'पेरूंगो' शब्द सुन्नुभएको होला। पेरूंगो देख्नुभएको वा प्रयोग नै गर्नुभएको पनि हुन सक्छ।
पेरूंगो बाँसको चोयाबाट बनाइएको हुन्छ, डोको जस्तो आँखा भएको तर आकार डोकोजस्तो हुँदैन। सानो हुन्छ, झट्ट हेर्दा चेन लगाउने झोला अर्थात् ब्यागजस्तो चेप्टो र लाम्चो।
पेरूंगो काँधमा र हातमा झुन्ड्याउन वा काखीमा च्याप्न मिल्ने हुन्छ। घरको भित्ता वा खाँबोमा झुन्ड्याउन पनि सकिन्छ। खासमा पेरूंगो पूर्वी पहाडको लिम्बू समुदाय प्रचलित परम्परागत साधन हो।
यो त भयो परम्परागत पेरूंगोको चिनारी। यहाँ चर्चा गर्न लागेको पेरूंगो चाहिँ आधुनिक झोला अर्थात् ब्यागको नयाँ ब्रान्ड हो।
विभिन्न डिजाइनमा पेरूंगो ब्रान्डको ब्याग बनाउँछन् २९ वर्षीय रोनित बलामी। कलेजका विद्यार्थी र कामकाजी युवा पुस्ता उनका लक्षित ग्राहक हुन्।
'विशेष गरी विद्यार्थी र युवा पुस्ताका लागि झोला बनाइरहेका छौं। पानी प्रतिरोधात्मक कपडाले बनाउँछौं,' उनले भने।
पेरूंगोमा महिला र पुरूष दुबैका लागि उपयोगी ब्याकप्याक (पछाडि बोक्ने), टोट (काँधमा झन्ड्याउने) र क्रसबडी (छड्के भिर्ने) ब्याग बन्छ। यी तीन किसिममा अनेक डिजाइन छन्। २५ भन्दा बढी रङमा उपलब्ध हुन्छ।
पेरूंगो ब्रान्डमा ग्राहकले चिन्न र अर्डर दिन सजिलोका लागि डिजाइन अनुसार ब्यागका अनेक नाम छन्– बक्स, क्लासी, स्लाइडसट इत्यादि।
पेरूंगोले ब्याग बनाउन थालेको दुई वर्ष भयो। यसका सञ्चालक रोनितको पारिवारिक पृष्ठभूमि व्यवसाय नै हो। उनका बुबा कपडा व्यवसायी हुन्। रोनितले आफू बीस वर्षका हुँदैदेखि बुबालाई व्यवसायमा सघाउन थालेका थिए। कारखाना र बजार व्यवस्थानको काममा उनी मद्दत गर्थे।
बुबाको सुझाब विदेश जानुपर्छ भन्ने थियो।
'बुबा मलाई विदेश जान सल्लाह दिनुहुन्थ्यो,' उनले भने, 'नेपालमा खासै केही उपलब्धि गर्न सकिँदैन, व्यवसाय चुनौतीपूर्ण छ, राम्रो जागिर पाउन मुस्किल छ, पैसा कमाउने हो भने विदेश जानुपर्छ भन्नुहुन्थ्यो।'
बुबाको सुझाब भए पनि रोनितलाई पैसा कमाउन विदेश जाने चाहना भएन। विदेशमा गएकाले जति मेहनत गर्ने हो भने नेपालमै कमाउन सकिन्छ भन्ने लाग्थ्यो। आज पनि उनको विश्वास यस्तै छ।
'सफलताका लागि जहाँ पनि परिश्रम गर्नैपर्छ। मलाई त पैसा कमाउन विदेश जाने सोच नै आएन,' उनले भने, 'आफ्नै देशमा व्यवसाय गर्छु, आफ्नो व्यवसाय अन्तर्राष्ट्रियस्तरको बनाउँछु भन्ने सोच्न थालेँ।'
उनले बुबाको व्यवसायबाट बजार बुझ्ने मौका पाए। गुणस्तरीय र तुलनात्मक रूपमा सस्तो ब्यागको बजार छ भन्ने थाहा पाए। उनी कपडाको प्रकृति, गुणस्तर र उपयोगिताबारे पनि एक हदसम्म जानकार थिए। उनले ब्यागको बजार र डिजाइन खोजबिन गरे।
उनी बजारमा बलियो, राम्रो ब्यागको माग धेरै छ तर पाउन मुस्किल छ भन्ने निष्कर्षमा पुगे।
'केही राम्रा ब्रान्ड छन् तर बजारको माग धान्न सकिरहेका छैनन्,' उनले भने।
यही निष्कर्षअनुसार रोनितले २०७८ साल मंसिरमा सुरू गरे पेरूंगो ब्याग।
