बाह्र वर्षअघि, रूपकराज बोहरा र विनय पौडेलको भारतको बैंगलोरमा भेट भएको थियो। दुवै जना त्यहाँ एउटै इञ्जिनियरिङ कलेज पढ्न पुगेका थिए। परदेशी भूमिमा दुई नेपाली भेटिनेबित्तिकै साथी भइहाले। आत्मीयता बढ्दै गयो।
उनीहरू पढ्ने कलेजनजिकै नर्सिङ क्याम्पस पनि थियो। त्यहीँ पढ्दै गरेकी रितिका श्रेष्ठ पनि उनीहरूकी साथी भइन्।
'हाम्रो भेट बैंगलोरमै भएको हो,' रितिकाले भनिन्, 'देशबाहिर भएपछि नेपाली हुँ भन्नासाथ आफ्नै मान्छे जस्तो महसुस हुने रहेछ। हामी तीनै जना मिल्ने साथी भयौं।'
पढाइ पूरा गरेर तीनै जना स्वदेश फर्के। फुर्सदमा भेट्थे, चियागफ चल्थ्यो।
बैंगलोरबाट फर्केपछि विनय कपडा उद्योगमा काम गर्न थालेका थिए। यही सिलसिलामा अनेक किसिमका नेपाली लुगा देखे। तर तिनको कुनै ब्रान्ड थिएन। स्वदेशी गार्मेन्टका लुगा ब्रान्डबिना नै बिक्री भएको देखेर उनी छक्क पर्थे। यही विषयमा रूपक र रितिकासँग गफ गर्थे।
एक दिन गफकै सिलसिलामा नेपाली नाम झल्किने ब्रान्ड बनाएर लुगाको व्यवसाय गर्ने कुरा चल्यो।
'स्वदेशमा गार्मेन्ट उद्योगहरू छन् तर आफ्नो ब्रान्ड छैन। अरूको ब्रान्डमा बेचेको छ,' विनयले भने, 'यस्तो प्रवृत्ति देखेर एउटा ब्रान्डमा लुगा उत्पादन गर्ने निष्कर्षमा पुग्यौं।'
उनीहरू तीनै जना संयुक्त रूपमा काम गर्न तयार भए।
'नजिकसम्म छिटो पुग्नु छ भने एक्लै दौडिनु, टाढा पुग्नु छ भने टिम बनाएर जानू भन्छन् नि,' विनयले तीन जनाको टिमबारे प्रस्ट पारे, 'साथ मिलेर अघि बढ्नुपर्छ भन्नेमा हामी सहमत भयौं। चिया गफकै क्रममा काम सुरू गर्ने निर्णय भयो।'
तीन जनामा विनय केही अनुभवी थिए। उनलाई लुगा बनाउने कपडा आपूर्ति, गुणस्तर लगायतबारे जानकारी थियो। काम गर्ने पक्का भएपछि उनीहरूले ब्रान्डको नाम सोचे।
जुर्यो — स्पर्श।
स्लोगन (व्यावसायिक सन्देश) 'स्पर्श नेपालीपनको' राखे।
'हामी नाममै नेपालीपन दिन चाहन्थ्यौं। बसेर छलफल गर्यौं,' रितिकाले भनिन्, 'दुई महिनामा स्पर्श नाम टुंगो लाग्यो।'
२०७६ सालमा तीन जना मिलेर पाँच लाख रूपैयाँ जुटाए। ललितपुरको इमाडोलमा एउटा फ्ल्याट भाडामा लिए। सिलाइ मेसिन र सिउने कालिगढ जुटाए।
काठमाडौंमै चिनजानका व्यवसायीबाट कपडा किने। सबै तयारी भएपछि पुरूषको 'पोलो टिसर्ट' बाट स्पर्शको उत्पादन सुरू भयो। स्पर्शकै इन्स्टाग्राम, फेसबुक र वेबसाइट बनाए। फोटाहरू राखेर मार्केटिङ गरे।
तर काम सुरू गरेकै वर्ष कोरोना महामारी फैलियो। केही महिना उत्पादन बन्द भयो। उनीहरूले हार मानेनन्। बजारमा मास्कको माग ह्वात्तै बढेको थियो। मास्क नै बनाउन थाले। करिब डेढ वर्षसम्म मास्क मात्रै बनाए। मास्कले नै बजारमा स्पर्शलाई चिनायो।
लकडाउनको समय उनीहरूले विभिन्न लुगाको डिजाइनमा सदुपयोग गरे। कोरोना मत्थर हुँदै गएपछि मास्कसँगै पुरूष र महिलाका लागि लुगाहरू बनाउन थाले। थोरथोरै गर्दै उत्पादन बढाउँदै लगे। माग पनि बढ्दै गयो।
'स्पर्शलाई अघि बढाउने भएपछि टिसर्टसँगै जगर्स र ज्याकेटहरू पनि उत्पादन गर्न थाल्यौं। सिजन अनुसारका लुगा बनायौं,' विनयले भने।
अहिले स्पर्शले वाटर प्रुफ (पानी नछिर्ने) र विन्ड प्रुफ (हावा नछिर्ने) ज्याकेट, पोलो टिसर्ट, साधारण टिसर्ट, जगर्स, जिन्सको ज्याकेट र पाइन्ट, हुडी, स्वेटसर्ट, कुर्ती, क्याप र मास्क उत्पादन गर्छ।
बर्खायाममा वाटर र विन्ड प्रुफ ज्याकेट उत्पादनमा जोड दिएका छन्। यसमा तीनवटा फरक डिजाइन छन्– स्टर्म हन्टर, मिस्टिक, बज्र।
