काठमाडौं उपत्यकाभित्र वायु प्रदुषण घटाउने उद्देश्यले सवारी साधनले फ्याक्ने धुँवाको परीक्षण गरिने भएको छ।
ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको संयुक्त पहलमा यो कार्य हुन लागेको हो। यसका लागि विभागले अर्थ मन्त्रालय समक्ष प्रस्ताव पेश गरिसकेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराइका अनुसार अर्थले प्रस्तावमा स्वीकृति दिएपछि थप प्रक्रिया अघि बढ्नेछ।
‘प्रदुषण परीक्षण गर्ने मेसिनको लागि बजेट आएमा यो कार्य छिटै लागू गर्ने तयारीमा हामी छौँ’ महानिर्देशक भट्टराईले सेतोपाटीसँग भने।
उनका अनुसार उपत्यकाभरको लागि करिब ४० वटा मेसिन चाहिन्छ। यो मेसिनलाई सस्तोमा ५ लाख र उच्च गुणस्तरको ११ लाखसम्म पर्ने उनले बताए।
छिटै बजेट पारित भएमा सार्जवनिक खरिद ऐन अनुसार टेन्डर आह्वान गरेर करिव ३ महिनामा यो कार्य सुचारु हुन सक्ने विभागले जनाएको छ।
यो मेसिन काठमाडौंमा सवारी साधन भित्रिने चारवटा मुख्य नाकाहरू नागढुङ्गा, जगाते, फर्पिङ र मुडखुमा राखिने छ।
अस्थायीतर्फ एयरपोर्ट, बत्तिसपुतली, दरबारमार्ग, थापाथली (ट्राफिक प्रहरी प्रभाग अगाडि) जावलाखेल, तीनकुने, रामशाहपथ, न्यूरोड लगायतका स्थानमा राखिनेछ।
मेसिनको लागि राष्ट्रिय योजना आयोगले सिफारीस गरेर पठाइसकेको र अब अर्थ मन्त्रालयको निर्णय बाँकी रहेको महानिर्देशक भट्टराइले बताए।
सबै मेसिनहरु आइसकेपछि रिङरोडभित्र हरिया स्टिकर बाहेक अन्य सवारी साधनलाई रोक लगाउने योजना रहेको भट्टराइले सुनाए।
यो कार्यक्रम सफल भएमा उपत्यकाको वायु प्रदुषण रामै्र मात्रामा घट्ने आशा गरिएको छ।