महिला उद्यमीका कथा
पहिलोपटक नेपाल आउँदा हेमा श्रेष्ठ २४ वर्षकी थिइन्।
हाल ललितपुर बस्ने उनका बुबाको पुर्ख्यौली घर काभ्रे हो। तर उनी भारतको दिल्लीमा जन्मिन्। उतै बढिन्, उतै पढिन्।
हेमाको रूचि सानैदेखि कलामा थियो। चित्र पनि बनाउँथिन्। त्यही रहर पछ्याउँदै उनले दिल्लीमा फेसन डिजाइनमा स्नातक तहको पढाइ पूरा गरिन्।
बाइस वर्षअघिको कुनै एक दिन उनी पारिवारिक कामको सिलसिलामा नेपाल आइन्। पहिलोपटक नेपाल आएकी उनी एक-दुई महिना बसिन्। काम सकिएपछि दिल्ली फर्किन्। यसपछि भने नेपाल आउजाउ बाक्लो भयो।
यही आउजाउ चलिरहँदा २०६४ सालमा हेमाको बिहे ललितपुरका नवीन श्रेष्ठसँग भयो।
'भारतमा जन्मे-हुर्केको भएर मलाई भाषामा समस्या भयो,' हाल ४६ वर्ष लागेकी हेमाले सम्झिन्।
नेपाली बोल्न सिक्नु उनका लागि निकै ठूलो हाँक थियो। यस्तोमा अझ रोजगारी के गर्ने भन्ने प्रश्न पनि थियो।
उनले दिल्लीमा सिलाइबुनाइको काम गरेकी थिइन्। फेसन डिजाइन पढेको र अनुभव भएकाले यही क्षेत्रमा काम गर्ने निधो गरिन्।
खोज्दै जाँदा एक गार्मेन्ट उद्योगमा काम पाइन्। उनी काम गर्ने उद्योगले उत्पादन विदेश निर्यात गर्थ्यो। उनले काम सिक्दै गइन्। यही सिलसिलामा व्यवसायीहरूसँग चिनजान हुँदै गयो।
यसरी डिजाइन र कपडा छनोटमा उनले तीनवटा कम्पनीमा काम गरिन्।


'केही अन्तर्राष्ट्रिय कम्पनीबाट पनि कामको प्रस्ताव आएको थियो तर यहीँ बस्ने सोचिसकेकी थिएँ,' उनले भनिन्।
हेमालाई बरू आफ्नै कम्पनी खोल्न पाए भन्ने लाग्न थाल्यो।
'आफ्नै ब्रान्ड बनाउन सके हुन्थ्यो भन्ने लागेको थियो तर सोचेर मात्र नहुने रहेछ। काम थाल्न धेरै समय कुर्नुपर्यो,' हेमाले भनिन्।
करिब १३ वर्षको अनुभव भएपछि २०७४ सालमा उनले आँट गरिन्। श्रीमान नवीनसँग सल्लाह गरिन्। पारिवारिक व्यवसाय सम्हालेर बसेका नवीनलाई लुगाकपडाको काममा अनुभव थिएन। तर पनि हेमालाई सहयोग गर्ने भए।
'फेसन डिजाइन र लुगाकपडाको क्षेत्रमा म अनुभवहीन भए पनि हेमासँग खुबी थियो। त्यसैले सकिन्छ भन्ने लागेर अघि बढ्यौं,' नवीनले भने।
हेमाले ६० हजार रूपैयाँ लगानी गरेर 'ओमकारा एक्सपोर्ट' सुरू गरिन्। यसको मुख्य उद्देश्य नेपालमा उत्पादित लुगा विदेश निर्यात गर्नु थियो।
आफ्नै कारखाना खोल्न हेमालाई बढी लगानी र समय चाहिन्थ्यो। त्यो बेला उनले यी दुबै मिलाउन सक्ने अवस्था थिएन। त्यसैले काठमाडौंकै एक उद्योगसँग सम्झौता गरिन्।
यसपछि 'ओमकारा' ब्रान्डमा पहिलोपटक महिला र पुरूषका ५०-५० वटा टिसर्ट तयार भए। हेमाले मंगलबजारमा एउटा पसल खोलिन्।
'काठमाडौं र ललितपुर जोड्ने बाटो भएर होला ठाउँ राम्रो भइदियो। केही दिनमै सबै टिसर्ट बिक्यो,' हेमाले भनिन्, 'यसले व्यवसाय बढाउन प्रेरित गर्यो।'
यसपछि उनले लुगाको डिजाइनमा विविधता बढाउँदै लगिन्। व्यापार बढ्दै गएपछि निर्यातको योजना बनाइन्।
ओमकार ब्रान्ड सुरू गरेको एक वर्ष पूरा नहुँदै उनले युरोपतिर लुगा पठाउन थालिन्। व्यवसाय रफ्तारमा जान लाग्दै थियो, अचानक कोरोना महामारी फैलियो। केही समय काम रोकिए पनि सहज हुँदै गएपछि उनले फेरि निर्यात गरिन्।
यसरी ओमकारा करिब सात वर्षमा नेपाली ब्रान्ड बनेर स्थापित भएको हो।
'बजारमा धेरै नेपाली ब्रान्डहरू भए पनि ओमकाराले आफ्नो छुट्टै पहिचान बनाएको छ,' उनले भनिन्।
ओमकारामा हाल महिला र पुरूषका लागि टिसर्ट, जगर्स, ज्याकेट, हुडी, कुर्था, टप्स, टिसर्ट, वन पिस, ज्याकेट लगायत मौसम अनुसारका विभिन्न लुगा पाइन्छ। यसबाहेक महिलाहरूले बनाएका हस्तकलाका सामग्री पनि यहाँ किन्न सकिन्छ।

