काठमाडौं सम्झना–२काठमाडौंका गल्लीहरूमा आजभोलि नानाथरिका खाजा बोकेर घुम्ती पसलहरू घुम्छन्। पानी पुरीदेखि मःमः र सेकुवा, भुटुवादेखि ससेज र छोयला, फ्राइड राइसदेखि बर्गर मात्र होइन, चना, चिउरा र आलु-तरकारीसमेत ठाउँ–ठाउँमा पाइन्छ। त्यस्तै, हाँडीमा भुटेको चना, भटमास, बदाम, केराउ र अन्य गेडागुडी पनि पांग्रे ठेलागाडीमा भेट्टाइन्छ।
सडक खाजा र घुम्ती पसलको विकास देख्दा, पहिलो भनौं वा ‘पायोनियर’ खाजा पसलेका रूपमा ‘वाह रे मजा’ अवतरण हुन्छ मेरो स्मृतिमा।
विक्रम सम्बत् २०१०–१२ सालतिरको कुरा होला। एक अधवैंसे व्यक्ति गान्धी टोपी लगाएर, सफा पतलुन र कुर्तामा सजिएर ‘वाह रे मजा, चार पैसामा बाह्रै मज्जा’ भन्दै खाजाका पोका बेच्दै हिँड्थ्यो।
अखबारले बेरिएको शंकुआकार पोकाभित्र फुरनदाना चिउरा, घ्यूमा तारेको झुरमुरे चना, आलुका स–साना कुरुमकुरुम टुक्रा, रातो खुर्सानीका साना साना कुरमुरे टुक्रा आदिको मिश्रण हुन्थ्यो। कपडाको लामो फित्ताले काँधदेखि कम्मरसम्म लत्काएको ठूलो झोलुंगे झोलाभरि खाजाका पोका बोकेर कहिले नाच्दै, कहिले कराउँदै सडक–सडक, गल्ली–गल्ली डुल्ने उक्त व्यक्ति सबैको प्यारो थियो।
लवाइ र बोलीले ऊ काठमाडौं बाहिरको हो भन्ने ठम्याउन गाह्रो थिएन। उसको सेतो गान्धी टोपीले यही संकेत गर्थ्यो।
असन, इन्द्रचोक, महाबौद्ध र विशेषगरी खुला टुँडिखेल उसको क्षेत्राधिकारजस्तै थियो। उसको प्रतिस्पर्धामा बदाम बेच्ने मान्छे मात्र हुन्थ्यो टुँडिखेल वरपर। निगालाको डालाभरि भुटेको झुरमुराउने बदाम माना चौथाईमा भरेर बेचिन्थ्यो। आजभोलि यदाकदा यस्ता ‘डाले’ व्यापारी भेटिन्छन्। तर, ‘वाह रे मजा’ काठमाडौंबाट बिलाएको दशकौं भइसक्यो।
‘वाह रे मजा’ लाई मःमःले विस्थापन गरेको छ। खाना वा खाजामध्ये सर्वाधिक लोकप्रिय मःमःले नेपालमा मात्र होइन, नेपाली पुगेका विदेशमा पनि आफ्नो स्थान जमाएको छ।
केही महिना पहिले (अक्टोबर २०१७) अमेरिकाको राजधानी वासिङ्टन डिसीको ‘एसियाली कला संग्रहालय’ उद्घाटन समारोहबीच पनि ‘दोर्जे मःमः’ ले निकै भिड जम्मा गरेको देख्दा उत्साहित भएको थिएँ।
उसो त करिब दस वर्षअघि अमेरिका पुग्दा पनि धेरैजसो नेपालीका घरपरिवारमा पाहुना स्वागत गर्न मःमः मेजवानी लोकप्रिय थियो। तर, मेरो बाल्यावस्था र किशोरावस्थामा पनि मैले नेपालभित्र मःमःको स्वाद लिन पाएको थिइनँ।
धेरैलाई अचम्म लाग्ला, मेरो सम्झनाको काठमाडौंमा मःमः भन्ने परिकार छँदै थिएन। मःमःचा भन्ने परिकार ल्हासा साहुका केही घरमा पाक्ने सुनेको हुँ। त्यस सिलसिलामा काठमाडौंका प्रख्यात समाजसेवी दयावीरसिंह कंसाकारले आफ्नो जन्मदिन भोजमा थुप्रै पाहुनालाई आफ्नै घरमा बनेको मःमःचा चखाउने गरेको कुराले विशेष चर्चा पाएको थियो।
कालान्तरमा काठमाडौंका अरू नेवार परिवारमा पनि मःमःचा पाक्न थाल्यो। गहुँ पीठोको पातलो पोकाभित्र पूर्ण मासुको मसालेदार डल्लालाई बफाएर पकाइने यो परिकारमा राँगाको मासु हुनाले बाहुन–क्षेत्रीका निम्ति मःमःचा वर्जित थियो। अहिले आएर नेवारी उच्चारणको मःमःचा शब्दबाट ‘चा’ हटिसकेको छ। र, जहाँतहीँ मःमः पाइन्छ, साझा परिकारका रूपमा।
