राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ र रमेश बुढाथोकीको फिल्म ‘भुईंमान्छे’ को रिलिज मिति धकेलिएको छ। साउन २० लाई रिलिज मिति तोकिए पनि शाहरुख खानको ‘जब ह्यारी मेट सेजल’ र अक्षयकुमारको ‘ट्वाइलेटः एक प्रेमकथा’ रिलिज हुने भएपछि पर सरेको हो।
यी दुई फिल्मले नेपाली पर्दा कब्जा गर्ने भएपछि भुईंमान्छेले हल नपाएको फिल्म निर्देशक नवराज बुढाथोकीले बताए। फिल्म अब भदौ २ मा रिलिज हुने उनको भनाइ छ।
बलिउडका ठूला ब्यानरका फिल्म रिलिज हुँदा नेपाली फिल्मले हल नै नपाउने समस्या भोग्नुपर्ने निर्माता/निर्देशकहरुले गुनासो गर्दै आएका छन्।
पोस्टमार्टम गर्ने व्यक्तिको कथामा बनेको फिल्ममा रमेश बुढाथोकी मुख्य भूमिकामा छन्। भलिबल खेलाडी सिपोराको यो तेस्रो फिल्म हो। उनले यसअघि पोखराबाट बनेका दुई फिल्ममा अभिनय गरिसकेकी छन्।
फिल्ममा सिपोरा र रमेशका अलावा सहिन प्रजापति, बादल भट्टलगायतले अभिनय गरेका छन्। शैली थिएटरले बनाएको यो दोस्रो फिल्म हो। थिएटरका निर्देशक नवराज बुढाथोकीले यसअघि ‘वनफूल’ निर्देशन गरेका थिए। जसमा सुनील पोखरेल मुख्य भूमिकामा देखिएका थिए।
https://www.youtube.com/watch?v=uhMc0PYfnCk