बुटवलका सुसन अधिकारी 'सेमी क्याजुअल गेटअप' मन पराउँछन्। प्रायः कटनको सर्ट–टिसर्ट र पाइन्ट लगाउँछन्।
विशेष कार्यक्रममा पनि उनलाई यस्तै पोसाक मनपर्छ। तर उनले बजारमा आफूले सोचेजस्तो उपयुक्त लुगा नै पाएनन्!
'पहिल्यैदेखि सेमी क्याजुअल गेटअपमा हिँड्न मनपर्थ्यो। शरीरमा मिल्दो, फिटिङ हुने लुगा खोज्दै धेरै पसल धाउथेँ,' उनले भने, 'आफूले चाहेकै जस्तो पाउनै मुस्किल। पाइहाले पनि विदेशी ब्रान्डका, धेरै महँगा। मेरा लागि त समस्या नै भयो।'
आफ्नो जस्तै रूचि र समस्या अरूको पनि हुन सक्ने अनुमान गरेर उनले दुई वर्षअघि सुरू गरेका हुन् 'डिफाइ लाइफस्टाइल'।
यसले सेमी क्याजुअल लुगा उत्पादन र बिक्री गर्छ।
डिफाइ लाइफस्टाइलमा १८ वर्ष उमेरमाथिका पुरूषका लागि उपयुक्त सेमी क्याजुअल लुगा पाइने उनले बताए।
'मेरोजस्तो समस्या अरूको पनि हुन सक्ने ठानेर बजारमा खोजी हुने सेमी क्याजुअल लुगा बनाउने र ब्रान्डका रूपमा स्थापित गर्ने सोच आयो,' उनले भने, 'दुई वर्षदेखि डिफाइ लाइफस्टाइलले ग्राहकको चाहना र रोजाइअनुसारका लुगा बनाइरहेको छ।'
उनका अनुसार डिफाइमा विभिन्न डिजाइनका सर्ट र पाइन्ट उत्पादन हुन्छन्। सर्ट पूरा र हाफ बाहुलामा हुन्छ। सर्टमा साधारण र बक्स डिजाइन छ। त्यस्तै पाइन्टमा साधारण, बक्स, डबल-बक्स, ट्राउजर लगायत एक दर्जनभन्दा बढी डिजाइन हुन्छ। जाडो यामका लागि ज्याकेट, हुडी, स्विटर, ट्राउजर जस्ता न्याना लुगा बन्छन्।
सुसन लुगा बनाउने कटन कपडा भारत र चीनबाट ल्याउँछन्। यससँगै लिनेन (कटनजस्तै कपडा) को सर्ट–पाइन्ट पनि बन्छ।
'लिनेन कपडा नेपालमै बन्छ। हामी गोकर्णबाट ल्याउँछौं,' उनले सेतोपाटीसँग भने, 'लिनेनको पाइन्ट स्वदेशमै बनाउने डिफाइ पहिलो ब्रान्ड हो। यसको माग अत्यधिक छ।'
उनका अनुसार डिफाइका लुगा युवापुस्ताले नै बढी रूचाएको छ। लुगाको मूल्य एक हजार आठ सयदेखि तीन हजार दुई सय रूपैयाँसम्म पर्छ। कसैलाई केही महँगो लागे पनि गुणस्तर राम्रो भएको उनी बताउँछन्।
डिफाइका लुगा काठमाडौं उपत्यकाका एक दर्जनभन्दा बढी सपिङ मलहरूमा पाइन्छ। काठमाडौंका कलंकी र पुरानो बानेश्वर तथा बुटवलमा डिफाइको आफ्नै पसल पनि छ। अनलाइनमार्फत अर्डर गर्न पनि सकिन्छ। छिट्टै काठमाडौंको चाबहिल, पोखरा र नारायणगढमा पनि पसल खोल्ने सुसनको योजना छ।
दुई वर्षमा डिफाइका लुगा देशका धेरै बजारमा र विदेशी बजारमा पनि पुगेको उनले बताए। माग बढेपछि उनी दंग छन्।
'सञ्चालनको छोटो समयमै डिफाइले दिएको खुसीले थप ऊर्जा मिलेको छ,' उनले भने, 'विदेशबाट पनि माग आउँछ। विदेशमा पनि शाखा खोल्ने योजना छ।'
उनका हजुरबुबा र बुबा पनि कपडा व्यवसायी नै हुन्। तर उनी यो पारिवारिक व्यवसाय अँगाल्ने सोचमा थिएनन्।
सुसनले आइटी (सूचना-प्रविधि) मा स्नातक सकेका छन्। उनी डिजिटल प्रविधिमै केही काम गर्न चाहन्थे। इ–कमर्स (अनलाइन बजार) चलाउने सोचले स्वदेशी ब्रान्डका लुगा बेच्ने 'ओदोकान' चलाएका थिए। दुई वर्ष यही काम गरे। अनलाइन बजारमार्फत दुई सयभन्दा बढी स्वदेशी ब्रान्डका लुगा देशभरका विभिन्न बजारमा पुर्याए। यही क्रममा स्वदेशी ब्रान्डका लुगाबारे धेरै कुरा थाहा पाए।
'स्वदेशी ब्रान्डका धेरै खाले लुगा बेचेँ। धेरैतिरबाट क्याजुअल लुगाको माग हुन्थ्यो,' उनले भने, 'मैले स्तरीय सेमी क्याजुअल लुगाको अभाव देखेँ।'
