यो लेख पहिलो पटक २०७१ साल माघ २७ गते प्रकाशित भएको थियो। संसदमा अहिले विभेदकारी नागरिकता विधेयक दर्ता भएको सन्दर्भमा यो लेख पुन: प्रकाशित गरेका छौं। शुरुको लेखमा थोरै सम्पादन पनि गरिएको छ— सम्पादक
मेरी छोरी यही पुसमा तीन वर्ष पूरा भई। कहिले, म ठूली भएर आप्पा बन्छु भन्छे (मलाई उसले यसै भनेर बोलाउँछे)। कहिले, ऊ पढेको स्कुलमा 'टिचर' बन्छु भन्छे। फेरि अस्ति आएर भनी, 'टिचर नबन्ने।'
मैले सोधेँ, ‘सानु, टिचर किन नबन्ने?'
'टिचरहरुले सानो बेबीहरुलाई पनि पढाउँछ।'
ठूली भएर जे पेसा अंगाले पनि मेरा लागि ऊ 'सानी' मात्रै रहने छे। छोरी मात्रै रहने छे।
मानिसले सानैबाट स्वभाव र व्यक्तित्व लिएर आउँछ भन्ने पढेको थिएँ, थोरै देखेको थिएँ। अहिले नजिकबाट हेर्दैछु। मेरी छोरी अलिक जिद्दी छे। अरूसँग डराउन्न। तर, नयाँ मानिससँग हत्तपत्त झ्याम्मिन्न पनि। उसलाई खुल्न केही समय लाग्छ।
जम्माजम्मी तीन वर्षकी हो, तर पनि उसलाई हार्न भने सारै गाह्रो हुन्छ। केही हप्ताअघि नेपालयको नयाँ प्रकाशन 'जीवन जिउने काइदा' को बिमोचन समारोहमा हामी स-परिवार गएका थियौँ। मेरा साथी मनोज दाहालकी छोरी ऋतम्भरा पनि आएकी थिइन्। ऋतम्भराजस्तो 'स्मार्ट', जोसँग पनि झ्याम्मिने, मनमा रौँ बराबर पनि संकोच नोबोकेकी मैले अरू कोही देखेको छैन। उज्यालोका हिसाबले त ऊ बत्ती नै हो।
ऋतम्भरा र सानी भोजनगृहको आँगनमा कुद्दै थिए। पहिलोपटक दौँडदा ऋतम्भरा थोरै पछि परिन्।
सानीले उजेलिँदै आएर मलाई भनी, 'आप्पा, मैले जितेँ है।'
मैले उसलाई उचालेर चुप्पा खाएँ।
भने, 'जाऊ, जाऊ फेरि दौड।'
दोस्रोपटक त ऋतम्भरा अघि दौडिहालिन्। मेरी सानी त आधी दौडेर फरक्कै फर्की!
नदौड्ने रे।
मैले सोधेँ, 'किन?'
'उसले जित्छ,' ऋतम्भरातिर देखाई।
जीवन दौड र जित-हारभन्दा माथि हो भन्ने सिक्न हाम्री छोरीसँग सारा जीवन बाँकी छ। हामी त्यसको लागि प्रयत्न गर्ने छौँ।
छोरीका लागि सपना देख्ने बाउ म होइन। मेरा सपनाको भारी उसले बोक्नु नपरोस् भन्नेमा म सचेत छु।
सेन्मी नूरले गीत चाँडो टिप्छे। हाम्रो गाडीमा दीपक खरेलको सिडी सुन्दा सुन्दै, 'सुनसान रातमा म जागी दिएँ' भन्ने गीतको मुखडा पूरै भाका मिलाएर गाउँछे।
ओहो, ठूली भएर मेरी छोरी गीत गाउँछे कि क्या हो? भनेर म दङ्ग पर्छु। तर, गाउनैपर्छ भन्ने छैन। उसले पढ्न पनि छिटै टिप्छे। राम्रै पढ्छे होला। तर, पढ्नैपर्छ भन्ने छैन। 'डिग्री' लिनैपर्छ भन्ने छैन।
प्रेम, करुणा, निष्ठा, ईमान र उत्साह भने उसको जीवनमा प्रचुर होस् भन्ने कामना छ।
रूप, रङ, जात, वर्ग र लिङ्गका आधारमा मानिसबीच छोरीले विभेद नगरोस् भन्ने हाम्रो ठूलो प्रयत्न रहनेछ। ठूली भएर महिला र पुरूष समान हुन् भन्ने उसले भित्रैदेखि ठान्न सकिन भने, त्यो म र मेरी पत्नीको ठूलो असफलता हुनेछ।
महिला र पुरूषबीच असमान नागरिक हकको बहस चर्कँदै, त्यस्ता समाचार छाप्दै गर्दा अफिसमा मैले धेरैपटक सानीलाई सम्झेको छु। उसको अनुहार झल्झली देखेको छु।
घरमा पुगेर भने मैले निर्धक्कसँग उसका आँखामा हेर्न सकेको छु। ऊसँग खेल्न सकेको छु।
जो नेताहरु 'राष्ट्रिय सुरक्षा'का कारण महिला र पुरुषबीच नागरिकता जस्तो आधारभूत विषयमा पनि समानताको हक स्थापित हुन सक्दैन भनेर दिनभरि किचलो गर्छन्, तिनीहरु घर गएर आफ्नी वयष्क छोरीको आँखामा कसरी हेर्न सक्दा हुन्? आफ्नी पत्नीअघि कसरी उभिन सक्दा हुन्?
