कोरोनाकालमा कसैको रोजगारी गुम्यो त कसैले रोजगारीको नयाँ उपाय पत्ता लगाए। लकडाउनको फुर्सदमा नयाँ अवसर खोजेर अघि बढ्दा सफल भएका धेरै उदाहरण छन्।
तिनैमध्ये एक हुन् काठमाडौं, बाफलका २७ वर्षे दुई युवा वर्षा मानन्धर र अनिष मानन्धर।
तरिका पुर्याएर काम गरे व्यवसाय थाल्न लगानी पनि धेरै चाहिँदैन भन्ने प्रमाणित गरेका छन् यी दुई साथीले।
उनीहरू गहनाको व्यापार गर्छन्। बोलिचालीको भाषामा नक्कली गहनाको। यिनलाई 'फेसन ज्वलेरी' पनि भनिन्छ। यस्ता गहना सस्ता धातुबाट बनेका हुन्छन्, सुन-हिरा जस्ता महँगा होइन।
अनिष र वर्षा अस्ट्रेलियन डाइमन्ड भनिने पत्थरका गरगहना बेच्छन्। हिरा भनिए पनि यो परम्परात रूपमा हिरा-पसलमा किन्नेजस्तो महँगो हुँदैन। उनीहरूले हाल चार सय ५० देखि २० हजार रूपैयाँसम्मका गरगहना बेचिरहेका छन्।
'पछिल्लो समय नक्कली गहनाप्रति महिलाको आकर्षण बढेको छ। यस्ता गहना पाउने ठाउँ थुप्रै छन्,' वर्षाले भनिन्, 'कतिपयले ब्रान्ड नै बनाएर पनि बेचिरहेका छन्।'
उनीहरूले पनि आफ्नो ब्रान्ड बनाएका छन्, नाम हो 'टिसा नेपाल'।
दुई वर्षअघि जम्मा ५० हजार रूपैयाँका केही जोडी झुम्का किनेर व्यापार सुरू गरेका हुन्।
'काठमाडौंकै एक पसलबाट विभिन्न थरीका झुम्का किन्यौं। फोटा खिचेर टिसाको फेसबुक र इन्स्टाग्राममा राख्न थाल्यौं,' अनिषले भने।
नभन्दै उनीहरूको प्रचारले काम गर्यो। सोचेअनुसार बिक्री भएपछि उत्साहित भएका उनीहरूले गरगहना थप्ने र ब्रान्डकै रूपमा अगाडि बढाउने निधो गरे।
'हामी टिसालाई छुट्टै ब्रान्डका रूपमा स्थापित गराइरहेका छौं। नाम चलेका अरू ब्रान्डसँग प्रतिस्पर्धा गर्न खोज्दैनौं,' वर्षाले भनिन्, 'बिक्री सुरू गरेको छोटो समयमै बजारमा माग बढेको छ।'
टिसामा अस्ट्रेलियन डाइमन्डका विभिन्न डिजाइनका गहना पाइन्छ; नेकलेस, तिलहरी, ब्रासलेट, चुरा, औंठी, झुम्का/टप, सारी पिन/ब्रोच र कोटमा लाउने कफ-लिंक लगायत। यीमध्ये सबभन्दा धेरै माग नेकलेस-सेटको छ।
'आकर्षक र नयाँ डिजाइनका नेकलेस लगाइसकेपछि ग्राहकले साँच्चै डाइमन्ड जस्तै लाग्यो भन्नुहुन्छ,' उनले भनिन्, 'बिहेमा यस्तो नेकलेस सेट लगाउने चलन बढेको छ। माग धेरै छ। झुम्का र ब्रोच पनि रूचाइएको छ।'
टिसामा हाल सबभन्दा धेरै मूल्य नेकलेस सेटकै पर्छ, दुई हजारदेखि २० हजार रूपैयाँसम्म।
उनीहरूले बेच्ने गहना आधा स्वदेशी र आधा विदेशी हुन्। गहना आयातमा नयाँ डिजाइन र उपभोक्ताको रूचिलाई ध्यान दिन्छन्। यस्ता गहना चाँडै बिक्छन् पनि।
'हामी थोरै सामान ल्याउँछौं तर गुणस्तरमा सम्झौता गर्दैनौं,' अनिषले भने।
वर्षा र अनिष कोरोनाअघिसम्म आ-आफ्नै पेसामा थिए। वर्षा एक भारतीय कम्पनीको मार्केटिङमा थिइन्, अनिष ट्राभल कम्पनीमा काम गर्थे। वर्षाले 'फाइनान्स एन्ड मार्केटिङ' मा स्नातकोत्तर र अनिषले 'ट्राभल एन्ड टुरिजम' का स्नातक सकेका छन्।
वर्षा जागिर छाडेर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोच्थिन्। त्यस्तो केही काम भइहालेको थिएन। लकडाउनमा सोच्ने र योजना बनाउने फुर्सद मिल्यो।
