साउदी अरेवियाका राजा सलमानले आफ्ना भतिजालाई उत्तराधिकारीको पदबाट बर्खास्त गर्दै ३१ वर्षिया छोरा मोहम्मद बिन सलमानलाई नियुक्त गरेका छन्। सन् २०१५ मा राजा भएपछि उनले भतिजा मोहम्मद बिन नाएफलाई उत्तराधिकारी तोकेका थिए। तर, साउदी राजघरानमा छोरा सलमान निरन्तर शक्तिशाली हुँदै गए। अन्ततः उनले आफ्नै छोरालाई उत्तराधिकारी बनाए।
तेलको बजार मुल्य घटेको, इरानसँग सम्वन्ध बिग्रिएको र मध्यपूर्वमा द्वन्द्व सृजना भएको समयमा साउदी राजा सलमानले नयाँ कदम उठाएका छन्।
छोरा बिन सलमान रक्षा मन्त्री थिए। राज्य नियन्त्रित तेल कम्पनी सञ्चालन गर्ने र राज्यको अर्थतन्त्र परिवर्तनको योजना बनाउनमा बिन सलमान संग्लग्न थिए।
सलमानको नयाँ कदमले निवर्तमान युवराज बिन नाएफको राजनीतिक यात्रामा पूर्णविराम लागेको देखिन्छ।
साउदीको गृह मन्त्रालयसमेत रहेका बिन नाएफले साउदीमा अल-काइदाको सञ्जाल भत्काएका थिए। उक्त कदमका कारण उनी स्थानीय र विदेशी माझ लोकप्रिय थिए। राजा सलमानले उनलाई आफ्नो उत्तराधिकारीबाट मात्र होइन गृह मन्त्रालयको कार्यभारबाट समेत बर्खास्त गरेका छन्।
राजा सलमान किन त्यस्तो कदम उठाए भन्ने बारे निश्चित छैन। तर, उनले भतिजालाई होइन आफ्नै छोरालाई भविष्यमा राजा बनाउन चाहन्छन् भन्ने धेरै अन्दाज गरेका थिए। छोरा बिन सलमानको साउदी राज्य संयन्त्रमा भूमिका बढ्दो थियो। त्यसकारण आफ्नै छोरालाई उत्तराधिकारी बनाउने उनको योजना भएको धेरैले अन्दाज गरेका थिए।
नयाँ उत्तराधिकारीले बिन सलमान सिया राष्ट्र इरान प्रति कठोर कदम लिनुपर्ने पक्षमा छन्। इरानलाई एक्लो इस्लामिक शक्ति राष्ट्र बन्न खोजेको आरोप लगाउँदै उनले इरानसँग कुनै वार्ता नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्।
बहराइन, सिरिया र यमनको द्वन्द्वमा इरान र साउदी विपरित ध्रुवमा उभिएका छन् भने अफ्रिका, एसिया र मध्यपूर्वमा एकअर्काको प्रभाव घटाउने रणनीतिमा छन्।
उनका लागि आदर्श व्यक्ति भनेका आबुदावीका राजकुमार शेख मोहम्मद बिन जाएद हुन्। यी दुई व्यक्ति मिलेर केही साताअघि कतारलाई एक्ल्याउने र नाकाबन्दी लगाउने कदम उठाएका थिए।
बिन जाएदले यमनका हउथी बिद्रोही विरूद्ध सैन्य गठबन्धनको नेतृत्व गर्दै यमनको भूमिमा सैन्य कारवाहीमा पनि संग्लग्न छन्।
राजा सलमानको उक्त कदमबाट साउदी राजपरिवारका धेरै मानिस खुसी छैनन्। आफूलाई नजर अन्दाज गरेर सैन्य र राजकाजमा धेरै अनुभव नभएका छोरा बिन सलमानलाई अघि बढाएको उनीहरुको गुनासो छ।
साउदी सञ्चार माध्यमले भने राजा सलमानको उक्त कदम सामान्य भनेको छ। उनीहरुका अनुसार ३४ जना बरिष्ठ राजकुमार मध्ये ३१ जनाले राजाको कदम समर्थन गरेका छन्।