नागरिकताको विषय यो मुलुकमा धेरै अघिदेखि जटिल बनाइएको छ। राष्ट्रियताका 'ठेकेदार'हरुले यो बहसलाई कहिल्यै स्वस्थ र तथ्यपरक बन्न दिएनन्। 'व्यावसायिक' राजनीतिज्ञहरूले पनि नागरिकताको समस्या समाधान गर्न होइन, त्यसमाथि राजनीति गर्न मात्र आफ्नो समय खर्चिए।
धेरै टाढा जानु पर्दैन, २०६२/६३ पछिको नागरिकता राजनीतिलाई नै हेरे पुग्छ।
मधेसी दलले तराईमा नागरिकताको विकराल समस्या रहेको जिकिर गरे। तीस-चालिस लाख मधेसी विभेदका कारण नागरिकताबिहीन रहेको 'तथ्य' अघि सारे।
पहिलो संविधानसभाअघि नागरिकताको समस्या 'सदा'का लागि समाधान गर्ने सहमति बन्यो। गाउँ-गाउँमा टोली गएर नागरिकता वितरण गर्ने निर्णय भयो। २०४७ सालपछि नेपालमा १५ वर्ष निरन्तर बसेको प्रमाण र तीनजना नेपाली नागरिकको सिफारिस पेश गर्न सके जोसुकैले नागरिकता पाउने सरल व्यवस्था गरियो।
एमालेले अन्तिमसम्म विरोध गर्यो। नेपाली राष्ट्र र राष्ट्रियताको एकलौटी चिन्ता लिएर बसेकाहरु कराए- अब मुलुक फिजी बन्ने भयो। उनीहरुले निस्कर्ष निकाले, 'भारतीयहरुलाई नागरिकता दिने 'ग्र्यान्ड डिजाइन' अन्तर्गत भारतले १२ बुँदे सम्झौंता गराएको रहेछ!'
टोली गाउँ-गाउँ गएर नागरिकता वितरण गर्यो।
कति नागरिकता वितरण भए, कसैले तथ्य हेर्ने दु:ख गरेन। मधेसी नेताहरुकालागि नपाएकालाई नागरिकता दिलाउनु भन्दा त्यो मुद्दा माथिको राजनीति महत्वपुर्ण थियो। चुनावमा धाक लगाउदै भाषण गरे, 'नागरिकताको हकबाट बन्चित दसौं लाख मधेसीले हाम्रा कारण नागरिकता पाए।’
'राष्ट्रवादी' हरूले टाउको समाए, '४० लाख भारतीयले नागरिकता पाए।'
सिमापारिबाट आएर ४० लाख भारतीयले नागरिकता लिएको कारण संविधानसभा-१ मा मधेसी पार्टीहरुले त्यति धेरै सिट ल्याएको उनीहरुले ठोकुवा गरे।
ग ृह मन्त्रालयमा आज पनि सुरक्षित तथ्याकंले भने अर्कै स्टोरी भन्छ। गाउँ-गाउँ खटिएको टोलीमार्फत देशभर जम्मा २६ लाख ७० हजारले नागरिकता लिए। त्योमध्ये २५ लाख नागरिकता वंशजका आधारमा वितरण गरिएको थियो, पहाडमा १३ लाख र तराईमा १२ लाख। बाबुको नागरिकता भएका कारण यी २५ लाखले जहिले पनि नागरिकता लिन सक्थे। गाउँमै टोली आएकोले सुगम भयो, त्यति बेला नै लिए।
जम्मा एक लाख ७० हजारले मात्रै १५ वर्ष नेपालमै बसेको प्रमाण र तीन नेपाली नागरिकको सिफारिस जुटाएर नागरिकता लिएका थिए।
नागरिकताको समस्या मधेसी नेताहरुले ‘राजनीति’ गरे जस्तो विकराल पनि होइन रहेछ। 'राष्ट्रवादी'ले मुलुक नै फिजीकरण हुने चिन्ता गरेजस्तो पनि होइन रहेछ।
नागरिकता राजनीतिको नयाँ शृंखला महिलामा आएर अल्झेको छ। तर्क र पूर्वाग्रह भने पुरानै छन्।
