महिला उद्यमीका कथा
करिब दुई दशकमा काठमाडौंकी अनु श्रेष्ठले अनुभव गरेको कुरा हो — जमाना आधुनिक फेसनको भएकाले फेसन डिजाइनरलाई राम्रो अवसर छ!
यही अनुभवका आधारमा उनले आठ वर्षअघि आफ्नै कम्पनी खोलिन्, 'कालिस्टो डिजाइन'।
फेसन डिजाइनर अनु २६ वर्षदेखि यही क्षेत्रमा छिन्।
आफ्नो कम्पनीको नामबारे उनी भन्छिन्, 'कालिस्टो ग्रीक भाषाको शब्द हो। यसको नेपाली अर्थ सुन्दर भन्ने हुन्छ।'
अनु कालिस्टोका उत्पादन र डिजाइन नेपालसँगै अन्तर्राष्ट्रियस्तरमा पनि चिनाउँदै छिन्। बंगलादेश, थाइल्यान्ड, बेलायत, अमेरिका, अस्ट्रेलिया लगायत केही मुलुकमा कालिस्टोका लुगा पुगेका छन्। अन्तर्राष्ट्रिय फेसन शो (प्रदर्शनी) मा पनि प्रस्तुत गरेकी छन्। आफूले बनाएका लुगा फेसन शोहरूमा देख्दा एकदमै खुसी लाग्ने उनी बताउँछिन्।
'यो सफलताले मेरा लागि मात्र नभई फेसनमा चासो राख्ने नयाँ पुस्ताका लागि पनि अवसरको ढोका खोलेको छ,' उनी भन्छिन्।
कालिस्टोले महिलाका निम्ति सारी, स्कार्फ, पस्मिना, ब्लाउज, कफ्तान, कुर्था, सर्ट आदि बनाउँछ। पुरूषका लागि टाई, पकेट स्क्वायर, सर्ट लगायत लुगा बनाउँछ। अनु धेरैजसो सिल्क र कटन कपडा चलाउँछिन्। सिल्क विदेशबाट आयात हुन्छ भने कटन सकेसम्म स्वदेशी प्रयोग गर्छिन्।
-1713978066.jpg)
-1713978065.jpg)
कालिस्टो डिजाइनका लुगामध्ये सबभन्दा बढी सारी र पस्मिना बिक्री हुन्छ। सारी किन्नेहरू नेपालीहरू छन्, पस्मिना किन्ने विदेशीहरू।
कालिस्टोमा दुई खालको सारी र पस्मिना बन्छ।
एउटा, हातले रङ र बुट्टा भरेको।
अर्को, तानमा राखेर सितारा भरेको।
यी दुबै डिजाइन उत्तिकै चल्ने अनु बताउँछिन्।
'कफ्तान, कुर्था र स्कार्फ पनि धेरैको रोजाइमा छ। विदेशीहरूले उपहारका लागि लैजान्छन्,' अनुले भनिन्, 'हाम्रा लुगा स्टक राख्नुपरेको छैन।'
ग्राहकको माग र रोजाइको डिजाइनमा अनुले लुगा 'कस्टमाइज' पनि गर्छिन्। सामान्यतया अर्डर आएको दुई सातामा लुगा तयार हुन्छ। डिजाइनमा धेरै काम गर्नुपर्ने भएकाले बढी मात्रामा अर्डर आउँदा अझै बढी समय लाग्छ।
कालिस्टोले कुनै पनि लुगाको काम सेतो कपडाबाट सुरू गर्छ। कम्पनीमा डिजाइन आर्टिस्ट र फेसन डिजाइनरसहित चार जनाको टिम छ। कम्पनीमा काम गर्ने कुल कर्मचारी भने २० जना छन्।
'कुन लुगामा कस्तो रङ र चित्र/बुट्टा सुहाउँछ भन्ने निर्णय गर्न आर्टिस्ट र डिजाइनरको टिमले छलफल गर्छ। सुरूमा कागजमा रङ र बुट्टासँग खेल्छौं। सुहाउँदो डिजाइन बनेपछि उपयुक्त कपडा रोजेर काम सुरू हुन्छ,' उनले भनिन्।
कालिस्टोका लुगा वेबसाइटबाट अर्डर गरेर वा पसलमै गएर किन्न सकिन्छ। लुगाको मूल्य तीन हजारदेखि झन्डै चालीस हजार रूपैयाँसम्म छ।
अनुका अनुसार कपडामा ब्रसले पेन्टिङ गर्नुपर्छ। यो काममा धेरै मेहनत पर्छ। समय पनि धेरै लाग्छ। पेन्टिङ गरेको लुगा भएकाले महँगो पनि छ। तर गुणस्तर धेरै राम्रो हुने उनको भनाइ छ। उत्पादन गुणस्तरीय भए बजार अभाव नहुने अनुभव उनले गरेकी छन्।
'पहिले धेरैले नेपाली उत्पादनको प्रशंसा गर्थे तर किन्दैन थिए। अहिले स्वदेशी उत्पादन मन पराउन थालेका छन्,' उनले भनिन्।
कालिस्टोको सबै काम काठमाडौंको सोल्टी होटल नजिकैको रहेको अनुको घरबाटै हुन्छ। पसल पनि यहीँ छ।
-1713978062.jpg)
-1713978062.jpg)
बाल्यकालमा चित्र बनाउन मन पराउने अनुले भारतको साउथ दिल्ली पोलिटेक्निक कलेजबाट फेसन डिजाइन पढेकी हुन्। दुई वर्ष त्यहाँ पढेर फर्केपछि उनले एउटा कम्पनीमा डिजाइनर भएर काम गरिन्।
सुरूआती दिनमा रङ र बुट्टा नमिलेर कपडा नै बिग्रिन्थ्यो। बिस्तारै काममा हात बस्दै गयो। डिजाइन, रङ र बुट्टामा पूरा १८ वर्षको अनुभव भएपछि उनले २०७३ सालमा कालिस्टो सुरू गरेकी हुन्।
कालिस्टोका लुगामा फूल र पात, मण्डल, बज्र लगायत अनेक डिजाइन हुन्छन्। धेरै डिजाइन फूलका छन्। प्रकृतिबाट डिजाइन लिन मन पराउने अनु नयाँ के ल्याउने भन्ने पनि सोचिरहन्छिन्।
आफूले निकै मेहनत गरेर ल्याएको डिजाइन अरूले नक्कल गरेको भने उनलाई चित्त बुझ्दैन।
'हाम्रो पेन्टिङ र डिजाइन केही ब्रान्ड र डिजाइनर हाउसले चलाएको देखेकी छु। नयाँ डिजाइनर आउनु खुसीको कुरा हो तर नक्कल गर्नु राम्रो होइन,' उनले भनिन्, 'डिजाइन सिर्जनशील काम हो। प्रत्येक डिजाइनरले नयाँपन दिएर आफ्नो पहिचान र ब्रान्ड स्थापित गर्नुपर्छ।'
उनका अनुसार अहिलेको समय फेसन डिजाइन आवश्यकता बनेको छ। यो क्षेत्रमा भविष्य राम्रो भएकाले चित्रकलामा रूचि भएका र आफ्नो सिर्जना गर्न सक्नेलाई झनै राम्रो अवसर छ।
'बुटिक र डिजाइन हाउसमा गएर लुगा किन्नेको संख्या बढ्दै गएको छ,' अनुले भनिन्, 'विदेशी लुगा किन्नेहरू पनि स्वदेशीमा पल्किन थालेका छन्। फेसन डिजाइनरका लागि यो परिवर्तन निकै खुसीको कुरा हो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
-1713978067.jpg)
-1713978067.jpg)
-1713978066.jpg)
-1713978066.jpg)
-1713978064.jpg)
-1713978064.jpg)
-1713978064.jpg)
-1713978062.jpg)
-1713978065.jpg)
(कालिस्टो डिजाइनको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्)