भक्तपुरकी नीलिमा चौलागाईं नवजात शिशुदेखि १० वर्षसम्मका केटाकेटीलाई चाहिने सबै खाले लुगा बनाउँछिन्। गर्भवती र सुत्केरी आमाका लागि गाउन पनि सिउँछिन्।
उनको व्यवसायको ब्रान्ड नाम हो 'गर्भ नेपाल'।
गर्भवती, सुत्केरी र बालबच्चाका लागि सजिलै गुणस्तरीय लुगा उपलब्ध गराउन गर्भ नेपाल सुरू गरेको उनले बताइन्।
'ग्राहकले भनेअनुसार पनि लुगा तयार हुन्छ,' उनले भनिन्।
नवजात शिशुदेखि सात वर्षका बच्चाका लागि जुन समयमा पनि लुगा उपलब्ध हुन्छ। त्यसमाथि दस वर्षसम्मका लागि भने नीलिमाले ग्राहकको रोजाइ अनुसार तयार गरिदिन्छिन्।
हाल गर्भ नेपालमा दौरासुरूवाल, र्यापर ब्ल्यांकेट, परम्परागत ढाका सेट, सर्ट, फ्रक, नाइट ड्रेस, पास्नी ड्रेस लगायत लुगा बन्छ। बच्चाको सिरक, डस्ना, हस्पिटल ब्यागका साथै स्कुल जाने केटाकेटीका लागि सजिला लुगा पनि पाइन्छ।
'धेरैजसो लुगा ढाका कपडाबाट बनाउँछौं। परम्परागत शैलीको ढाका लुगाको माग धेरै छ,' नीलिमाले भनिन्, 'कटन र मलमल कपडा पनि प्रयोग हुन्छ।'
गर्भ नेपालको कारखाना ललितपुरको इमाडोलमा छ जहाँ दुइटा सिलाइ मेसिन छन्। उनलाई पाँच जनाले काम सघाउँछन्। तीमध्ये तीन जना आफ्नै घरमा लुगा सिएर तयार गरिदिन्छन्। दुई जना कारखानामै आएर काम गर्छन्।


२२ वर्षीया नीलिमाले यो व्यवसाय सुरू गरेको चार वर्ष भयो। बजार लिन थालेको भने एक-डेढ वर्षयता हो।
नीलिमाले बिक्रीका लागि आउटलेट (पसल) खोलेकी छैनन्। सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाटै प्रचार गर्छिन्।
उनको धेरैजसो व्यापार काठमाडौं उपत्यकामै भए पनि पोखरा, बुटवल, भैरहवा, हेटौंडा, भरतपुर लगायत सहरबाट पनि अर्डर आउँछ। सामान पठाउन डेलिभरी कम्पनीसँग सहकार्य गरेकी छन्।
'विदेशमा बस्ने नेपालीहरूबाट पनि माग आउँछ। अहिलेसम्म कतै पठाएका छैनौं। आगामी दिनमा पठाउने योजना छ,' उनले भनिन्।
यो व्यवसायबाट सबै खर्च कटाएर हाल आफूले मासिक कम्तीमा ५० हजार रूपैयाँ आम्दानी गरिरहेको उनले बताइन्।
चार वर्षअघि, १८ वर्षको उमेरमा एक्लै थालेको व्यवसायले बिस्तारै उचाइ लिँदै गरेकोमा नीलिमा उत्साहित छिन्। आफ्नो ब्रान्ड स्थापित गराउन कम्मर कसेर अघि बढेकी छन्। लुगाको गुणस्तरबाटै ग्राहकको विश्वास जित्ने प्रयास गरिरहेको उनी बताउँछिन्।
'बजारमा बच्चाका लुगाका धेरै ब्रान्ड छन्। कतिपय त निकै स्थापित छन्,' उनले भनिन्, 'मैले कुनै पनि ब्रान्डलाई आफ्नो प्रतिस्पर्धी मानेकी छैन। चलेका ब्रान्ड हामीजस्ता युवा उद्यमीका लागि प्रेरणास्रोत हुन्।'
खासमा नीलिमा यस्तो व्यवसाय गर्ने सोचमा थिइनन्। ललितपुरकै एउटा क्याम्पसमा बिआइएम (ब्याचलर इन इन्फर्मेसन म्यानेजमेन्ट) पढ्दै थिइन्। त्यही बेला घरमा भाइ जन्मिए। आमा र भाइको हेरचाहमा नीलिमा र उनकी दिदी लागि परे।
भाइलाई घाँटी र शरीरका अन्य भागमा घमौरा आइरहन्थ्यो, अस्पताल गइरहनुपर्थ्यो। श्वासप्रश्वासमा पनि समस्या हुन्थ्यो। नीलिमाले शिशुलाई यस्तो किन हुन्छ भनेर खोजी गरिन्। इन्टरनेटमा थुप्रै लेख खोजेर पढिन्।
त्यसबाट उनी एउटा निष्कर्षमा पुगिन् — लुगाको गुणस्तर राम्रो भएन भने शिशुलाई स्वास्थ्य समस्या हुने रहेछ।
आफ्नो भाइलाई जस्तो समस्या धेरै बच्चालाई हुन सक्छ भन्ने पनि उनलाई लाग्यो।


