अनुभव र अठोटले नै हो रहेछ मान्छेलाई कर्म क्षेत्रमा अघि बढाउने। काठमाडौंका ४३ वर्षीय नीलन महतको व्यावसायिक जीवनले यसै भन्छ।
खाद्य वस्तु, कस्मेटिक, मोबाइल फोन लगायत थुप्रै नाम चलेका ब्रान्डको बजारीकरणमा करिब दुई दशक काम गरेका नीलन अहिले आफ्नै ब्रान्ड चलाइरहेका छन्।
दुई वर्ष भयो, नीलनले नेपाली ब्रान्डमा लुगा बेच्न थालेको। उनको कम्पनीको नाम 'भू क्लोदिङ' हो। उनले आफ्नो ब्रान्डको नाम अंग्रेजी अक्षरमा 'भू' राखेका छन् — बिएचयू। उनको कार्यालय काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुबर्ड मलमा छ।
कम्पनीले वयस्कहरूका लागि क्याजुअल, सेमी क्याजुअल, बिजनेस क्याजुअल र स्मार्ट क्याजुअल लुगा बनाएर बिक्री गर्छ। यी सबै पोसाक पुरूषका लागि हुन्। केही डिजाइन महिलाका लागि पनि छन्।
'आजभोलि कार्यालय जाँदा होस् वा जुनसुकै कार्यक्रममा; धेरैलाई सेमी क्याजुअल पहिरन मन पर्छ,' नीलन भन्छन्, 'यसको बढ्दो लोकप्रियतालाई ध्यान दिएर रोजाइअनुसारको गेटअपका लागि हामीले भू क्लोदिङ ल्याएका हौं।'
उनका अनुसार कम्पनीले मौसमअनुकूल १३ थरीका लुगा बनाएर बिक्री गर्छ। धेरैजसो टिसर्ट, पाइन्ट, हाफ पाइन्ट, कार्गो पाइन्ट, जगर्स, सर्ट, हाफ सर्ट पाइन्छ। जाडो मौसमका लागि ज्याकेट, स्वेटर, हुडी पनि पाइन्छ। लुगाको मूल्य एक हजार २५० रूपैयाँदेखि देखि तीन हजार ५०० रूपैयाँसम्म छ।
नीलन यी लुगा काठमाडौंकै केही गार्मेन्टमा बनाउन दिन्छन्। आवश्यक कपडा गार्मेन्टकै माध्यमबाट जुटाउँछन्।
कम्पनीले बिक्री गर्ने लुगामध्ये बजारमा 'चिनोज' पाइन्ट धेरै रूचाइएको छ।
'हामीले कार्यालय र सभा-सम्मेलनमा पनि लगाउन मिल्ने सेमी क्याजुअल लुगा बेच्ने गरेका छौं,' उनी भन्छन्, 'जुन उमेर समूहलाई टार्गेट गरेका छौं, उहाँहरूको पेसा र कामअनुसार सुहाउने गरी बनाउँछौं। मूल्य पनि किफायती छ। यिनै कारणले हाम्रो लुगा धेरैको रोजाइमा परेको छ।'
भू ब्रान्डले सुरू भएको दुई वर्षमै राम्रो बजार पाएको नीलनको भनाइ छ। काठमाडौं उपत्यकाबाहिरका सहरबाट पनि माग आउने गरेको छ। भू ब्रान्डको वेबसाइट वा सामाजिक सञ्जालका पेजमार्फत् पनि अर्डर गर्न सकिन्छ।
ललितपुरको कुमारीपाटी, काठमाडौंको न्यूरोड र दरबारमार्गमा कम्पनीका लुगा उपलब्ध छन्। काठमाडौंबाहिरका ग्राहकले पनि अनलाइनबाट अर्डर गर्ने सुविधा छ। डेलिभरी गर्ने कम्पनीमार्फत ग्राहकले प्राप्त गर्छन्।
झन्डै दुई दशक जागिरे जीवन बिताएका नीलन कसरी किन आए त लुगाको व्यवसायमा?
खासमा जागिरको अनुभवले नै आफूलाई व्यवसायी बनाएको उनी बताउँछन्।
'जमानाअनुसार मानिसले गेटअप परिवर्तन गरिरहेका छन् तर बजारमा उपयुक्त लुगा पाउन मुश्किल छ,' नीलन भन्छन्, 'जागिरे जीवनमा एउटा अनुभव भयो। आफ्नै ब्रान्ड बनाएर किन काम नगर्ने भनेर धेरै पहिल्यै सोचेको थिएँ। अहिले उपयुक्त समय आएपछि सुरू भयो।'
२०५५ सालमा एक विज्ञापन कम्पनीबाट उनको जागिर सुरू भएको थियो। त्यति बेला उनी स्नातक तहका विद्यार्थी थिए।
विज्ञापनपछि उनी डाबर नेपाल, प्रिज्मा, इमानी हुँदै सामसङसम्म पुगे। नेपालमा यी ब्रान्डका उत्पादनको बजारीकरण गर्ने जिम्मेवारीमा रहेर काम गरे। यसरी पूरा १८ वर्ष काम गरेर २०७३ सालमा जागिरबाट बिदा भए।
'सिक्ने समयमा राम्रो प्लेटफर्म पाएँ। कामको तरिका सिकेँ, बजार थाहा पाएँ,' उनले भने, 'अब अरूको कम्पनीमा होइन, आफ्नै कम्पनी बनाएर काम गर्नुपर्छ भन्ने अठोट लिएर जागिरबाट बिदा भएँ।'
जागिरमा रहँदा साथीहरू धेरै बने। धेरै क्षेत्रका मान्छेसँग घुलमिल भए। काठमाडौंमा उनका एक जना साथीको गार्मेन्ट उद्योग थियो। फुर्सद मिलाएर त्यो गार्मेन्टमा पुगिरहन्थे। उत्पादन र बजारबारे कुरा गर्थे। त्यही क्रममा गार्मेन्टले बनाउने लुगामा उनको रूचि बढ्यो। उनले लुगामै काम गर्ने सोच बनाएर जागिर छाडे।
गार्मेन्ट व्यवसायी तिनै साथीसँग कपडा उद्योग हेर्न र आयातबारे बुझ्न चीन गए। त्यहाँका केही उद्योग अवलोकन गरे। अन्ततः नीलन तिनै साथीको गार्मेन्टमा जोडिए। करिब डेढ वर्ष उत्पादनको काम हेरे।
'मेरा साथी ठूलो परिमाणमा लुगा उत्पादन गर्थे तर ब्रान्ड थिएन,' उनले भने, 'मैले ब्रान्ड बनाउन आग्रह गरेँ तर त्यसो गर्न सकिएन।'
आखिर नीलनले तिनै साथीको गार्मेन्टमा आफ्नो डिजाइनअनुसार लुगा उत्पादन गर्ने र नेपाली ब्रान्ड विकास गर्ने सोच बनाए। यसबारे करिब दुई वर्ष खोज गरे, बजारबारे सूचनाहरू लिए, ग्राहकको रूचि बुझे।
दुई वर्षको अध्ययनपछि उनी एउटा ब्रान्ड बनाएर व्यवसाय गर्ने निष्कर्षमा पुगे। उनले भने, 'लुगा भनेको त जीवनका लागि अत्यावश्यक सामग्री हो। नेपालको बिजनेसमा कपडाको आयात धेरै छ। यस कारण पनि पहिरनमा केही नयाँ दिन सकिने अवसर छ भन्ने निष्कर्षमा पुगेँ।'
स्वदेशी ब्रान्ड बनाउने निष्कर्षमा पुगेपछि उनले उपयुक्त नाम खोजी गरे। उनले आफ्नो ब्रान्डको एउटा सन्देश अर्थात् स्लोगन पनि जुराए – कम्फर्ट फर एभ्री अकेजन।
तोकिएको 'ड्रेस कोड' वा अति औपचारिकबाहेक जुनसुकै अवसरमा लगाउन मिल्ने गरी डिजाइन गर्ने भएकाले उक्त स्लोगन जुराएको उनको भनाइ छ।
नीलन आफ्नो उत्पादनको गुणस्तरमा सचेत छन्। उनका अनुसार 'कम्फर्ट' अर्थात् सहज हुनु भनेको 'क्वालिटी' अर्थात् गुणस्तर हुनु पनि हो। भन्छन्, 'कम्फर्ट हुनु भनेको राम्रो क्वालिटी पनि हुनु हो। राम्रो क्वालिटी नभई कम्फर्ट हुँदैन।'
लुगाको व्यवसाय गर्ने टुंगो भएपछि उनी अन्तिम तयारीमा लागे। तर तयारीमा उनले अनुमान गरेभन्दा बढी समय लाग्यो।
'ब्रान्ड सुरू गर्ने भनेर मात्र नहुने रहेछ। धेरै चिज बाहिर (विदेश) बाटै जुटाउनुपर्ने रहेछ,' उनले भने, 'सबै तयारी पूरा गरेर बजारमा लुगा पुर्याउन एक वर्ष लाग्यो।'
नीलनले सुरूमा गुणस्तरीय कपडा रोजेर पाँचवटा रङका पाइन्ट डिजाइन गरे। साथीको गार्मेन्ट उद्योगमा सिलाउन दिए। कुल २० लाख रूपैयाँ लगानीमा २०७८ भदौबाट काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुबर्ड मलमा 'भू क्लोदिङ' सुरू गरे। त्यहाँ सुरूमा पाइन्ट, हाफ पाइन्ट, चिनोज पाइन्ट, टिसर्ट र सर्ट राखे। कम्पनीको वेबसाइट पनि उद्घाटन गरे।
आफ्नो साथीको गार्मेन्ट उद्योग भएकाले उनलाई सिलाइमा समस्या भएन। डिजाइन उनी आफैं गर्छन्।
अहिले नीलनको व्यापार बढ्दो क्रममा छ। भन्छन्, 'बजार बढ्दैछ। क्लोदिङ पनि एउटा क्रिएटिभिटी (सिर्जनशीलता) हो। जति क्रिएटिभ हुन सक्यो, उति नै रमाइलो हुने रहेछ। ग्राहकहरू खुसी हुने रहेछन्। आफूलाई पनि असाध्यै खुसी मिल्ने रहेछ।'
नीलन आफ्नो अनुभवका आधारमा अघि बढेका छन्। 'जीवनका हरेक भोगाइले केही न केही पाठ सिकाउँदो रहेछ। जति बढी अनुभव भयो, काममा त्यति नै बढी आँट आउने रहेछ,' उनले भने।
अब नीलन सिलाइका लागि आफ्नै कारखाना र आउटलेट खोल्ने योजनामा छन्। सेमी क्याजुअल र बिजनेस क्याजुअलका लागि भू ब्रान्डलाई रोजाइको बनाउने लक्ष्यका साथ अघि बढेका छन्। स्वदेशमा व्यापार विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा पनि पुग्ने उनको लक्ष्य छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी