अहिले जुनसुकै प्रयोजन वा अवसरमा लगाउने मिल्ने जुत्ता-चप्पलका लागि विदेशी ब्रान्ड खोज्नुपर्ने बाध्यता छैन। बजारमा नेपाली जुत्ता-चप्पलका अनेक ब्रान्ड छन्। स्वदेशी उत्पादन लगाउन चाहने ग्राहकले थरीथरी डिजाइन पाउन सक्छन्।
यस्तै थरीथरीका जुत्ता-चप्पल बनाउने नेपाली ब्रान्डमध्ये एक हो 'रन सुज।'
बजार प्रवेश गरेको एक दशकमै रन सुज आफ्नो नाम जस्तै दौडिएको छ। यसले हाल एक हजार डिजाइनका जुत्ता-चप्पल उत्पादन गर्दै आएको कम्पनीका सञ्चालकमध्येका एक रूद्र न्यौपाने बताउँछन्।
'रन सुजले हाल करिब एक हजार डिजाइन उत्पादन गर्छ र वार्षिक कम्तीमा आठ लाख जोर जुत्ता-चप्पल बजारमा पुर्याउने गरेको छ,' रूद्रले भने।
रन सुजले महिला, पुरूष र बालबालिकाका लागि सबै खाले जुत्ता-चप्पल उत्पादन गर्छ। कम्पनीबाट सेना, प्रहरी र खेलाडीहरूका व्यावसायिक जुत्ता पनि उत्पादन हुन्छन्।
'नेपाली ब्रान्डमा छालाको अफिसियल जुत्ता मात्र बढी चल्तीमा थियो। तर उपभोक्ताहरू नेपाली उत्पादन नै खोज्थे,' उनले भने, 'हामीले बजारमा नेपाली उत्पादनको माग राम्रो छ भन्ने थाहा पायौं तर नाम चलेका कम्पनीले माग धान्न सकेका थिएनन्। त्यही स्थिति विचार गरेर हामीले रन सुज स्थापना गर्यौं।'
रूद्र शिक्षण पेसा छाडेर जुत्ता-चप्पल व्यवसायमा आएका हुन्। सिन्धुपाल्चोकका स्थायी बासिन्दा उनी गाउँकै स्कुलमा कक्षा १० सम्म पढेर २०५१ सालमा काठमाडौं आएका थिए। स्नातक तहसम्मको पढाइ पूरा गरेर गाउँ फर्के। गाउँकै एक विद्यालयमा पढाउन थाले, केही वर्ष पढाए।
२०६१ सालको कुनै दिन उनी कामको सिलसिलामा काठमाडौं आएका थिए। चिनजानका आफन्तमार्फत एक जुत्ता-चप्पल कम्पनीमा बजार व्यवस्थापकको काम पाए। त्यहाँ करिब आठ वर्ष काम गरे।
त्यसरी काम गर्दा उनले जुत्ता-चप्पल उत्पादनको प्रक्रिया, कच्चा पदार्थको उपलब्धता, जनशक्ति, बजार इत्यादिबारे राम्ररी थाहा पाउने अवसर पाए। बिक्रेताहरूसँग जानपहिचान भयो। ग्राहकहरूको रूचि थाहा पाए।
रूद्रले आफू कार्यरत कम्पनीकै मन मिल्ने केही साथीहरूसँग सल्लाह गरे। केही दिन आपसमा विचारविमर्श भयो। उनीहरू सहकार्यमा आफ्नै कम्पनी चलाउने निष्कर्षमा पुगे। अगुवा रूद्र नै भए।
२०६८ सालमा उनीहरूले कम्पनी दर्ता गरे। कारखाना स्थापना र अन्य सबै तयारी गरे। १५ जना कर्मचारी राखे। अनि एक वर्षभित्रै, २०६९ वैशाखदेखि रन सुज ब्रान्डमा उत्पादन सुरू भयो।
'पहिलो महिना डेढ सय जोर जुत्ता तयार भयो। विभिन्न डिलरमार्फत काठमाडौं बाहिरका जिल्लामा पुर्यायौं,' रूद्रले भने, 'डिलर, शोरूम र फ्रेन्चाइज खोलेर पहिलो वर्ष नै ६० वटा जिल्लामा रन सुज पुर्याउन सफल भयौं। हाम्रो उद्देश्य दूरदराजसम्म पुर्याउनु नै थियो।'
यसपछि कम्पनीले महिला र बालबालिकालाई पनि प्राथमिकतामा राखेर जुत्ता-चप्पल बनाउन थाल्यो। दोस्रो वर्षदेखि छालाको जुत्तासँगै 'स्पोर्ट्स' र 'कन्भर्स' मोडल थप्यो। साथमा सेना र प्रहरीको व्यावसायिक जुत्ताका डिजाइन पनि तयार पारेर काम सुरू भयो।
'बजारमा जे अभाव थियो, त्यसलाई रन सुजले पूरा गर्ने गरी हामी लागिपर्यौं,' उनले भने, 'यसै कारण होला, छोटो समयमै रन सुज धेरैको रोजाइमा पर्यो।'