अनि सोचिन् — गुणस्तरीय लुगा बनाउन पो केही गर्न सकिन्छ कि!
नीलिमाले करिब एक वर्ष यसबारे अध्ययन गरिन्। अन्ततः व्यवसाय गर्ने निधोमा पुगिन्।
व्यवसाय त गर्ने तर कसरी?
उनीसँग सीप थिएन। लगानीका लागि पर्याप्त पैसा पनि थिएन।
उनले आफूसँग भएको चार हजार रूपैयाँको कपडा किनिन्। डिजाइन गरेर टेलरलाई सिउन दिइन्।
लुगा तयार भयो तर नीलिमाले सोचेजस्तो राम्रो भएन। चित्त नबुझेपछि उनले आफै फेसन डिजाइन र टेलरिङ सिक्ने विचार गरिन्।
'बिआइएम छाडेर फेसन डिजाइनिङ पढ्ने रहर जाग्यो। यो कुरा घरमा सुनाएँ,' उनले भनिन्, 'बिआइएम पढ्दै गरेकी छोरीले लुगा सिउने काम गर्छु भन्दा घरमा सबैले मन खिन्न बनाउनुभयो।'
उनको प्राथमिकता सिलाइ सिक्नमा भयो।
'जसरी पनि आफै सिकेर ब्रान्ड खोल्नु नै थियो। खाजा खाने पैसा बचाएर भए पनि तालिम लिन्छु भन्ने भयो,' उनले भनिन्, 'क्याम्पस आउजाउ गर्दा बाटोमा पर्ने टेलरमा बुझ्दै हिँड्थेँ। एक दिन इमाडोलमा सिलाइ तालिम दिने ठाउँ देखेँ।'
उनी तुरून्तै तालिम सेन्टरमा पसिन्। तालिम र शुल्कको कुरा मिल्यो। यसबारे घरमा भने सुनाइनन्।
'गाली खाइएला भन्ने डर थियो,' उनले हाँस्दै भनिन्, 'जसोतसो तालिम पूरा गर्ने मात्रै सोचेँ।'
क्याम्पसबाट फर्किँदा दैनिक एक घन्टा तालिम लिने गरी समय मिलाइन्। दुई महिनामा दौरासुरूवाल र भोटो सेट सिउन जान्ने भइन्।
उनको आँट बढ्यो। केही लगानी गरेर अघि बढ्ने निर्णयमा पुगिन् तर फेरि पनि उनीसँग पैसा थिएन।
'तँ सोच म पुर्याउँछु भनेजस्तो भइदियो। घरमा मेरो जन्मदिन मनाइयो। सबैले दिएको पैसा जोड्दा १७ हजार रूपैयाँ भयो,' उनले भनिन्।
त्यही पैसाबाट नीलिमाले कटन कपडा, धागो, बटन, इलास्टिक लगायत सामान किनिन्। लुगा डिजाइन गरेर घरनजिकैको टेलरमा भोटो सेट, दौरासुरूवाल, नाइट ड्रेस र फ्रक सिउन दिइन्।

केही दिनमा चित्तबुझ्दो लुगा तयार भयो।
त्यतिन्जेलमा उनले 'गर्भ नेपाल' नाम राखेर सामाजिक सञ्जालमा पेज बनाइसकेकी थिइन्। पहिलो पटक सन् २०२२ अप्रिलमा १० जोर दौरासुरूवाल, १६ जोर नाइट ड्रेस र केही थान फ्रकको सामाजिक सञ्जालमा प्रचार गरिन्।
बिस्तारै लुगाको अर्डर आउन थाल्यो। स्कुटरमा गएर आफैले डेलिभरी दिइन्। यसैगरी उनको व्यवसायीका रूपमा परिचय बन्दै गयो।
व्यापार बढ्दै गएपछि उनले डेलिभरी कम्पनीसँग सहकार्य गरिन्।
'भाइको जन्मले सुरू गराएको व्यवसाय एक वर्षयता निकै राम्रो भएको छ,' उनले भनिन्।
नीलिमाले अहिले बुबाआमा र दिदीको सहयोग पाएकी छन्। यसले उनको हौसला अझ बढाएको छ।
उनको स्नातक तहको पढाइ सकिसकेको छ। केही वर्ष गर्भ नेपालमै समय दिने योजना उनले बनाएकी छन्।
'व्यवसाय केही माथि पुर्याएपछि मात्र स्नातकोत्तर तह पढ्ने विचार गरेकी छु,' उनले भनिन्, 'छिट्टै पसल खोल्ने सोच छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी