बन्दकै क्रममा महोत्तरीको सदरमुकाम जलेश्वरको खैराचोकमा रहेको संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन्। करिब डेढ दर्जन संख्यामा राजपाका कार्यकर्ताले बुधबार फोरमको झण्डामा आगजनी गर्नुका साथै बोर्ड तोडफोड गरी कालो पोतिदिएका थिए।
बिहान फोरम कार्यालयमा कोही नभएको मौका छोपी उनीहरुले झन्डा उखेल्ने र बोर्डमा मोबिल पोत्ने काम गरेको प्रत्यक्षदर्शीले बताए।
पार्टी कार्यालयमा आक्रमणपछि संघीय समाजवादी फोरम महोत्तरी अध्यक्ष रामनरेश यादवले कडा शब्दमा विरोध जनाएका छन्। ‘फोरम कार्यालयमाथिको हर्कत लोकतन्त्रको उपहास हो लोकतन्त्रमाथिको आक्रमण पनि हो,’ सेतोपाटीसँग उनले भने,‘प्रथम मधेस आन्दोलनमा ४२ जना सहिद भएर स्थापित भएको फोरमको झन्डा जलाउने र कार्यालयमाथि आक्रमण गर्नु सहिदहरुमाथिको अपमान पनि हो।’
फोरम कार्यालय रहेको जलेश्वर खैराचोकमा सशस्त्र प्रहरी कार्यालय पनि छ । प्रहरी कार्यालय नजिक यस्तो घटना हुनुले समग्र निर्वाचन सुरक्षामा समेत प्रश्नचिह्न उठेको उनको भनाइ छ।