ललितपुरको पाटन ट्यागल टोलमा साँघुरा गल्लीहरू छन्। गल्लीभित्र नेपाली संस्कृति झल्काउने पुराना घरहरू छन्। तिनै घरभित्र नेपाललाई विश्व बजारमा चिनाउने सामग्रीहरू बन्छन्।
यस्ता सामग्री बनाउने धेरै कम्पनीमध्ये एक हो 'सिस्टर्स क्रिएसन्स'।
तीन दशकअघि सुरू भएको यो कम्पनीले मकैको खोस्टाबाट नेपाली संस्कृति झल्काउने 'पुतली मान्छे' बनाउँछ। मकैको खोस्टाबाटै जनावरहरूको आकृति, बस्ने चकटी, सामान राख्ने ढाकी, साँचो झुन्ड्याउने किरिङ, फूलगुच्छा जस्ता सजावटका सामान पनि बनाउँछ। यसका उत्पादन धेरैजसो उपहार र रेस्टुरेन्टहरूमा सजावटका लागि प्रयोग हुन्छन्। विदेशमा निर्यात पनि हुन्छ।
सामान्यतया मकैको खोस्टा वस्तुभाउको खाना हो। वस्तुभाउ नभएको ठाउँमा खेर जान्छ। सहरी क्षेत्रमा 'फोहोर' मा फालिन्छ।
सिस्टर क्रिएसन्सकी सञ्चालक लक्ष्मी नकर्मी भन्छिन्, 'मलाई सानै उमेरदेखि खेर जाने र फोहोरमा गनिने चिजहरू व्यवस्थित गर्न सकिन्छ भन्ने लाग्थ्यो। त्यही सोचबाट सिस्टर्स क्रिएसन्स सुरू भएको हो। हाम्रो सामानले नेपालसँगै विदेशमा पनि उपस्थिति जनाएको छ।'
यहाँ दुई सय रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म पर्ने सामग्री पाइन्छ।
सिस्टर्स क्रिएसन्समा आठ जना महिला काम गर्छन्। तीमध्ये सात जना बोल्न र सुन्न सक्दैनन्। एक जना ७० वर्ष उमेर कटेकी छन्। प्रारम्भिक दिनमा लक्ष्मीलाई उनीहरूसँग संवाद गर्न कठिन हुन्थ्यो। बिस्तारै उनीहरूबाटै सिक्दै संवाद गर्न सक्ने भइन्।
'मैले कान नसुन्ने र बोल्न नसक्ने महिलाहरूलाई ल्याएर काम सिकाएँ। उनीहरू लामो समयदेखि काममा छन्। आर्जन पनि राम्रो छ,' उनले भनिन्।
लक्ष्मीका अनुसार सबै सामग्री सुकेको खोस्टाबाट बन्छ। हरियो खोस्टा हेर्दा राम्रो देखिए पनि दिगो हुँदैन। बिस्तारै ढुसी लाग्छ। सुकेको खोस्टाको सामान बलियो हुन्छ।
पुतली बनाउन सुरूमा सुकेको खोस्टा पानीमा भिजाएर नरम बनाइन्छ। भिजेको खोस्टा कसिलो गरी गोलो पार्दै र बेर्दै टाउको बनाइन्छ। त्यसपछि शरीर र हातखुट्टा बनाइन्छ। अनुहार, हात र खुट्टामा भागमा आवश्यकता अनुसार काठको पाउडर लगाइन्छ। यसरी बनाइएका पुतली मान्छे एक इन्चदेखि ३६ इन्चसम्म लामा हुन्छन्।
पुतली मान्छेलाई नेपालको पहिचान झल्काउने गरी जातीय पोसाक लगाइदिइएको हुन्छ। तामाङ, नेवार, गुरूङ, मगर, राई, लिम्बू, थारू, शेर्पा, राउटे आदि अनेक जातिका पोसाक हुन्छन्। सिस्टर्स क्रिएसन्सले जीवित देवी मानिने कुमारी, झाँक्री र बुद्धको आकृति र तिनका पोसाकमा पनि पुतली बनाएको छ। त्यस्तै पश्चिमी मुलुकमा प्रख्यात 'एन्जल' र 'सान्टा-क्लस' पनि बनाउँछ।
अब नेपालका १२५ जातजातिका पोसाक लगाएका पुतली बनाउने तयारीमा रहेकी लक्ष्मी भन्छिन्, 'करिब एक वर्षदेखि अध्ययन गर्दैछौं। सबै जातीय पोसाकको विवरण पाएका छैनौं, खोजी गर्दैछौं।'
उनी विद्यालय, होटल, रेस्टुरेन्ट र धेरै मानिसको आवतजावत हुने ठाउँमा नेपालका सबै जातजाति झल्काउने नमूना पुतली मान्छे राख्न चाहन्छिन्। केही विद्यालयले यसमा रूचि देखाएका छन्।
'नयाँ पुस्ताले आफ्नो जातीय पोसाक बिर्सिँदै गएको छ,' उनले भनिन्, 'नेपालका सबै जातजातिको पोसाक लगाएका नमूना बनाएर देखाउँदा एकै ठाउँबाट सबैका पोसाकको ज्ञान हुन्छ।'
पोसाक भन्नाले लुगा मात्रै होइन, गरगहनामा पनि विशेष ध्यान दिइएको लक्ष्मीको भनाइ छ। यसबाट नेपाल अन्तर्राष्ट्रिय समाजमा चिनिने उनको विश्वास छ।
लक्ष्मी ५० वर्षकी भइन्। उमेर ढल्किएको भने पत्तै नभएको उनी बताउँछिन्।
'मलाई काम गर्न रमाइलो लाग्छ। काममा भुल्दा समय बितेको थाहा पाउँदिनँ,' उनले भनिन्।
काम सुरू गर्दा उनी किशोरावस्थामै थिइन्।
१५–१६ वर्षकी स्कुले विद्यार्थी हुँदा पत्रपत्रिका पढ्ने बानी थियो। म्यागजिन अलिक बढी पढ्थिन्। ब्रिटिस काउन्सिलको पुस्तकालय जान्थिन्। त्यहाँको सदस्यता कार्ड बनाएकी थिइन्। एक पटकको कुरा, इसाई धर्मावलम्बीको चाड क्रिसमस नजिकिँदै थियो। एउटा म्यागजिनमा क्रिसमससम्बन्धी लेख र चित्रहरू छापिएका थिए।
उनका अनुसार त्यो उत्तर अमेरिकातिरको एउटा म्यागजिन थियो। त्यसमा मकैको खोस्टाले बनाएको सान्टा-क्लसको तस्बिर थियो।
करिब साढे तीन दशकअघिको घटना सम्झिँदै उनले भनिन्, 'धेरै विवरण थिएन तर मकैको खोस्टाबाट बनेको हो भन्ने लेखिएको थियो।'
मकैको खोस्टाबाट बनेको आकृतिको फोटोले लक्ष्मीको ध्यान तान्यो। त्यही बेला उनले म पनि यस्तै बनाउँछु भन्ने अठोट गरिन्। खोस्टा खोजिन्। नरम बनाउन पानीमा भिजाइन्। नरम भएपछि लम्बाइतिरबाट मसिनो आकारमा टुक्रा पारेर मानव आकृति बनाउने अभ्यास गरिन्।
धेरै पटकको प्रयासमा खोस्टाको पुतली मान्छे बन्यो। रङ लगाएर नेपाली पहिरन लगाएको जस्तो बनाइन्। त्यो पुतली मान्छे घरमा सबैलाई देखाइन्। आमाबुबा र दिदीबहिनीहरू खुसी भए। साथीहरूलाई पनि देखाइन्। सबैले राम्रो भने।
उनी खोस्टा खोज्दै पुतली मान्छे बनाउन थालिन्। सबैको आकार र आकृति एउटै हुन्थ्यो तर पहिरन फरक पार्थिन्।
'पहिलो पुतली बनाउँदै सबैले राम्रो भनेकाले मेरो हौसला बढ्यो,' उनले भनिन्, 'एउटा एउटा गर्दै धेरै वटा बनाएँ। घरमा सजाउन राखेँ। साथीहरूलाई उपहार दिएँ।'
रहरै रहरमा उनले फाटफुट रूपमा पुतली बनाइरहिन्। पाटन क्याम्पसबाट २०५१ सालमा आइए सकेपछि कला विषयमा स्नातक पढिन्। एक दिन साथीले तिमीले बनाएको पुतली किन्छु भनिन्। किन्छु भनेको सुनेर लक्ष्मी छक्क परिन्।
'म त साथीलाई उपहार दिन चाहन्थेँ तर उनले तिम्रो मेहनत परेको छ, म किन्छु भनिन्। एउटा पुतली लिएर २५ रूपैयाँ दिइन्,' त्यो दिन सम्झिँदै उनले भनिन्, 'मेरो पहिलो कमाइ त्यही थियो। साह्रै खुसी भएँ।'
साथीले त्यसरी किनेपछि लक्ष्मीलाई खोस्टाको पुतलीबाट पैसा कमाउन सकिन्छ कि जस्तो लाग्यो। आफ्नो सीपलाई व्यावसायिक बनाउने सोचेर व्यवसाय सुरू गरिन्। उनका दिदीबहिनीले पनि सहयोग गर्ने भए।
चार दिदीबहिनी मिलेर सुरू गरेको सिर्जनात्मक व्यवसायको नाम 'सिस्टर्स क्रिएसन्स' रह्यो। अंग्रेजी शब्द 'सिस्टर्स' अर्थात् 'दिदीबहिनी' र 'क्रिएसन्स' अर्थात 'सिर्जना'।
उनीहरूले विभिन्न जातीय पोसाकमा पुतली मान्छे बनाउन थाले। पुतली बजार पुर्याउन लक्ष्मीले ललितपुरका धेरै पसल चहारिन्। कुपन्डोलमा 'कलामन्दिर' नामको एउटा पसलमा हस्तकला सामग्रीको व्यापार हुन्थ्यो। लक्ष्मीले कुरा गरिन्, आफ्नो सामान देखाइन्। कलामन्दिरका सञ्चालकलाई चित्त बुझ्यो। उनले एकैपटक १० हजार रूपैयाँको सामग्री अर्डर गरे।
'त्यो अर्डरले म धेरै नै खुसी भएँ। तीस वर्षअघि १० हजार रूपैयाँ निकै महत्त्वको थियो,' उनले भनिन्।
यसपछि लक्ष्मी उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विकास समिति, नेपाल हस्तकला महासंघ लगायत सरकारी र निजी क्षेत्रबाट आयोजित प्रदर्शनीहरूमा सहभागी हुन थालिन्। प्रदर्शनीमा आगन्तुकले ती पुतलीलाई कागजको भन्ठान्थे। मकैको खोस्टाको हो भनेपछि अचम्म मान्थे र ओल्टाइ पल्टाइ हेर्थे। कतिपयले प्रदर्शनीमै किन्थे।
प्रदर्शनीहरूबाट सिस्टर्स क्रिएसन्स व्यवसायी र क्रेताहरूमाझ चिनिँदै गयो। कहिलेकाहीँ प्रदर्शनीमा सम्मानित पनि भयो। लक्ष्मीमा ऊर्जा थपिँदै गयो। व्यवसाय बढ्दै जाँदा लक्ष्मी २०६१ सालमा 'ग्लोबल मार्केट दुबई' मा सहभागी हुन गइन्। त्यो नै उनको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी थियो। त्यसअघि एकपटक प्रशिक्षणका लागि भारत गएकी थिइन्।
लक्ष्मी प्रशिक्षण पनि दिन्छिन्। गाउँमा प्रशस्त पाइने मकैको खोस्टाबाट गाउँकै महिलाको आर्जन बढाउन सकिने उनको विश्वास छ। स्थानीय तह र केही संस्थासँगको सहकार्यमा धेरै वटा जिल्ला पुगेर तालिम दिइसकिन्।
लक्ष्मी अहिले एक्लै कम्पनी चलाउँछिन्। उनका दिदीबहिनी आआफ्ना कामले व्यवसायबाट अलग भइसके।
तीन दशकको व्यवसाय यात्रामा चुनौती पनि आए। राजनीतिक अस्थिरता, नाकाबन्दी, कोरोना महामारी र लकडाउन, आर्थिक मन्दी जस्ता अनेक संकट भए पनि लक्ष्मी पछि हटिनन्।
'आत्मबल भए जस्तोसुकै परिस्थिति सामना गर्न सकिन्छ भन्ने लाग्छ। लकडाउनको समयमा पनि काम र अर्डर रोकिएन,' उनले भनिन्।
लकडाउकै बेला अन्तर्राष्ट्रिय उडान बन्द भएर एक इटालियन जोडी नेपालमा रोकिएको थियो। उनीहरूले सिस्टर्स क्रिएसन्समा पुतली बनाउन सिके। कुरैकुरामा उनीहरूलाई लक्ष्मीले आफूलाई नेपाली परिकारको एउटा क्याफे चलाउन मन लागेको सुनाएकी थिइन्। इटाली फर्केपछि त्यो जोडीले उनलाई आर्थिक सहयोग गर्यो। लक्ष्मीले सिस्टर्स क्रिएसन्स भएकै घरको भुइँ तलामा एउटा सानो क्याफे खोलिन्।
चाहिएजति समय दिन नपाउँदा क्याफे सोचेजसरी चलेको भने छैन। यसलाई अझ व्यवस्थित गरेर अघि बढ्ने योजना उनले बनाएकी छन्।'
तर क्याफे मेरो रहर हो,' लक्ष्मीले भनिन्, 'सिस्टर्स क्रिएसन्स भने मेरो सबथोक हो। मेरो आजसम्मको उमेर यसमै लागेको छ। अबको समय पनि यसैमा समर्पित छ। यो आम्दानीको व्यवसाय त हुँदै हो, सँगै नेपाली संस्कृति र वेशभूषा चिनाउने माध्यम पनि हो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी