धेरैको भनाइ सुनिन्छ — नेपाली युवा अमेरिका र युरोपका विकसित मुलुक जान चाहन्छन्! उतै बस्न चाहन्छन्!
तर केही समय उता बसेर सीप र ज्ञान बटुलेर स्वदेश फर्किनेहरू पनि छन्।
त्यो ज्ञान र सीप प्रयोग गरेर व्यवसाय गर्नेहरू पनि धेरै हुन्छन्।
यस्तैमध्ये एक हुन् ३८ वर्षीय सच्चा कार्की। उनी १३ वर्ष युरोपेली मुलुक बेल्जियम बसेर २०७६ सालमा नेपाल फर्केका हुन्। हाल उनी नेपालमै चकलेट उत्पादनको व्यवसायमा सक्रिय छन्।
'हामी बेल्जियमको स्वादमा नेपाली चकलेटको ब्रान्ड बनाउँदै छौं,' सच्चाले भने।
उनी 'चोकोफल नेपाल' नामको कम्पनी चलाउँछन्।
चोकोफलले आफ्नै विभिन्न स्वादका साथै ग्राहकले मागेको डिजाइन र स्वादमा 'कस्टमाइज' गरी चकलेट बनाएर बेच्छ।
'अहिले एक दर्जन बढी स्वादमा चकलेट बार र चकलेट बक्स बनाउँछौं। चकलेट बार ३५ ग्राम र ८५ ग्राममा उपलब्ध हुन्छ। यो प्लेन, डार्क र ह्वाइट चकलेटमा उपलब्ध छ,' उनले भने।
बक्स चकलेटमा प्रलिन र ट्रफल्स उपलब्ध छ। यसमा अल्कोहल (ऐला), हेजलनट, पिनट, कोकोनट, ओरियो, कारामेल, कफी, स्ट्रबेरी, म्यांगो, अरेन्ज लगायत स्वाद छन्।
यी चकलेटको मूल्य ८५ रूपैयाँदेखि एक हजार दुई सय ५० रूपैयाँसम्म पर्छ। कस्टमाइज गरेकोमा एक हजार तीन सय ५० रूपैयाँसम्म पर्छ।
'ग्राहकले बार र बक्स दुवै मन पराएका छन्। चकलेटको गुणस्तर र मात्राअनुसार यसको मूल्य पनि उचित मानेका छन्,' सच्चाले भने, 'सकारात्मक प्रतिक्रियाले व्यवसायमा उत्साह थपेको छ।'
चोकोफलले २०७७ असोजदेखि आफ्नो चकलेट बजारमा पुर्याउन सुरू गरेको हो। चकलेटहरू सच्चा आफै बनाउँछन्। सामाजिक सञ्जाल व्यवस्थापन र बजारीकरणको जिम्मा श्रीमतीले लिएकी छन्।
२०६३ सालमा बेल्जियम गएका सच्चा २०७६ सालमा श्रीमती र छोरीका साथ नेपाल फर्केका हुन्। उनका आमाबुबा बेल्जियममै छन्।
सच्चाले स्कुल र कलेज काठमाडौंमा पढे। स्नातक तह पढ्दापढ्दै डेनमार्क गए। त्यहाँ एक वर्ष पढेर बेल्जियम पुगे। उनका आमाबुबा बेल्जियममै थिए।
उनको रूचि फोटोग्राफीमा थियो। त्यसैले बेल्जियममा फोटोग्राफीसम्बन्धी नै पढाइ गरे। यसैलाई व्यवसाय बनाउन चाहन्थे। काम पनि गरे तर आम्दानी सन्तोजनक भएन। त्यसैले अर्को जागिर सुरू गरे। उनले कहिले भान्सामा सहयोगी (किचन हेल्पर) त कहिले वेटर भएर करिब १३ वर्ष धेरैवटा रेस्टुरेन्टमा काम गरे।
कहिलेकाहीँ समय मिलाएर नेपाल आउँथे उनी। यही क्रममा श्रीमतीलाई पनि बेल्जियम लगे।
'बेल्जियमको बसाइ र काम राम्रो थियो। सबै ठीकै भए पनि विदेश बसाइले सन्तुष्टि दिएन। म सधैंका लागि नेपाल फर्किन चाहन्थेँ,' उनले भने।
छोरीलाई स्कुल पठाउने बेलामा भने कार्की दम्पतीले ठोस निर्णय गर्नुपर्ने भयो। उनीहरूले धेरै सोचे, धेरै छलफल गरे। अन्ततः नेपाल फर्किने र छोरीलाई यतै पढाउने निधो गरे।
सच्चाले बेल्जियममा चकलेट बनाउने तालिम लिएका थिए। चकलेट बनाउने सीप भएका र बेच्ने व्यक्तिलाई 'चोकोलेटियर' भनिन्छ। स्वदेश फर्किने सोचसँगै उनले आफ्नो यही खुबी प्रयोग गरेर चकलेटको व्यवसाय गर्ने सोचेका थिए।
'नेपाल आएपछि कुनै राम्रो काम गर्नुपर्छ भन्ने थियो। बेल्जियममा चकलेट बनाउने तालिमको डिप्लोमा कोर्स गरेको थिएँ। त्यहाँको चकलेट निकै प्रख्यात पनि छ। त्यसैले यही काम गर्ने सोचेँ,' उनले भने।
काम सुरू गर्नुअघि उनले बजार अध्ययन गरे। व्यापारको राम्रो सम्भावना भएको विश्वास भएपछि चकलेट बनाउन चाहिने कच्चा पदार्थ कोको धूलो र केही मेसिन बेल्जियमबाटै ल्याए।
त्यसपछि 'चकलेट' र 'वाफल' शब्द मिलाएर 'चोकोफल' नाम जुराए।
नामअनुसारै चकलेट र वाफल (पिठोबाट बनेको एक परिकार जो विशेष किसिमको भाँडामा पकाइन्छ) बनाएर उनले बजार पठाए। सुरूदेखि 'कस्टमाइज्ड' चकलेट र प्याकेजिङमा विशेष ध्यान दिए।
सुरूको एक वर्ष उनीहरूले चकलेट र वाफल दुवै बनाए। पछि चकलेटको माग बढ्दै गयो। अनि चकलेटमै केन्द्रित भएर वाफल बनाउन बन्द गरे।
चोकोफल चकलेट सुरू भएको चार वर्षमा बजारसँगै धेरै व्यावसायिक कार्यालयहरूमा पुगिरहेको छ। सच्चाले कोको पाउडर (धूलो) बेल्जियमबाटै ल्याएर, प्रशोधन गरेर चकलेट बनाइरहेका छन्।
'अहिले हामी व्यवसायबाट निकै सन्तुष्ट छौं,' उनले भने।
चोकोफल यसको सामाजिक सञ्जालबाट अर्डर गरेर, हरेक शुक्रबार छाया सेन्टरको बजारमा र काठमाडौं उपत्यकामा लाग्ने 'फार्मर्स मार्केट' मा किन्न पाइन्छ। आफ्नो रोजाइको चकलेट बनाउन चाहनेले परिमाण हेरेर चार दिनअघि अर्डर गर्दा सजिलो हुन्छ।
अबको उनको योजना भनेको उत्पादन बढाएर चोकोफलको आफ्नै पसल खोल्ने हो।
बजारमा नेपाली ब्रान्डका अरू चकलेट पनि पाइन्छ। सच्चा यो प्रतिस्पर्धालाई उत्पादनको गुणस्तर बढाउने माध्यम मान्छन्।
'हाम्रो उद्देश्य नेपाली ब्रान्डको चकलेटको बजार विस्तार गर्नु हो। यस्तो भए विदेशी चकलेटको आयात प्रतिस्थापन हुन सक्छ,' सच्चाले भने।
(चोकोफलको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८५१३१४०००)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।