विनयका अनुसार 'स्टर्म हन्टर' स्पर्शको विशेष उत्पादन हो। यसमा ट्यागलाइन छ– हावाहुरी बाटैमा छ, स्टर्म हन्टर साथैमा छ।
तीन तहको कपडाबाट बनेको स्टर्म हन्टर ज्याकेट दुईपांग्रे सवारीसाधन चलाउनेका लागि बढी उपयोगी छ। हावाहुरीसहितको पानी थेग्न सक्छ। अहिले सातामा कम्तीमा तीन सयवटा यस्तो ज्याकेट उत्पादन भइरहेको छ। ग्राहकहरूको रोजाइमा पनि परेको छ।
मिस्टिक र बज्रको माग पनि कम छैन। यी दुवै ज्याकेट दुई तहका विशेष कपडाबाट बन्छन्। जस्तो समयमा पनि लगाउन सकिने भएकाले ग्राहकले मन पराएको विनयले बताए।
हालको स्टर्म हन्टरको मूल्य तीन हजार सात सय ९० रूपैयाँ, बज्रको दुई हजार सात सय ९० रूपैयाँ र मिस्टिकको दुई हजार दुई सय ९० रूपैयाँ पर्छ।
त्यस्तै पोलो टिसर्ट एक हजारदेखि एक हजार आठ सय रूपैयाँसम्मको पाइन्छ। दैनिक सय वटा उत्पादन भइरहेको यो टिसर्टको माग बाह्रै महिना छ।
स्पर्शमा किनेर लगेको लुगा उयुक्त नभएको अवस्थामा सट्टापट्टा गर्ने वा पैसा फिर्ता लिने सुविधा पनि छ।
'किनेर लगेपछि कुनै कारणले उपयुक्त भएन भने ग्राहकले अर्को साट्न पाउनुहुन्छ। साट्न पनि उपयुक्त नभए पैसा फिर्ता हुन्छ,' रितिकाले भनिन्।
स्पर्शको कारखाना इमाडोलमा छ। कम्पनीले यहाँ दस जनालाई रोजगारी दिएको छ। प्याकेजिङ र डेलिभरीमा थप दुई जना छन्।
स्पर्शका उत्पादनहरू अहिले अनलाइनमार्फत् किन्न सकिन्छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँ र पोखरा, भरतपुर, बुटवल, तानसेन, वीरगञ्ज, विराटनगर लगायत सहरमा पनि पाइन्छ।
केही समयमै काठमाडौंमा आफ्नै पसल र काठमाडौंबाहिर फ्रेन्चाइज मोडलमा जाने योजना छ। अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने योजना बनाइरहेको रूपकले बताए।
'सुरूका दुई वर्ष कोभिडले असर पारे पनि हामी अघि बढ्यौं। अहिले माग राम्रो छ,' रूपकले भने, 'नेपाली उत्पादन विश्वबजारमा पुर्याउने चाहना सबै व्यवसायीको हुन्छ। हाम्रो पनि त्यस्तै चाहना छ। यसका लागि काम पनि गर्दैछौं।'
डिजाइनमा समयानुकूल परिमार्जन गर्दै नयाँपन दिन उनीहरू लागिपरेका छन्। अर्को ब्रान्डसँग प्रतिस्पर्धामा नकुदी आफ्नो ब्रान्ड स्थापित गर्नु उनीहरूको लक्ष्य हो।
'जुन ब्रान्ड भए पनि नेपाली उत्पादन प्रयोग गरौं भन्ने सन्देश फैलाउनु हाम्रो उद्देश्य हो,' रितिकाले भनिन्।
उमेरले तीस वर्ष आसपासका यी तीन युवा व्यवसायीको मान्यता समान छ — नेपाली उत्पादन विश्वमा चिनाउनुपर्छ। यसका लागि आफ्नै देशमा बसेर काम गर्नुपर्छ।
स्पर्शमा तीन जनाको आआफ्नो जिम्मेवारी छ। रूपक आर्थिक पाटो, व्यवस्थापन र डिजिटल साइट हेर्छन्। विनय लुगाको डिजाइन र उत्पादन हेर्छन्। रितिका बजार र बिक्री हेर्छिन्।
उनीहरूको धारणा पनि समान छ — आफ्नो पढाइअनुसारको जागिर गर्नु राम्रो हो। आफ्नो व्यवसाय गर्नु त्योभन्दा राम्रो!
युवाहरूलाई व्यवसायमा प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने र त्यसअनुसार प्रणाली बनाउनुपर्ने उनीहरू बताउँछन्।
'प्रोत्साहन र प्रणाली भयो भने युवाहरू स्वदेशमै लगानी र श्रम गर्न तयार हुनेछन्,' उनीहरू भन्छन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(स्पर्श क्लोदिङको वेबसाइटका लागि यहाँ र फेसबुकका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८२४६१४१६०)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)