नवजात शिशुका लागि कस्तो लुगा चाहिन्छ? कहाँ किन्ने? अनि सुत्केरी आमाका लागि नि?
ललितपुरकी सुकृति कार्कीका सामु एक पटक यस्तै प्रश्नहरू खडा भए। उनकी दिदी सुत्केरी भएकी थिइन्। नवजात शिशु र सुत्केरी दिदीका लागि लुगा किन्ने जिम्मा उनलाई आइलाग्यो।
सूचीका लुगा जुटाउन धेरैतिर डुल्नुपर्यो।
'दिदी सुत्केरी हुँदा बच्चा र दिदीका लागि लुगा खोज्न धेरै पसल घुम्नुपर्यो,' सुकृतिले भनिन्, 'चाहिएको सबै लुगा एकै ठाउँमा नपाइने, डुल्दाडुल्दा हैरान। यस्तो समस्या धेरैले भोगेको हुन सक्छ भन्ने लाग्यो।'
त्यही बेला उनलाई बच्चा र आमाका लुगाको पूरा 'प्याकेज' हुनुपर्छ भन्ने लाग्यो।
अनि त्यही सोचले सुकृतिलाई व्यवसायी बनायो। उनी अहिले बालबालिका र महिलाका लागि लुगा बनाउँछिन्।
'अनलाइनमार्फत नै शरीरको नाप लिएर ग्राहकको रोजाइको कपडामा लुगा तयार गर्छु,' उनले भनिन्।
व्यस्त दिनचर्या हुने व्यक्ति र परिवार उनका मुख्य लक्षित समूह हुन्।
'सहरमा धेरै जसो परिवारमा श्रीमान र श्रीमती मात्र बस्नुहुन्छ। सुत्केरी हुँदा बच्चा र आमाका लुगा कहाँ किन्ने, धेरै श्रीमानहरूलाई थाहा हुँदैन,' उनी भन्छिन्, 'व्यस्तताले गर्दा पसल डुल्ने फुर्सद पनि हुँदैन। यस्तै परिवारलाई लक्षित गरेर उत्पादन सुरू गरेकी हुँ।'
उनले आफ्नो उत्पादनको ब्रान्ड नाम 'हुडल' राखेकी छन्।
हुडलमा आमा र बच्चाका लागि आवश्यक धेरैजसो लुगा पाइन्छ। कटन, फ्लाटिन, फ्लिस, ढाका लगायत कपडाबाट महिलाका लागि गाउन पाइन्छ। ढाका, कटन, मलमल, भेला आदिबाट चोली तथा गर्भवतीका लागि बेल्ट (पेटी) र पटुका पनि पाइन्छ।
दुई वर्ष उमेरसम्मका बालबालिकाका लागि ढाकाको भोटो सेट, तकुवा भोटो, छोरीका लागि फ्रक–भोटो सेट, ब्ल्यांकेट, टोपी, तोरीको सिरानी, फाइबरको सिरक–डसना इत्यादि पाइन्छ। पास्नी सेट, टोपी, मोजा र जातीय परम्परा अनुसारका लुगा पनि उपलब्ध छ। विभिन्न सांस्कृतिक कार्यक्रमका लागि अर्डर अनुसार पुरूषका दौरासुरूवाल, टोपी तथा महिलाका सारीचोलो र अन्य लुगा पनि यहाँ किन्न सकिन्छ।
हुडलमा बालबालिकाका सफाइ र सुरक्षाका सामग्रीका साथै पाउडर दूध पनि उपलब्ध छ।
सुकृतिले आफ्नो उत्पादन बिक्रीका लागि 'हुडल अनलाइन सपिङ' वेबसाइट खोलेकी छन्। सबै बिक्री यसैबाट हुन्छ। वेबसाइटमा बच्चा र आमाका लागि छुट्टाछट्टै समूह छ। ग्राहकले यही हेरेर आफ्नो रूचि र आवश्यकताको सामान अर्डर गर्छन्।
हुडलमा तयारी लुगा पाइने भए पनि यसको खास विशेषता ग्राहकको रोजाइ अनुसारका लुगा तयार गर्नु हो। तयारी (रेडिमेड) लुगा राख्नुमा भन्दा अर्डरअनुसार कस्टमाइज गरेर लुगा बनाइदिनुमा सुकृतिको जोड छ।
'रेडिमेडका साथै फरक कपडा र आफ्नै डिजाइन चाहिन्छ भने हुडलले तयार गरिदिन्छ,' उनी भन्छिन्, 'कस्टमाइज गर्नु छ भने अनलाइनबाटै शरीरको नाप र डिजाइन लिन्छौं। लुगा तयार भएपछि डेलिभरी हुन्छ।'
