दुःखका साथ लेख्नै पर्छ कि संसारमै धेरै भ्रष्टचार हुने मुलुकहरुको चर्चा हुँदा नेपाल अग्र स्थानमा आँउछ। मुलुकको हर क्षेत्र भ्रष्टाचारबाट आक्रान्त छ। अहिलेसम्म पारदर्शितामा पछाडि रहेको हुनाले सेनाको भ्रष्टचारको स्वरूप, शैली र पात्रहरु समेतको सचित्र विवरण जनताले थाहा पाउन सकेका छैनन् तर सेना बाहेकका सम्पूर्ण निकाय र त्यसका पदाधिकारीहरु समय-समयमा भ्रष्टचारमा जोडिएर चर्चामा आउने गरेका छन्।
सत्य कतिसम्म छ भने आफ्नै गाउँको विकासको निम्ति गठित सानो कुनै विकास योजनाको उपभोक्ता समिति देखि देशको भाग्य र भविष्यको फैसला गर्ने मन्त्री प्रधानमन्त्रीसम्म भ्रष्टचारमा संलग्न वा सहयोगी भए रहेको देखिने गरेको छ। अनि सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले अनुचित कार्य अथवा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान र तहकिकात गर्न जिम्मेवारी नेपालको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग छ। भ्रष्टचार भए गरेको सम्वन्धमा अनुसन्धान गर्दै भ्रष्टचारलाइ नियन्त्रण र भ्रष्टचारीलाइ कारवाही गर्न अख्तियार जस्तो निकायको आवश्यकतालाइ कम आँक्न मिल्दैन।
सायद त्यसैले स्थापना देखि आजसम्म अख्तियारको औचित्य र आवश्यकतामा हैन यसको सशक्तता र प्राभावकारिताकै निम्ति जनताले एक स्वरले आवाज उठान गरिरहेका छन र अख्तियारको स्थापना देखि अहिलेसम्मको इतिहासलाइ हेर्ने हो भने अख्तियारले थालेका अनुसन्धान र गरेका कारवाहीहरुको बारेमा कहीं कतै जनस्तरबाट प्रश्न उठाइएको छैन।
तर के जनताको यो अथाहा विश्वासलाइ अख्तियारले कायम राख्न सकेको छ ? के अख्तियारका समग्र काम कारवाहीहरु जनताको अपेक्षा र यसको स्थापनाको औचित्यसंग मेल खाने ढंगले अगाडी बढेका छन ? यी र यस्तै प्रश्नहरुको यथोचित र सापेक्षिक जवाफ खोज्नु अत्यन्त आवश्यक भैसकेको छ।
अख्तियारले गरेका कतिपय सफल अनुसन्धान र बिगतका केही वर्षहरुमा यसले खेलेको भूमीकाको प्रशंसा नभएको होईन तर अख्तियारले दायर गरेका धेरै मुद्दाहरु असफल रहेका छन । स्थापनाको यो लामो अवधिमा अख्तियार आफैसँग त्यस्तो कुनै उत्तर छैन कि उसको कारण ‘मुलुकको यी यी क्षेत्रहरुमा’ पारदर्शिता बढ्यो भनेर भन्ने बरु बिगतका केही वर्षहरु देखि मुलुकका हर क्षेत्रहरुमा खुलम खुल्ला भष्टाचार बढेको छ, आम नागरिकमा बिना कुनै लेनदेन काम हुन्छ भन्ने बिश्वास उठेर सर्वत्र निरासा छाएको देखिन्छ ।
तसर्थ अख्तियारको भूमिका वा यसका कमजोरीहरुको चर्चा अवश्य हुनुपर्छ र त्यस उपर निर्मम प्रहार पनि हुनुपर्छ ताकि यो दुर्वलता र कमजोरी कम अनि सवलता र सफलता ज्यादा भएको निकायको रुपमा विकास हुँदै जाओस। तर यहाँ दुखका साथ भन्नै पर्छ वहुदलीय प्रजातन्त्र वहाली पश्चात अहिलेसम्मको अवधिको मुल्यांकन गर्ने हो भने अख्तियारले जुन गतिमा काम गर्नु पर्ने हो त्यो गर्न सकेको छैन। अझै मुलुकमा बढेको भ्रष्टचारको आंकडालाइ अख्तियारको कार्य प्रगतिको आंकडासंग जोडेर हेर्ने हो भने त झन अख्तियारमा कार्यरतहरुले नाक छोपेर हिड्ने वेला भएको छ ।
