संखुवासभा, चैनपुरका जीवनविक्रम भण्डारीको बारीमा ऊखु फल्थ्यो। उनका आमाबुबा त्यही ऊखुबाट सखर बनाउँथे। गुलियोका लागि घरमा चिनीको साटो सखर नै बढी चल्थ्यो। आफन्तलाई दिने कोसेली पनि त्यही हुन्थ्यो। बचेको सखर स्थानीय हाटबजारमा बेच्थे।
पाँच वर्षयता जीवन पनि यही काममा लागेका छन्। सखर उत्पादन भण्डारी परिवारकै व्यवसाय बनेको छ।
चैनपुरस्थित आफ्नै घरमा ५५ वर्षीय दुर्गाबहादुर र समउमेरकी श्रीमती पदमकुमारी सखर बनाउँछन्। उनीहरूका छोरा जीवन मार्केटिङ गरेर सहरहरूमा सखर बेच्छन्।
'सखर बनाउनु हाम्रो पुर्ख्यौली पेसा हो। आमाबुबा थोरै सखर बनाएर हाटबजारमा बेच्नु हुन्थ्यो। अहिले यसलाई व्यावसायिक बनाएर मुलुकका थुप्रै सहरमा पुर्याएको छु,' जीवनले भने।
जीवन स्नातक तहका लागि काठमाडौं आएका थिए। सिजनमा घरबाट सखर ल्याउँथे। आफू खान्थे। निकटका साथीहरूलाई पनि खुवाउँथे। उनले काठमाडौंमा सखरको व्यापार भएको देखे। हेर्दै र बुझ्दै जाँदा आफ्ना आमाबुबाले बनाउने सखरले पनि काठमाडौंमा बजार पाउन सक्छ भन्ने लाग्यो।
यसै अनुसार उनले परीक्षण लागि चैनपुरमा उत्पादन गरेको सखर काठमाडौं ल्याए। केही किराना पसलमा दिए, फटाफट बिक्यो। पसलेले 'सखर ल्याइदिनू' भन्न थाले।
जीवनले अनुमान गरेको व्यवसायको सम्भावना सार्थक भएको ठाने। अन्ततः व्यवसायको बाटोमा अघि बढ्ने निधो गरे। आमाबुबालाई आफ्नो योजना सुनाए। आमाबुबा पनि सुखी भए। चैनपुरबाट सखर ल्याएर किराना पसलमा दिने काम सुरू भयो। माग बढ्दै गयो।
यो थियो कोरोना भाइरस संक्रमण फैलिनु अगाडिको कुरा। त्यसपछि दुई वर्ष भयो जीवनले सखरको व्यापार विस्तार गरेको। उनी किराना पसलहरूमा थोक मूल्यमा सखर दिन्छन्। आफ्नो फेसबुक र फोनमा आएको अर्डर पनि लिन्छन्।
'बजारमा अन्य ठाउँबाट आएको सखर पनि चाखेको थिएँ। तीमध्ये चैनपुरकै राम्रो लाग्यो,' उनले भने, 'आफ्नो ठाउँको उत्पादन ब्रान्डिङ गरेर बेच्नुपर्छ भन्ने सोचले काम सुरू गरेँ।'
हाल काठमाडौं उपत्यकाभरिबाट माग आउँछ, डेलिभरि आफैले दिन्छन्। माग बढ्दै चैनपुरे सखरले पूर्वका धरान, इटहरी र बिर्तामोडमा राम्रो बजार लिएको छ। पश्चिमतर्फ फैलिँदै हेटौंडा, भरतपुर र पोखरासम्म पुगेको उनले बताए। काठमाडौं उपत्यका बाहिरका लागि डेलिभरी कम्पनीसँग सहकार्य गरेका छन्।
'अब चैनपुरे सखरको व्यवस्थित अनलाइन पेज खोल्ने तयारीमा छु,' जीवनले भने, 'अहिले नै माग पूरा गर्न भ्याइनभ्याइ छ।'
जीवनले घरकै परम्परागत उत्पादन बजारमा ल्याएकाले अतिरिक्त लगानी गर्नुपरेन। उनी सखर प्रतिकिलो तीन सयदेखि पाँच सय रूपैयाँसम्म बेच्छन्। एक वर्ष अवधिमा पाँच सय किलो सखर बेचिसकेको उनले बताए।
हाल चैनपुरे सखरको उत्पादन र बजार दुवै बढेको उनी बताउँछन्।
जीवनले सखरको व्यापार बढाएपछि चैनपुरमा आमाबुबाले ऊखुखेती विस्तार गरेका छन्। यसपाली कम्तीमा एक हजार किलो सखर उत्पादन हुने अनुमान छ।
'गत वर्षभन्दा चार सय किलो बढी सखर उत्पादन हुने अनुमान छ,' जीवनले भने, 'यता बजार बढ्दै छ, उता उत्पादन पनि बढाउँदै छौं।'
उनका अनुसार चैनपुर नगरपालिकाका चार वटा वडामा ऊखु उत्पादन निकै राम्रो छ। सबै किसान सखर उत्पादन गर्छन् र हाटबजारमा पुर्याएर बेच्छन्। केहीले सहरमा पनि पठाउँछन्। घरको उत्पादनले मात्र बजारको माग पूरा हुन नसकेपछि जीवनले गाउँका अरू किसानसँग पनि सहकार्य अघि बढाएका छन्।
अहिले उनको गाउँमा सखरको सिजन चलेको छ। कात्तिकदेखि फागुनसम्म ऊखु काट्न र सखर बनाउन भ्याइनभ्याइ हुन्छ।
जीवन आफै पनि सखर बनाउन सिपालु छन्। सखर खान जति मिठो हुन्छ उत्पादनमा त्यति नै महेनत लाग्छ। ऊखु हुर्काउनुपर्छ। छिप्पिएपछि काटेर मेसिनमा पेल्दै रस निकाल्नुपर्छ। त्यो रस भकभक पकाएर सखर बनाउनुपर्छ।
उनका अनुसार दुई सय लिटर रसबाट करिब ४० किलो सखर बन्छ। यसरी बनेको सखर दुई वर्षसम्म राखेर खान सकिन्छ।
पढ्न भनेर काठमाडौं आउँदा जीवनले सखरको व्यवसायबारे सोचेकै थिएनन्। बारीको ऊखुबाट थोरैतिनो सखर बनाउने, घरायसी खपतबाट बचेको जति स्थानीय हाटबजारमा बेच्ने काम आमाबुबामा सीमित थियो। तर अब जीवन यसमै लागिपरेका छन्।
'सखरको व्यवसाय गरूँला भन्ने त कहिल्यै सोचेकै थिइनँ। काठमाडौंले मलाई व्यवसायी बनायो। कहिल्यै नसोचेको कुरा पनि हुँदो रहेछ,' जीवनले भने।
(सखरका लागि जीवनलाई यो नम्बरमा 9852004862 सम्पर्क गर्न सकिन्छ)