अस्ति साझा सवालमा वकिल बालकृष्ण न्यौपाने भन्दै थिए - हाम्रो मुलकलाई फिजी बनाउन सकिन्न, नेपाली महिलाका विदेशी पतिलाई तुरुन्तै नागरिकता दिन सकिन्न, आमाका नाममा विदेशी बाबुका सन्तानलाई पनि नागरिकता दिन सकिन्न।
फिजीमा भारतीय मूलका नागरिकहरू बहुसंख्यक भएसँगै सन् १९९९ मा राजनीतिज्ञ महेन्द्रपाल चौधरी त्यहाँका प्रधानमन्त्री चुनिए। सेनाले हस्तक्षेप गरेर एक वर्षपछि उनलाई हटायो। राजनीतिक संकट गहिरियो। त्यहीबेलादेखि 'राष्ट्रवादी'ले बारम्बार हामीलाई फिजीको डर देखाउने गरेका छन्।
आमाको नाममा सन्तानलाई नागरिकता दिनुहुन्न र नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई नेपाली पुरुषसँग बिहे गर्ने महिलासरह तुरुन्तै नागरिकता दिनुहुन्न भन्नेहरूका अहिले दुईओटा तर्क छन्।
पहिलो, आमाको नाममा नागरिकता दियो भने, सबै 'भाञ्जा-भाञ्जी'ले नागरिकता लिन्छन्। अर्थात् भारतमा बिहे भएर गएका नेपाली महिलाका सबै छोरा-छोरी नागरिकता लिन नेपाल आउनेछन्।
दोस्रो, नेपाली महिलासँग बिहे गर्ने पुरुषलाई नागरिकता दियो भने, भारतलगायत अन्य मुलुकबाट नेपाली महिलासँग बिहे गरेर यो मुलुकले थेग्नै नसक्ने गरी विदेशी पुरूषहरु यहाँ आउँछन्।
केही दिनअघि मात्रै निजी भेटघाटमा नेपाली कांग्रेसकी एक नेतृ भन्दै थिइन्, 'हामी भारत र चीनबीच छौँ, अलिक संवेदनशील त हुनैपर्छ। उताबाट यहाँ आएर घरजम गरी राजनीति गरे भने? भोलि विदेशमन्त्री नै बने भने?'
हाम्रा राजनीतिज्ञहरू यस्तो कुरा गर्छन् उनीहरुले यो मुलक स्वर्ग बनाएका छन् र नागरिकताको सानो ढोका खुल्नेबित्तिकै विदेशी यता कुद्न तम्तयार बसेका छन्। नेपाली महिलाका पतिले नागरिकता पाउने व्यवस्था गर्नेबित्तिकै विदेशीहरु यहाँ आएर धमाधम घरजम गर्नेछन्।
आमाको नाममा नागरिकता नपाउँदा नेपालमै जन्मेका, बाउले छोडेका वा नागरिकता दिन नचाहेका, विदेशी बाउ भए पनि नेपालमै हुर्केका हजारौँ वयस्क नेपालीको हक खोसिएको छ। उनीहरु देशविहीन भएका छन्। हामीजतिकै उनीहरु पनि यो माटोका सन्तान हुन्। नेपाली आमाका छोराछोरी हुन्।
त्यो भन्दा पनि मुख्य कुरा नेपाली महिलाको हक खोसिएको छ। आफ्ना सन्तानलाई नागरिकता दिलाउने सवालमा पुरुषहरु पहिलो दर्जाका, महिला दोस्रो दर्जाका जस्तो ब्यवहार गरिदै छ।
नेपाली नागरिकता पाउन एउटा कुरा काफि छ— निवेदकको बाउ वा आमासँग नेपाली नागारिकता हुनुपर्यो। आमा नागरिक भएपछि फेरी बाउ नेपाली नागरिक हुन् वा होइनन्, बाउ छोरा-छोरीलाई नागरिकता दिन चाहन्छन् कि चाहन्नन्, त्यो सरोकारको विषय होइन।
सञ्चारमाध्यममा आएका कतिपय कारूणिक कथाले मन उद्वेलित र आक्रोशित बनाउँछन्। एउटा पुरूषका रूपमा लाजले मुख रातो हुन्छ।
तर पनि सुतुर्मुर्गे मार्गमा हिँडेका हाम्रा नेतालाई यसले छोएको छैन।
