विद्यार्थी जीवनमा धेरै साथीहरू भेटिन्छन्। पढाइ पूरा भएपछि सबै आ-आफ्नै यात्रामा अघि बढ्छन्। कतिपयको मित्रता भने संयुक्त यात्राको सारथि भइदिन्छ।
काठमाडौंका सायशा लुइँटेल र रेश्मा सञ्जेल यस्तै साथी हुन्। उनीहरू अहिले व्यवसायको एउटै यात्रामा छन्।
कलेज पढ्दा बनेको मित्रताले उनीहरूलाई उद्यमी बनाएको छ। अहिले नेपालमै जुत्ता र चप्पल व्यवसायमा उनीहरूको सहकार्य छ। 'यात्रा' नामको आफ्नै ब्रान्ड बनाएका छन्।
सायशाका अनुसार यात्रा ब्रान्डले महिलाका लागि क्याजुअल जुत्ताचप्पल उत्पादन गर्छ।
'अफिसमा काम गर्ने महिलाका लागि क्याजुअल जुत्ताचप्पल पाउन मुस्किल पर्छ। पाइएका पनि धेरै जसो एकै डिजाइनका हुन्छन्,' उनले भनिन्, 'यही अवस्था विचार गरेर हामी यात्रा लिएर आएका हौं।'
उनीहरूले सन् २०२२ अप्रिलमा 'यात्रा इन्टरप्राइजेज प्रालि' दर्ता गराएर जुत्ताचप्पलको व्यवसाय सुरू गरेका हुन्। जम्मा एउटा डिजाइनबाट उत्पादन थालेका थिए। बितेको बीस महिनामा ६० भन्दा बढी डिजाइनमा काम गरिसकेका छन्।
'हामीले नयाँनयाँ डिजाइनमा आकर्षक जुत्ताचप्पल बनायौं। हाम्रो हरेक डिजाइन बजारले रूचाएको छ,' रेश्माले भनिन्, 'बजारबाट हामी उत्साहित छौं। बजारबाटै पनि डिजाइको सुझाव पाउँछौं।'
यात्राका जुत्ताचप्पल लेदर र सिन्थेटिक रेगजिनबाट बन्छन्। मुख्य गरी हिल र फ्ल्याट हुन्छन् अर्थात् हिल भएको र नभएको। अफिस जाँदा लगाउने प्रयोजनका लागि सामान्य हिल राखेर बनाउँछन्। यस्तो जुत्ताचप्पल लगाउन सजिलो हुने उनीहरू बताउँछन्।
'यात्राको जुत्ताचप्पलमा डबल प्याडेड (दुई तहको) इनसोल राखिएको हुन्छ। यसले गर्दा दिनभर लगाएर हिँड्दा खुट्टा दुखाउँदैन,' सायशाले भनिन्, 'सजिलो र बलियो बनाउनमा कुनै सम्झौता गर्दैनौं। गुणस्तरमा कुनै कमी हुँदैन।'
हाल यात्रामा १५ सयदेखि २४ सय रूपैयाँसम्मका जुत्ताचप्पल पाइन्छ। त्यसमा प्रयोग भएको सामग्रीका आधारमा मूल्य तय हुन्छ।
'सामानको उपयोगिताका हिसाबले हामीले राखेको मूल्य निकै किफायती हो। महँगो छैन,' सायशाले भनिन्।
यात्राले हाल फ्ल्याटमा दैनिक १३० जोरसम्म र हिलमा ४० जोरसम्म जुत्ताचप्पल उत्पादन गर्दै छ। डिजाइन सामान्यतया युवा र प्रौढा उपभोक्ताका लागि लक्षित छ।
यात्रा ब्रान्डका जुत्ताचप्पल काठमाडौं उपत्यकासँगै पोखरा, बुटवल, भरतपुर, इटहरी, विराटनगर, भैरहवा लगायत अन्य केही ठाउँमा पुगेको छ। विदेशमा बस्ने नेपाली महिलाहरूको रूचि बढेको छ। कोही नेपाल अएका समयमा किन्छन् त कोही विदेश जाने बेलामा किन्छन्।
बालबालिकाका लागि पनि अर्डर आउने गरेको छ तर यात्राले त्यस्तो उत्पादन गरेको छैन।
'अहिले हामीले बालबालिकाका लागि सोचेका छैनौं। बरू बिस्तारै महिला र पुरूषका लागि स्पोर्ट्स जुत्ता ल्याउने योजना छ,' उनले भनिन्।
यात्रा इन्टरप्राइजेज प्रालिमा सायशा र रेश्माबाहेक १२ जनाले रोजगारी पाएका छन्।
