सदीक्षा हाडालाई विभिन्न डिजाइनका ब्याग बोक्न मन पर्छ। कार्यक्रम, समारोह र दैनिक प्रयोगमा बोक्ने ब्याग फरक हुन्छ।
बजारमा कुनै नयाँ डिजाइनको ब्याग देख्दा उनी चासो दिन्थिन्। ब्यागका डिजाइन खोज्दै बजार डुल्थिन्। नयाँ र मन परेको डिजाइन भेट्नासाथ किन्थिन्।
तिनै सदीक्षा अहिले आफैं अनेक डिजाइनमा छालाको अर्थात् लेदर ब्याग बनाउँछिन्। र, उपभोक्ताका लागि बजार पुर्याउँछिन्।
युवा व्यवसायी, २५ वर्षीया सदीक्षा 'एभन इन्टरप्राइजेज' नामको कम्पनी चलाउँछिन्।
'हाम्रो कम्पनीले २० वटाभन्दा बढी डिजाइमा अनेक आकारका लेडिज ब्याग बनाउँछ,' उनले भनिन्, 'महिला र पुरूष दुबैका लागि वालेट (मनी ब्याग), की–रिङ र बेल्ट पनि बनाउँछ।'
उनका अनुसार बजारमा पाइने धेरैजसो ब्याग कृत्रिम छालाबाट बनेको हुन्छ। छालाजस्तै देखिने त्यस्तो कृत्रिम वस्तु पोलियुरेथन (पियु) लेदर र रेक्सिन हो।
'कृत्रिम छालाको ब्याग टिकाउ हुँदैन। केही दिन नचलाई राख्दा पट्पटी फुट्ने र बाहिरी पत्र उक्किने हुन्छ,' सदीक्षाले भनिन्, 'कृत्रिम छालाको ब्याग प्रयोग गर्ने धेरैले यस्तो समस्या भोगेका हुन्छन्।'
यस्तै समस्या मध्यनजर गरेर उनले छालाको ब्याग बनाउने निधो गरेकी हुन्।
२०७६ साल मध्यतिरको कुरा हो। सदीक्षा स्नातक तहमा पढ्दै थिइन्। पढाइसँगै एउटा डिजिटल मार्केटिङ कम्पनीमा जागिरे पनि थिइन्। फुर्सदको समयमा साथीहरूबीच आफ्नै व्यवसाय गर्ने कुरा पनि हुन्थ्यो।
सदीक्षा व्यावसायिक परिवारकी छोरी हुन्। पारिवारिक पृष्ठभूमिका कारणले होला, उनी व्यवसायप्रति आकर्षित थिइन्। उनी आफ्नै कुनै व्यवसायबारे सोच्न थालिन्। साथीहरूसँग परामर्श लिइन्।
उनी व्यवसायको टुंगोमा पुग्दै थिइन्। त्यसैबेला कोरोना महामारी फैलियो। साथीहरूसँग भेटघाट पातलियो। एक्लै भएको समयमा उनी शुद्ध छालाको ब्याग बनाउने निष्कर्षमा पुगिन्। साथीहरूलाई सुनाइन्, समर्थन पनि पाइन्।
महामारीको लकडाउनकै समयमा उनले बजारको अनलाइन अध्ययन गरिन्। लकडाउन खुकुलो हुँदै गएपछि बजार डुलिन्। अनेकौं ब्याग पसल चहारिन्। गुणस्तर, मूल्य र व्यापारको अवस्था खोजी गरिन्।
'धेरैजसो ग्राहकको रोजाइमा चल्तीको भन्दा केही न केही फरक, फेन्सी डिजाइन र शुद्ध छाला ब्याग पर्ने गरेको थाहा पाएँ,' उनले भनिन्।
यसैअनुसार परिवारमा सल्लाह गरिन्। समर्थन र सहयोगको आश्वासन पाइन्। अनि २०७८ सालको अन्तिमतिर 'एभन इन्टरप्राइजेज प्रालि' नामको कम्पनी दर्ता गराइन्।
सात लाख रूपैयाँ प्रारम्भिक लगानीमा २०७९ वैशाखमा ब्याग उत्पादन सुरू भयो। बिक्रीका लागि सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा 'एभन लेदर्स' नामको खाता खोलिन्।
पहिलो चरणमा तीनवटा डिजाइनमा ५० वटा ब्याग बनाएर सदीक्षाले सामाजिक सञ्जालमा फोटो राखिन्। अनि एभन इन्टरप्राइजेजको लेदर ब्याग बजार प्रवेश गर्यो।
'सुरूमा साथीहरू र आफन्त नै ग्राहक बने। बिस्तारै अन्य ग्राहकले पनि जानकारी माग्दै किन्न थाले। ग्राहकहरूको प्रतिक्रिया पनि सकारात्मक आयो,' उनले सुनाइन्, 'ग्राहकमार्फत नै ग्राहक जोडिन थाले। क्रेताको संख्या बढ्दै गयो।'
महिला उपभोक्तालाई केन्द्रमा राखेर ब्याग उत्पादन गर्ने भएकाले अधिकांश क्रेता महिला नै छन्। यसमा पनि जागिरे महिला बढी भएको उनले बताइन्।
'डेलिभरीका लागि पुग्ने धेरै ठाउँ विभिन्न कार्यालय नै हुन्छन्। जागिरे महिलाहरूले एभन ब्याग रूचाएका छन्,' उनले भनिन्।
