रोशनकुमार पोखरेल तीन दशकभन्दा लामो समय रसियामा बसे। पढाइको सिलसिलामा २०४५ सालमा विदेशिएका उनी त्यहीँको समाजमा घुलमिल भए। त्यहीँ काम गरे, बिहे गरे, घरपरिवार बनाए।
बसाइ सपरिवार राजधानी मस्कोमा भए पनि रोशनको मनमा सधैं नेपालको सम्झना हुन्थ्यो। पेसाले चार्टर्ड एकाउन्टेन्ट उनी जता पुगे पनि नेपाली कला र संस्कृतिको बयान गर्दै हिँड्थे। उनी विश्व-बजारमा 'केही' गरेर नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न चाहन्थे। त्यो 'केही' लाई मूर्तरूप दिन भने सकेका थिएनन्।
२०७५ सालमा रोशनको भेट फिनल्यान्डकी फेसन, प्रडक्ट (उत्पादन) र सर्भिस (सेवा) डिजाइनर आन्ना आर्लोभासँग भयो। त्यही भेटमा रोशनले आफूले गर्न चाहेको 'केही' फेला पारे।
'आन्नासँगको भेटपछि मैले चाहेको केही के हो भन्ने बुझेँ। त्यसलाई योजनाबद्ध तरिकाले अघि बढाउन आन्नाबाट सहयोग पाएँ,' रोशनले भने।
रोशनसँग भेट हुनुअघि आन्ना नेपालको पस्मिनाबारे अध्ययन गर्दै थिइन्। यही क्रममा उनी कोही नेपालीसँग काम गर्न चाहन्थिन्। दुवै जनालाई चिन्ने साथीमार्फत उनीहरूको भेट भयो। नेपालको पस्मिनासँगै अन्य हस्तकला र उत्पादनहरूबारे अध्ययन गरेर व्यावसायिक ढंगमा अघि बढ्न दुई जनाको कुरा मिल्यो।
अनि नेपाली कला र संस्कृति झल्किने सामानको व्यापार गर्ने उद्देश्यले उनीहरूले सुरू गरे 'आज डाइनस्टी'।
राष्ट्रियता र भाषा फरक भए पनि रोशन र आन्नाको उद्देश्य एउटै छ– आज डाइनस्टीमार्फत नेपालको हस्तकला र यसका उत्पादनको विकास, संरक्षण र पुनरूत्थान गर्दै विश्व-बजारमा पुर्याउने।
'आज डाइनस्टी नेपाली कलाको प्रवर्द्धनका लागि आन्ना र मेरो संयुक्त लगानी हो। लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौं,' रोशनले भने।
आज डाइनस्टी दुई करोड रूपैयाँ लगानीमा सुरू भएको हो। रोशन प्रशासनिक र बिक्री-वित्त सम्हाल्छन् भने आन्ना कम्पनीको रचनात्मक निर्देशकका रूपमा सामग्रीहरूको डिजाइन, उत्पादन, गुणस्तर परीक्षण र मार्केटिङ सम्हाल्छिन्।
आन्ना पहिलोपटक २०७२ सालमा नेपाल आएकी थिइन्। कम्पनी सञ्चालन गर्ने निधो भएपछि २०७६ सालको मध्यतिर फेरि आइन्। रोशन भने २०७८ को मध्यतिर आएका हुन्। हाल दुवै जना नेपालमा छन्।
नेपाली शब्द आजले 'वर्तमान समय' जनाउँछ। अंग्रेजी शब्द डाइनस्टीले 'खास वंशको सत्ता' जनाउँछ। दीर्घकालीन रूपमा सञ्चालन गर्ने गरी उद्देश्यले कम्पनीको नाम 'आज डाइनस्टी' राखेको उनीहरू बताउँछन्।
'नेपाली सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने मुख्य लक्ष्य हो। यसै अनुसार अधिकांशले बुझ्ने नाम राख्न चाहन्थ्यौं,' आन्नाले भनिन्, 'लामो समयको मन्थनपछि नेपाली र अंग्रेजी शब्द मिलाएर नाम जुरायौं।'
आज डाइनस्टीमा मैनबत्ती, बास्नादार धुप र धुपौरो, साबुन, बास्नदार तेल हालेर बाल्ने ल्याम्प, नोटबुक, कपडा, कुसनको खोल, टिसर्ट, झोला, पर्स, काठको ब्रासलेट, नेकलेस, काइँयो, सियोधागो राख्ने बट्टा जस्ता उपयोगी सामग्रीहरू पाइन्छन्। मठमन्दिरमा देखिने मूर्तिकला र 'सूर्यदेव' बाट प्रभावित डिजाइनका काष्ठकला संग्रह पनि छ।
यीमध्ये मैनबत्ती यहाँको विशेष सामग्री हो जुन बीस डिजाइनमा पाइन्छ। सूर्यनारायण संग्रहका मैनबत्ती पित्तलको भाँडामा हुन्छन्। यी भाँडामा फेरि मैन भरेर प्रयोग गर्न सकिन्छ। मैनबत्ती बनाउन चाहिने कच्चा मैन कैलालीका मौरीपालक किसानहरूबाट ल्याइन्छ।
नेपालमै बनेका यी सबै उत्पादनको डिजाइन मौलिक र स्थानीय संस्कृतिअनुसारका छन्। जनकपुरका महिलाको मिथिला चित्रकला, रसुवाली तामाङ समुदायका महिलाको मौलिक इब्रोइडरी (बुट्टा कुँदिएको) र संखुवासभाका बासिन्दाले बनाएको ढाका कपडाका उत्पादन विशेष छन्।
