गाउँघरमा मकै, गहुँ, जौ, चना, भटमास इत्यादि भुटेर सातु बनाउने अनि चिया, दूध वा पानीमा घोलेर खाने–खुवाउने चलन छ। सातुको जाउलो बनाएर पनि खाइन्छ। यस्तो सातु स्वस्थकर र शक्तिवर्द्धक मानिन्छ।
तर पछिल्लो समय सातुको ठाउँ बिस्कुट, चाउचाउ, पाउरोटी जस्ता तयारी खानाले लिन थालेको छ। सातुले दिने पोषण आधुनिक तयारी खानाले नदिने पोषणविदहरूले बताउँदै आएका छन्।
यही तथ्य बुझाउँदै मौलिक खाजा सातु पुनरूत्थान गर्न लागिपरेका छन् पोखराका २५ वर्षीय पृथ्वीकल्याण पराजुली।
उनी पोषणविद भने होइनन्, ब्रान्डिङ र मार्केटिङका विद्यार्थी हुन्। पोसिलो फुड्स प्रडक्ट्स प्रालि दर्ता गरेर सातुको ब्रान्डिङ र मार्केटिङमा लागेका छन्।
'हामीले उत्पादन गर्ने सातुको ब्रान्ड नाम पनि सातु नै हो। चार प्रकारको सातु बजारमा पुर्याइरहेका छौं,' पृथ्वीले भने।
बालबालिका र वृद्धका लागि मल्टिग्रेन सातु छ। वयस्कका लागि नट्टी डिलाइट, गर्भवतीका लागि प्रोटिन प्लस र खेलाडीका लागि न्युट्री प्लस पाइन्छ।
मल्टिग्रेन गहुँ, मकै, चना, भटमास र डेट्स (छोगडा) प्रशोधन गरेर बनाइएको हुन्छ। नट्टी डिलाइटमा गहुँ, मकै, चना, भटमास, डेट्स, आलमन्ड (भारतीय बदाम), आलस र बदाम हुन्छ। प्रोटिन प्लसमा चना, भटमास, बदाम, आलमन्ड र डेट्स हुन्छ।
न्युट्री प्लस यो कम्पनीको विशेष उत्पादन अर्थात् 'सिग्नेचर प्रडक्ट' हो। यो चना, भटमास, आलमन्ड, फर्सीको बियाँ, आलस, ओखर, डेट्स, तिल र खर्बुजाको बियाँबाट बनाइन्छ।
'यी कुनै पनि सातुमा चिनी र कृत्रिम स्वाद मिसाइएको हुँदैन। बरू दूधको पाउडर मिसाइएको हुन्छ,' पृथ्वीले भने, 'पोसिलोको सातु गुलियो र मिठो बनाउन चिनी र कृत्रिम स्वाद मिसाउँदैनौं। स्वाद प्राकृतिक हुन्छ।'
सातु पानीमा सिधै घोलेर वा दूध, दही र फलफूलसँग खाँदा हुन्छ। अमिलो फलफूल उपयुक्त हुँदैन। एक पटकमा ५० ग्राम सातु खानु उचित हुन्छ। सामान्यतया पोसिलो फुड्सको सातु उत्पादन मितिले एक वर्षसम्म खान मिल्छ। प्याकेट खोलेपछि भने ४५ दिनभित्र खाइसक्नु राम्रो हुन्छ।
हाल ४०० ग्राम, ७५० ग्राम र एक हजार ८०० ग्रामसम्मको प्याकेजिङमा सातु उपलब्ध छ। मूल्य १६० रूपैयाँदेखि एक हजार आठ सय रूपैयाँसम्म छ।
पृथ्वीका अनुसार पोसिलो फुड्सको सातु फिटनेस क्षेत्रका व्यक्तिले धेरै रूचाएका छन्। ग्राहक पनि यही क्षेत्रका बढी छन्।
'सातु बिर्सिँदै गएको पुस्तामा पनि यसप्रति रूचि बढेको छ। युवा पुस्ताले सातुको फाइदा थाहा पाएको छ,' उनले भने, 'मौलिक खानामध्ये सातु पुनरूत्थान गर्न सकेकोमा खुसी लागेको छ।'
पृथ्वीले काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट इन्टरनेसनल बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक तहको पढाइ पूरा गरेका छन्। सातौं सेमेस्टरमा छँदा पढाइकै सिलसिलामा २०७६ सालमा उनी थाइल्यान्ड पुगेका थिए। उनले त्यहाँको बजार अवलोकन गर्दा रैथाने उत्पादनलाई प्राथमिकता दिएको देखे।
'थाइल्यान्डमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरिँदो रहेछ। त्यहाँ त स्थानीय उत्पादन केन्द्रित बजार नै हुँदो रहेछ,' उनले भने, 'मैले नेपालमा पनि स्थानीय उत्पादनको बजार हुन सक्ने सम्भावना देखेँ र अवधारणा बन्यो।'
उनी ६ महिना थ्याइल्यान्ड बसे। फर्केपछि मौलिक नेपाली उत्पादन र त्यसको ब्रान्डिङको सम्भावना खोजी गरे। उनी उपयुक्त किसिमको मौलिक परिकारको खोजीमा थिए। त्यही समय कोरोना फैलियो र लकडाउन भयो। लकडाउनमा उनले अनलाइन बजार अध्ययन गरे। रूचिका आधारमा खाद्यसम्बन्धी व्यवसाय रोजे।