विभिन्न चाहनाअनुसार भेज, चिकेन, खसी र बफ मःमःले बजार ढाकेको छ। तारे होटल र महँगा रेस्टुरेन्टदेखि सहरको टपरी मःमः सम्मले नेपाली जिब्रो तताउँदै आएको छ। जिब्रो डाम्ने मःमःचाको मेरो सम्झना भने २०१७–१८ सालताका नयाँ सडक जुद्धशालिकको दक्षिणतिर खुलेको ‘झरना रेस्टुरेन्ट’ मा आएर अड्किन्छ।
आजभोलि उपत्यकाका सहरहरूमा थुप्रै नेवारी खाजाका रेस्टुरेन्टहरु भेटिन्छन्। नेवारी मेजवानीका विशेष परिकारमध्ये मःमः जस्तै बफाएर पकाइने योमरी पनि लोकप्रिय हुन थालेको छ। उहिले योमरी बजारीया परिकार नभई घरायसी परिकारका रूपमा प्रख्यात थियो। शाब्दिक अर्थमा ‘मनपरेको रोटी’ भनी बुझाउने योमरी साँस्कृतिक पहिचानको परिकार पनि हो।
योमरी चामलको पीठोबाट बनाइन्छ। पीठोको शंखाकार डल्लोभित्र तील र चाकुको मिश्रणको लेदो हुन्छ। योमरीको तल्लो भाग पुच्छरजस्तै चोसो परेको हुन्छ। काठमाडौंमा बालबालिकाहरू ‘धान्य पूर्णिमा’ अर्थात् ‘योमरी पुन्ही’ को साँझ टोलछिमेकमा योमरी माग्न जान्छन्। त्यसबेला भेट्टाइने गीतका टुक्रा यस्ता छन्–
योमरी च्वामु (रोटी चुच्चे छ), उके दुने हामु (त्यसभित्र तील छ), ब्यू साः माकु (दियो भने मिठो), म ब्यू साः फाकु (दिएन भने टर्रो), ब्यूम्ह ल्यासे (दिने चाहिँ तरुनी), मब्यू साः बूढी कुटी (नदिने चाहिँ बूढी कुप्री)धानको नयाँ बाली भित्र्याएको अवसरमा अन्नपूर्णलाई पूजा गर्ने यस चाडको दिन प्रायः सबैको घरमा योमरी पाक्थ्यो। पहिलो पकवानमा गणेश, लक्ष्मी तथा मायोबायो भनेर पूर्खाका बज्यैबाजेका रूपमा स–साना मूर्ति तयार पारिन्छ। तिनलाई योमरीका साथमा राखेर धानको भकारी राख्ने भण्डारमा पूजा– आराधना गरिन्छ। त्यसपछि सकल परिवारले योमरी भोजन गर्ने प्रचलन छ।
योमरी पाक्ने अरु दिनमध्ये केटाकेटीको जन्मदिन सबभन्दा रमाइलो हुन्छ। नेवारी समुदायमा जन्मोत्सव दुई वर्ष पूरा भएको अवसरमा शिशुलाई दुईवटा योमरीको माला लगाएर पूजा–आराधना गरिन्छ।
त्यसैगरी ४ वर्ष, ६ वर्ष, ८ वर्ष, १० वर्ष र १२ वर्ष पूरा भएको दिन वर्षअनुसार योमरीको गोटा झुन्ड्याएर जन्मोत्सव मनाइने परम्परा थियो। धेरैजसो परिवारले ४ वर्षसम्म मात्र योमरी झुन्डाउने गर्न थाले। अहिले आएर केक काट्ने चलनले योमरीलाई प्राय: विस्थापित गरिसेकेको छ। तैपनि, योमरीले आफूलाई मःमः भन्दा निकै जेठो भनेर दाबी गर्ने मौका छाडेको छैन।
विसं २००७ सालभन्दा पहिलेको मेरो सम्झनाको रोटी हो– ग्वारामरी। अर्थात् डल्ले रोटी।
आजभोलिको चलनमा यो ‘ब्रेक फास्ट ब्रेड’ हो। मेरो घरछेउ काजीलाल दाइले पकाउन थालेको ग्वारामरीको तेलको बासना कोठासम्म आइपुथ्यो। हातमा दुई पैसा बोकेर बिहानै काजीदाइको पसलमा झुम्मिने धेरै हुन्थे।
एउटा फराकिलो फलामे थेप्चे कराहीमा आधा इन्धजति गहिरो तातो तेलमा गिलो पीठोको मसालेदार डल्ला माथिबाट थपक्क छाडेपछि आधा भाग तेलभित्र र आधा भाग तेलबाहिर फुलेर ग्वारामरी पाक्थ्यो।