व्यवसायको अनुभव त थिएन, तर गहना व्यापार गर्न सकिन्छ कि भन्ने लाग्यो।
'मलाई पहिल्यैदेखि गहना मनपर्थ्यो। विभिन्न डिजाइनका झुम्का र सिक्री लगाउँथेँ,' वर्षाले भनिन्, 'झुम्काकै व्यवसाय गर्दा कसो होला भन्ने लाग्यो।'
वर्षाले साथी अनिषलाई सुनाइन्। छलफल भयो, उनी पनि सहमत भए।
'जागिरको साटो आफ्नै केही काम गर्नुपर्छ भन्नेमा हामी दुई जनाको सोच मिल्यो,' अनिषले भने, 'हामीले अनलाइनबाटै गहना बेच्ने योजना बनायौं।'
लकडाउनमा अनलाइन व्यापार फस्टाउँदै पनि थियो। उनीहरूलाई आत्मविश्वास भयो र गहना व्यापार गर्ने टुंगो लागेपछि 'टिसा नेपाल' पेज खोले। नेपाल भाषामा टिसा भनेको गहना हो।
उनीहरूले ५० हजार रूपैयाँ जुटाए। काठमाडौंका केही पसल चहारेर केही जोडी झुम्का किने। फोटो खिचेर टिसाको पेजमा राखे। केही आफन्त र साथीहरूले किने।
व्यापार बढ्दै गएपछि उनीहरूले नेकलेस सेट थपे। काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट माग आउन थाल्यो। अनिष मोटरसाइकल चलाउँथे, वर्षा पछाडि बस्थिन्। यसरी डेलिभरी गरे।
अर्डरअनुसार गहना जम्मा गर्ने, सेट मिलाएर प्याकिङ गर्ने र डेलिभरी गर्ने व्यस्तता बढ्न थाल्यो। त्यो बेलासम्म उनीहरूको जागिर पनि चल्दै थियो। एक वर्ष दौडधूपमै बित्यो। भ्याइनभ्याइ भएपछि भने दुवैले जागिर छोडेर व्यापारमै पूरा समय दिने निधो गरे।
दुवैको घर एकै ठाउँमा भएकाले सजिलो पनि भयो।
'हामी दुवैको घर बाफल हो, नजिकै छौं,' वर्षाले भनिन्, 'जागिर छाडेर लागेपछि हामीलाई सजिलो भयो। तत्काल शोरूम (पसल) पनि आवश्यक परेन।'
एक वर्षभन्दा बढी समय उनीहरू आफैंले डेलिभरी गरे। दिनमै १५ जनाको अर्डर आउन थालेपछि भने डेलिभरी कम्पनीसँग जोडिए। तुरून्तै डेलिभरी गर्नुपरेको अवस्थामा उनीहरू आफैं पुग्छन्। हाल टिसामा दैनिक २० वटासम्म अर्डर आउँछ।
काठमाडौं उपत्यकाबाट सुरू गरेको व्यापार अहिले अरू जिल्लामा पनि पुगेको छ। काठमाडौंभित्र र बाहिरबाट उस्तै मात्रामा अर्डर आउँछ।
'यसले गर्दा आगामी दिनमा झन् नयाँ र गुणस्तरीय गहना राख्नुपर्छ भन्ने आत्मविश्वास बढाएको छ,' अनिषले भने।
टिसाका गहना विदेश पनि पुगेको छ। अमेरिका, अस्ट्रेलिया र बेलायत लगायत केही मुलुकमा नेकलेस सेट र ब्रोच पठाएको वर्षाले बताइन्।
'दुई वर्षअघि ख्यालख्यालैमा सुरू गरेको व्यवसाय अन्तर्राष्ट्रिय बजारमा पुग्दैछ। हामी मेहनत गर्दैछौं,' उनले भनिन्।
अनलाइनबाट अघि बढेको गहना व्यवसायलाई अझ विस्तार गर्न ६ महिनाअघि उनीहरूले छाउनीमा स्टुडियो खोलेका छन्। शोरूम खोल्ने भने योजना छैन। केही फरक तरिकाले व्यवसाय गर्न चाहेको उनीहरू बताउँछन्।
टिसा अब पुरूषका लागि पनि केही गहना ल्याउने योजनामा छ। पुरूष ग्राहकलाई केन्द्रमा राखेर 'हाउस अफ मेन' चलाउने तयारी हुँदैछ।
'हामीले टिसाको भविष्य फराकिलो देखेका छौं। यसलाई ब्रान्ड बनाउन लागिपरेका छौं,' उनीहरू भन्छन्, 'अब टिसा भन्नासाथ आधुनिक र आकर्षक गरगहना पाउने ठाउँ भनेर चिनाउनु छ।'
(टिसा नेपालको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)