गुणस्तरमा कुनै पनि कमी हुन नदिने उनी दाबी गर्छन्।
रन सुजका दुइटा कारखाना छन्, कागेश्वरी मनोहरा नगरपालिकाको बोडे र मूलपानीमा। एउटा कोरोनापछि मात्र थपिएको हो। एउटामा स्पोर्ट्स जुत्ता बन्छ भने अर्कोमा सबैखाले बन्छ।
'हामी करिब एक हजार डिजाइनका फुटवेयर तयार गर्छौं,' उनले भने, 'यी डिजाइन ग्राहकको माग र रूचिअनुसार तयार गरिएका हुन्। हाम्रो शोरूम पसेपछि जुत्ता किन्न अन्त जानुपर्दैन। माग र बजारमा चलेअनुसारका जुनसुकै डिजाइनमा उपलब्ध हुन्छ।'
कम्पनीका ४५० जति डिजाइन बजारमा चल्तीमा छन्। हाल महिलाले लगाउने अफिसियल जुत्ता, दैनिक प्रयोगमा स्लिपर, स्यान्डल, स्पोर्ट्स बढी रूचाइएका उनले बताए। पुरूषले लगाउने लोफर, स्निकर्स, चेल्सी लगायत जुत्ता पनि चलेका छन्।
कम्पनीले कच्चा पदार्थ भारत, पाकिस्तान, मलेसिया, सिंगापुर लगायत देशबाट आयात गर्छ। रूद्रका अनुसार सामान्यतया एउटा जुत्तामा ४३ किसिमको कच्चा पदार्थ आवश्यक पर्छ। यसमध्ये थोरै मात्र नेपालमा पाइन्छ। फेन्सी जुत्ता-चप्पलका लागि सबै कच्चा पदार्थ बाहिरबाटै ल्याउनुपर्छ। आयातीत कच्चा पदार्थका कारण केही महँगो पनि पर्छ।
'हामीले सुरू गर्ने बेलामा ९० प्रतिशत कच्चा पदार्थ बाहिरबाट आउँथ्यो। अहिले ५० प्रतिशतमा घटाइसकेका छौं,' ४५ वर्षीय रूद्रले भने।
हाल रन सुजमा २५० जना काम गर्छन्। यीमध्ये केही भारतीय छन्। दैनिक सरदर एक हजार आठ सय जोर चप्पल र एक हजार जोर जुत्ता गरी दुई हजार आठ सय जोर जुत्ता-चप्पल उत्पादन हुन्छ। अर्डरअनुसार कहिलेकाहीँ एक दिनमै अलि बढी पनि उत्पादन गरिन्छ।
जुत्ता-चप्पलको व्यापारका लागि सबभन्दा राम्रो सिजन असोजदेखि वैशाखसम्म हो। यसमा पनि विशेषगरी दसैं। वर्षभरिको बिक्रीको तुलनामा दसैंको हिस्सा कम्तीमा २५ प्रतिशत हुने रूद्रले जानकारी दिए।
जेठदेखि भदौसम्म भने अफ-सिजन मानिन्छ। रन सुजले अफ-सिजनमा स्कुल, कलेज र विभिन्न संघसंस्थाहरूका लागि जुत्ता उत्पादन गर्छ।
रन सुजका उत्पादन नेपालका धेरैजसो सहरमा पाइन्छ। काठमाडौंको न्युरोड, चाबहिल र भक्तपुरको लोकन्थलीमा शोरूम छन्। अर्डरअनुसार डेलिभरी पनि हुन्छ।
रन सुजका चप्पलको मूल्य चार सयदेखि एक हजार रूपैयाँसम्म र जुत्ताको ६ सयदेखि साढे चार हजार रूपैयाँसम्म छ। सबै जुत्तामा छ महिनाको वारेन्टी हुन्छ।
'चिनियाँ र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भए पनि गुणस्तरमा ग्राहकको विश्वास जितेर अघि बढेका छौं,' रूद्रले भने, 'अब गुणस्तरीय स्पोर्ट्स जुत्ताका मोडलहरू बढाउने र विदेशी बजारमा पनि पुर्याउने लक्ष्य छ।'
स्वदेशी बजारमा भने कुनै पनि कम्पनीसँग प्रतिस्पर्धा नरहेको उनको भनाइ छ।
'हाल नेपाल जुत्ता-चप्पलमा करिब ६५ प्रतिशत आत्मनिर्भर छ। रन सुज आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ अघि बढेको छ,' उनले भने, 'कम्पनीको मुख्य प्राथमिकता फेसन नै हो। डिजाइन, गुणस्तर र मूल्यको राम्रो संयोजन छ। यसै कारण पनि रन सुजको माग बढेको हो।'
रन सुजको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)