तेलभित्रको भाग अलिकति कडा र बाहिरको भाग नरम फुलेर उठेको हुन्थ्यो। त्यसैले ग्वारामरीलाई फुलौरा पनि भन्न थालियो। ग्वारामरी नुनिलो र मसालेदार हुन्छ। तेलबाट निकाल्नेबित्तिकै तात्तातै खाँदा यसको स्वाद बेग्लै मीठो हुन्छ। आजभोलि ग्वारामरी दुर्लभ परिकार बनिसकेको छ। केही ठाउँ विशेष मात्र पकाइन्छ।
मेरो छिमेकका काजीदाइको पसलमा सेल पनि पाक्थ्यो। सेल पकाउने उनको उपकरण नरिवलको कटौरा थियो। आधा काटिएको नरिवलभित्रको सेतो गुदी सबै निकालेपछि बाँकी हुने साह्रो बोक्राको कटौरा काजीदाइको सेलरोटी पकाउने उपकरण थियो। उनी नरिवलको चोसो पिँधमा सानो प्वाल पारेर चामलको पीठो र चिनी घोलिएको लेदो चुहाउँदै, चक्का मार्दै सानो–ठूलो सेल पकाउँथे।
सेलरोटी आजभोलि पनि लोकप्रिय छ, तर सेल पकाउने नरिवलको भाँडो लोप भएको दशकौं भयो। यसैगरी नरिवलको हुक्का पनि लोप भइसक्यो। त्यसो त तमाखु खाने सोखलाई धूमपानका विभिन्न परिकारले पूरा गर्दै आएको छ।
नेवारी खाजा–खाना खुवाउने पसल, दोकान वा रेस्टुरेन्टहरुमा ‘चटामरी’ पनि लोकप्रिय हुँदै गएको छ। पकाउने तरिकामा भने निकै भिन्नता देखिन्छ। उहिले चटामरी पकाउन कुमालेले बनाएको माटाको तावामा माटोकै ढकनी प्रयोग हुन्थ्यो। चामलको पीठोको लेदोलाई डाडुले तातो तावाबीच छाडेपछि चटामरीको गोलाकार आफैं निर्माण हुन्छ। ढक्कनले केहीबेर छोपेर राखेपछि चटामरी आजभोलिको ‘प्यान केक’ जस्तै पाक्छ।
यसरी पाकेको चटामरीको अनुहार प्वालै–प्वालले सजिएर छ्याकटे रूपमा तयार हुन्छ। छ्याकटेको कलात्मक रूप चटामरीमा साकार हुन्छ।
चटामरी पकाउँदा नुन, चिनी, मसला आदि केही पनि मिलाएको हुँदैन। न तेल न घ्यू। यो विशुद्ध पानी रोटी हो। यसको स्वाद शब्दमा वर्णन हुँदैन। हामी त साःसाः भन्छौं। माकु–माकु भन्छौं। चटामरीलाई अरू विभिन्न स्वादमा परिवर्तन गर्न सकिन्छ। यसमा कुखुरीको फूल फोडेर सिंगो ‘पोच’ झैं बीचमा थपक्क घोप्ट्याउन सक्नुपर्छ।
यसैगरी मासुको मसालेदार चूर्ण पनि बीचमा राखेर विशेष प्रकारको चटामरी पकाइन्छ। चटामरी परिकारमा मासको बारा बनाउने लेदो पनि रोटीको बीच भागमा फैलाएर पकाइन्छ। मासको बाराको आफ्नै पहिचान भने उहिलेदेखि अहिलेसम्म कायमै छ।
मेरो बाल्यावस्था र किशोरावस्था पालाका खाजा–खजाना कोट्याउँदा थुप्रै परिकार लोप भइसकेको बुझिन आउँछ। लट्टेका दानालाई चाकुको चोपले बनाएको ‘लट्टेपा’, चाकु वा चिनीको कलमजस्तो मसिनो लौरी भरेर तीलले ढाकेको ‘तिलौरी’, चाकुको कर्याङ–कर्याङ पातलो रोटीमा नरिवलका साना टुक्राले सजिएको ‘नैक्या पा’ नजरमा नपरेको पनि दशकौं भइसक्यो।
यसैगरी लट्टेपा, तिलौरी र तितौरा बेच्ने नाङ्लो पसल पनि प्रायः लोप भइसकेको छ। लप्सीको तितौराले भने राम्रै बजार पाइरहेको छ। नाङ्ले पसलेले बेच्ने तितौरा आजभोलि युरोप, अमेरिका वा अस्ट्रेलिया पुग्ने नेपालीको चाहनाअनुसार ठूला व्यापारी संलग्न छन्।
काठमाडौंको सहरी जीवनमा सडक खाजा र घुम्ती पसलको विकासक्रम नियाल्दा स्वाभावतः मौलिकभन्दा वैदेशिक प्रभावले हामीलाई बढी छोपेको छ। मेरा सम्झनामा बाँचेका सडक खाजा र घुम्ती पसलका कुरा कोट्याउँदा फेरि ‘वाह रे मजा, चार पैसामा बाह्रै मज्जा’ कानमा गुन्जन थाल्छ।