हुडलका लुगा आफ्नै कारखानामा तयार हुन्छ। सुकृतिले कपडा विभिन्न ठाउँबाट जुटाउँछिन्। लुगा सिलाउन दुईजना कर्मचारी छन्।
हुडलका उत्पादन भुटान, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकमा पनि पुग्ने गरेको उनी बताउँछिन्। थप केही मुलुकमा पठाउने तयारी हुँदैछ।
'अहिले विदेशमा बस्ने नेपालीहरूबाट बच्चाबच्चीका लुगा र परम्परागत पोसाकको माग आइरहेको छ,' उनले भनिन्, 'बिस्तारै बजार बढ्दै छ। डिजाइनहरू थप्ने योजना छ।'
सुकृतिले आठ महिनाअघि शिशुका लागि ढाकाको भोटो सेट बनाएकी थिइन्। त्यो सेट धेरैले रूचाएपछि उनले व्यवसाय सुरू गरेकी हुन्। यो व्यवसाय थाल्नुमा उनको आफ्नै अनुभवले पनि काम गरेको छ।
ललितपुरको खुमलटारमा जन्मेहुर्केकी सुकृतिले करिब एक दशक जागिरमा बिताइन्। जागिरमा छँदा आफ्नै व्यवसाय गर्ने सोच्थिन् तर अवसर जुरेको थिएन। मार्केटिङबाट करिअर सुरू गरेकी उनले विभिन्न कम्पनीमा काम गरिन्। यही क्रममा अनलाइन बजार दराजमा एक वर्ष काम गरेपछि उनलाई आफ्नै व्यवसाय सुरू गर्ने पक्का भयो।
सोच र अनलाइन व्यापारको आइडिया भए पनि लगानीका लागि पैसा थिएन। त्यही समय कोरोना महामारी फैलियो, लकडाउन भयो। यही फुर्सदमा आइडिया विकास गर्दै गइन्। सानै लगानीमा सुरू गर्ने योजना बनाइन्।
'योजना यसअघि पनि थियो तर लगानी थिएन। उचित समय पर्खेर बसेकी थिएँ,' उनले भनिन्, 'कोभिडको समयमा अनलाइन प्लेटफर्म र लुगाको बजारबारे थप बुझ्ने अवसर मिल्यो।'
वेबसाइट र सामाजिक सञ्जाल तयार पारेपछि सुकृतिले ५० हजार रूपैयाँ जुटाएर गत भदौमा काम सुरू गरेकी हुन्।
'खासमा मैले परीक्षणका लागि यसरी काम सुरू गरेकी थिएँ। व्यापार चल्छ भन्ने पक्का भएपछि नेपाली ब्रान्ड विकासमा लागेकी हुँ,' उनले भनिन्।
अहिले हुडलको व्यापार बढ्दो छ। विदेशबाट विशेषगरी नेवार, गुरूङ, तामाङ आदि जातिका परम्परागत पोसाकको अर्डर आउँछ।
'नेपालीपन नहराओस् भन्ने सोचले परम्परागत पोसाकको काम थालेकी हुँ,' सुकृतिले भनिन्, 'हाम्रो प्राथमिकता विदेशमा बस्ने नेपालीका लागि छ।'
स्वदेशी बजारमा भने शिशु र आमाका लुगाकै माग बढी छ।
अब उनी अलि ठूलो परिमाणमा उत्पादन गर्न चाहिन्छन्। तर लगानी जुटाउन सकेकी छैनन्। उनी अस्पतालहरूसँग सहकार्य गरेर शिशु र आमाका लुगा पुर्याउने सोचमा छिन्।
'महिलाका लागि पार्टी वेयर र फेसनका लुगा थप्ने र कस्टमाइज गर्ने योजना पनि छ। यसका लागि पनि लगानीकर्ताको खोजीमा छु,' ३२ वर्षीया सुकृतिले भनिन्, 'हुडललाई नेपाल र विदेशमा लोकप्रिय ब्रान्ड बनाउने लक्ष्य छ। यसकै निम्ति कम्मर कसेर लागिपरेकी छु।'
(हुडलको वेबसाइटमा जान यहाँ र फेसबुकमा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)