कामले काम सिकाउँछ। अनुभवले आँट दिन्छ।
यसरी नै अघि बढेको हो ३५ वर्षीय कृष्णराज तिमिल्सिनाको व्यवसाय।
उनले १६ वर्षको उमेरमा सुन्धाराको एउटा लुगा पसलमा काम सुरू गरेका थिए। दिनभरि 'आउनुहोस्, आउनुहोस्, सस्तो लुगा लैजानुहोस्' भन्दै ग्राहक बोलाउँथे। लुगा बेच्न सघाउँथे।
यसरी उनले करिब दुई वर्ष बिताए।
त्यही अनुभवले उनलाई लुगा व्यवसायमा तान्यो। केही वर्ष तयारी लुगा बेचे। त्यसलाई निरन्तरता दिँदै करिब सात वर्षदेखि उनी नेपाली ब्रान्ड उत्पादन गर्दै छन्।
उनको ब्रान्डको नाम हो 'थ्रेड गार्मेन्ट'।
'थ्रेड भनेको धागो हो। धागोबाट लुगा उत्पादन हुने भएकाले ब्रान्ड नाम नै थ्रेड गार्मेन्ट राखेको हुँ,' कृष्णराजले भने।
उनले आफ्नो गार्मेन्टको ट्यागलाइन 'अर्डर योर च्वाइस' राखेका छन्। यही सिद्धान्तअनुसार बजार र ग्राहकको अर्डरअनुसार लुगा तयार गर्छन्।
थ्रेडले होलसेलमा व्यापार गर्छ। सरकारी कर्मचारी, विभिन्न संघसंस्था र स्कुल-क्याम्पसका लागि पनि लुगा बनाउँछ। मागअनुसार सांस्कृतिक पोशाक बन्छ। यसका उत्पादन मुलुकभर पुगेको छ।
केही वर्षअघिसम्म नेपाली ब्रान्डको चलन साह्रै थोरै थियो। नेपाली गार्मेन्टले पनि विदेशी ब्रान्डको लोगो राख्थे।
यो सबै देखेर उनी सोच्थे – उत्पादन नेपाली, नाम चाहिँ किन विदेशी राख्नु!
अहिले उनलाई लाग्छ – नेपाली ब्रान्डप्रतिको अविश्वासले होला, विदेशी नाम राख्नुपरेको!
बजारमा थ्रेड गार्मेन्टको प्रतिस्पर्धा विदेशी लुगासँग भएको उनको भनाइ छ।
'हाम्रो प्रतिस्पर्धा आयातीत (विदेशी) लुगासँग छ। आयातीतलाई प्रतिस्थापन गर्न थ्रेड सुरू भएको हो,' कृष्णराजले भने, 'नेपालमा बनेको लुगा सस्तो र गुणस्तरीय हुन्छ। यही विश्वासले ग्राहकले हाम्रो ब्रान्ड रोजे।'
यसको कारखाना ललितपुरको इमाडोलमा छ। पाँच रोपनी क्षेत्रफलमा फैलिएको कारखाना र कार्यालयमा सिजनमा दैनिक सात सय जनासम्मले काम गर्छन्।
थ्रेड नेपाली ब्रान्डसँगै गार्मेन्ट पनि भएको उनी बताउँछन्। यही कारखानाबाट अरू नौ वटा नेपाली ब्रान्डका पनि लुगा तयार भइरहेका छन्।
यसरी नेपाली लुगाको ब्रान्ड बढाइरहेका कृष्णराज रामेछाप जिल्लामा जन्मे-हुर्केका हुन्। एसएलसी त्यहीँ पूरा गरेर उनी काठमाडौं आएका थिए। यहाँ ११ कक्षामा भर्ना भएपछि सुन्धाराको एउटा लुगा पसलमा काम सुरू गरे।
काम जान्दै गएपछि उनी आफ्नै व्यवसाय गर्नेबारे सोच्थे। तर जब लगानीको कुरो दिमागमा आउँथ्यो, यो देशमा बसेर पार लाग्दैन, विदेश पो जाऊँ कि भन्ने लाग्थ्यो।
'व्यवसाय गर्ने हुटहुटी भए पनि लगानी गर्ने पैसा थिएन,' उनले भने, 'आखिरमा विदेश गएर पैसा कमाउने र फर्केर व्यवसाय गर्ने योजना बनाएँ।'
बाह्र कक्षाको पढाइ पूरा भएपछि कृष्णराज मलेसिया पुगे। चार वर्ष उतै काम गरे र आफ्नो योजनाअनुसार स्वदेश फर्के।
मलेसियाबाट फर्केपछि पाँच लाख रूपैयाँ लगानी गरेर उनले काठमाडौंको असनमा पसल सुरू गरे। उनी होलसेल पसलबाट लुगा ल्याउँथे र बेच्थे। सस्तो र राम्रो लुगा खोज्दै उनी कहिले भारत त कहिले चीन पनि पुगे।
उनको पसल फैलिँदै गयो। काठमाडौं उपत्यकाका सात ठाउँमा खोले। ती पसलमा २० जनाले काम पाए।
त्यो सफलताले उनलाई गार्मेन्ट चलाउने हौसला दियो।
'चीन जाँदा केही व्यवसायीसँग राम्रो चिनजान भएको थियो। केही दिन उतै बसेर त्यहाँका केही कारखाना घुमेँ,' उनले भने, 'धेरै कुरा सिक्ने, देख्ने अवसर पाएँ। म पनि गर्न सक्छु भन्ने भयो।'
कृष्णराजले बजारमा आफ्नो पहिचान बनाइसकेका थिए। कपडाको गुणस्तर पनि चिन्न सक्थे। अन्ततः उनले आफ्ना सबै पसल बन्द गरे। अनि २०७४ सालमा १० लाख रूपैयाँ लगानी गरेर सात वटा सिलाइ मेसिन र केही कपडा किने।
सुरूमा उनले आफ्नै घरको भुइँतलामा सात जना कालिगड राखेर काम थाले। त्यहाँबाट पुरूषका लागि सर्ट, पाइन्ट, टिसर्ट, ट्राउजर लगायत लुगा बन्न थाल्यो।
तयार भएका लुगा बेच्न उनले न्युरोडमा एउटा होलसेल पसल खोले।
'थ्रेड गार्मेन्ट–नेपालमा बनेको' लेखिएको ट्याग राखेर ब्रान्डिङ सुरू गरे।
'ग्राहकहरू ब्रान्डमा ध्यान दिँदैन थिए, सस्तो र राम्रो खोज्थे,' उनले भने, 'सुरूका दिनमा नेपाली ब्रान्ड भनेर ठूलो संख्यामा उत्पादन गर्ने र सस्तोमा बेच्ने उपाय गरेँ।'
राम्रो गुणस्तरको लुगा सस्तोमा पाइने भएपछि थ्रेड ग्राहकको रोजाइमा पर्न थाल्यो। व्यापार बढ्दै गएपछि कृष्णराजले एक रोपनी जग्गा भाडामा लिए। एउटा टहरा बनाएर ४० वटा मेसिन राखे।
कारखाना भएपछि उत्पादन बढ्यो। सँगै बजार माग पनि बढ्यो। उत्पादन क्षमता बढाउनुपर्ने भयो। यसपछि उनी ठूलो ठाउँ खोज्दै इमाडोल पुगेका हुन्।
यसरी कामले राम्रो गति लिँदै गर्दा कोरोना संक्रमण फैलियो। लकडाउनले धेरैतिर व्यवसाय धराशायी भए। तर त्यही समयमा कृष्णराजका लागि एउटा अवसर पनि आयो।
'आयात ठप्प भएका बेला नेपाली उत्पादनको प्रयोग बढ्यो। थ्रेडले बनाएको मास्क, पिपिई सेट लगायतले बजार पायो। लकडाउनमै ६ सय जनाले रोजगारी पाए,' उनले भने, 'हाम्रो बजार पनि बढ्यो।'
बितेका करिब सात वर्षमा थ्रेडले निकै लामो फड्को मारेको छ।
कृष्णराज सन्तोष प्रकट गर्दै भन्छन्, 'लुगा चिनेरै व्यवसायमा होमिएको थिएँ। व्यवसाय फैलिन्छ भन्ने विश्वास थियो। नेपाली ब्रान्ड बनाएर बजार बढाउन सकेँ, खुसी छु।'
उनका अनुसार थ्रेडको उत्पादन मलेसिया र जापान पनि पुगेको छ। कुनै समय रोजगारीका लागि आफू पुगेको देशमा अहिले आफ्नै उत्पादन पुर्याउन पाउँदा उनी फुरूंग परेका छन्। अन्य केही मुलुकमा पनि पुर्याउने योजना छ।
कम्पनीले काठमाडौं उपत्यकामा लुगा सिउने तालिम पनि दिन्छ। यसरी तालिम लिएका कतिपयले टेलरिङ चलाएका उनले बताए।
कृष्णराजको गार्मेन्टमा हाल चार सय वटा सिलाइ मेसिन छन्। तर सबै मेसिन एक साथ चलाउन जनशक्ति अभाव हुन्छ।
'खान र बस्नसहित निकै राम्रो तलब दिँदा पनि कर्मचारी टिकाउने गाह्रो छ। विदेश जाने मोहले होला, देशमा जनशक्ति अभाव भएको छ,' उनी भन्छन्, 'तर समस्या जता पनि छ। म नेपाली ब्रान्ड विश्व बजारमा फैलाउने लक्ष्यमा अघि बढेको छु।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।