कसैलाई उपहार दिनुपर्ने छ र के दिऊँ भन्ने अलमलमा हुनुहुन्छ भने 'लुमियर नेपाल' ले मद्दत गर्न सक्छ।
२०७५ सालदेखि सञ्चालित लुमियर नेपालमा तपाईंले सजावट र अन्य सामग्री पाउनुहुन्छ। फोटा सजाउन 'भिजन' वा 'डेकोर' पाउनुहुन्छ। विभिन्न डिजाइनको ल्याम्प, फोटो एल्बम, डेकोर लाइट, ड्रिमक्याचर, सनक्याचर, ब्रेसलेट आदि पाउनुहुन्छ।
यी सामग्रीमा ग्राहकको चाहनाअनुसार कस्टमाइज पनि हुन्छ।
लुमियर नेपालका एक सञ्चालक स्वीकृति न्यौपाने भन्छिन्, 'ग्राहकहरूलाई सहज तरिकाले विविधि किसिमका सामग्री उपलब्ध गराउनु हाम्रो उद्देश्य हो। हामी हस्तनिर्मित सामग्रीलाई प्राथमिकता दिन्छौं।'
स्वीकृतिका साथमा छिन् सहकर्मी दक्षता भण्डारी। उनीहरू कम्पनीका साझेदार हुन्। आर्थिक कारोबार स्वीकृतिको जिम्मामा छ, दक्षता मार्केटिङ र व्यापार व्यवस्थापन हेर्छिन्। स्वीकृति कम्पनीकी अध्यक्ष र दक्षता प्रबन्ध निर्देशक हुन्।
'मलाई सानैदेखि क्राफ्ट (हस्तकला) मा विशेष रूचि थियो। साथीहरूलाई उपहार दिँदा कस्टमाइज गरेर हस्तनिर्मित सामग्री दिन रूचाउँथेँ,' स्वीकृतिले भनिन्, 'दक्षताको अठारौं जन्मदिनमा कार्डबोर्डबाट सजावटको सामग्री बनाएर उपहार दिएकी थिएँ।'
उनको विचारमा हातले बनाएका सामान विशेष हुन्छन्। यसमा दक्षताको पनि सहमति छ।
उनी भन्छिन्, 'हस्तनिर्मित सामानमा हातकै सीप र मेहनत परेको हुन्छ। यस्ता सामग्री उपहार दिँदा र आफूले पाउँदा खुसी लाग्छ। स्वीकृतिले दिएको उपहार मलाई निकै मनपरेको थियो।'
त्यही उपहारले उनीहरूमा हस्तकलाका सामग्रीको व्यवसाय गर्ने धारणा विकास भयो र एउटा आकार लिएर अघि बढ्यो।
ठीक पाँच वर्षअघिको कुरा हो।
उनीहरूले यस्तो व्यवसायको सम्भावनाबारे खोजी गरे। दक्षता बलियो सम्भवना छ भन्नेमा विश्वस्त थिइन्। स्वीकृतिमा केही अलमल थियो। हस्तनिर्मित सामानमा ग्राहकको मागअनुसारको आकार–प्रकार दिन सकिन्छ, व्यवसाय राम्रो हुने मुख्य आधार पनि यही हो भन्ने तर्क दक्षताको थियो।
स्वीकृति यो तर्कमा सहमत भइन्। अन्ततः उनीहरू सहकार्यमा व्यवसाय गर्ने टुंगोमा पुगे। एउटा व्यवसाय सुरू हुने र आफ्ना लागि पकेट खर्च पनि हुनेमा विश्वस्त भए।
यसरी सुरू भयो स्वीकृति र दक्षताको हस्तनिर्मित उपहार सामग्री बजार पुर्याउने व्यवसाय। पहिलो ग्राहक भइन् एक जना साथीकी दिदी। उनीहरूले ती दिदीको मागअनुसारको ल्याम्प बनाएर दिए। यसमा जम्मा पाँच सय रूपैयाँ खर्च भयो। व्यवसाय गर्दाको सुरू लगानी यही हो।
ग्राहक दिदी सन्तुष्ट भइन्। यति मात्रैले पनि उनीहरूको आत्मविश्वास बलियो भयो।
यसपछि उनीहरूले इन्स्टाग्राम खाता बनाए, नाम राखे 'लुमियर नेपाल'। फ्रन्सेलीबाट अंग्रेजी भाषामा प्रयोग भएको 'लुमियर' शब्दको को अर्थ 'उज्यालो' हो। स्वीकृतिका अनुसार बत्तीसम्बन्धी सामग्री धेरै बनाउने भएकाले ब्रान्ड नाममा 'लुमियर' जोडेका हुन्।
लुमियरको सञ्चालन र विस्तार यति तीव्र गतिमा होला भन्ने उनीहरूले सोचेकै थिएनन्।
'एउटा व्यवसायको आधार बन्छ र पकेट खर्च हुन्छ भन्ने सोचेर जम्मा पाँच सय रूपैयाँमा सुरू गरेको व्यवसायले यसरी बजार विस्तार गर्छ भन्ने सोचेकै थिएनौं,' स्वीकृतिले भनिन्।
स्वीकृति सुरूमा कागजका सामान बनाउँथिन्। बिस्तारै कार्डबोर्ड प्रयोग गर्न थालिन्। पुराना कार्डबोर्ड रिसाइकल गरेर प्रयोग गर्न थाले।
दक्षताले सम्झिन्, 'हामीलाई कार्डबोर्ड देख्नै नहुने भएको थियो। सामान बनाउन काम लाग्छ भनेर उठाइहाल्थ्यौं।'
उनीहरूले आआफ्नो घरबाटै काम सुरू गरेका थिए। अहिले बानेश्वरमा एउटा कार्यालय राखेका छन्। यहाँ सामान प्याकेजिङ गरेर डेलिभरी गर्छन्। उनीहरू पहिले सार्वजनिक गाडी चढेर सामान पुर्याउन जान्थे। आजकाल डेलिभरी कम्पनीसँग सहकार्य गरेका छन्।
