सरल, सोझा, लगनशील, इमान्दारको उपमा पाएका नेपालीहरुको साख युरोपको शक्तिशाली देश पोर्चुगलमा गिर्दै गएको छ। गैरकानुनी क्रियाकलापमा नेपालीहरुको पनि संलग्नता देखिएपछि साख गिर्दै गएको हो। पोर्चुगलमा साउथ एशियन अन्य नागरिकभन्दा नेपालीहरुलाई इमान्दारको रुपमा हेरिने गरिन्थ्यो। विगत केहि समययताका घटनाले नेपालीहरुको इमान्दारीताप्रति नै प्रश्न चिह्न उठेको छ।
खेतीमा काम गराउने एजेन्टको रुपमा कम्पनी खोलेका नेपालीहरुमध्ये दुईजनालाई गैरकानुनी काम गरेको भन्दै पोर्चुगल अदालतमा मुद्दा चलेको केहि समय नबित्दै सोसल नम्बर काण्डमा फेरी नेपालीहरु मुछिए। पोर्चुगलमा नेपालीहरुलाई मुद्दा चलेको पहिलो पटक हो। त्यसैगरी सोसल नम्बर काण्डमा नेपालीहरु मुछिएको पनि यो पहिलो पल्ट हो।
एक बर्षअघि पोर्चुगलको अध्यागमन विभाग ‘सेफ’ अन्र्तगतको अनुसन्धान विभागले पोखरा नाम राखी सर्च अभियान नै सञ्चानल गरेको थियो। पोर्चुगलको खेतीमा काम गर्ने नेपाली तथा विदेशी कम्पनीहरुमा कार्यरत मजदुरहरुमाथी श्रम शोषण भएको उजुरी परेको आधारमा सर्च अप्रेशन गरिएको थियो। खेतमा काम गर्ने कर्मचारीको अवस्था र कम्पनीको कानुनी प्रकृयाको बारेमा नेपाली नामै राखेर गरेको यो पहिलो अप्रेशन थियो। खेतीमा कामदारहरु लैजाने तर काम गरे बापतको रकम नदिने केहि कम्पनीहरुका कारण पहिलोपल्ट नेपालीहरु अनुसन्धानको घेरामा तानिएका थिए। अहिले पनि कामदारहरुले उचित रकम नपाएको गुनासो गर्ने गरेका छन्।
पोर्चुगलमा नेपालीहरु सन् १९९२ देखि बसोबास गर्दै आएका छन्। आधिकारिक तथ्याङ्क नभए पनि करिब २० हजारको हाराहारीमा नेपालीहरु पोर्चुगलमा रहेका छन्। युरोपका अन्य देशहरुमा भन्दा पोर्चुगलमा स्थायी अनुमतिपत्र छिटो पाइने भएकोले आप्रबासीहरुको पहिलो रोजाई पोर्चुगल बनेको छ। युरोपका अन्य देशहरुमा स्टुडेन्ट वा कुनै प्रोग्राम भिसामा आउने र पोर्चुगल छिरेर कार्ड बनाउने उद्देश्य भएका नेपालीहरु केही वर्षयता व्यवसायतर्फ आकर्षित भएका छन्। केही कानुनी रुपमै काम गर्छन्। तर, केहीले गैरकानुनी रुपमा छिटो पैसा कमाउने उद्देश्यले नेपालीहरुलाई नै ठग्ने काम पनि गर्दै आएका छन्।
कसरी आउछन् नेपालीहरुविद्यार्थी भिसामा बेलायत, डेनमार्क, नर्बे, फिनल्याण्ड, जर्मनमा आए पनि भिसा सकिएपछि पोर्चुगल छिर्ने पनि छन्। यसरी आएकाहरु धेरैजसो आफ्नै लगानीमा व्यवसाय गरेर बसेका छन्। अर्काथरी नेपालबाट सिधै ‘वर्क परमिट’मा आएका छन्। दलाललाई बीस लाखभन्दा बढी रकम तिरेका पनि भेटिन्छन्। नेपालवाट सिधै वर्क परमिटमा कामदार झिकाउनकोलागि खेती कम्पनीलाई बल्छीको रुपमा प्रयोग गरिएको छ। यसरी आउनेहरुमध्ये केहीले यहाँको स्थायी बसोवास अनुमतीपत्र बनाउने प्रकृया शुरु पनि गरेका छन्। अझै अर्काथरी पनि छन्, जो नेपालबाट भारत, इराक, टर्की, फ्रान्सहुँदै मृत्युसँग लडेर बल्लबल्ल पोर्चुगल छिरेका छन्। खाली खुट्टा हिँड्दै गरेको बिजोग अवस्थामा पनि भेटिन्छन्। उनीहरुले पाएको पीडा सुन्दा लाग्छ, उनीहरु नाफाको जिन्दगी बिताइरहेका छन्। पोर्चुगल छिरेपछि जनतन काम भेटिन्छ। लाखौं रकम तिरेका उनीहरु पैसा कमाउनुभन्दा आफू सुरक्षित भएकोमा खुसी छन्। पछिल्लो समय पोर्चुगलमा कामको लागि धेरै कठिनाई छैन। सानोतिनो गुजारा चल्ने काम भेटिन्छ। काम पाएका पनि छन्। सरकारलाई कर पनि तिरेका छन्। निश्चित समय पुगेपछि युरोपको अस्थायी बसोबास कार्ड पाउछन्। त्यसैमा ढुक्क छन्, उनीहरु। अनि, सबै पीडा बिर्सने प्रयास गरेका छन्।
दलाललाई पैसा दिएर नेपालबाट सिधै खेतीका लागि आएकाहरु कामबाट निकालिने डरले दलालको नाम नै भन्दैनन्। काम भइरहेको छ। पछि कार्ड बन्नेछ। त्यसैमा मख्ख छन्। लाखौं रकम तिरेर गैरकानुनी रुपमा पोर्चुगल छिरेकाहरु केही भने नेपालमा बेइज्जत होला भनेर खुल्न चाहँदैनन्।
यसरी ठगिन्छन् नेपालीहरु– पोर्चुगल आएपछि कार्डको प्रकृयाबारे अनभिज्ञ नयाँ नेपालीहरु स्वयं नेपालीबाटै ठगिन्छन्। सुरुमा यहाँको ‘फिनान्स नम्बर’ निकाल्नुपर्छ, त्यसकोलागि पोर्चुगलको पासपोर्ट भएको व्यक्ति चाहिन्छ। पासपोर्ट भएका केहि नेपालीहरुले फिनान्स भरेबापत एक सय युरो समेत लिने गरेका छन्। जहाँ फिनान्स नम्बर भरेको पैसा तिर्नुपर्दैन। सहयोग गरेबापत नेपालीले सुरुमै ठग्ने बाटो हो फिनान्स नम्बर।
– ‘सोसल सेगुरान्स नम्बर’। यो नम्बर लिएपछि मात्र यहाँको सरकारलाई काम गरेपछि ट्याक्स तिर्ने बाटो खुल्छ। सामान्यतया काम गरेपछि प्रकृयागत रुपमा यो नम्बर आउँछ। यसको लागि कम्तीमा पनि तीन महिना लाग्छ। तर नेपालीहरु यो नम्बर छिटो ल्याउने गैरकानुनी बाटोमा लाग्छन्। साथीभाइको लहैलहैमा लागेर सोसल निकाल्ने गर्छन्। यो नम्बर निकाल्नकोलागि नेपालीहरु चोकचोकमा भेटिन्छन्। नम्बर निकालिदिन्छु भनी मोटो रकम लिएर फरार भएका प्रशस्त उदाहरण भेट्न सकिन्छ।
– काम लगाइदिने सर्तमा अग्रिम रकम लिनेहरु पनि छन्। करारमा काम लगाइदिने सर्तमा नेपालीहरुले रकम लिने गरेको बुझिएको छ। तीनचार वर्ष अघि यस्ता गुनासाहरु प्रशस्तै सुनिन्थे तर अहिले भने केही कम भएको छ। भर्खरै पोर्चुगल आएकाहरुलाई राम्रो काम लगाइदिने सर्तमा पैसा लिने तर कामचाहिँ नलगाइदिने प्रचलन पनि छ।
– खेतीमा काम गर्नेहरु पनि ठगिन्छन्। पोर्चुगलको स्थायी बसोबास पत्र बन्ने आशमा नेपालीहरुले खोलेका खेती कम्पनीहरुमा काम गर्नेहरु यस्तो वर्गमा पर्छन्। करार पत्रमा धेरै तलब उल्लेख गरिएको हुन्छ। उनीहरुले न्युनतम मापदण्डअनुसार सरकारलाई कर तिर्ने सर्त मानिरहेका हुन्छन् तर काम गरे बापतको पैसा भने थोरै लिइरहेका हुन्छन्। यस्ता कामदार र कम्पनीवाला बीच मौखिक सम्झौता हुनेगर्छ। कागजीरुपमा धेरै तलब देखिने तर खासमा