दार्जीलिङबाट आफ्ना सृजना प्रस्तुत गर्न काठमाडौं आएकी शान्ति ठटालले पलेँटी श्रृंखलामा पाँचौं प्रस्तुति दिएकी छन्। शुक्रबार र शनिबार साँझ नेपालयको आर-शालामा आयोजित पलेँटीमा उनले पलेँटी गायिका मीना निरौला र दार्जिलिङबाट आएकी गायिका सोनू राईमाफर्फत आफ्नो गायन तथा संगीतका डेढ दर्जन गीत प्रस्तुत गरेकी थिइन्।
६१ वर्षअघि कलकत्ताबाट गीत रेकर्ड गरेर सांगीतिक यात्रा सुरु गरेकी उनी त्यसको नौ वर्षपछि राजाको जन्मोत्सवका अवसरमा गायिका अरुणा लामा र संगीतकार शरण प्रधानको साथमा नेपाल आउँदा रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन्। त्यतिबेला रेकर्ड भएको 'सम्हालेर राख' नेपालमा खुबै चर्चित भएको थियो। नेपालमा उनलाई यसै गीतले चिनायो।
गायनबाट सांगीतिक यात्रा सुरु गरे पनि उनको परिचय गायिकासँगै संगीतकारको रुपमा समेत परिचित भयो। नेपाली फिल्मकी पहिलो महिला संगीतकारको समेत परिचय बनाएकी शान्ति पलेँटीमा पनि यसपाली संगीतकारको भूमिकामा प्रस्तुत भएको हुन्। पलेँटीले श्रृंखलापिच्छे कहिले गीतकार, कहिले संगीतकार त कहिले गायक/गायिका विशेष सांगीतिक कार्यक्रम राख्दै आएको छ। १२ वर्षअघि सुरु भएको पलेँटी 'आमा' शीर्षकको गीतबाट प्रारम्भ भएको थियो।
दार्जीलिङकी अग्रज फिल्म तथा नाट्य कलाकार मेनुका प्रधानले लेखेको गीतको प्रस्तुतिसितै शान्ति ठटालको संगीत गाइरहेकी सोनू राईले दर्शकबाट प्रसंशा पाइन्। ठटालकै रोजाइमा दार्जीलिङबाट उनका साथमा आएकी सोनु राईले पुराना चर्चित गीतहरू 'उडी जाऊँ भने म पन्छी होइन', 'मेरो कथा खाली खाली', 'नयाँ नयाँ घामको किरण', लगायत थप चारवटा नयाँ गीतहरू प्रस्तुत गरेकी थिइन्। उनले गाएको वसन्त थाम्सुहाङ रचित लोक भाकामा आधारित नयाँ गीत 'देउरालीमा पाती राखी'लाई पनि दर्शकले रुचाए।
'शब्दमा धुनहरू भर्दा दार्जीलिङतिर आधुनिक शैली मात्र होइन मादले, मारुनी, विरनी जस्ता ठेट भाकाहरूलाई पनि निकै महत्व दिइन्छ,' प्रस्तुतिका क्रममा संगीतकार ठटाल दार्जीलिङको सांगीतिक शैलीबारे प्रष्ट्याउँदै थिइन्।
कार्यक्रमको दोस्रो गीत पलेँटी गायिका मीनाले प्रस्तुत गरेकी थिइन्। संगीतकार ठटालले विरनी (विरहिणी) ताल र भाकाको प्रसंगसितै प्रारम्भ भएको यस गीतको भाका मीनाको स्वरमा सुहाएको थियो। मञ्चमा शान्ति ठटालको दायाँतर्फ पलेँटी कसेकी मीनाले ठटालका सदावहार गीत 'सम्हालेर राख', 'मेरो दुखी मन', 'आकाश झुक्यो', सहित पाँचवटा गीत सुनाएकी थिइन्। कतै रेकर्ड नभएको 'कहिलेकाहिँ' गीत पनि मीनाको स्वरमा निकै खुलेको थियो।
यसपाली संगीतकारको रुपमा प्रस्तुत भए पनि ठटालले दलसिंह अकेलाको शब्द रहेको 'लिएको थिएँ तिम्रोबाट' बोलको गीत सुनाउँदा ठटालको गायिकीका प्रशंसकहरू आनन्दित भए। शान्तिले कोलकातामा सन् १९५६ रेकर्ड भएको आफ्नो पहिलो गीत 'चाँदनी चाँदनी'को पनि सम्झना गरेकी थिइन् । उनले आफ्नो पहिलो गीतका गीतकार संगीतकार शिवप्रसाद सिंह (९० वर्ष खर्साङ) भएको पनि जानकरी गराइन्।
कार्यक्रममा मीना र सोनुको युगल स्वरमा प्रस्तुत भएका रिदमिक गीतहरू 'रोक्दा रोक्दै' र 'मायालुले सम्झे कि कसो'लाई पनि दर्शक/स्रोताले मन पराए।
कार्यक्रमका क्रममा संगीतकार ठटालले आफ्नो समयका मुर्धन्य कलाकारहरू अम्बर गुरुङ, अरूणा लामा, नारायण गोपालसित सम्बन्धित स्मरणहरू सुनएकी थिइन्। यसै क्रममा उनले आफ्नो लोकप्रिय गीत 'सम्हालेर राख'को रचना गर्भको पनि जानकारी गराएकी थिइन्।
'सम्हालेर राखको गीतको पहिलो धुन अर्कै थियो। संगीतकार अम्बर गुरुङले यो गीतको पहिलो धुन गाउन सिकाउँदा म अलि अनकनाएछु; उहाँले त्यसलाई फेरि धुन भर्नुभयो र मलाई सिकाउनु भयो। यो त्यही दोस्रो संगीत हो,' यति भनेर ठटालले 'सम्हालेर राख' गीतको पहिलो धुनको पनि सम्झना गरिन्। ठटालको संस्मरण सुनाउने हँसिलो पाराले 'आर'शालाको सांगीतिक वातावरणमा थप रोचकता थपेको थियो।
शान्ति ठटालको सांगीतिक यात्राको परिचय गराउँदै कार्यक्रम संचालक संगीतकार आभासले ठटालले महाकविका कृतिहरू- 'मुना मदन', 'कुञ्जिनी', 'म्हेन्दो',मा पनि संगीत भरेको प्रसंग कोट्याए। संगीतकार ठटालले आफूले ती कृतिहरूको भाका नै भुलेको तर पलेँटीको अनुरोधमा सम्झने प्रयत्न गरेको बताइन्। यही क्रममा उनले आफ्नो बायाँतर्फ बसेकी गायिका सोनु राईलाई 'मुना मदन'का केही हरफ गाउन लगाइन्। कार्यक्रम संचालकले शान्ति ठटाललाई फेरि पनि पलेँटीमा निम्त्याउने बताउँदै 'मुना मदन' तयार गरेर आउन अनुरोध गरेका थिए। संचालकको अनुरोधमा शान्ति ठटालको सहमती सुनेपछि दर्शकबीच खुसीको लहर छाएको थियो।
कार्यक्रम समापन भएको घोषणापछि पनि दर्शकहरूको चर्को अनुरोधमा शान्ति ठटाले 'सम्हालेर राख'लाई आफ्नै कण्ठबाट सुनाएकी थिइन्।
शान्ति ठटालको पलेँटीमा प्रशंसकहरूको चाप बढेपछि शुक्रबार मात्र हुँदै आएको कार्यक्रम शनिबारका लागि पनि थपिएको हो। अंग्रेजी महिनाको अन्तिम शुक्रबार हुने कार्यक्रमको अगष्ट महिनामा चर्चित जोडी उदय मनिला सोताङलाई प्रतुत गर्ने जानकारी पनि गराइएको थियो।