आमाको नाममा नागरिकता दिँदा साँच्चै 'राष्ट्रिय सुरक्षामा' खतरा आउँछ भने, नेताहरुले सार्वजनिक रूपमा भन्न र बहस गर्न तयार हुनुपर्यो। यति ठूलो निर्णय कोठाभित्र बसेर, बिना महिलाहरुको सहभागिता गर्न पाइन्न।
तर सार्वजनिक बहस गर्न कोही तयार छैन।
किनभने यो समस्या विशुद्ध रूपमा नेपाली पुरूषको दिमागको उपज हो। यो समस्या नागरिकताको हाेइन, राष्ट्रिय सुरक्षाको त हुँदै होइन, महिलाका मुद्दालाई हेर्ने नेपाली पुरूषहरुको संवेदनहिनताको निरन्तरता नै यो समस्याको जड हो।
जुन पुरुष मानसिकताका कारण महिलाहरु संयौ बर्ष देखि नेपाली समाजमा पिडित छन्, त्यहि मानसिकताका फरक रङमा आज पनि समाजमा हावी छ। त्यहि मानसिकताले आमाका नाममा छोराछोरीलाई नागरिकता दिन आज अस्वीकार गरिरहेको छ।
मेरी आमा ८४ वर्षकी हुनुभयो। पूर्वी पहाडको पाँचथरमा १९८८ सालमा जन्मिनुभएको हो। त्यो बेलाको नेपाली समाज महिलाहरुका लागि नर्कसरह थियो ।
उहाँले पढ्न पाउनु भएन। १३ वर्षकी हुँदा ११ वर्षको बालखसँग बिहे गरेर जानुभयो। हुने खानेले त्यतिखेरको समाजमा कमारा-कमारी राख्थे, अनि थप 'कमारी'को रूपमा बुहारी बिहे गरेर ल्याउँथे।
१२ जनाको परिवारमा जेठी बुहारी भएर २५ वर्ष अहोरात्र बुहार्तन खेपेकी मेरी आमालाई जीवनप्रति कुनै गुनासो छैन। कुनै रोष छैन, कसैप्रति तिक्तता छैन।
बरू माया गर्ने पति पाएकोमा उहाँ जीवनप्रति धन्य हुनुहुन्छ। माया गर्ने छोराछोरी पाएकोमा दङ्ग हुनुहुन्छ। अनि आफ्ना सासु-ससुराप्रति पनि यसकारण कृतज्ञ हुनहुन्छ कि 'उहाँहरुले भान्छामा भेदभाव गर्नुभएन। हजुरबुबाले छोरा-बुहारी सबैले एउटै भाँडामा पकाएको खानुपर्छ भन्नुहुन्थ्यो।'
मेरै आमाका दिदीहरुले त्यो 'सौभाग्य' पाउनु भएन। पुग्यो भने मात्रै बुहारीले खाने, उब्रियो भने मात्रै खाने, पखाल-पुखुल मात्र खाने त्यो बेलाको नेपाली समाजको आम-प्रचलनको सिकार उहाँहरु पनि हुनुभयो।
मेरी ठूलीआमा १०१ वर्ष पुग्नुभयो। सात वर्षमा उहाँको बिहे भएको हो। ६ महिना नपुग्दै ठूलाबा बित्नु भयो, त्यो बेलादेखि बिहे नगरी आजसम्म विधवा बस्नु भएको छ।
ठूलाबाको मृत्यु भएकै साल वि. स. १९७७ मा इष्ट इन्डिया कम्पनीको दबाबमा चन्द्र शमशेरले सती प्रथामाथि प्रतिबन्ध लगाएका थिए। त्यो भन्दाअघि ब्राह्मण, क्षेत्री र वैश्य महिलाहरु सती जानुपर्ने त्रासदी भोगेर जिन्दगी बाँच्थे।
सतीप्रथा पो सकियो विभेदले भने महिलालाई अझै किचेको किच्यै छ। महाराजगन्जमा बालबालिकाको प्रसिद्ध अस्पताल छ, कान्ति बाल अस्पताल।
त्यो अस्पतालको नाम नै महिलाको नामबाट राखिएको हो, राजा त्रिभुवनकी जेठी श्रीमती कान्ति राज्यलक्ष्मीको नामबाट। अस्पतालमा काम गर्ने डाक्टर प्राय: महिला नै छन्। नर्स त्यसै पनि महिला हुने नै भए। बिरामी नानीहरुलाई लिएर त्यहाँ प्राय: महिलाहरू नै आउँछन्।
