खेलाडीलाई कस्तो खालको लुगा चाहिएला!
पसिना सोस्ने, शरीरमा नटाँसिने, पसिनाले भिजे पनि छिट्टै सुक्ने हुनु पर्छ। कपडा हलुका हुनु पर्छ।
सानैदेखि खेलकुदमा सक्रिय २६ वर्षीय दीपेश सिटौलाको अनुभव हो यो।
दैनिक खेल्न र शारीरिक क्रियाकलाप गर्न उपयुक्त हुने लुगा 'एक्टिभ वेयर सेग्मेन्ट' अन्तर्गत पर्छ। यस्ता लुगा लगाउँदा सहज र हलुका हुन्छ।
'कुनै समय म एक्टिभ वेयर सेग्मेन्टका लुगा खोज्दै बजार डुल्थेँ,' दीपेशले भने, 'विभिन्न ब्रान्डका विदेशी लुगा पाइन्थ्यो तर निकै महँगो हुन्थ्यो।'
किफायती मूल्यमा त्यस्ता लुगा नभेटेपछि उनी मिल्दोजुल्दा खोजेर किन्थे।
यस्तैमा दीपेशले २०७८ सालमा बिजनेस एड्मिस्ट्रेसन विषयमा स्नातक तहको पढाइ पूरा गरे। उनी आफ्नो करिअर व्यवसायमा बनाउन चाहन्थे। स्नातक तहको पढाइबाट फुर्सद भएपछि व्यवसायकै योजना बनाए।
'केही नयाँ किसिमले काम गर्न र बजारमा अलिक कम उपलब्ध हुने सामान बनाउन चाहन्थेँ,' उनले भने, 'अन्ततः एक्टिभ वेयर सेग्मेन्ट अन्तर्गतकै लुगा बनाउने सोचेँ।'
नेपाली ब्रान्ड बनाउन, अझ विशेष किसिमको लुगा उत्पादन गर्न अलिक ठूलो लगानी आवश्यक पर्थ्यो। दीपेशसँग पुँजी थिएन।
दीपेशले बजारमा स्थापित केही व्यवसायीलाई नेपाली ब्रान्ड बनाउने आफ्नो योजना सुनाए। पर्यटन क्षेत्रमा निकै लामो समयदेखि सक्रिय ध्रुव लम्सालसँग उनको चिनजान थियो। उनलाई पनि भने।
ध्रुव केही साथीहरूसँग मिलेर नेपाली बजारका लागि लुगा उत्पादन गर्ने योजनामा रहेछन्। उनले करिब ३० वर्षदेखि नेपाली लुगा विश्व बजारमा निर्यात गर्ने रामकृष्ण भट्टराई र यस्तै अर्का व्यवसायी नवीनप्रकाश तिवारीसँग दीपेशको भेट गराए।
'लामो समयदेखि उत्पादन क्षेत्रमै छु। निर्यात गर्ने उद्देश्यसहित लुगा व्यवसायमा थिएँ। स्थानीय बजारका लागि पनि नेपाली ब्रान्डको लुगा बनाउने योजना थियो,' राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका रामकृष्णले भने, 'दीपेशसँग भेट भएपछि योजनालाई मूर्त रूप दिने समय आएको महसुस गरेँ।'
नवीन र ध्रुव पनि स्वदेशी उत्पादनको प्रोत्साहनमा जोसिए। अनि दीपेश, रामकृष्ण, नवीन र ध्रुव एक्टिभ वेयर सेग्मेन्ट अन्तर्गत नेपाली ब्रान्डको लुगा बनाउन साझेदारीका लागि सहमत भए।
करिब ६ महिना छलफल र बजार अध्ययन गरेपछि उनीहरूले २०७८ माघमा 'हिमालयन आउटफिट' नामक कम्पनी दर्ता गराए। दीपेश प्रमुख कार्यकारी निर्देशक (सिइओ) भए।
उनीहरूले काठमाडौंको नयाँ बजारमा एउटा फ्ल्याट भाडामा लिएर काम सुरू गरे। सुरूमा सबैले मिलेर २० लाख रूपैयाँ लगानी गरे। केही थान सिलाइ मेसिन र कपडा किने। कर्मचारी राखे।
हिमालयन आउटफिटले टिसर्ट, स्वेटर, सर्ट, ट्र्याकसुट, ज्याकेट लगायत बजारमा उपलब्ध हुने यस्तै प्रकारका अन्य लुगा उत्पादन गरेर बजार पठायो।
'छोटो समयमै बजारबाट सकारात्मक प्रतिक्रिया पाएका छौं। ग्राहक कपडाको गुणस्तर र डिजाइन दुबैमा सन्तुष्ट देखिएका छन्,' दीपेशले भने, 'किफायती मूल्यमा राम्रो डिजाइन र गुणस्तरको लुगा भएकाले ग्राहकको विश्वास जितेका छौं।'
हिमालयन आउटफिटका लुगा सात सय रूपैयाँदेखि तीन हजार रूपैयाँसम्म पर्छ। लक्षित ग्राहक १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका हुन्।
'यो उमेर समूहका मानिस शारीरिक रूपमा जोसिला र फूर्तिला हुन्छन्। खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय हुन्छन्। हाम्रो लक्षित समूह पनि यही हो,' उनले भने।
महिला र पुरूष दुबैका लुगा यहाँ पाइन्छ। ग्राहकले आफ्नो डिजाइन अनुसार अर्डर गर्न पनि पाउँछन्। सामाजिक सञ्जाल र दराज अनलाइन बजारमा अर्डर गर्ने सुविधा छ। नयाँ बजारमा एउटा पसल पनि छ। यसले पोखरा, धरान, भरतपुर, बुटवल जस्ता मुख्य सहरमा पनि आफ्नो उत्पादन पठाइरहेको छ।
हिमालयन आउटफिट 'मेड इन नेपाल' र 'मेक इन नेपाल' मूल सन्देशसहित उत्पादनमा लागेको दीपेश बताउँछन्। उत्पादनमा सकेसम्म नेपाली कपडा नै प्रयोग गर्ने नीति भए पनि आयात नगरी नहुने उनले बताए।
'खोजे जस्तो कपडा नपाउँदा आधाभन्दा बढी विदेशबाट ल्याउनुपरेको छ,' दीपेशले भने, 'नेपाली कपडा प्रयोग बढाउन, नेपाली उत्पादन गुणस्तरीय र किफायती हुन्छ भन्ने विश्वास दिलाउन हामी प्रयासरत छौं।'
नेपालीहरूमा स्वदेशी लुगा लगाउने बानी बढ्दै गएको पनि दीपेशले अनुभव गरेका छन्।
'बजारमा नेपाली उत्पादन प्रयोग गर्ने ग्राहक समूह छ। उनीहरू नेपालमै बनेको लुगा प्रयोग गर्न रूचाउँछन्। यसबाट नेपाली उत्पादकहरूलाई प्रोत्साहन मिलेको छ।'
स्थापित व्यवसायीहरूसँगको सहकार्यमा हिमालयन आउटफिटलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना उनीहरूको छ। यसनिम्ति मेलाहरूमा सहभागी पनि भइरहेका छन्।
पाँच जना कर्मचारीबाट सुरू भएको हिमालयन आउटफिटमा हाल ५० जनाले प्रत्यक्ष रोजगारी पाएको दीपेशले जानकारी दिए।
उनी भन्छन्, 'सफलता पाउन समय लाग्न सक्छ। तर हिमालयन आउटफिटको भविष्यप्रति सकारात्मक छु।'
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।