ब्रान्ड नाम पेरूंगो रोज्नुको कारण खुलाउँदै उनी भन्छन्, 'गाउँतिर अझै पनि पेरूंगोमा सामान राख्ने चलन छ। झोलामा पनि सामान नै बोक्ने हो। अलिक मौलिक किसिमको सुनिन्छ भन्ने सोचेर पेरूंगो नाम राखेको हुँ। अहिलेसम्म ग्राहकको प्रतिक्रिया निकै राम्रो छ। गुणस्तर र डिजाइन मन पराउनुभएको छ। म उत्साहित छु।'
पेरूंगोले ब्याग बनाउन फक्स लेदर, नाइलन र पोलिस्टर प्रयोग गर्छ। रोनितका अनुसार पानी नपस्ने गरी सिलाइ गरिएको हुन्छ। कपडा उक्किने वा सिलाइ च्यातिने समस्या हुँदैन। ग्राहकलाई एक वर्षको वारेन्टी हुन्छ।
बितेको दुई वर्षमा कोही पनि ग्राहक वारेन्टी दाबी गर्न नआएको उनको भनाइ छ। बरू दोहोर्याएर आउने ग्राहक धेरै छन्।
पेरूंगोको सञ्चालन–व्यवस्थापनको काम रोनितले नै सम्हालेका छन्। डिजाइन बनाउन बुबा केदारको र रङ संयोजनमा श्रीमती सरोनको मद्दत छ। सरोनले पेरूंगोको सामाजिक सञ्जाल सम्हाल्ने जिम्मेवारी पनि लिएकी छन्।
परिवारका सदस्यबाहेक पेरूंगोमा ६ जना कर्मचारी छन्। आफ्नै कारखाना छ।
हाल पेरूंगो ब्यागमा सुरू मूल्य क्रसओभरको ९५० रूपैयाँ, टोटको एक हजार ६५० रूपैयाँ र ब्याकप्याकको दुई हजार २५० रूपैयाँ छ। डिजाइन र आकारअनुसार मूल्य फरक पर्छ।
'पेरूंगो ब्याग गुणस्तरअनुसार किफायती छ। मूल्यमा पनि ग्राहकहरू सन्तुष्ट हुनुहुन्छ,' रोनित भन्छन्, 'कहिलेकाहीँ कोही ग्राहकले महँगो भन्ने गरे पनि गुणस्तरमा सन्तुष्ट भएको पाएको छु।'
हाल पेरूंगोले मासिक कम्तीमा पाँच सय वटा ब्याग खुद्रा बिक्री गर्ने गरेको छ। मागअनुसार थोक बिक्रेतालाई पनि बेच्छ तर बढी व्यापार खुद्रामै छ।
काठमाडौं उपत्यका बाहिर मुख्य गरी पोखरा, धरान, बुटवल र भरतपुर लगायतका सहरमा पुग्छ। यी ठाउँमा अर्डर अनुसार पठाउने गरिएको छ। अर्डर आउँदा फाटफुट अन्य सहरमा पनि पठाउने गरेको रोनितले बताए।
पेरूंगोको ब्याकप्याकमा साढे १६ इन्चसम्मको ल्यापटप अटाउँछ। सामान राख्न पर्याप्त खल्ती/ठाउँ हुन्छ। स्कुल र कलेजका विद्यार्थी, कामकाजी युवा र भ्रमणका जानेका लागि उपयोगी ब्याग रहेको उनको भनाइ छ।
पेरूंगो ब्याग कम्पनीको सामाजिक सञ्जाल र अनलाइन बजार दराजबाट अर्डर गर्न सकिन्छ। काठमाडौंको सिभिल मलमा सानो डिस्प्ले (पसल) पनि छ। प्रत्यक्ष हेरेर किन्न रूचाउने ग्राहकको सुझाबअनुसार डिस्प्ले राखेको उनले बताए।
रोनितले चार लाख रूपैयाँ लगानीमा यो काम सुरू गरेका हुन्।
'अहिले बजार राम्रो भएको छ,' उनले भने, 'नेपालमा कामको अवसर धेरै छ। माग विचार गरेर व्यवस्थित तरिकाले काम गर्न सक्दा असफल हुने कुरै हुँदैन।'
उनी पेरूंगोको आफ्नै शोरूम चलाउने योजनामा छन्। पेरूंगो ब्याग अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य पनि छ।
'म आफ्नो योजना र लक्ष्य अनुसारै काम अघि बढाइरहेको छु,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(पेरूंगोको फेसबुकमा जान यहाँ क्लिक गर्नुहोस्)