शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान तथा अवतरण आधा घण्टाको लागि ठप्प हुने भएका छन्। बेलुका साढे चार बजेदेखि पाँच बजेसम्म सबै उडान तथा अवतरण रोकिने प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
‘फूल स्केल इमरजेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएकोले आधा घण्टासम्म विमानस्थल बन्द हुने प्रवक्ता ठाकुरले जानकारी दिए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)को नियम अनुसार प्रत्येक दुइ वर्षमा अनिवार्य गर्नुपर्ने त्यस्तो अभ्यास गर्नको लागि विमानस्थल बन्द हुने भएको हो।
विमानस्थलमा कुनै दुर्घटना भएमा कसरी उद्धार गर्ने भनेर गरिने पूर्व तयारीको लागि त्यस्तो अभ्यास गरिन्छ। प्रवक्ता ठाकुरका अनुसार यो पटक विमानस्थलमा आउने सबैभन्दा ठुलो विमान एयरबसको ए३३० मोडलको विमान छनौट गरिएको छ।
विमान त्र्mयास भएपछि अपनाउनुपर्ने सावधानी, गर्नुपर्ने कामको अभ्यास गरिन्छ। साथै घाइतेको उद्धारको बारेमा पनि अभ्यास गरिन्छ। यो पटक विमानस्थलबाट हेलिकप्टरबाट ग्रान्डी अस्पतालसम्म विरामीलाई लिइने कार्यक्रम रहेको छ।