स्रोत ,साधन, प्रविधि र ऐन कानुनको अभावमा कार्यदक्षतामा असर केही परेको होला तर उपलब्ध स्रोत साधन र सहुलियतको आधारमा जे जति गर्नु पर्थ्यो त्यसरी गर्न सकेको छ भन्न पनि बिल्कुल सकिन्न। अझै उसले जसरि काम गर्दै आएको छ त्यो त झन आलोच्य र प्रतिउत्पादक छ।
अख्तियारको आयुक्त देखि प्रमुख आयुक्तसम्मको नियुक्ति, निजहरुको योग्यता , क्षमता र उसको प्रमाणित इमान्दारिताको आधारमा हैन शक्ति केन्द्रमा रहने वा रहेकाहरुसंगको निकटताको आधारमा हुने गरेको विडम्वनापूर्ण सत्यले पनि यसको प्रभावकारिता र निष्पक्षतामा असर गरेको पक्कै छ। त्यस भन्दा पनि ज्यादा शक्ति केन्द्रमा रहेकाहरुको हित रक्षार्थ पनि समय-समयमा अख्तियार आफैं दुरुपयोग हुन पुगेको पनि देखिने गरेको छ।
अझै कामले अलोकतान्त्रिक अनि नामले लोकमानको नियुक्ति देखि वहिर्गमनसम्म अख्तियारलाइ भ्रष्टलाइ संरक्षण अनि इमान्दारलाइ त्रस्त पार्न समेत प्रयोग गर्न सकिने रहेछ भन्ने देखिएकै हो। जानै पर्ने लोकमान त गए तर उनको वहिर्गमनले पनि अख्तियारलाइ न थप सक्रिय बनाउन सक्यो न त थप सम्मानित नै। त्यस्तो किन भैरहेको छ भन्ने विषयमा जनताको खवरदारीको कमी त प्रष्ट नै छ तर त्यो भन्दा बढि अख्तियारमा राज गरिरहेकाहरुको क्षमता,सोच अनि मान्यता एवं समग्रमा नेपालमा व्याप्त स्वार्थी राजनीतिक संस्कार नै त्यसको प्रमुख कारण हो।
अहिलेको अवस्थामा अख्तियार अघोषित शक्ति केन्द्र बनेको कुरा त राज्य संचालनको विषयमा सामान्य जानकारी राख्ने आम नेपालीहरुको लागि अब नौलो रहेन । अख्तियारको नेतृत्व गर्ने देखि सामान्य कर्मचारीहरुमा देखिएको दम्भ राणाकालिन शासकहरुलाई बिर्साउने खालको छ भन्दा अत्युक्ति नहुने अवस्था बन्दै गएको छ।
तसर्थ अब ढिलो नगरी अख्तियार अनुसन्धान आयोगका काम कारवाहीहरुको एकपटक गम्भीर समिक्षा अत्यावश्यक छ। यसले गरिरहेका कामहरुको आन्तरिक समिक्षा यदी यसको नेतृत्वले गर्ने हो भने कतिपय अवस्थामा अख्तियार कसैलाइ सिध्याउने अनि कसैको समाप्तिमा कसैको उदय खोज्ने कार्यको समेत सारथि बनेको तथ्य पाइने पक्का छ। अनि जानेर नजानेर अख्तियारले अनुसन्धान थाल्ने वित्तीकै त्यसको चर्चा परिचर्चा गराएर कोहि भ्रष्ट प्रमाणित हुनु अगावै उसलाइ भ्रष्ट बनाउने मात्रै हैन केहि साँचो भ्रष्टचारीहरुलाइ चोखिन आवश्यक पर्ने कदम चाल्ने मौका समेत प्रदान गरिरहेको छ।
अझै कतिपय सन्दर्भमा अख्तियारका छानविनहरु कसैलाइ पदमा टिकाइ राख्ने अनि कसैले कुनै पद पाउने सम्भावनालाइ रोक्ने अस्त्रको रुपमा समेत प्रयोग हुने गरेको देखिएको छ। त्यस भन्दा पनि खतरनाक कुरो के भने अख्तियारमा कोहि कसैको विरुद्ध मुद्दा पर्यो भने त्यसको निष्पक्ष र शिघ्र छानविन गरेर मुद्दा टुंग्याउने नभई त्यो मुद्दालाइ राखिरहने र त्यही मुद्दाको डर देखाएर सदैव प्रेसरमा राखी रहने गरिएको समेत पाइन्छ। त्यस्तो कहाँ भएको छ भनेर भनियो भने सार्वजनिक कार्यक्रम राखेर त्यस्ता कसैको घाँटीमा तरवार राखे जस्तो ढंगले लटकाइएका मुद्दाहरुको सुची नै पेश गर्न सकिन्छ। कसैको विरुद्ध उपसचिव स्तरमा कार्यरत रहँदा परेको मुद्दाको फाइल विशिष्ठ श्रेणीमा पुग्दा समेत बन्द नगरिनुले अख्तियारको कार्यशैली भित्र रहेको नकारात्मकताको मात्रै वर्णन गर्दैन बरु त्यसले स्वच्छ ढंगले काम गर्न चाहने पदाधिकारीहरु कसरि अख्तियारका हर्ताकर्ताहरुको स्वार्थको दास हुन वाध्य हुन्छन र कसरी अख्तियारको नियोजित ढिलाईको आडमा केहि कुपात्रहरुलाइ भ्रष्ट हुँदाहुँदै पनि देशलाइ लुटिरहने अवसर मिल्छ भन्ने कुराको सचित्र बयान गर्दछ। त्यसो भनेर कोहि कसैको विरुद्ध परेको मुद्दाको छानविन हुनुहुदैन भन्न खोजिएको विल्कुल हैन तर परेको मुद्दाको शिघ्र अनि निष्पक्ष छानविन गर्दै भ्रष्ट भए जेल अनि स्वच्छ भएमा छाती फुलाएर काम गर्ने अवसरको ग्यारेन्टी हुनुपर्छ भन्न खोजिएको हो।
भ्रष्टचारको मुद्दा लाग्दैमा कोहि भ्रष्टचारी हुने हैन तर हाम्रो संस्कार कस्तो भैसकेको छ भने कसैको विरुद्ध परेको भ्रष्टचारको मुद्दामा छानविन सुरु हुनासाथ नै त्यस्ता व्यक्तिलाइ भ्रष्ट भनेर चित्रित गरिहाल्ने अनि सक्दा वहिष्कार नत्र पनि ब्यापक अपमान नै गर्ने। भ्रष्टचारी नै हुँदा त वहिष्कार र अपमान सहि नै हुन्छ तर कसैको पूर्वाग्रह , स्वार्थ , रिस वा त्यस्तै कुनै कारणले मुद्दा को निम्ति मुद्दा सामना गर्नु परेको एउटा सच्चा राष्ट्रसेवकले आफुले निष्ठापुर्वक सेवा गरेको समाजले आफुलाई वहिष्कार र अपमान गरेको सहनु पर्ने अवस्था भनेको सिंगो समाजकै निम्ति लज्जाको विषय हो। तर खै किन हो यो सामान्य तथ्यलाइ अरु त अरु आफ्नै जीवनकालमा भ्रष्टचारको कपोलकल्पित (भ्रष्ट नै भए अख्तियारमा नियुक्ती हुदैन भन्ने सिद्धान्तको सम्मानार्थ मात्रै कपोलकल्पित लेखिएको ) आरोप सहन गर्न र मुद्दा झेल्न वाध्य अख्तियारका पूर्वदेखि वर्तमान पदाधिकारीसम्मले पनि नजरान्दाज अथवा व्यवास्ता गर्दै आएका छन्।
तसर्थ परेका मुद्दाहरुको छिटो, छरितो र विश्वसनीय अनुसन्धान अनि भ्रष्टचार प्रमाणित नहुँदासम्म कोहि भ्रष्ट कहलिदैन भन्ने सत्यको मनन गर्दै हल्ला हैन कामको सिद्धान्तको अनुशरण अख्तियारको एजेन्डा बन्नु अनिवार्य छ।
अख्तियार दुरुपयोग रोक्नु पर्ने अख्तियारमै बसेर त्यसको दुरुपयोग पो कहिँ कतै हुँदैछ कि भन्ने बारेमा पनि अख्तियारको नेतृत्वको सजगता अत्यन्त आवश्यक छ। भन्दा भन्नेलाइ अनि सुन्दा सुन्नेलाइ दुख लाग्ने भएपनि सत्य के हो भने मुलुक दोहन गरेर खानेहरु अहिले पनि स्वतन्त्र घुमिरहेका छन्।
दुनियाँलाई थाहा छ उनीहरु भ्रष्ट हुन भन्ने, उनीहरुको भडकिलो जीवनशैलीले त्यसलाइ प्रष्ट पारिरहेको पनि हुन्छ। तर पनि उनीहरु भ्रष्टचारी कहालिदैनन, किन ? किन भने उनीहरुको विरुद्ध न अख्तियारमा मुद्दा पर्छ र न त परिहाले पनि अख्तियारले त्यसमा कुनै छानविनको कष्ट नै गर्छ। अनि कहीं कतै गरिहालेछ भने पनि चुडामणि शर्मा र गोपाल खड्काजस्तै उनीहरु बच्ने अवस्था बनिहाल्छ। यस्तो किन हुन्छ?
किन भने भ्रष्टहरुले लुटको धनले धेरैलाइ खुसी पारेका हुन्छन वा भ्रष्टचारले आर्जित सम्पतिको जगमा शक्तिवानहरुसंग पारिवारिक नाता नै जोडेको पनि हुन्छन अनि मौकामा त्यो नाता सम्वन्धहरुले ढालको रुपमा काम गर्छ। भ्रष्टहरू अख्तियारको पहुँचभन्दा वाहिर रहेको वा राखिएको वर्तमानमा आफ्नो जागिरे जीवनमा साँचो अर्थमा देश र जनताको सेवा गरेका, भ्रष्टचारका महारथीहरूसँग जुधेर काम गरेका वा गर्दै रहेकाहरू चाहि अख्तियारमा दर्ता भए/रहेको प्राविधिक मुद्दाको कारणले खस्किएको मनोवल लिएर बाँच्न वाध्य छन्।
विचराहरू समस्या भन्न जाउँ त कहाँ जाउँ , दुख सुनाउँ त कस्लाइ सुनाउँको अवस्थामा पुग्न वाध्य हुन्छन। आफुले गर्दै नगरेको भ्रष्टचारको आरोप खेप्नु परेको छ भनौ अख्तियारमा मुद्दा छ भन्ने वित्तिकै भ्रष्टचारी देख्ने हाम्रो संस्कार छ, अख्तियारको नेतृत्वलाइ भेटेर नालीवेली लगाउँ त्यस्तो गर्ने कुनै स्थापित विधि प्रक्रिया नै छैन। अनि नभनौं भने थरि-थरिको स्वार्थ वा सम्वन्धले प्रेरित अख्तियारका हर्ताकर्ताहरुले आफ्नो हुर्मत लिइरहेका हुन्छन्।
जब भ्रष्ट र अनैतिकहरुले दुःख पाउछन् र कारबाही हुन्छ तब त्यो अख्तियारको निम्ति शानको विषय हो र हुनुपर्छ तर फेरी अख्तियारको कार्यशैलीमा रहेको कमजोरी, अनि त्यसभित्र रहेका पीडक र स्वार्थी प्रवृतिका पात्रहरुको कारणले कसैले अनाहकमा दुःख वा पीडा पाउनु पर्यो भने त्यो सिंगो समाजको निम्ति नै दुखद् र लज्जाको विषय हो।
तसर्थ भ्रष्टचारको विरुद्ध संगठित हुँदै गरेको जनताको पङ्क्तिलाइ आफ्नो शक्तीको रुपमा उपयोग गर्दै भ्रष्टचार र भ्रष्टचारीको खिलाफमा जुटनुपर्ने अख्तियार आफैं भित्र कुण्ठा , आग्रह-पूर्वाग्रह पालेर बस्न मिल्दैन र हुदैन। यसले त भएका भ्रष्टहरुलाई कानुनको दयारामा ल्याउने काम गर्नुपर्छ न कि कुनै स्वार्थ, रिस वा परपीडक चिन्तनको कारण परेका मुद्दाहरूको ठेली पल्टाएर कसैको हुर्मत लिने काम। दुनियाले चिनेका जानेका भ्रष्टहरु केवल अख्तियारले चिन्न नचाहेको वा नसकेको कारणले माला लगाएर देश बनाउने गुड्डी हाँक्दै देश दौडाहा गरिरहँदा कैयौं सच्चा राष्ट्रभक्तहरु चाहिं प्रायोजित मुद्दाको चेपुवामा परेर रुनु न हाँस्नुको अवस्थामा बाँच्नुपर्ने?
के हामीले चाहेको त्यस्तै न्याय हो ? भ्रष्टलाइ माला अनि तिनीहरुसंग पैठाजोरी खेल्नेहरुको इज्जत भविष्यमा चाहिं अदृश्य ताला ? यो यक्ष प्रश्नको जवाफ खोज्न अनि परपीडक चिन्तन र पात्र रहित, केवल विधिकै आधारमा मात्रै चल्ने अख्तियारको सपना साकार पार्न आवश्यक कदम चाल्न यसको नेतृत्व देखि जनसाधारण समेतले ढिला गर्नु हुदैन। यदी यो प्रश्नको उत्तर समयमै खोजेर त्यसको सापेक्ष उत्तर नखोजिने हो भने जनताको सिङ्गो पङ्क्तिले सोध्नेछ "के अख्तियार दुरुपयोग नियन्त्रण भनेको यही हो ?" र जनताले उठाउने त्यो प्रश्न हर्ताकर्ता र उनीहरुबाट संरक्षितहरुको निम्ती अप्रिय पक्कै हुनेछैन।