नेपाली समाजमा एउटा आहान छ– तँ आँट म पुर्याउँछु।
स्याङ्जाका कमल अर्यालको जीवनमा ठ्याक्कै यस्तै भएको छ। उनले आँटे, आँटेको पुग्यो।
उनी दस वर्षअघि ठमेलको एक कपडा पसलमा काम गर्थे। त्यो पसलले विभिन्न थरीका ज्याकेट र लुगा बेच्थ्यो। ती लुगा विदेशी ब्रान्डका थिए।
दुई वर्ष काम गरेपछि उनले आफैं ब्रान्ड चलाउने सोच बनाए।
'व्यापारको केही आइडिया लिएपछि आफैं केही गर्नुपर्छ भन्ने लाग्यो। लुगा पसलमा काम गरेकाले छोटो समयको भए पनि अनुभवले त्यतै तान्यो,' कमलले भने, 'ठमेलको व्यापार र पर्यटकको आकर्षण नजिकबाट बुझ्न पाएको थिएँ।'
त्यही अनुभवबाट कमलले स्वदेशी ब्रान्ड बनाएर लुगा उत्पादन गरिरहेका छन्। कम्पनीको नाम हो 'आउटडोर कम्पास'। छोटकरीमा 'ओसी'।
कम्पनीले पदयात्रा र पर्वतारोहणमा जानेका लागि ज्याकेट, प्यान्ट, स्लिपिङ ब्याग र अन्य आवश्यक लुगा तयार गर्छ। विभिन्न थरीका ज्याकेट कम्पनीको मुख्य विशेषता हो। डाउन, रेन, स्नोपार्का, पोलाटेक, सफ्टसेल र विन्डप्रुफ गरी ६ थरीको ज्याकेट उत्पादन हुन्छ।
कमलका अनुसार सबैभन्दा बढी रूचाइएको ज्याकेट स्नोपार्का हो। यो ज्याकेट साढे ६ हजार मिटरसम्म अग्ला हिमाल आरोहणमा जानेका लागि उपयुक्त छ। न्यानो र लगाउँदा सजिलो हुने भएकाले स्वदेशी र विदेशी सबैको रोजाइमा परेको छ।
यो ज्याकेट एक वर्षदेखि विदेश पनि निर्यात भएको छ। बेलायतबाट माग आएपछि स्नोपार्का बनाउन सुरू भएको कमलले बताए।
'अहिले बेलायत, जापान, कोरिया, क्यानडा लगायत थुप्रै मुलुकमा पुगिरहेको छ,' उनले भने, 'कम्पनीले उत्पादन गरेका अरू ज्याकेट पनि बजारले रूचाएको छ।'
अरू ज्याकेटको तुलनामा स्नोपार्का केही महँगो छ, १४ हजारदेखि २० हजार रूपैयाँसम्म पर्छ।
हाल डाउन ज्याकेट साढे ६ हजारदेखि २० हजारसम्म, रेन ज्याकेट तीन हजारदेखि सात हजारसम्म, पोलाटेक साढे एक हजारदेखि २ हजार दुई सयसम्म, सफ्टसेल साढे तीन हजारदेखि साढे चार हजारसम्म र विन्डप्रुफ ज्याकेट साढे एक हजारदेखि दुई हजार रूपैयाँसम्म पर्छ।
'ज्याकेटको दाम कपडाको प्रकार र डिजाइनअनुसार फरक हुन्छ। गुणस्तरमा कुनै सम्झौता छैन,' कमलले भने, 'तपाईं धेरै दिनको ट्रेकिङमा जाँदै हुनुहुन्छ भने सजिलो र टिकाउ लुगा चाहिन्छ। आउटडोर कम्पासले यसमा ध्यान दिएको छ।'
ज्याकेट तयार भएपछि कमल आफैं लगाएर परीक्षण गर्छन्। ट्रेकिङमा पनि जान्छन्। वर्षा कति थेग्न सक्छ, कति न्यानो हुन्छ, सबै परीक्षण भएपछि मात्रै क्रेताका लागि उत्पादन हुने उनले बताए। यस्तो परीक्षणपछि मात्रै आफ्नो उत्पादनप्रति पूरा विश्वास हुने उनको भनाइ छ।
आउटडोर कम्पासमा ज्याकेटसँगै टिसर्ट, पाइन्ट, ट्राउजर, स्लिपिङ ब्याग तयार हुन्छ। यी सबै चिज ट्रेकिङकै लागि लक्षित गरिएका हुन्छन्। धेरैजसो ग्राहक विदेशी पर्यटक नै छन्।