लकडाउनपछि उनी गृहजिल्ला पोखरा फर्के। त्यहाँ आसपासका गाउँ घुमे। रैथाने अन्न र परिकार पहिचान गरे। कृषि विशेषज्ञ, पोषणविद र खाद्य विशेषज्ञहरू भेटे। मौलिक र पोसिलो खाद्य वस्तुबारे छलफल गरे।
त्यही क्रममा पोषणविद सुशील पराजुलीसँग भेट भयो। सुशीललाई पृथ्वीको व्यावसायिक अवधारण रोचक लाग्यो। उनीहरू सहकार्यमा अघि बढे।
'सुरूमा नेपालका विभिन्न ठाउँमा पाइने अन्न र जडिबुटी अलिक फराकिलो सहरी बजारमा पुर्याउने योजना बनायौं,' पृथ्वीले भने।
उनीहरूले जम्मा पाँच लाख रूपैयाँ लगानीमा काम थाले। २०७७ माघमा कम्पनी दर्ता भयो। हिमाली भेगको स्याउ, सिमी, दाल, भटमास, फापर; पहाडी भेगको गहुँ, जौ, तोरी; तराईको गहुँ, दाल, मकै जस्ता विभिन्न अन्न प्याकेजिङ गरेर बजार पुर्याउन थाले। स्थानीय तरिकामा उत्पादन हुने सातु, सुकेको च्याउ र सिस्नोको धूलो पनि बेचे।
हाल बजार लगायतका कम्पनी व्यवस्थापनको काम पृथ्वीले सम्हालेका छन्। उत्पादनको काम सुशीलको जिम्मामा छ।
पृथ्वीलाई रैथाने परिकारले लोभ्याउँछ। कुनै नयाँ ठाउँ पुग्दा उनी त्यहाँको रैथाने परिकार खोजी गर्छन्, खान्छन्।
'म जहाँ जाँदा पनि सुरूमा त्यो ठाउँको विशेष र मौलिक परिकार खोज्छु। यस्तो खानामा अलग्गै स्वाद हुन्छ,' उनले भने, 'आफ्नो रूचि अनुसारको काम खोज्दै जाँदा पोसिलो फुड्स सुरू भयो।'
पोसिलो फुड्सले स्थानीय अन्नहरू पनि बेच्छ। तर मानिसहरूको चासो सातुमै देखियो। यो चासोले उनीहरू उत्साहित भए। सातुको ब्रान्ड बनाएर अघि बढ्ने सोचे।
बजार र विदेशबाट आउने सातुजस्ता खाद्यबारे अध्ययन गरे। अन्ततः आपसी सल्लाहमा पृथ्वी र सुशील सातुलाई नै कम्पनीको ब्रान्ड बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका हुन्।
'हामी पोषणले भरिपूर्ण र विभिन्न उमेर समूहका लागि आवश्यक मात्रा मिलेको नेपाली सातुको ब्रान्ड बनाउने निर्णयमा पुग्यौं,' उनले भने।
दुई वर्षअघि उनीहरूले 'सातु' ब्रान्ड नाम राखेर काम थाले। हालसम्म बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताए।
धेरैले सातुलाई 'सप्लिमेन्टरी फुड' अर्थात् 'पूरक खाद्य' मान्ने पृथ्वीको अनुभव छ। सप्लिमेन्टरी फुड भन्नाले शरीरलाई आवश्यक कुनै पोषण तत्व नपुग्दा त्यसको आपूर्तिका लागि खाइने अतिरिक्त खाना हो।
उनी भने सातुलाई पूरक खाद्य होइन, पूर्ण पोषक खाद्य मान्छन्।
उनका अनुसार नेपालीहरूका लागि सातु पूर्ण खाना हो। हामीभन्दा पहिलेको पुस्तासम्म यस्तै चलन थियो। खाजा पनि सातुकै हुन्थ्यो। त्यसैले त्यही सातु अझ पोसिलो बनाएर ल्याएको उनले बताए।
कारखाना स्थापना, सातु बनाउने सामग्री व्यवस्थापन, सातु परीक्षण, किसान र डिलरहरूसँग सहकार्य लगायत काम पूरा गरेर सातु बजारमा पुर्याउन करिब एक वर्ष लाग्यो। मागअनुसार सातु विभिन्न डिलरमार्फत काठमाडौं उपत्यका, चितवन, झापा, सुनसरी लगायतमा पुग्छ। सेल्सबेरी, डिजी मार्ट, बिग मार्ट, लगायत स्टोरबाट र दराज अनलाइनबाट किन्न सकिन्छ।
दुई जना कर्मचारी राखेर सुरू भएको कम्पनीमा हाल २० जना कर्मचारी छन्। पोखराको पोखराबेसीमा रहेको कारखानाबाट दैनिक सरदर तीन सय केजी सातु उत्पादन हुन्छ। यसको कार्यालय ललितपुरमा पनि छ। काठमाडौं उपत्यकाबाट नेपालभर पुग्न र सम्बन्ध विस्तार गर्न सहज हुने भएकाले यहाँ कार्यालय राखिएको हो।
भविष्यमा सातुका प्रकार थप्ने र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य छ।
'नेपालमा व्यवसाय गर्न इच्छुकका लागि धेरै अवसर छन्। बजार अध्ययन गरेर योजनाबद्ध ढंगले अघि बढ्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ,' उनले भने।
(सातुको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)