मकै र कोदोका विभिन्न परिकार खानुभएको होला। तर के नाचोज खानुभएको छ?
खानुभएको छैन भने नेपालमै बनेको 'स्माइल नाचोज' पाइन्छ।
'स्माइल नाचोज एन्ड सेमिफ्रेडो' कम्पनीले मकै र कोदोको नाचोज बनाउँछ। नाचोज मेक्सिकन परिकार हो जो संसारभर स्न्याक्स (खाजा) का रूपमा प्रचलित छ। नेपालका सिनेमा हलहरूमा नाचोज निकै चल्तीमा छ। रेस्टुरेन्टका मेनुमा पनि प्रशस्तै देखिन थालेको छ।
नाचोज चिप्स जसरी सिधै खान सकिन्छ। फलफूल तथा गोलभेँडा, प्याज, चिज, सससँग पनि खान सकिन्छ।
'नाचोज क्रिस्पी र स्वादिलो हुन्छ। सस र फलफूलसँग झन् मिठो हुन्छ। सबै उमेर समूहले रूचाउने स्वस्थकर खाना हो। धेरैको खाजाको विकल्प भएको छ,' कम्पनीका सञ्चालक गौरव डंगोलले भने।
पानीमा केही खास मसला हालेर मकै/कोदो पिठो मुछिन्छ र प्रायः त्रिकोण आकारमा चिप्स जस्तो टुक्रा पारिन्छ। त्यसलाई तेलमा पकाएपछि नाचोज तयार हुन्छ। तेलमा तारेर बनाउने भएकाले स्वस्थकर हुँदैन भन्ने धेरैको धारणा छ। तर गौरव यसमा सहमत छैनन्।
'तेलमा तार्दैमा स्वस्थकर हुँदैन भन्ने होइन। गुणस्तरहीन तेलमा पकाएको र तारेको खाना अस्वस्थकर हुन्छ,' उनले भने।
स्माइल नाचोज शुद्ध सूर्यमुखी तेलमा पकाइने गौरवको भनाइ छ। तारेपछि तेल सोस्ने भाँडामा राखेर मात्रै प्याकिङ हुन्छ। तयार भएको मितिबाट कम्तीमा दुई महिनासम्म खान योग्य हुने उनले बताए।
'बजारमा पाइने नाचोजको म्याद प्रायः ६ महिनादेखि एक वर्षसम्म हुन्छ,' उनले भने, 'हामी कुनै किसिमको प्रिजर्भेटिभ नहाली बनाउँछौं। परीक्षण गर्दा पकाएको मितिले तीन महिनासम्म खान योग्य देखिएको छ। तर हामी दुई महिनाभित्र खान सल्लाह दिन्छौं।'
सुरूआती दिनमा कम्पनीले ग्राहकबाट अर्डर लिएर आफैं डेलिभरी दिन्थ्यो। हाल धेरै जसो होटल र रेस्टुरेन्टका लागि बन्छ। काठमाडौं उपत्यकाका मेरियट होटल, अलफ्ट होटल, आबादा रेस्टुरेन्ट, सिन्डरमिन्ट कफी, त्रिसरा रेस्टुरेन्ट लगायत ५० वटाभन्दा बढी होटल तथा रेस्टुरेन्टमा पाइने गौरवले बताए।
त्यस्तै ललितपुरको मंगलबजारमा सञ्चालित 'ग्यान्भिज इटरी' मा स्माइल नाचोजको आउटलेट छ। यो बिहान ११ बजेदेखि बेलुका साढे आठ बजेसम्म खुला हुन्छ। हरेक शनिबार लबिम मलमा लाग्ने 'स्याटरडे मार्केट' मा पनि खान र किन्न पाइन्छ। १९० ग्राम तौलको प्याकेटको मूल्य दुई सय रूपैयाँ पर्छ।
स्माइल नाचोज मकैभन्दा कोदोको माग धेरै छ। स्याटरडे मार्केटमा गौरव आफू पनि उपस्थित हुन्छन्। यस्तो बजारमा बिक्री हुने ७० प्रतिशत नाचोज कोदोकै हुन्छ।
कम्पनीले मकै तराईका किसानहरूबाट र कोदो लमजुङबाट ल्याउँछ। कम्पनीको उद्देश्य व्यवसायमा स्थानीय उत्पादन जोड्ने हो।
यो कम्पनी गौरव र उनकी साथी सभी राजवहाकले सुरू गरेका हुन्। उनीहरूलाई काममा साथी मनिज महर्जनले पनि सघाउँथे। अहिले गौरव कम्पनी सम्हालिरहेका छन् भने सभी पढाइको सिलसिलामा विदेशमा छिन्।
'सभी र मैले संयुक्त रूपमा सात हजार रूपैयाँ जुटाएर यो व्यवसाय सुरू गरेका हौं,' गौरवले भने, 'पहिलो दिन कोदो र मकैको दुई–दुई किलो पिठोबाट हातैले नाचोज बनाएका थियौं।'
एक वर्षयता स्माइल नाचोजको कारखाना ललितपुरको सुनाकोठीमा छ। यहाँ नाचोज बनाउने केही उपकरण छन् र पाँच जना कर्मचारी काम गर्छन्। यहाँबाट दैनिक ७० किलोग्राम नाचोज तयार हुन्छ।
सात हजार रूपैयाँमा सुरू कम्पनीको वार्षिक कारोबार २५ लाख रूपैयाँसम्मको भएको गौरवले बताए।
पाककलाका सौखिन २५ वर्षीय गौरव सेफ हुन्। ललितपुरस्थित एकेडेमी अफ कलिनरी आर्ट्सबाट स्नातक तह पढाइ पूरा गरेका उनी कुनै होटल वा रेस्टुरेन्टमा आबद्ध नभई आफ्नै व्यवसायमा सक्रिय छन्।
गौरवलाई सानै छँदादेखि खाना पकाउन मनपर्थ्यो। उनको लक्ष्य नै ठूलो होटलमा प्रमुख सेफ बन्ने थियो। पढाइ पूरा हुँदै थियो, कोरोना महामारी फैलियो। यसपछि त उनको बाटो पनि मोडियो।
'कोरोना लकडाउनको समयमा नाचोजको अवधारणा फुर्यो,' उनले सुनाए, 'स्नातक तहको पढाइ पूरा गरेर म घरमै थिएँ। मेरो झुकाव मेक्सिकन परिकारमा भएकाले एक दिन फुर्सदमा नाचोज बनाएँ।'
उनले भारत र दुबईको होटलमा इन्टर्न गर्दा मेक्सिकन परिकार बनाउन सिकेका थिए। त्यो दिन आफैंले पकाएपछि उनी नाचोजबारे बजार बुझ्न थाले। प्रायः ठाउँमा भारतबाटै आउने थाहा पाए। उनले नेपालमै नाचोज बनाउन सकिने बुझे। यो योजना सेफ नै रहेकी साथी सभी र मनिजलाई सुनाए। उनीहरूले गौरवको घरमै बनाएर परीक्षण गरे। उचित ठहरिएपछि केही दिन सडकपेटीमा सहारा लिने मानिसहरूलाई बाँडे।
'लकडाउनका बेला सडकमा धेरै मानिस अलपत्र देखिन्थे। हामी खाना बनाएर उनीहरूलाई बाँड्थ्यौं,' गौरवले भने, 'उनीहरूको अनुहारमा मुस्कान आउँथ्यो। हामी खुसी हुन्थ्यौं।'
मानिसहरूले नाचोज मन पराएपछि व्यवसाय हुन्छ भन्ने पक्का भयो। गौरव र सभीले 'स्माइल नाचोज एन्ड सेमिफ्रेडो' कम्पनी दर्ता गराए। कम्पनीको आदर्श वाक्य 'खुसी बाँडौं' राखे र यही आधारमा ब्रान्ड नाम 'स्माइल नाचोज' रोजे।
यसरी सुरू भएको स्माइल नाचोजले गौरवलाई पनि खुसी दिएको छ। अब उनको योजना नेपालका मुख्य सहरमा व्यवसाय विस्तार गर्दै विदेश निर्यात गर्नु हो।
त्यस्तै कम्पनीको नाममा 'सेमिफ्रेडो' जोडिएको छ। सेमिफ्रेडो भनेको इटालियन आइसक्रिम हो। उनी यसको पनि व्यावसायिक उत्पादनका लागि परीक्षण गर्दै छन्।
आफ्नो व्यवसायमा सन्तुष्ट २५ वर्षे गौरव भन्छन्, 'आफ्नै व्यवसाय गर्छु भन्ने थिएन। म त स्वदेश वा विदेशको कुनै होटलमा सेफ हुन्थेँ होला। जुन उमेरमा पुग्दा जति उपलब्धि गर्छु भन्ने सोचेको थिएँ, त्योभन्दा बढी नै भएको छ भन्ने लागेको छ।'
(स्माइल नाचोजको फेसबुक पेजका लागि यहाँ र इन्स्टाग्राम पेजका लागि यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)