लुमियर नेपालमा कार्डबोर्ड नै बढी प्रयोग हुन्छ। दैनिक कम्तीमा पाँच वटा ल्याम्प बनाउँछन्। सँगै अन्य सामान पनि बनाउँछन्।
उनीहरूलाई आआफ्ना परिवारका सदस्यहरूको पनि सहयोग छ। पारिवारजनबाट भरपूर समर्थन र प्रोत्साहन पाएका छन्। पारिवारिक समर्थनले पनि व्यवसाय विस्तारको गति बढेको हो।
लुमियरले हस्तनिर्मित सामग्रीसँगै उपहारका आधुनिक सामान पनि बेच्छ। आधुनिक सामान अन्तर्राष्ट्रिय थोक बजारबाट आयात गर्छन्।
'बजार विस्तारका क्रममा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सामान पनि बेच्ने आइडिया आयो,' स्वीकृतिले भनिन्, 'यस्ता सामान खोज्ने ग्राहकलाई सेवा दिन सकिन्छ भनेर सामान थप्यौं।'
व्यवसाय हुन्छ भन्ने विश्वास भएपछि उनीहरूले कम्पनी दर्ता गराए। ल्याम्पबाट सुरू भएको लुमियर नेपाल सजावटका विभिन्न आधुनिक सामग्रीसम्ममा पुगेको छ। यहाँ तीन सयदेखि तीन हजार रूपैयाँसम्मका उपहार सामग्री उपलब्ध छन्।
आयाततर्फ उनीहरूले पहिलोपटक ५० हजार रूपैयाँको चिनियाँ सामग्री मगाएका थिए। सजावटका सामग्रीले राम्रो बजार पायो।
कम्पनीले हस्तनिर्मित सामग्री 'महिला सशक्तीकरण' परियोजनामा समेटेको छ। यसअन्तर्गत पाँच जना महिला कार्यरत छन्। उनीहरू घरमै सामान बनाउँछन्।
स्वीकृतिका अनुसार काम सुरू गर्दा युवा पुस्तालक्षित थियो। अहिले यसमा मात्र सीमित छैन। सबै वर्गका ग्राहकका लागि उपहारका सामग्री उपलब्ध छन्। विदेशमा रहेकाहरूले स्वदेशमा साथी, आफन्त र परिवारजनलाई उपहार दिन सामान अर्डर गर्छन्।
लुमियर नेपालले काठमाडौं उपत्यकाबाहिर पोखरा, बुटवल, र चितवनसम्म सामान पुर्याएको छ। विदेशमा अस्ट्रेलियासम्म पनि पुगेको छ।
उपहार रोज्न मद्दत गर्ने 'साथी' बनेको लुमियरले चाँडै जन्मदिनका लागि केक, फूलको बुके र अन्य आवश्यक सामग्रीसहितको प्याकेज पुर्याउने योजना बनाएको छ। नेपालीपन झल्किने गरी सुगन्धित मैनबत्ती बनाउने योजना पनि रहेको दक्षताले बताइन्।
लुमियरबाट हालसम्म कम्तीमा २० हजार ग्राहकले सामान खरिद गरेका छन्। पाँच वर्षको यो संख्या सन्तोषजनक रहेको उनको भनाइ छ। पछिल्लो एक वर्षमा २० लाख रूपैयाँको कारोबार भएको उनले जानकारी दिइन्।
व्यवसाय व्यवस्थापनमा दुई जना मात्र रहेकामा हालै एक जना कर्मचारी नियुक्त गरेका छन्। लुमियरले व्यवसाय गर्न चाहने युवाहरूलाई स्टार्टअपमा प्रोत्साहित पनि गर्न थालेको छ।
'समकालीन साथीहरू हामीलाई व्यवसायको अवधारणा सुनाउनुहुन्छ तर काम सुरू गर्न आँट नआएको बताउनुहुन्छ। हामी उहाँहरूलाई प्रोत्साहित गर्छौं। आफ्ना अनुभवहरू सुनाउँछौं,' स्वीकृतिले भनिन्।
स्वीकृति र दक्षता एक दशक पुराना साथी हुन्। हाल दुवै जना 'एस इन्स्टिच्युट अफ म्यानेजमन्ट' मा स्नातक तह पढ्दै छन्। स्वीकृतिको सातौं र दक्षताको पाँचौं सेमेस्टर चलिरहेको छ।
स्वीकृति रेकी उपचार प्रमाणित चिकित्सक पनि हुन्। पछिल्लो एक वर्षदेखि उनी ध्यान कार्यशालाहरूमा पनि सहभागी हुँदै आएकी छन्। दक्षता फोटोग्राफर हुन्। उनी संस्थागत रूपमा सामाजिक कार्यमा पनि सक्रिय छिन्।
उनीहरू लुमियर नेपाललाई रिब्रान्डिङ गर्ने सोचमा छन्। दक्षताका अनुसार उच्चारण र स्मरणमा अलिक असहज भएकाले रिब्रान्डिङको सुझाव आएको छ। अन्तिम निर्णयका लागि विभिन्न विकल्पहरू छनौटको काम हुँदैछ।
'जोखिम आकलन गर्दै सर्तकताका साथ अघि बढ्दै छौं,' उनीहरू भन्छन्, 'दृढता र थोरै फरक कामको आइडियामा स्वरोजगारीको फराकिलो सम्भावना पनि देखेका छौं।'
(लुमियर नेपालको वेबसाइटमा जान यहाँ र इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)