आस्मा पौडेल 'नेचुरल लिभिङ' मा विश्वास राख्छिन्। प्राकृतिक जीवनको अवधारणामा अर्गानिक, दिगो र विषादीरहित उत्पादन प्रयोग गरिन्छ। काठमाडौंकी बासिन्दा आस्माले एक दशकदेखि यस्तै जीवनशैली अभ्यास गरेकी छन्।
यही अभ्यास क्रममा उनले प्राकृतिक र जैविक सामग्रीको व्यवसाय पनि सुरू गरिन्, 'असली हिमाली'।
दुई वर्षअघि सुरू भएको असली हिमालीमा साबुन, स्याम्पू, फेसबार, डियोडरेन्ट, कोल्डबाम, लिपबाम लगायत छाला स्याहारका सामग्री पाइन्छ। बेसार, मसला, नुन, मिश्री, मह, मह प्रयोग भएको ग्रानोला बार, प्रोटिन बार, मुसेली, ओट्स, सुकुटी स्याउ, सुकुटी आरू, चियापत्ती लगायत खाद्य पदार्थ पनि पाइन्छ।
'स्याहारका सबै सामग्री हामी प्राकृतिक रूपमा बनाउँछौं। अहिले हामीसँग ४० भन्दा बढी किसिमका सामग्री छन्,' २८ वर्षीया आस्माले भनिन्।
असली हिमालीको कारखाना चितवनमा छ। यसले विभिन्न जिल्लाका कृषि उत्पादन संकलन गरेर सामान तयार गर्छ। असली हिमालीले प्रशोधन र प्याकेजिङ गरेका सबै उत्पादनमा प्राकृतिक सुगन्ध हुने र कृत्रिम बास्ना नमिसाइने आस्माको दाबी छ।
यहाँ 'सेट' मा पनि सामान किन्न पाइन्छ। ग्राहकले आफ्नो आवश्यकता अनुसार सामान राखेर गिफ्ट, प्रिमियम र लक्जरी गरी तीन थरी सेट अर्डर गर्न सक्छन्। गिफ्ट सेट पाँच सय ६९ रूपैयाँ, प्रिमियम सेट एक हजार तीन सय ९९ रूपैयाँ र लक्जरी सेट ११ हजार नौ सय ९९ रूपैयाँमा पाइन्छ।
त्यस्तै आठ सय २५ रूपैयाँमा हाइकिङ प्याकेज र एक हजार पाँच सय २० रूपैयाँमा ट्रेकिङ प्याकेज उपलब्ध छ।
'सबै सामग्री अलग अलग किन्न पाइन्छ। सेट र प्याकेज ग्राहकका लागि अतिरिक्त सुविधा हो। उपहारका लागि सेट र प्याकेज बढी माग हुने गरेको छ,' उनले भनिन्।
असली हिमाली आस्मासहित तीन जनाले २५ लाख रूपैयाँ लगानीमा सुरू गरेका हुन्।
व्यापार अर्थशास्त्र र व्यापार विश्लेषण विषयमा थाइल्यान्डबाट स्नातकोत्तर पढाइ पूरा गरेकी आस्मालाई पहिल्यैदेखि व्यवसायमा रूचि थियो। उनको पारिवारिक पृष्ठभूमि पनि व्यवसाय नै हो।
स्नातक सकेपछि उनले करिब एक वर्ष महिलाको उद्यमशीलता विकासमा सहयोग गर्ने एक गैरसरकारी संस्थामा काम गरेकी थिइन्।
'उद्यमशीलता र अन्तर्राष्ट्रिय व्यापार मेरो रूचिका क्षेत्र हुन्। स्नातक पढ्दादेखि नै उद्यम क्षेत्रमा लाग्छु भन्ने थियो। पढाइ सकेपछि रूचिकै क्षेत्रमा एक वर्ष काम गरेँ,' आस्माले भनिन्।
आस्मा योग प्रशिक्षक समेत हुन्। योगबाटै उनी प्राकृतिक जीवनशैलीमा प्रेरित भएकी थिइन्। प्राकृतिक सामग्री प्रयोग गर्ने क्रममा उनलाई धेरै कुरा महँगो लाग्यो। प्राकृतिक जीवन सुपथ हुनुपर्छ भन्ने सोचिन्।
त्यसैले स्नातकोत्तर पढ्न थालेदेखि नै उनले व्यवसायबारे योजना बनाइन्। लगानीकर्ता खोज्न थालिन्। अन्ततः उनको प्रयास सफल भयो र संयुक्त लगानीमा असली हिमाली सुरू भयो।
'शुद्ध नेपाली उत्पादनको आभास दिन्छ भन्ने सोचेर ब्रान्ड नाम असली हिमाली राखेका हौं,' उनले भनिन्।
हाल कम्पनीको व्यवस्थापनको काम आस्माकै जिम्मामा छ। अन्य लगानीकर्ता आवश्यकताअनुसार छलफलमा सहभागी हुन्छन्। कम्पनीमा उत्पादन, व्यवस्थापन र प्रशासनका लागि २३ जना काम गर्छन्।
असली हिमालीका उत्पादन यसको वेबसाइट, अनलाइन बजार दराज, स्मार्ट डोको र निम्बसमा किन्न पाइन्छ। त्यस्तै सिभिल मल र लबिम मलका साथै बबरमहलमा रहेको यसको पसलबाट पनि किन्न सकिन्छ। काठमाडौंबाहिर पोखरा र बुटवलमा माग राम्रो भएको र अन्य सहरबाट पनि माग बढिरहेको आस्माले बताइन्।
आस्माका अनुसार हाल मासिक सरदर आठ लाख रूपैयाँसम्मको व्यापार भइरहेको छ।
भविष्यमा अर्गानिक खाद्यान्न र सौन्दर्य सामग्री थप्ने उनको योजना छ। त्यस्तै विदेशबाट सोधपुछ भइरहेकाले उत्पादन चाँडै अन्तर्राष्ट्रिय बजारमा पुर्याउने तयारी पनि हुँदैछ।
'हामी अहिलेको गतिमा सन्तुष्ट र सकारात्मक छौं। मानिसहरूले प्राकृतिक जीवनशैलीको महत्त्व थाहा पाउन थालेका छन्। असली हिमालीप्रति ग्राहकको विश्वास बढ्दै गएको छ। यसका उत्पादनले मानिसलाई प्राकृतिक जीवनशैलीतर्फ प्रेरित गर्छ,' आस्माले भनिन्।
(असली हिमालीको वेबसाइटमा जान यहाँ र फेसबुकमा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)