हालसम्म यात्रा ब्रान्डका जुत्ताचप्पलको बिक्रीको माध्यम अनलाइन नै हो। काठमाडौं बाहिरका लागि होलसेल व्यवसायीले लैजान्छन्। काठमाडौंमा चाँडै पसल (शो-रूम) खोल्ने तयारी हुँदैछ।
सायशा र रेश्माले एक वर्षअघि नेपाली ब्रान्डको झोला (ह्यान्ड-ब्याग) पनि बजारमा ल्याएका छन्। ब्यागको ब्रान्ड नाम 'जुनो' हो।
'जुनोको अर्थ शक्तिशाली महिला भन्ने हो। महिलाले बोक्ने भएकाले हामीले जुनो नाम जुराएका हौं,' सायशाले भनिन्।
जुनो उत्पादन गर्ने कम्पनी पनि यात्रा इन्टरप्राइजेज प्रालि नै हो। रेश्माका अनुसार ब्याग उत्पादनका लागि सुरूमा साढे तीन लाख रूपैयाँ लगानी गरेका हुन्। लेदरको वालेट, बेल्ट, अफिसियल ब्याग, ल्यापटप ब्याग थप्दै जाने उनीहरूको योजना छ।
यसरी एक साथ दुइटा ब्रान्ड चलाइरहेका सायशा र रेश्मा दुबै २४ वर्ष उमेरका छन्। संयुक्त रूपमा सुरू गरेको व्यवसायले उनीहरू खुसी छन्, उत्साहित पनि छन्।
काठमाडौंमै जन्मे-हुर्केका यी युवा व्यवसायीको भेट स्नातक तह (बिबिए) पढ्ने क्रममा भएको हो। सहपाठीका रूपमा उनीहरू घनिष्ठ भए।
पढाइको अन्तिम वर्ष चलिरहँदा कोरोना महामारीले लकडाउन भयो। उनीहरू घरमै थन्किए।
'कलेज जानु थिएन। आपसी भेट पनि बन्द भयो। हामी भर्चुअल कुराकानीमा जोडियौं,' सायशाले भनिन्, 'पढाइ रोकिएको समयमा दुबै जना मिलेर केही व्यवसाय गरौं भन्ने योजना बनाउन थाल्यौं।'
व्यवसाय त गर्ने तर के? दुबैतिरका परिवारमा नाफामूलक व्यवसायको अनुभव थिएन। उनीहरूले घरमै बसेर व्यवसायका अनेक आइडिया खोजी गरे। उनीहरूलाई सानो लगानीमा व्यवसाय सुरू गर्नु थियो। बजारमा बिक्री हुने उत्पादन चाहिएको थियो।
धेरै दिनको मन्थनपछि अन्ततः उनीहरू महिलाका लागि जुत्ताचप्पल उत्पादन गर्ने र बजार पुर्याउने टुंगोमा पुगे।
जुत्ताचप्पलका डिजाइन, कच्चा सामग्री, गुणस्तर र उत्पादन प्रविधिबारे खोजी गरे। फुटपाथ र ठूला महल डुले। अनेक कारखाना धाए। काम गर्ने हिम्मत आयो। सानै लगानीमा पनि उत्पादन गरेर बजार प्रवेश गर्न सकिन्छ भन्ने विश्वास पलायो।
उनीहरूले चाबहिलको एक कारखानासँग सम्झौता गरे। दुबै मिलेर ५ लाख रूपैयाँ जुटाएर काम थाले।
सन् २०२२ को अप्रिलमा तीन फरक रङमा एकै डिजाइनका पाँच सय जोर जुत्ताचप्पल उत्पादन गरे। तीन महिनामा सबै बिक्री भयो। प्रतिक्रिया राम्रो आयो। अर्डर बढ्यो। डेलिभरी कम्पनीहरूसँग सहकार्य गरे। क्रमशः व्यापार बढ्दै गयो। ग्राहकको प्रतिक्रिया र सल्लाहअनुसार डिजाइन परिमार्जन गर्दै र नयाँ थप्दै अघि बढे।
बजारमा माग बढेसँगै उनीहरूले उत्पादन बढाएका छन्। फुटवेयर कम्पनीका रूपमा यात्रा ब्रान्ड स्थापित गर्ने लक्ष्य लिएका छन्।
'हामी ठूला कम्पनी र स्थापित ब्रान्डसँग प्रतिस्पर्धामा छैनौं। आफ्नै ब्रान्ड स्थापित गरेर चिनाउने अभियानमा छौं,' उनीहरू भन्छन्, 'हामीले यात्रा सुजको यात्रा निकै लामो देखेका छौं र यात्रा सफल बनाउने अठोटका साथ अघि बढेका छौं।'
(यात्रा सुजको इन्स्टाग्रामका लागि यहाँ र जुनो ब्यागको इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्)