निकट भविष्यमा पुरूषका लागि ब्याकप्याक र छालाको ल्यापटप ब्याग बनाउने योजना छ।
सदीक्षाका अनुसार एभन इन्टरप्राइजेजमा वालेटको न्यूनतम मूल्य एक हजार ८५० रूपैयाँ छ। ब्यागको सबभन्दा कम मूल्य तीन हजार ३५० रूपैयाँ छ। यो मूल्य तुलनात्मक रूपमा किफायती रहेको उनको भनाइ छ।
अहिले कम्पनीले दैनिक १५ वटासम्म ब्याग डेलिभर गरिरहेको। डेलिभरीका लागि 'पिक एन्ड ड्रप' सँग सहकार्य छ। पसलबाट पनि बिक्री हुन्छ।
हरेक ब्यागको खास नाम छ; काली लिरा, इरा, नियोलिथ, कोरा, कस्मो इत्यादि।
हरेक डिजाइनको पहिचानका लागि नाम दिइएको र यसबाट ग्राहकलाई अर्डरका लागि सजिलो हुने सदीक्षाको भनाइ छ।
यीमध्ये नियोलिथ सबैभन्दा बढी रोजाइमा परेको छ। यो गोलो आकारमा छ र पृथक देखिन्छ। यसको मूल्य तीन हजार ९५० रूपैयाँ छ।
'बाली ब्यागबाट प्रेरित भएर नियोलिथ डिजाइन गरेकी थिएँ। सुरूदेखि नै यो डिजाइन ग्राहकको रोजाइमा परेको छ,' सदीक्षाले भनिन्।
नियोलिथपछि कोरा र लिरा रोजाइमा छ। विशेष अवसरका लागि 'कम्बो सेट' पनि बन्छ। यो पनि ग्राहकको रोजाइमा छ। हाल पुरूषहरूका लागि वालेट, बेल्ट र की–रिङको सेट तयार हुन्छ।
एभन लेदर्सका सबै ब्याग डिजाइन सदीक्षाले नै गर्छिन्। उनी डिजाइनमा केही पृथकता र विविधता खोज्छिन्। डिजाइन तयार भएपछि नमूना ब्याग बनाउँछिन् र आफूलाई उचित लाग्यो भने उत्पादन गरेर बजार पठाउँछिन्। यस काममा परिवारका सदस्य र निकट साथीहरूको सुझाव पनि लिन्छिन्।
कम्पनीको व्यवस्थापन पनि सदीक्षाले नै सम्हालेकी छन्। हालै एक जना सहयोगी कर्मचारी नियुक्त गरेकी छन्।
उत्पादनतर्फ कारखानामा १५ जना काम गर्छन्। यीमध्ये केही कर्मचारी श्रवणशक्ति र वाक्शक्ति नभएका पनि छन्। सदीक्षा आफ्नो कारखानामा यस्ता समुदायका व्यक्तिहरूको रोजगारको संख्या बढाउन चाहन्छिन्।
उत्पादनको काम काठमाडौंमा हुने भए पनि प्रशोधित छाला भारतबाट आउने गरेको छ।
'कहिलेकाहीँ छालाको गुणस्तर फरक पर्छ तर उत्पादनको फिनिसिङमा फरक पर्दैन,' उनी भन्छिन्।
एभन लेदर्स ब्याग कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालबाट अर्डर गर्न सकिन्छ। केही ग्राहकहरू हेरेरै किन्न रूचाउने हुन्छन्। यस्ता ग्राहकहरू कोटेश्वरस्थित रामचन्द्र भवनमा रहेको पसलमा पुग्छन्।
रामचन्द्र भवनमा सदीक्षाका बुबाको व्यवसाय छ। त्यही भवनको एक छेउमा एभन लेदर्सको स्टोर छ। त्यहिँ सानो पसल छ।
'अहिले व्यवस्थित आउटलेट चलाएका छैनौं। यो खासमा स्टोर हो। यही ग्राहकले हेरेर किन्ने व्यवस्था मिलाएका छौं,' उनले भनिन्, 'उपयुक्त ठाउँ हेरेर छिट्टै व्यवस्थित आउटलेट चलाउने योजना छ। धेरै ग्राहकले यस्तै सल्लाह दिनुभएको छ।'
सदीक्षा छालाका अन्य सामान पनि उत्पादन गर्ने योजनामा छिन्। जुत्ता र ज्याकेटमा उनको रूचि छ।
'एभन लेदर्स ब्रान्डको रूपमा विस्तार गर्दै नयाँ उत्पादन पनि थप्छौं। बजारको सकारात्मक प्रतिक्रियाले व्यवसाय विस्तार गर्न प्रोत्साहन मिलेको छ,' उनले भनिन्।
त्यस्तै एभन लेदर्स ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनको लक्ष्य हो।
'नेपाली ब्रान्ड प्रवर्द्धनका लागि व्यवसायीहरू सक्रिय हुनुपर्छ,' उनी भन्छिन्, 'बजारको माग अध्ययन गरेर केही न केही नयाँ व्यवसाय सुरू गर्न सकिन्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(एभन लेदर्सको इन्स्टाग्राममा जान यहाँ र वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)