसको आगामी प्रधानमन्त्री घोषणा गरेर जाउँ। कांग्रेस एक ढिक्का हुन्छ। कम्युनिस्ट विभाजित छन्। कांग्रेसको बहुमत आउँछ।'
‘चक्रजी आउट अफ बक्स सोच्न सक्ने नेता हुनुहुन्थ्यो। कैयनपटक उहाँले नेताहरूले सोचेभन्दा पृथक ढंगले सोचेर उपाय सुझाउनुभएको छ,’ महेश आचार्यले भने।
कृष्णप्रसाद भट्टराई कांग्रेसका भावी प्रधानमन्त्री घोषित भए। कांग्रेसले २०४८ सालको भन्दा ठूलो बहुमत ल्यायो।
भट्टराई दोस्रोपटक प्रधानमन्त्री भए।
गिरिजाप्रसादले भने छ महिनाभन्दा बढी भट्टराईको सत्ता सहेनन्। उनीविरुद्ध कांग्रेसमा हस्ताक्षर अभियानै सुरु भयो। कोइराला नजिककै कैयन मानिसले भट्टराईलाई तुरुन्तै हटाउन नहुने सुझाए।
त्यस्तो सुझाव दिनेमा महेश आचार्य पनि थिए।
माओवादी 'जनयुद्ध’ फैलिरहेको थियो। कांग्रेसभित्रै सत्ताको लुछाचुँडी बढ्दै गए दरबारले अन्तत: खेल्ने आचार्यको निष्कर्ष थियो। उनले कोइरालासँग अनुनय गरे, ‘तपाईं माओवादीहरूसँग कुरा गर्नुस्। उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने प्रयत्न गर्नुस्। त्यो काम तपाईंले मात्र गर्न सक्नुहुन्छ। किसुनजीको स्वास्थ्य राम्रो छैन। उहाँले केही समयमा छाडिहाल्नुहुन्छ। प्रधानमन्त्री हुने तपाईं नै हो।'
कोइरालालाई भने सत्ताको हतारो थियो। त्यही बेला भट्टराईलाई फ्रान्स भ्रमणको निम्तो थियो। उनले भ्रमणपछि राजीनामा दिने बताए। कोइरालाले मानेनन्।
भट्टराईले राजीनामा दिए।
त्यस बेला बाँस्तोलाले कोइरालालाई साथ दिएका थिए। सायद उनले कुरौं भनेका भए कोइरालालाई दबाब पुग्थ्यो। धेरैले त्यो घटनामा उनले विवेक गुमाएको भनी आलोचना गर्छन्।
वास्तवमा बाँस्तोला र भट्टराईलाई एकअर्काप्रति अनुराग थिएन। भट्टराईका लागि बाँस्तोला सधैं कोइरालाका ज्वाइँ थिए। बाँस्तोलालाई भट्टराईको विनोदपूर्ण आचरण मन पर्दैन थियो। राजनीतिले धेरै गम्भीरता माग गर्छ भन्ने उनी ठान्थे।
कोइराला मन्त्रीमण्डलमा उनी परराष्ट्रमन्त्री नियुक्त भए। त्यो बेला नेपाल-भारत सम्बन्ध तनावमा थियो।
भट्टराई प्रधानमन्त्री रहेका बेला २०५६ पुस ९ गते काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको जहाज अफगानी मुजाहिद्दिन विद्रोहीले अपहरण गरेका थिए। त्यो जहाज भारतको अमृतसर सहरमा अवतरण गराए। त्यहाँबाट उडाएर पाकिस्तानको लाहोर लगे। त्यहाँबाट दुबई। अन्तत: अफगानिस्तानको कान्दाहार विमानस्थलमा जहाज ओर्लियो।
भारतले बाध्य भएर आफूकहाँ जेलमा रहेका तीन जना मुजाहिद्दिन विद्रोहीलाई कान्दाहार लगेर छोड्यो। त्यसको बदलामा अपहरित जहाज र यात्रु फिर्ता ल्यायो। अपहरणलगत्तै भारतले नेपालसँग हवाई सम्बन्धविच्छेद गर्यो। नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा ठूलो धक्का पुग्यो। नेपाल आउने भारतीय पर्यटक प्रभावित भए।
कोइरालाले भारतसँग कुरा गरेर हवाई सेवा पुन: सञ्चालनको बन्दोबस्त मिलाउने जिम्मा बाँस्तोलालाई दिए।
भारतको कडा सर्त थियो— एयरपोर्टमा भारतीय 'सेक्युरिटी डेस्क' राख्न पाउनुपर्ने, 'ब्यागेज चेक' गर्न पाउनुपर्ने।
एउटा सार्वभौम राष्ट्रलाई यी सर्त मान्य हुने कुरै भएन।
बाँस्तोलाले सुरुमा त भारतीयहरूसँग थोरै धम्कीको भाषा पनि बोले। काठमाडौं-दिल्ली जहाज नउडे पनि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क नटुट्ने र नेपाललाई असर नपर्ने तर्क गरे।
भारत टसमस भएन।
लामो रस्साकस्सीपछि बीचको बाटो निस्कियो। नेपाली माटोमा भारतीय सुरक्षाकर्मीले जाँच गर्न नपाउने। भारतीय जहाजको सिँढीमा जोडेर भुइँभन्दा तीन फिटमाथि 'सुरक्षा केबिन’ राख्ने र यात्रुलाई त्यहाँ पनि जाँच गर्ने।
धेरैले यो प्रबन्धलाई नेपालको 'तीनफिटे’ सार्वभौमसत्ता भनेर आलोचना गर्ने गरेका छन्।
‘चक्र दाइलाई पनि त्यो प्रबन्ध मन परेको होइन,' हरि शर्मा भन्छन्, 'उहाँले बहुत भारी मनले स्वीकार्नुभएको थियो।’
त्यो सहमतिको केही समयपछि बाँस्तोलाको भारतीय विदेशमन्त्री जसवन्त सिंहसँग पोल्यान्डको राजधानी वार्सामा भेट भयो। लोकतन्त्रसम्बन्धी एउटा सम्मेलनमा भाग लिन दुवै जना आ-आफ्नो देशका प्रतिनिधिसहित वार्सा पुगेका थिए।
एउटै होटलमा बसेका सिंह र बाँस्तोला ब्रेकफास्टपछि टहल्न निस्के। मौका छोपेर बाँस्तोलाले भारतीय विदेशमन्त्री सिंहसँग गुनासो गरे, 'जहाज अपहरणपछि एयरपोर्टको सुरक्षा प्रबन्धमा भारतले नेपालको संवेदनशीलता बुझिदिएन।'
राष्ट्रियताको विषय नेपालमा संवेदनशील हुने गरेको उनले सम्झाए।
त्यो बेला सँगै रहेका हरि शर्माले जसवन्त सिंहको उत्तर सम्झिए, 'क्या कहते हैं, राष्ट्रवाद तो बहुत अजीब चिज होती है। आई ह्याभ अल्सो बर्न्ड माई ह्यान्ड।'
त्यसपछि सिंहले हात देखाउँदै भने रे, ‘मैने भी इन्ही हातोंसे टेरोरिस्टको कान्दाहार लेजाकर छोडा।'
बाँस्तोला दिल्लीमा राजदूत भएर बसेदेखि नै भारतसँगको सम्बन्धलाई लिएर उनमा एक किसिमको आत्मविश्वास देखिन्थ्यो।
'भारतको मूल हित हामीले पूरा गर्नुपर्छ। हामी भारतका मित्र हौं, अहित चिताउँदैनौं भन्ने विश्वास दिलाउनुपर्छ,' उनी भन्ने गर्थे, 'नेपालको हित पनि भारतले ख्याल गर्नुपर्छ। उनीहरूलाई त्यो भन्न, बुझाउन छोड्नुहुन्न। हाम्रो हित पनि छोड्नुहुन्न।’
परराष्ट्रमन्त्री भएर प्रधानमन्त्री कोइरालासँग भारत भ्रमणमा गएका बेला संयुक्त विज्ञप्तिको भाषामा भारतीयहरूले 'किचकिच' गरे।
साँझ दिल्लीस्थित नेपाली दूतावासमा डिनर थियो। भोलिपल्ट नेपाली प्रतिनिधिमण्डलले दिल्ली छाड्ने कार्यक्रम थियो। राति अबेरसम्म कुरा नमिलेपछि बाँस्तोलाले भनिदिए, 'नेपाल-भारत सम्बन्ध दुई देशका सरकारले तय गरेको सम्बन्ध हैन। यो जनताबीचको सम्बन्धमा जीवन्त छ। विज्ञप्ति जारी नगरे पनि हुन्छ। हामी यो 'गुडविल भिजिट' थियो भनिदिन्छौं।'
त्यसपछि भारतीय विदेश सचिव ललितमान सिंहले भने, 'नही, नही चक्रजी, हम लोग विज्ञप्तिमे सेहमति निकालेंगे।'
‘त्यसपछि रातभरि नेपाली दूतावासमै बसेर दुवै पक्षले विज्ञप्ति तयार गरे। बिहान प्रधानमन्त्री उठ्नु हुँदा विज्ञप्ति तयार थियो,’ त्यो छलफलमा उपस्थित हरि शर्माले भने।
बाँस्तोलाको सक्रिय जीवनको उत्तरार्द्धमा भने भारतसँगको उनको आत्मविश्वास त्यही तहको देखिन्न। विशेषगरी शान्ति प्रक्रियाबाट बाँस्तोला जसरी हटाइए, त्यसले गिरिजाप्रसाद र भारत दुवैप्रति उनको विश्वास टुटेको देखिन्छ।