तपाई कुनै दिन कान्ति अस्पताल जानु भयो भने याद गर्नुहोला, त्यहाँ ल्याइने बहुसंख्यक बिरामी भने केटाहरू हुन्छन्। बालककालमा केटाभन्दा केटीको शरीरमा प्रतिरोधात्मक क्षमता बढी हुन्छ, त्यसैले बाल अस्पतालमा केटा केही धेरै हुनु स्वभाविक हो।
तर, कन्तिमा केटीभन्दा केटाको संख्या अस्वभाविक रुपमा धेरै हुन्छ- कहिलेकाहीं दुई-तीन गुणा धेरै। मैले एकदिन ड्युटीमा बसेकी नर्स गंगालाई (मैले थर बिर्सिएँ) सोधे, ‘केटा र केटीको जनसंख्या बराबर जस्तै हो, यहाँ आउने बिरामीमा किन केटाहरुको संख्या अधिक?’
गंगाले विभेदका थप पाटा खोल्दै भनिन्, 'छोरा भने 'च्याँ' गर्नेबित्तिकै लिएर आउँछन्, छोरी भने घिटिकघिटिक भएपछि मात्रै ल्याउने हो। अनि अस्पताल छोराले भरिने नै भयो।'
हामीले कस्तो समाज बनायौँ, जहाँ अझै रोगको उपचारमा पनि बालक छोरा र छोरीबीच विभेद हुन्छ? पढाइमा, खानामा, लुगामा, सम्पतिमा, अनि सपना बाँड्नेमा पनि छोरा र छोरीबीच विभेद गर्ने हाम्रो समाज त्यसै विकलाङ्ग भएको होइन।
महिला र पुरूषबीच चर्को भेदभाव गर्ने समाजले कति धेरै मूल्य चुकाउँछ भनेर मनग्गे अध्ययन भएका छन्। बग्रेल्ती प्रतिवेदन छापिएका छन्। बिश्व बैंकको सन् २०१२ को वार्षिक प्रकाशन 'लैंगिक विभेद र विकास' को निचोड छ- लैंगिक समानताले उत्पादकत्व बढाउँछ। आउने पुस्तालाई सवल बनाउँछ।
समाजमा यस्तो विभेद बुझ्न हामीले अध्ययनका धेरै ठेली पढ्नु पर्दैन। हाम्रै समाजको वरिपरि हेरे पुग्छ, आफ्नै परिवारलाई नियाले पुग्छ।
हरेक नेपाली परिवारमा यस्ता महिला सदस्य थिए र छन् जसले त्यो परिवारमा पुरूषले सरह हौसला र अवसर पाएको भए उनीहरूभन्दा राम्रो गर्न सक्थे। यस्ता हजारौ नेपाली परिवार छन् जसको नेतृत्व महिलाले लिन पाएका भए आज त्यो परिवारको आर्थिक र सामाजिक हैसियत धेरै राम्रो हुन्थ्यो।
तर, सदियौंदेखि हाम्रो समाजमा जागिर खाने, उद्यम गर्ने, सम्पति जोड्ने र त्यसको नियन्त्रण गर्ने काम पुरूषको मात्र भयो। अर्थात्, आधी जनसंख्याले मात्रै सपना देख्ने, उसले मात्रै परिवार र समाज अघि बढाउने ठेक्का लियो। अर्को आधीलाई पनि त्यो अवसर उपलब्ध भएको भए समाजले दोब्बर प्रगति गर्थ्यो भन्ने बुझ्न हामीलाई कुनै विश्वविद्यालयको डिग्री चाहिन्न।
यही कुरा ध्यानमा राखेर आज संसारका विभिन्न मुलुकले महिला समानताका लागि धेरै सुधार गरेका छन्। इथियोपियाले जग्गामा लोग्नेस्वास्नी दुबैको स्वामित्व हुने व्यवस्था गरेको छ, ताकि उत्पादनको साधनमा पुरुषको मात्र नियन्त्रण नहोस्। बंगलादेशमा ऋण दिँदा लोग्ने-स्वास्नी दुबैको नाममा दिने गरिन्छ ताकि पत्नीको पनि पूँजीमा पहुँच होस्।