कोरोनाले ओदोकानको व्यापार ठप्प भयो। त्यही समय उनले आफ्नै ब्रान्डमा लुगा उत्पादन गर्ने सोच बनाए। कपडा व्यवसायी परिवारमा हुर्किएकाले कपडा पाइने ठाउँ र लुगा तयार गर्नेबारे जानकार थिए। तर व्यवसाय सुरू गर्न उनीसँग लगानी रकम थिएन।
उनले एमबिए (मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन) पढाइका लागि बुबाले दिएको खर्चबाट बचत गर्दै पाँच लाख रूपैयाँ जम्मा गरे।
'ओदोकानमा हालेको लगानीले फाइदा दिएन। जागिर पनि थिएन। व्यवसाय गर्ने हुटहुटी थियो। लुगाको व्यवसाय गर्छु भन्दा घरबाट सजिलै पैसा पाइने थिएन,' उनले भने, 'पढ्दैछु भनेर पैसा माग्दै जम्मा गरेँ। पढाइ रोकिदिएँ।'
आफूसँग पाँच लाख रूपैयाँ भएपछि उनलाई आँट आयो। २०७८ साउनमा उनले चीनबाट तीन लाख रूपैयाँमा पाँच हजार मिटर कटन कपडा मगाए। आफैंले पाइन्ट डिजाइन गरे। सिउने टेलर खोजे। जोरपाटीको एक टेलरसँग सम्झौता गरे।
उनले आफ्नो उत्पादन नयाँ भएकाले डिजाइन र गुणस्तरमा विशेष ध्यान दिनुपर्यो। कस्तो बन्ला, कहिले तयार होला भन्ने उत्सुकता थियो। एक महिनामा ५२६ वटा पाइन्ट तयार भयो। यतिन्जेलमा पाँच लाख रूपैयाँ पनि सकियो।
'डिजाइन सोचेजस्तै भएछ। पाइन्ट हेर्दा आकर्षक देखियो,' त्यो बेलाको खुसी अनुहारमा ल्याउँदै सुसनले भने, 'बजारले खोजेजस्तै पाइन्ट तयार भएछ भनेर दंग परेँ।'
पाइन्ट तयार भएपछि उनले ब्रान्ड नाम 'डिफाइ' राखे। यही नाममा इन्स्टाग्राम पेज खोले। पाइन्टको फोटो खिचेर पेजमा विज्ञापन गरे। बिक्रीका लागि पाइन्ट बोकेर काठमाडौंका सपिङ कम्प्लेक्सहरूमा पुगे। डिफाइको उत्पादनबारे बुझाउँदै हिँडे।
झोलाभरि पाइन्ट बोकेर उनी मोटरसाइकलमा चितवन र बुटवलसम्म पनि पुगे। पसलहरूमा देखाउँदै हिँडे।
'नेपाली लुगा पनि यति राम्रो भन्ने प्रतिक्रिया आयो। म त झन् उत्साही भएँ,' उनले भने।
पहिलो चरणको सबै पाइन्ट उनले १५ दिनमै बेचे। यसपछि उनले आफ्नो व्यवसायबारे घरमा पनि भने।
'आइटी पढाउन पठाएको छोरो आफूजस्तै व्यवसायी भएछ भनेर बुबाले ठट्टा पनि गर्नुभयो,' सुसनले भने, 'बुबाले हेर्नुभयो, ठीकै बनाइछस् भनेर लगानी थपिदिनुभयो।'
उनले लगानी १० लाख रूपैयाँ पुर्याए। पाइन्टपछि सर्ट बनाउन सुरू गरे। भारतबाट सर्टको उपयुक्त कपडा मगाए।
उत्पादन बढाउन उनको आफ्नो कारखाना थिएन। बिक्रीका लागि पसल पनि थिएन। करिब नौ महिना उनले अरूकै भरमा काम गरे। यस अवधिमा ५० लाख रूपैयाँभन्दा बढीको कारोबार भयो।
'दस लाख लगानी गर्दा राम्रै कारोबार गरिने रहेछ, उनले भने, 'अब लगानी थप्दै व्यवस्थित तरिकाले अघि बढ्छु भन्ने आँट आयो।'
सुसनको अनुभवमा नेपाली बजारले स्वदेशी ब्रान्ड खोजेको छ। यस्तो आवश्यकता बुझेर नयाँ उत्पादन ल्याउन सक्दा व्यवसाय सफल हुन्छ।
यसपछि उनले काठमाडौंको कलंकीमा आफ्नै शोरूम खोले। भक्तपुरको सल्लाघारीमा कारखाना बनाए। हाल कारखानामा ७५ वटा मेसिन छन्, ६० जना काम गर्छन्। यिनमा धेरै जसो महिला छन्।
बजार बढ्दै जाँदा उनले उत्पादन पनि बढाउँदै लगेका छन्। पसल थप्न र डिफाइ ब्रान्ड विदेशी बजारमा पनि पुर्याउन लागि परेका उनी स्वदेशी ब्रान्ड पनि स्तरीय हुन्छ भन्ने तथ्य स्थापित गर्न चाहन्छन्।
'म यसमा विश्वस्त छु,' ३० वर्षीय सुसनले भने, 'त्यही विश्वासअनुसार योजनाबद्ध ढंगले अघि बढेको छु।'
(डिफाइ लाइफस्टाइलको इन्स्टाग्राम पेजमा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)