ज्ञानेन्द्रले शासन हातमा लिएपछि कोइरालाले दरबारसँग कुरा गरेर प्रजातन्त्र फर्काउन धेरै प्रयत्न गरे। जब उनलाई दरबार सधैं शासन आफ्नो हातमा राख्न चाहन्छ भन्ने लाग्यो, उनले माओवादीसँग हात मिलाउने निधो गरे। सल्लाह बाँस्तोलासँगै गरे।
राजाको शासन सुरु भएको केही समयमा चीन गएका कोइराला र बाँस्तोला त्यहीँबाट दिल्ली हानिए। दिल्लीमा उनीहरूले पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई भेटे।
‘चक्रजीले लोकतन्त्रको रक्षाका लागि अब हामीले मिलेर जानुपर्छ भन्नुभयो,’ त्यो भेट सम्झँदै बाबुराम भट्टराईले भने, ‘हामीले किन र कसरी अघि बढ्ने भन्नेबारे बौद्धिक रूपमा विमर्श गर्यौं।’
माओवादीसँग त्यसपछिका भेटमा बाँस्तोला एकाएक हराए। उनको ठाउँ लिए, कृष्णप्रसाद सिटौलाले।
भट्टराईले भने, ‘किन हो कुन्नी, त्यसपछि कांग्रेसले चक्रजीलाई ल्याउन छाड्यो। के कारण हो उहाँहरू नै जानोस्।’
बाँस्तोलाले शान्ति प्रक्रियाबारे एकपटक उनकै निवासमा हामीसँग भनेका थिए, ‘माओवादीसँग सम्बन्ध बढाउने र वार्ता गर्ने हाम्रो आफ्नै पहल थियो। त्यसलाई पछि भारतीयहरूले कब्जा गरे।’
भारतीय स्वार्थका लागि बाधक हुनसक्ने ठानेर आफूलाई शान्ति प्रक्रियाबाट हटाइएको उनको जिकिर थियो।
गिरिजाप्रसादसँग बाँस्तोलाको सम्बन्ध पनि सुरुदेखि ‘एम्बिभ्यालेन्ट’ थियो, मिश्रित थियो। दुवैले पर्दा एकअर्कालाई सहयोग गरे। सम्बन्धको गहिराइ र न्यानोपन भने थिएन।
कोइरालालाई थाहा थियो, चक्र उनका कार्यकर्ता थिएनन्। उनका सबै कुरा आँखा चिम्लिएर मान्दैनन्। कैयनपटक विनासंकोच असहमति राखेका थिए उनले।
कोइराला पनि उनका लागि अपरिहार्य थिएनन्, जसरी धेरैका लागि थिए।
२०५८ साउनमा कोइरालाले राजीनामा दिएर शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएपछि कोइराला र देउवा दुवैबाट कांग्रेस पार नलाग्ने निष्कर्षमा बाँस्तोला पुगेका थिए।
कांग्रेस फुटेर देउवा समूह अलग भएपछि उनले आफ्नै निवासमा कांग्रेसका वरिष्ठ नेता बोलाएर कोइरालाको विकल्प खोज्न सुझाएका थिए। कोइरालाविरुद्ध रामचन्द्र पौडेललाई उठ्न सहमत गराउने उनले निकै प्रयत्न गरे।
त्यसैबीच ज्ञानेन्द्रले शासन लिए। बाँस्तोलाले त्यो प्रयत्न छाडे। माओवादीलाई मनाउन कोइरालालाई साथ दिए।
बाँस्तोला आफैं भने कुशल संगठक थिएनन्। आफैं कुनै दिन नेतृत्वमा पुग्न सक्छु भन्ने पनि उनमा धेरै आत्मविश्वास देखिन्न थियो। तर, कांग्रेसका लागि उनी सोचिरहन्थे। केही न केही प्रयत्न गरिरहन्थे।
महेश आचार्य भन्छन्, ‘जस्तोसुकै प्रतिकूल अवस्थामा पनि उहाँ प्रयत्नशील हुनुहुन्थ्यो। जागरुक हुनुहुन्थ्यो। केही न केही बाटो खोजिरहनुहुन्थ्यो।’
बाँस्तोला ओछ्यान परेका पछिल्लो छ वर्षमा कांग्रेसमा उनको उपस्थिति खट्किएको आचार्यले बताए। ‘अब उहाँ नै नरहेपछि त कांग्रेसले ठूलो रिक्तता ब्यहोर्नेछ,’ उनले भने।
कांग्रेस पार्टीको जीवनमा बूढा र तन्नेरी, सक्षम र अक्षम कैयन नेता छन्। धेरै पुस्ताको खात छ।
उनको अनुपस्थितिको रिक्तता भने सबैभन्दा धेरै हुनेछ कुसुम भाउजूलाई, जोसँग चक्र बाँस्तोलाको सम्झना सिवाय केही बाँकी छैन।