महिला सशक्तीकरणको एक आयाम शिक्षा तथा सीप विकासद्वारा महिलाको आर्थिक क्षमता अभिवृद्धि गर्नु हो — यही तथ्यमा विश्वास राख्छिन् महिला सशक्तीकरणकी अभियानी तथा उद्यमी कुन्तीदेवी पोखरेल।
अभियानमा लागेको एक दशक पूरा भयो। यस अवधिमा उनले धेरै जिल्ला पुगेर ६ सयभन्दा बढी महिलालाई तालिम दिइसकिन्। आर्थिक रूपमा बलियो भएर आत्मनिर्भर हुन मद्दत गरिन्।
उनी यो काम 'कुन्ती फाउन्डेसन' नामक संस्थामार्फत् गरिरहेकी छन्।
'फाउन्डेसनले महिला सशक्तीकरणका तालिम र प्रशिक्षण चलाउँछ। यस्तो कार्यक्रम लिएर हामी अनेक जिल्ला पुग्छौं,' कुन्तीले भनिन्।
काठमाडौंकी स्थायी बासिन्दा कुन्तीलाई यही अभियानले उद्यमी पनि बनाएको हो।
चार वर्षअघि उनी फाउन्डेसनमार्फत आत्मनिर्भरता सम्बन्धी काम गर्दै थिइन्। कोरोना महामारीका कारण लकडाउन भयो। प्रशिक्षण र अन्य काम रोकिए। धेरै महिलाको रोजगारी गुम्यो। उनीहरू आर्थिक संकटमा परे।
'धेरै दिदीबहिनीले जागिर गुमाउनुपर्यो। घर चलाउन कठिन भयो,' कुन्तीले सुनाइन्, 'कतिपय दिदीबहिनीले कोठाभाडा तिर्न सक्नुभएन, कतिले त कोठा छाड्नुपर्यो। यस्ता दिदीबहिनीहरू केही इलम गर्न चाहनुहुन्थ्यो।'
उनले त्यस्ता महिलाहरूका निम्ति घरै बसेर गर्न सक्ने कामबारे सोचिन्। कोरोना फैलिनुअघि नै उनले पुरानो बानेश्वरमा आफ्नो घरनजिकै कपडा सिलाइ गर्ने एउटा सानो कारखाना खोलेकी थिइन्। त्यसैले सिलाइकै काम उपयुक्त लाग्यो।
कुन्तीले आफ्नो घर वरपरका दस जना महिलालाई सिलाइ मेसिन र साधारण झोला बनाउने कपडा दिइन्। उनीहरू सिलाइको साधारण काम जान्दथे।
उनीहरूले बनाएको कपडाको झोला कुन्तीले बजार पुर्याइन्। सिउनेलाई थोरै भए पनि आम्दानी भयो।
त्यसपछि महिलाहरूले साना केटाकेटीका लागि दौरासुरूवाल र महिलाको कुर्तासुरूवाल सिउन सिके। लकडाउन खुकुलो हुँदै गएपछि व्यावसायिक प्रशिक्षकबाट तालिम लिए। बिस्तारै उनीहरूले घरमै लुगा सिलाउने काम पाउन थाले। यसको प्रबन्ध कुन्ती फाउन्डेसनले मिलायो।
'दस जना दिदीबहिनीहरूले सिएका लुगा म संकलन गरेर बजार पुर्याउँथेँ। यही क्रममा मलाई एउटा ब्रान्ड नाम राखेर काम गर्न उचित हुने महसुस भयो,' कुन्तीले भनिन्, 'अनि पोज फेसन नाम जुराएँ।'
लकडाउन खुकुलो भएपछि कुन्तीसँग काम गर्ने महिलाको संख्या बढ्दै गयो। समय अनुकूल भएपछि उनले महिलाहरूलाई कारखानामै बोलाइन्। त्यस बेला कारखानामा एक सय वटा सिलाइ मेसिन थिए।
उनीहरूले टि–सर्ट, ज्याकेट, पाइन्ट, हुडी, स्वेटसर्ट लगायत लुगा बनाउने तालिम पाए। कुन्तीले आवश्यकता अनुसार जनशक्ति थपिन्। प्राथमिकतामा महिला नै परे।
कटन, जिन्स, लिनेन, ऊन लगायत कपडाका मौसमअनुसार लुगा उनीहरूले तयार गरेर बजार पुर्याउन थाले। उत्पादन क्षमता बढाउँदै पोज फेसनले भक्तपुरमा पनि कारखाना सुरू गर्यो। काठमाडौं उपत्यकाका १० ठाउँमा पोज फेसनका पसल खुले।
'दिदीबहिनीहरूले काम गरेको देखेर छोटो समयमै बजार विस्तार गर्ने आँट आयो। काठमाडौंका विभिन्न ठाउँमा पसल सुरू गरेँ,' उनले भनिन्।
कारखाना र पसल चलाउन हालसम्ममा करिब १० करोड रूपैयाँ खर्च गरेको उनको भनाइ छ। परिवारबाट सहयोग र समर्थन भएकाले काम गर्न सहज भएको उनले बताइन्।