थारू समुदायका महिलाले शरीरमा ट्याटु बनाउने डिजाइन र चेपाङहरूले बाँस वा काठबाट बनाउने जाबी पनि पाइन्छ। जाबीलाई थप डिजाइन दिएर बलियो र सजिलो झोला बनाइन्छ।
'हामीले रोजगारी पनि सिर्जना गरेका छौं,' रोशनले भने, 'प्रत्यक्ष रूपमा कम्पनीको काम सम्हाल्न ११ जना कर्मचारी छन्।'
सामानहरूको नाम स्थानीय कलाको पहिचान हुने गरी राखिएको छ। कुन जिल्ला वा ठाउँको भन्ने आधारमा र केही उत्पादनलाई उत्पादक व्यक्तिकै नाममा नामकरण गरिएको उनले बताए।
रोशन र आन्ना आज डाइनस्टी सुरू गर्नुअघि नेपालका धेरै जिल्ला पुगेका थिए। स्थानीय कला र कलात्मक सामग्रीबारे खोज गरे र यसको व्यवसाय गर्न सकिन्छ भन्ने टुंगोमा पुगेपछि उनीहरूले काम थालेका हुन्।
यस्ता सामग्री उपहारका लागि उपयोगी बनेका उनीहरू बताउँछन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा सम्मेलनहरूमा 'मायाको चिनो' का रूपमा पनि बिक्री हुन्छ। औद्योगिक सामग्रीको तुलनामा हस्तकला केही महँगो भए पनि उच्च गुणस्तरको हुने उनीहरूको भनाइ छ।
आज डाइनस्टीको ठमेलमा दुइटा पसल छ। यसबाहेक गोकर्ण रिसोर्ट, टेरास रिसोर्ट, एलफ्ट होटल, नेपाली घर, पिलग्रिम्स बुक्स, संग्रह, बोधी आर्ट्स लगायत १३ ठाउँमा र अनलाइनबाट पनि किन्न सकिन्छ।
'सुरूका दिनमा विदेशी ग्राहक मात्रै थिए, बिस्तारै नेपालीहरू आउन थालेका छन्। अहिले ७० प्रतिशत विदेशी ग्राहक छन्,' रोशनले भने, 'सुस्त तर निरन्तर गतिमा बजार बढ्दैछ।'
हाल कम्पनीका उत्पादन डेनमार्क, जर्मनी, स्पेन, अमेरिका, जापान, लगायत देशमा निर्यात भइरहेको छ। थप देशहरूमा पुर्याउन काम हुँदैछ।
बजार राम्रो भइरहे पनि आफू सन्तुष्ट भने नभएको आन्ना बताउँछिन्।
'हाम्रो धेरै लगानी बजार अध्ययनमा जान्छ। हामी नेपालको विभिन्न भूभागमा पुग्छौं। त्यहाँको कला-संस्कृति चिनेर त्यसको प्रवर्द्धन गर्छौं। काम गर्नुपर्ने र सुधार गर्नुपर्ने धेरै छ। त्यसैले असन्तुष्ट महसुस गर्छु,' उनले भनिन्।
रोशन भने अलि बढी सन्तुष्ट छन्, भन्छन्, 'आज डाइनस्टीको समग्र व्यवसाय र उद्देश्यप्रति म सन्तुष्ट छु। आन्नाले सुधारका पक्ष देख्नु सकारात्मक मानेको छु। यसबाट समस्या पहिचान हुन्छ र सुधार गर्दै अघि बढ्न सकिन्छ।'
कम्पनीले अब आफ्ना उत्पादन काठमाडौं उपत्यकाका अन्य ठाउँ र बाहिरका ठूला सहरहरूमा पुर्याउने योजना बनाएको छ।
नेपालका १२५ भन्दा बढी जातीय समुदायको विशेष कला प्रवर्द्धन गर्ने र भविष्यमा फराकिलो आयाम विकास गर्ने लक्ष्य छ।
उनीहरूले भविष्यमा आधुनिक प्रविधिबाट गुणस्तरीय र पृथक 'ह्यान्डलुम' (हातबुना) कपडा बनाउने योजना पनि बनाएका छन्। यसबारे हाल अध्ययन भइरहेको छ तर यो काम चुनौतीपूर्ण रहेको रोशनले बताए।
मुख्य समस्या गुणस्तरीय कच्चा पदार्थ नपाउनुमा छ। दक्ष जनशक्ति पनि अभाव छ। समयमा काम नहुने अर्को समस्या छ। तर यी सबै मुश्किल सामना गर्दै काम गर्नुमा गौरव महसुस हुने उनी बताउँछन्।
फरक देश, भाषा र संस्कृतिका दुई व्यक्तिलाई कला र संस्कृतिको मोहले साझेदार बनाएको छ।
नेपालको कला, संस्कृति, भाषा, जातीय पोशाक लगायत हरेक कुराबाट आफू प्रेरित भएको आन्ना बताउँछिन्।
'नेपालको जस्तो कलात्मक र पुरातन सामग्री अन्त पाइनँ। यहाँका हस्तकलाका सामग्रीहरू लोभलाग्दा छन्,' उनले भनिन्, 'नेपालप्रति मेरो अथाह प्रेम छ। यहाँका सामग्रीहरू संरक्षण गर्दै विश्व-बजारमा चिनाउन चाहन्छु।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(आज डाइनस्टीको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्।)