संसारभर यस्ता प्रयोग र सुधार प्रसस्त भएका छन्। महिलाको जीवन उझेल्न हामीले पनि त्यस्ता काम गर्नुपर्थ्यो। महिलालाई शिक्षा, स्वास्थ, अवसर, पूँजी र सम्पतिमा पहुँच पुर्याउने प्रयत्न गर्नुपर्थ्यो । महिला हिंसालाई कठोरतापूर्वक दण्डित गर्न सक्नुपर्थ्यो। यो मुलुकमा घरेलुहिंसामा संलग्न आधा पुरूषले मात्रै महिलामाथि पुरुषार्थ देखाउन छोडेका दिन हाम्रो समाजले गुणात्मक फड्को मार्नेछ।
महिलासम्बन्धी यी कुनै पनि काम गर्न हामीलाई 'राष्ट्रिय सुरक्षा'को संवेदनशीलताले छेकेको होइन। तर पनि हामीले गरेनौँ। त्यही भएर आमाका नाममा नागरिकता दिन पनि केहीले रोकेको हो भने त्यो नेपाली पुरुषको मानसकिताले हो। महिलाका मुद्दाप्रतिको संवेदनहीनताले हो। अरु सब बहाना हुन्। पुर्वाग्रह हुन्।
सम्पतिमाथि महिलाको हक, शिक्षामा महिलाको पहुँच, पूँजीमा महिलाको पकड, घरेलु हिंसाबाट मुक्ति यि सब यस्ता एक-एक इँट्टा हुन् जसले नेपाली समाजमा महिलाको हैसियत उकास्दै लैजान्छन्। महिलाको आत्माविश्वास बढाउँदै लैजान्छन्। पुरुषको हैकमी मनोविज्ञान माथि दबाब बढाउँदै लैजान्छन्।
हजारौँ महिलाले नेपाललमा ‘जनयुद्द'का नाममा बन्दुक बोके। त्यसले महिलाको हैसियतमा उल्कापात परिवर्तन ल्याएन। रातारात केहीले पनि परिवर्तन ल्याउँदैन। कुनै पनि परिवर्तन रातारा हुँदैन। परिवर्तनका लागि रातदिन काम गर्नुपर्छ।
महिलाका दृष्टिले नेपाली समाजमा केही नै परिवर्तन आएको छैन भन्ने पनि होइन। यति हो, बदल्न बाँकि कति धेरै छ, कति!
मेरी आमा उहिलेको तुलनामा कति धेरै परिवर्तन आयो, अहिले त कति राम्रो भयो भन्नुहुन्छ। 'हाम्रा पालामा खाडीका सादा कपडा मात्रै पाइन्थ्यो, अहिले रंगीचंगी, राम्रा-राम्रा कपडाले बजार भरियो', भन्नुहुन्छ।
परिवर्तनबारे उहाँको चेत कपडाका रंगहरुमा मात्र सीमित छ भन्ने होइन। भन्नुहुन्छ, 'अब फेरि जन्मिँदा म पनि पढ्ने भएर आउँछु, जागिर खान्छु, पुरूष समान हुन्छु। के गर्नु, अघि हाम्रा पालामा छोरीलाई पढाउने चलन नै थिएन।'
मेरो बाबाले उकास्नुहुन्छ, 'अर्को पटक त बुढीलाई पढाएर प्रोफेसर बनाउँछु, अनि बुढी अघि-अघि म पछि-पछि।'
म बीचमा घुस्रिदै भन्छु, 'मलाई नल्याउने अर्को पटक?'
किन नल्याउनु कान्छो छोरालाई भन्दै उहाँ मेरो टाउको मुसार्नुहुन्छ।
समयको सुइपछि फर्काएर मेरी आमा बाँचेको युग बदल्न सकिन्न।
तर म र मेरी पत्नी बाँचेको समय बदल्न सकिन्छ।
मेरी सानीले बाँच्ने नयाँ युग बनाउन सकिन्छ।
त्यो युगमा मेरी सानी कोही पुरूषभन्दा किन कम होस्!
यो पनि हेर्नुहोस् :
नागरिकता संशोधन विधेयक- पुरुष पहिलो दर्जाका, महिला दोस्रो