काठमाडौंको ठमेल विदेशी पर्यटकहरूका लागि खास ठाउँका रूपमा परिचित छ। ठमेल पुग्ने धेरै पर्यटक आटडोर कम्पासका ग्राहक भएका उनी बताउँछन्। लक्षित ग्राहक पनि तिनै हुन्।
आउटडोर कम्पासका लुगा लगाएर जाने पर्यटकहरूको प्रतिक्रिया पनि लिन्छन् उनी। सुझाव पाए भने अर्को सिजनमा समेट्ने प्रयास गर्छन्।
अहिले आउटडोर कम्पासका उत्पादनमा नेपालीहरूको पनि चासो बढेको छ। ट्रेकिङ–ट्राभलमा जाने नेपालीहरूले किन्न थालेका छन्।
'कुनै समय ठमेलको व्यापार विदेशी पर्यटककै भरमा थियो। अहिले परिवर्तन भएको छ,' कमलले भने, 'भूकम्प र कोरोनापछि स्वदेशी पर्यटकले नै भरथेग गरेका छन्।'
कमल अहिले ३० वर्षका भए। १७ वर्षको उमेरमा स्याङ्जाबाट काठमाडौं आएका थिए। क्याम्पस पढ्दै गरेका उनको डेरा लैनचौरमा थियो। बिहान–बेलुका उनी ठमेल घुम्थे। पर्यटकको चहलपहल र व्यवसायले मन तान्थ्यो।
बाह्र कक्षाको परीक्षा दिएपछि, २०६८ सालमा एक जना साथीले ठमेलमा लुगा पसलमा काम मिलाइदिए। लुगा बेच्नु उनको काम थियो। यो क्रममा विदेशी पर्यटकसँग बोल्ने बानी भयो। बिस्तारै काममा रमाउन थाले।
'त्यो पसलमा ट्रेकिङ ज्याकेट र अरू धेरै थरीका लुगा थिए। धेरैजसो पर्यटक नै आउँथे। बिस्तारै बानी परेँ। व्यवसायको लत बस्यो,' उनले भने।
त्यो पसलमा उनले दुई वर्षसम्म काम गरे। त्यहाँ विदेशी ब्रान्डका लुगा थिए। व्यवसायको केही अनुभव भयो। लुगा बनाउने कारखाना र कच्चा पदार्थ आयातको मेलोमेसो थाहा पाए।
उनलाई विदेशीजस्तै गुणस्तरीय स्वदेशी ब्रान्ड बनाउन सके हुन्थ्यो भन्ने लाग्यो। यस्तै सोच्दासोच्दै आफैं सुरू गर्छु भनेर आँट गरे अनि एक दिन साहुबाट बिदा भए।
सोच्न त सोचे तर लगानी कसरी जुटाउने!
कमलले आफ्ना दाइसँग सल्लाह गरे।
'मेरा दाइ र फुपूका छोरा दुई जनालाई राखेर आफ्नो कुरा सुनाएँ। उनीहरू दुई जना विदेश जाने र पैसा कमाएर पठाउने, यता मैले व्यवसाय सुरू गर्ने योजना बन्यो,' उनले भने, 'सोचे जस्तै भयो, केही महिनामा दुवै जना कोरिया गए।'
सल्लाह र योजनाअनुसार दुई दाजुहरूले कोरियाबाट पैसा पठाउन थाले। यता कमलले पसलका लागि ठाउँको चाँजोपाँजो मिलाए। ठमेलको नर्सिङ चोकमा पसलका लागि ठाउँ पाए जहाँ आउटडोर कम्पासको शोरूम छ। त्यहाँ एउटा कम्पनीको ट्रेकिङ पसल थियो।
'पसल नै किनेँ। धेरै चिज त काम नलाग्ने पनि थिए। केही बिक्री गरेँ, केही यसै फ्याँके,' कमलले भने, 'राम्रो ठाउँ पाएँ, व्यवसाय चम्काउँछु भन्ने आँट आयो।'
यसरी २०७१ सालमा आफ्नो व्यवसाय सुरू भयो।
आफ्नो ब्रान्डमा काम गर्न आफ्नै कारखाना र लगानी चाहिन्थ्यो। लगानी हुन नसक्ने भएपछि कमलले केही वर्ष अरूकै ब्रान्डका लुगा र अन्य सामग्रीहरू बेचे। कम्पनीको नाम भने आउटडोर कम्पास राखिसकेका थिए। यही बीच आफ्नै ब्रान्ड बनाएर एउटा टेलरमा ज्याकेट सिलाउन दिए। ब्रान्ड प्रवर्द्धनका लागि काम गरे तर सोचेअनुसार प्रगति भएन।
पसल सुरू गरेको चौथो वर्ष, २०७४ सालमा, कमल व्यावसायिक प्रयोजनमा थाइल्यान्ड र ताइवान गए। त्यहाँ उनले स्वदेशी उत्पादन र ब्रान्ड प्रभावकारी बनाउनेबारे जानकारी पाए।
'त्यति बेला मैले एउटा नाम राखेर उत्पादन थालेको थिएँ तर ब्रान्ड रूचाइएन। त्यो भ्रमणले भने ब्रान्ड कस्तो हुनुपर्छ भन्ने सिकायो,' उनले भने, 'ब्रान्डिङ गर्नु छ भने बल गरेर मात्र हुँदैन, जराबाटै सुरू गर्नुपर्ने रहेछ। विदेशीका तुलनामा हामी धेरै पछाडि रहेछौं।'
उनले सुरूको ब्रान्ड नाम रद्द गरेर कम्पनीकै नामको नयाँ ब्रान्ड बनाउने विचार गरे। आउटडोरको 'ओ' र कम्पासको 'सी' टिपेर लोगो बनाए। कोरिया, जापान र चीनबाट कपडा मगाए। काठमाडौंको गोंगबुमा कारखाना खोलेर चार जना कालिगढ राखे।
कोरोनाले पर्यटन क्षेत्र ठप्प बनाएका बेला कमलले पर्यटकलाई नै लक्षित गरेर ज्याकेट त बनाए तर बजार तहसनहस थियो। उनले सामाजिक सञ्जालमा पेज बनाए। त्यसमै विज्ञापन गरे। बिक्री सुरू गरे। कोरोनापछि पर्यटक आउन थाले, व्यापार बढ्यो र उत्पादन पनि बढाउँदै लगे।
अंग्रेजी पात्रोअनुसार वर्षमा दुइटा पर्यटकीय सिजन हुन्छ, मार्च–मे र सेप्टेम्बर–डिसेम्बर। बाँकी अवधि अफ-सिजन मानिन्छ। आउटडोर कम्पासले अफ-सिजनमा उत्पादन गर्छ र सिजनमा बिक्री गर्छ।
हाल कम्पनीको उत्पादन र बिक्रीमा १५ जना काम गर्छन्। कमलका दाइ उमेश पनि कोरियाबाट फर्केर स्याङ्जामै व्यवसायमा छन्।
'दाइ स्वदेश फर्किसक्नुभयो। अहिले स्याङ्जामै व्यवसाय गर्नुहुन्छ। त्यहाँ पनि आउटडोर कम्पासका उत्पादन पाइन्छन्,' कमलले भने, 'अर्को दाइ (फुपूका छोरा) चाहिँ कोरियामै हुनुहुन्छ।'
कमल व्यवसाय थप प्रवर्द्धन गर्न वेबसाइट बनाउँदै छन्। त्यसमा सबै कुरा समेटिने छन्। संसारभरबाट नेपालका गन्तव्य हेरेर कुन गन्तव्यमा कस्तो ज्याकेट, जुत्ता अथवा अरू सामग्री चाहिन्छ भन्ने कुराको जानकारी समेत हुनेछ। पर्यटकले आफ्नै देशबाट आउटडोर कम्पाससँग कुरा गर्न र सामान बुक गर्न पनि सक्छन्।
आउटडोर कम्पासले अरू कम्पनीका सामान पनि बेच्छ।
'सबै सामान आफैंले उत्पादन गर्न सकिँदैन। तर ट्रेकिङका लागि पर्यटकले खोज्ने सबै सामान एकै ठाउँमा पाऊन् भनेर अरू कम्पनीको पनि बेच्छौं,' कमलले भने।
अब काठमाडौं बाहिरका सहरमा पनि व्यवसाय विस्तार गर्ने तयारी उनको छ।
(आउटडोर कम्पासको इन्स्टाग्राम पेजका लागि यहाँ क्लिक गर्नुहोस्)
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)