दस जना महिलाको कामबाट सुरू भएको पोज फेसनमा एक वर्षअघिसम्म करिब सात सय जना काम गर्थे। तर समय उही रहेन। विभिन्न कारणवश उनले पसल र कर्मचारी कटौती गर्नुपर्यो।
उनको व्यस्तताले पनि समय मिलाउन कठिन भयो।
कुन्ती राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य हुन्।
नवलपरासीमा जन्मेहुर्केकी उनी बिहेपछि काठमाडौं आएकी थिइन्। राजनीतिशास्त्रमा स्नातकोत्तर तहको पढाइ पूरा गरिन्। पढ्न र राजनीतिमा लाग्न आफूलाई सासूआमाले प्रोत्साहित गरेको उनी बताउँछिन्।
'देशको अवस्था र प्रणालीबारे बुझ्दै जाँदा राजनीतिमा चासो बढ्दै गयो,' कुन्तीले भनिन्, 'म २०६८ सालदेखि सक्रिय राजनीतिमा छु।'
संसदीय निर्वाचन (२०७९) मा काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार भइन्।
त्यसपछि भने उनलाई फाउन्डेसन, व्यवसाय र राजनीति एकसाथ सम्हाल्न कठिन भयो। उनले पोज फेसनका नौ वटा पसल बन्द गरिन्, अहिले बानेश्वरमा मात्र छ। करिब चार सय कर्मचारीको रोजगारी गुम्यो।
'सटर भाडा महँगो थियो। उम्मेदवार भएर राजनीतिमा बढी सक्रिय भएपछि व्यवसायमा समय दिन सकिनँ। बाध्य भएर केही पसल बन्द गर्नुपर्यो, कर्मचारी कम गर्नुपर्यो,' उनले भनिन्, 'त्यो कदम मेरा लागि कठिन थियो तर आर्थिक रूपमा समस्या परेपछि अर्को विकल्प पनि भएन।'
भविष्यमा व्यवसाय विस्तार गरेर थप रोजगारी सिर्जना गर्ने उनको योजना छ।
पोज फेसनले हाल एक दर्जनभन्दा बढी डिजाइनमा केटाकेटी, महिला र पुरूषका लागि लुगा बनाइरहेको छ। फेसनवाला लुगासँगै स्कुल–कलेजका विद्यार्थी र कार्यालयका कर्मचारीका लुगा पनि बनाउँछ। थोक अर्डर गर्दा माग भएको डिजाइनमा पनि लुगा तयार गर्छ।
कम्पनीले आफ्नो उत्पादन थोक बिक्रेतालाई दिन्छ। थोक बिक्रेताले काठमाडौं उपत्यका र बाहिरका सहरमा पठाउँछन्। अन्तर्राष्ट्रिय बजारमा पनि पुग्ने कुन्तीको लक्ष्य छ।
पोज फेसनको सन्देश छ – 'बी नेपाली, बाई नेपाली' अर्थात् 'नेपाली होऔं नेपाली किनौं।'
उनी किफायती मूल्यमा राम्रो गुणस्तरको लुगा नेपालमै बनाउन सकिन्छ भन्ने प्रमाणित गर्न चाहन्छिन्।
'अहिले बजारमा नेपाली ब्रान्डको लुगा महँगो हुन्छ वा सस्तो भए गुणस्तरीय हुँदैन भन्ने धारणा धेरैमा छ। यो भ्रम हो,' उनले भनिन्, 'पोज फेसनको लुगा तुलनात्मक रूपमा सस्तो छ। सस्तो भएपछि ग्राहकलाई गुणस्तरमा शंका हुन्छ। हामी ग्राहकलाई गुणस्तरमा विश्वास गर्न आग्रह गर्छौं। एकपटक किनेपछि दोहोर्याएर आउनुहुन्छ।'
सस्तोमा नेपाली ब्रान्डको गुणस्तरीय लुगा बनाउन सक्दा नेपाली उत्पादनको खपत बढ्छ र विदेशी बजारमा पनि पुग्छ भन्ने उनको विश्वास छ।
आफ्नो उद्देश्य व्यापार गरेर पैसा कमाउनु मात्र नभएको उनी बताउँछिन्।
'व्यापार गर्नु मात्र हाम्रो उद्देश्य होइन। हामी फाइदा कम राखेर काम गर्छौं,' उनले भनिन्, 'यही अवधारणा अनुसार प्रवर्द्धन गर्ने हो भने नेपाली उत्पादन देशभर र विदेशमा पनि पुर्याउन सकिन्छ।'
कुन्ती आफ्नो फाउन्डेसन, पोज फेसन र राजनीति तीनै आयामलाई समानान्तर रूपमा अघि बढाउन चाहन्छिन्।
'यो सबैको एकीकृत लक्ष्य आर्थिक समृद्धि हो, महिलाको सशक्तीकरण नै हो,' उनले भनिन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(पोज फेसनको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्)