थोरै तलब हुने। कामदारलाई कर जाने र कार्ड छिटो बन्ने आश हुन्छ। उता, कम्पनीवालाहरुलाई भने सस्तो कामदार मिल्छ । खेतीमा सामान्य तथा घण्टाको आधारमा ज्याला भुक्तान गरिन्छ। कुनै कम्पनीमा कामदारले टिपेको कृषि उत्पादनहरुको तौलको आधारमा ज्याला दिने गरिन्छ। कर्मचारीहरुको सम्पर्क सिधै मालिकहरुसँग हुदैन। त्यसैले बीचमा मोटो कमिसन खाने एजेन्टहरु हुन्छन्। उनीहरुसँग श्रमसम्झौता गरेर काममा जानुपर्ने हुन्छ। यसरी काममा जाँदा कामदारहरु सोझै मारमा पर्नेगरेका छन्। भाषाको अनभिज्ञताका कारण कामदारहरुले कमसल कामको सम्झौतापत्रमा समेत हस्ताक्षर गर्ने गरेका छन्।
जिम्मेवार को?पोर्चुगलमा दुई दर्जनभन्दा बढी संघसंस्था छन्। उनीहरुको ध्यान पीडित नेपालीहरुको पक्षमा गएको देखिदैंन। प्रायः संघसंस्थाका प्रतिनिधिहरु मञ्च केन्द्रित छन्। उनीहरुको उपस्थिति कार्यक्रममा मात्र देखिने गर्दछ । नयाँ व्यक्ति पोर्चुगल आउँदा परामर्श सवालमा दोधारमा पर्ने गरेका छन्। गल्लीगल्लीमा नेपालीहरु भेटिन्छन्। सही सूचनाको अभावमा नयाँ व्यक्ति ठगहरुको चंगुलमा फस्ने गर्छ। कानुनी परामर्शकै लागि भनेर अहिलेसम्म सार्वजनिक कार्यक्रम भएको छैन। पोर्चुगलको लिस्वनमा अवैतनिक वाणिज्य दूतावास छ। नेपालीहरुको अभिभावकको रुपमा रहेको यस कार्यालयलाई नेपालीहरु स्वयंले खासै उपभोग गरेको पाइँदैन।
वाणिज्यदूत मकर हमालले भनेका छन्– गैरकानुनी काममा नेपालीहरुको नाम मुछिनु अत्यन्तै दुर्भाग्य हो। यसले अन्ततः नेपालीहरु बदमास छन् भन्ने सन्देश यहाँको सरकारलाई जानेछ। त्यसैले गलत प्रकृतिका कामहरु नगर्न उनले आग्रह गरेका छन्। जुन देशमा बसोवास गरिन्छ, सोही देशको नियम, परिधिभित्र बसोबास गर्नुपर्छ। एनआरएन पोर्चुगलका अध्यक्ष भीमकमल केसीले प्रतिबद्धता गरेका छन्– कुनै पनि परामर्श चाहिएको खण्डमा जुनसुकै बेलामा आफुले जानेको कुरा अवगत गराउने छु।
पोर्चुगलमा आउने नेपालीहरुको ठूलो कमजोरी यहाँको कानुनको विषयमा अनभिज्ञता हुनु पनि हो। हल्लाको पछाडि लाग्नु अर्को कमजोरी हो। अपुष्ट सुचनाको पत्याउनु पनि समस्या हो। हरेक कुराहरु इन्टरनेटबाट हेर्न र बुझ्न सकिन्छ। व्यवसायी दामोदर पौडेलको सुझाव दिन्छन्– हल्लाको पछाडि होइन आफैंले बुझ्ने प्रयास गर्नुपर्छ।
पोर्चुगलमा आएका नेपालीहरुको पीडा आफ्नै होला। दुःख पनि आफ्नै होला। उनीहरुको एउटै मात्र सपना रातो पासपोर्ट हो। पोर्चुगलको पासपोर्ट संसारको छैटौं शक्तिशाली मानिन्छ। नियमले ६ वर्ष पूरा गरेपछि पासपोर्टको लागि निवेदन दिन पाइन्छ। युरोपका अन्य देशहरुमा बैधानिक हुने बाटो पोर्चुगलभन्दा निकै कठिन छ। छिटो पैसा कमाउने पोर्चुगलका सरकारी कर्मचारीको मिलेमतोमा गैरकानुनी काम गर्नेमा आप्राबासीको बाहुल्यता बढ्दैगएको छ। यसमा नेपालीहरुको पनि सहभागिता हुनु निन्दनीय छ।