महिला उद्यमीका कथा
काठमाडौंकी स्यारोन एस जोशीलाई सारी असाध्यै मनपर्छ। आमा र हजुरआमाले लगाएको सारी हेर्दै हुर्किइन्। अहिले कार्यक्रम र समारोमा सहभागी हुँदा आफू पनि सारी नै लगाउँछिन्।
उनी सामान्य कपडामा थोरै बुट्टा भरेको सारी रूचाउँछिन्।
'साधारण सारीमा सामान्य रङले सौन्दर्यमा निखार ल्याउँछ, स्मार्ट देखाउँछ,' २५ वर्षीया स्यारोन भन्छिन्।
तर बजारमा उनले खोजेजस्तो सारी हत्तपत्त पाउँथिनन्। त्यसैले उनी आफैं सारी व्यापारको व्यवसायमा प्रवेश गरिन्। एक वर्षयता स्यारोन 'आर्ट सारी' बिक्री गर्दैछिन्।
उनको व्यवसायको नाम हो 'कोसाया'।
'कोसाया सारी डिजाइन हब हो,' स्यारोनले भनिन्, 'हामी फेब्रिक (कपडा) मा डिजिटल आर्ट गरेर आकर्षक सारी बनाउँछौं।'
कोसायाले हाल क्रेप सिल्क, अर्गान्जा, सिफन, जर्जट लगायत पाँच थरी कपडामा सारी तयार गर्छ। यसमा बुट्टाको डिजाइन र रङको मिश्रण मिलाउने अवधारण स्यारोनको हुन्छ।
स्यारोनले सोचेको डिजाइन सारीमा उतार्ने काम भने आर्टिस्ट चिराग बाङ्देलले गर्छन्।
'कुन कपडामा कस्तो डिजाइन गर्ने भन्ने अवधारणा म बनाउँछु र आर्टिस्टलाई भन्छु,' स्यारोनले भनिन्, 'कम्प्युटरमा सफ्टवेयरको माध्यमबाट नमूना निकाल्छौं। कपडामा डिजाइन सुहाउँछ कि सुहाउँदैन, त्यो हेर्छौं। प्रिन्ट गर्दा नमिलेको जस्तो देखियो भने छलफल गरेर हेरफेर गर्छौं।'
यसपछि सारी प्रिन्ट हुन्छ र बजारमा आउँछ। यो कामका लागि स्यारोनले काठमाडौंमा कारखाना खोलेकी छन्।
उनी हरेक पटक फरक डिजाइन बनाउने प्रयास गर्छिन्। अहिलेसम्म आफूले सयभन्दा बढी डिजाइन गरिसकेको उनले बताइन्। मयुर, मयुरको प्वाँख, सयपत्री र अन्य विभिन्न फूल र रूखबिरूवालाई विभिन्न रङमा मिसाएर कलाले भरिएको सारी उनी तयार गर्छिन्।
यसरी तयार भएका कोसाया सारीको मूल्य दस हजारदेखि ३५ हजार रूपैयाँसम्म पर्छ। कपडा र बुट्टाअनुसार सारीको भाउ फरक हुन्छ।
'कला भएकाले केही महँगो हुन्छ तर ग्राहकले राम्रो सारी पाउनुहुन्छ। गुणस्तर अनुसार महँगो भन्न मिल्दैन,' उनले भनिन्।
स्यारोन महिनैपिच्छे बजारमा नयाँ डिजाइनका सारी पठाउँछिन्। सामान्यतया एकपटकमा पाँच सयवटा सारी तयार हुन्छ र महिना दिनमा बिक्री भइसक्छ।
'कोसायाको नयाँपन भनेको आर्ट सारी नै हो,' ब्रान्डबारे उनले भनिन्, 'हाम्रो छुट्टै कला छ, कसैले पनि चोर्न र बनाउन सक्दैन। बजारका अरू सारीसँग मेल खाँदैन।'
व्यवसाय सुरू भएको एक वर्षमा सारीको बजार बढ्दैछ। विशेष गरी औपचारिक कार्यक्रम, बिहे, भोज वा यस्तै अवसरमा सहभागी हुनेहरूको रोजाइमा पर्न थालेको उनको भनाइ छ।
कोसाया सारी स्यारोनकी आमा पनि लगाउँछिन्। उनकी आमा एक टेलिभिजनमा कार्यक्रम प्रस्तोता छिन्। उनी सारी लगाएरै कार्यक्रम चलाउँछिन्।
'आमालाई सारी लगाउन मनपर्छ। मेरो व्यवसाय आमाकै सहयोगमा अघि बढेको हो,' उनले भनिन्, 'कोसाया सारी बजारमा पुर्याउनुअघि आमाले नै पहिले लगाउनुहुन्छ। ममीको साथीसंगीबीच पनि कोसाया चलेको छ।'
कोसायामा हाल १२ जनाले रोजगारी पाएका छन्।
ललितपुरको भैंसेपाटीमा जन्मे-हुर्केकी स्यारोनले भारत र बेलायतमा एमबिए (बिजनेस एडमिनिस्ट्रेसन) पढाइ पूरा गरेकी छन्। पढाइकै क्रममा उनमा व्यवसायको अवधारणा विकास भएको हो।
कोसाया सुरू गर्नुअघि उनी लुगाकै व्यवसायमा थिइन्। 'ब्लुमी हर्ट' ब्रान्डअन्तर्गत उनी पजामा सेट, दौरासुरूवाल लगायत लुगा बनाउँथिन्। तीन वर्षअघि सुरू गरेको यो व्यवसाय पनि चालु छ। यहीबीच नौलो उत्पादनका रूपमा कला र फेसन जोडेर सारी डिजाइनमा लागेको उनले बताइन्।
'सबैले बनाउने गरेको र बजारमा सजिलै पाइनेभन्दा केही फरक उत्पादन ल्याउन मन थियो,' उनले भनिन्।
स्यारोन पहिले सारीबारे उति जानकार थिइनन्। दुई वर्षअघि उनले बजार अध्ययन गरेकी थिइन्। सम्भावना देखेपछि आर्टिस्टसँग सहकार्य गरेर आफ्नो डिजाइनको सारी बजारमा ल्याउँछु भन्ने अठोट गरिन्।
'आर्ट सारी बजारका लागि नयाँ थियो। ग्राहकको रोजाइमा पर्छ भन्ने विश्वासका साथ अघि बढेँ,' उनले भनिन्।
कलाको कामका लागि उनले आर्टिस्ट चिराग बाङ्देललाई सम्झिइन्। चिरागका धेरै कला उनले हेरेकी थिइन्, खुब मनपरेको थियो। चिरागका चित्रकला पनि घरमा सजाएकी छन्। चिराग सहकार्यका लागि सहमत हुँदा आफू निकै खुसी भएको स्यारोनले बताइन्।
सबै टुंगोमा पुगेपछि उनले ५० लाख रूपैयाँ लगानी गरिन्। डिजिटल आर्टका लागि मेसिन किनिन्। पहिलो चरणमा क्रेप सिल्क फेब्रिक किनेर ठूला बुट्टामा विभिन्न रङका ३० वटा सारी तयार गरिन्। यति सारी तयार गर्न दुई साता लाग्यो। परिवार र साथीसंगीलाई देखाइन्। सकारात्मक प्रतिक्रियाले उनलाई हौसला मिल्यो।
सारी बिक्रीका लागि फेसबुक र इन्स्टाग्राम पेज बनाइन्। सारी पहिरिएका फोटो खिचाएर पोस्ट गरिन्। सन् २०२२ जुलाइदेखि स्यारोनले बनाएका सारी बजार पुगे।
स्यारोनले कोसायामा पुरूषका लागि 'स्कार्फ' र 'पकेट स्क्वायर' (कोटको खल्तीमा हाल्ने रूमाल) पनि ल्याएकी छन्। कतिपय महिला आफ्ना जोडीसँग मिलाएर लगाउन पकेट स्क्वायर किन्छन्। यसैकारण स्कार्फ र पकेट स्क्वायर बजारमा ल्याएको उनको भनाइ छ।
कोसायाको स्कार्फ एक हजारदेखि चार हजार रूपैयाँ मूल्यसम्मको छ। पकेट स्क्वायरको मूल्य साढे दुई हजारदेखि साढे तीन हजार रूपैयाँसम्म छ।
अहिले उनी नेपाली चित्रकला सारीमा उतारेर विदेशी बजारमा पुर्याउन पनि लागिपरेकी छन्। आफूले विश्वबजारलाई लक्षित गरेको र त्यसैअनुसार गृहकार्य गरिरहेको उनको भनाइ छ।
'एक वर्षमै कोसाया सारीको बजार बढ्दै गएको छ। विदेशबाट पनि अर्डर आउने थालेको छ,' स्यारोनले भनिन्, 'अमेरिका र बेलायतबाट पनि केही अर्डर आएको छ। म अन्तर्राष्ट्रिय बजारमा पुग्ने प्रयासमा छु।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(कोसाया फेसनको फेसबुक पेजका लागि यहाँ र इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्।)