दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति मुन जाइ इनलाई बुझाएका छन्।
दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसमा मंगलबार बिहान आयोजित एक समारोहमा राजदूत सिंहले प्रमाणपत्र बुझाएका हुन्।
सो क्रममा राजदूत सिंहले नेपालको विकासमा कोरियाले अहिलेसम्म गरेको सहयोगका लागि धन्यावाद दिँदै आउँदा दिनमा दुई देशको सम्बन्ध थप मजबुद् हुने आशा व्यक्त गरेका थिए।
सो अवसरमा कोरियाली राष्ट्रपति मुनले दुई वर्षअघि नेपालमा भूकम्प आउँदा आफू गएर काम गरेको सम्झँदै पुनर्निमार्णको काम बारे चासो राखेका थिए। त्यतिबेला मुनले नुवाकोटमा भूकम्पले भत्काएको विद्यालय पुनर्निर्माणमा श्रमदान गरेका थिए।
मुनले इपिएस प्रणालीमार्फत कोरिया आएका नेपाली कामदारले इमानदारीका साथ काम गरिरहेको उल्लेख गर्दै कोरियाले आगामी दिनमा नेपालमा अझै बढी लगानी गर्ने बताएको सउलस्थित नेपाली दूतावासले जनाएको छ।