हेमाका अनुसार ओमकाराका लुगा भारतीय र बंगलादेशी कपडाबाट बन्छन्।
धेरैजसो कटन कपडाका हुन्छन्। यस्तो लुगा लगाउँदा सजिलो र शीतल अनुभव हुने भएकाले ग्राहकको रोजाइमा परेको उनी बताउँछिन्।
त्यस्तै ओमकाराका उत्पादनमध्ये टिसर्ट र जगर्स सबभन्दा बढी रूचाइएको छ।
अहिले पनि आफ्नो कारखाना नभएकाले हेमा डिजाइन गरेर सिउन दिन्छिन्।
'मैले दिएको डिजाइन अनुसार गुणस्तरीय सिलाइ हुने भएपछि आफ्नो कारखाना नभए पनि अहिले समस्या छैन,' उनले भनिन्।
व्यापार र प्रचारका निम्ति हेमाले ओमकारा नाममै सामाजिक सञ्जाल खोलेकी छन्। धेरैजसो अर्डर त्यहीँ आउँछ।
कपडा छनोट, डिजाइन र मार्केटिङको जिम्मेवारी हेमाले सम्हालेकी छन्।
मंगलबजारमा रहेको पसलको श्रीमान नवीनको जिम्मामा छ।
कम्पनीमा हाल १३ जना कर्मचारी छन्। उत्पादन ग्राहकसम्म पुर्याउने कामका लागि डेलिभरी कम्पनीसँग पनि सहकार्य छ।
बजारमा आफ्नो ब्रान्ड जमाउँदै, उद्यमीका रूपमा पहिचान बलियो बनाउँदै गएकी हेमालाई अझै पनि कहिलेकाहीँ अचम्म भने लाग्छ।
उनी भन्छिन्, 'नेपाली भाषा सिक्छु, ब्रान्ड चलाउँछु भन्ने त सोचेकै थिइनँ। यो सब मेरो जिन्दगीको परीक्षा भएर आयो। श्रीमानको सहयोग र मेरो हुटहुटीले परीक्षामा सफल हुँदै अघि बढेकी छु'
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)



ओमकाराको फेसबुकमा जान यहाँ क्लिक गर्नुहोस्।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।