पुष्टकारी र गुँदपाक, कुनै बेला काठमाडौंको मिठाइ बजारको राजा। काठमाडौंको कोसेली पनि जो देशका कुनाकन्दरासम्म पुग्थ्यो।
अधिकांश काठमाडौंवासीले स्वाद मानीमानी मुखमा घुलाउने पुष्टकारी र गुँदपाकलाई पछिल्लो दशक विदेशी मिठाइले पछाडि पार्दै लगेको छ। स्थानीय र यसको स्वादमा रमेकामाझ यसको मोह बाँकी भए पनि नयाँ पुस्ताको धेरै चासो देखिँदैन।
आकर्षक प्याकेजिङ र विभिन्न स्वादका ब्रान्डेड मिठाइका अगाडि हातैले बनेका र साधारण पोकामा बेरिएका पुष्टकारी–गुँदपाक कसले रूचाओस्?
सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ यस्तै सोच्थिन्। आफूले रमाइरमाइ खाँदै हुर्केको प्रिय मिठाइको उनलाई साँच्चै माया लाग्यो।
सोचिन्— हाम्रो यो रैथाने मिठाइलाई पनि ब्रान्डेड चकलेटझैं फैलाउन पाए?
अनुष्काले यसलाई सोचमा मात्र सीमित गरिनन्। करिब आठ महिना बजार अध्ययन गरिन्।
सबै चाँजो मिलेपछि साढे दुई वर्षअघि सुरू भयो 'माक्कुसे'। सन् २०२० नोभेम्बरबाट सुरू माक्कुसे 'लक्जरी' मिठाइ ब्रान्ड हो। हाम्रो बोलीचालीमा स्ट्यान्डर्ड चकलेट!
हाल यो ब्रान्ड अन्तर्गत पुष्टकारी, गुँदपाकका साथै कुकिज उत्पादन हुन्छ। हाम्रा मौलिक मिठाइलाई माक्कुसेको आकर्षक प्याकेजिङ र ब्रान्डिङले 'लक्जरी स्विट्स' बनाइदिएको छ।
साँच्चै माक्कुसे छोटो अवधिमै ब्रान्ड बन्न सफल भएको अनुष्का बताउँछिन्।
'हामीले सुरू गर्दा खुद्रा बजारमा मात्र बिक्री हुन्थ्यो। पछिल्लो समय दूतावासहरूमा पनि हाम्रो पुष्टकारी जान्छ,' उनले खुसी हुँदै सुनाइन्।
उनका अनुसार नेपालस्थित भारतीय दूतावासले भारतको ७०औं गणतन्त्र दिवसको अवसरमा माक्कुसे पुष्टकारी वितरण गरेको थियो।
'यो गर्वको कुरा हो। भारतीय राजदूतावासले आफ्नो देशको विशेष दिनका अवसरमा नेपाली पुष्टकारी बाँड्यो,' उनले भनिन्।
अमरिकी दूतावासले पनि विभिन्न अवसरमा माक्कुसे पुष्टकारी बाँड्ने गरेको उनले जानकारी दिइन्।
माक्कुसेले अहिले स्टार्ट-अपबाट उद्योगतर्फ पाइला चालिसकेको छ। पाँच जना सहयोगीबाट सुरू भएको कम्पनीमा हाल १६ जना कर्मचारी छन्। बजार विस्तार हुनु अनुष्काका लागि खुसीको कुरा हो। तर योसँगै चुनौती पनि थपिएको छ।
'उद्योग खोल्न छुट्टै उत्साह हुन्थ्यो, निरन्तरता दिन चुनौती देखिरहेका छौं,' उनले भनिन्।
माक्कुसे सुरू गर्दा कोभिड फैलिएको थियो। अत्यावश्यक सामानबाहेक अरू वस्तु त्यति आयात भएका थिएनन्। त्यही बेला माक्कुसेले यहाँ राम्रो बजार पायो। अहिले आयात सहज छ। अझ चीन र भारतबाट सस्तोमा मिठाइ आउँछ।
आयातीतसँग प्रतिस्पर्धा गर्न सस्तो र गुणस्तरीय उत्पादन कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको उनले बताइन्।
अनुष्काका अनुसार पुष्टकारी बनाउने मुख्य कच्चा पदार्थ खुवा सहजै पाइँदैन। यो घरेलु उद्योगले मात्रै उत्पादन गर्छन्। उनीहरूबाट ठूलो परिमाणमा उत्पादन हुन नसक्दा समस्या भइरहेको उनले बताइन्।
'खुवा उत्पादन गर्ने त धेरै भेट्यौं। तर सम्झौता गरेर मासिक यति परिमाणमा दिन्छु भन्न सक्ने कोही भेटेनौं,' उनले भनिन्, 'पर्याप्त खुवा नभई उत्पादन बढाउन सकिँदैन।'
सरकारले साना उद्योगीको सामान किनिदिने व्यवस्था गरे उनीहरूले उत्पादन गर्ने उनको भनाइ छ।
'विदेशतिर साना उद्योगीको उत्पादन सरकारले किनिदिन्छ र उनीहरू ढुक्कले उत्पादन गर्छन्,' उनले भनिन्, 'हाम्रोमा त्यो छैन।'
त्यस्तै प्याकेजिङको कच्चा पदार्थमा पनि उनले समस्या देखेकी छिन्। कच्चा पदार्थ सबै यहाँ उपलब्ध हुँदैन। केही बाहिरबाटै ल्याउनुपर्छ। भन्सार महँगो भएकाले उत्पादन लागत महँगो पर्ने उनी बताउँछिन्।
'उत्पादन लागत सस्तो भयो भने हामीले आयातीतसँग प्रतिस्पर्धा गर्न सक्छौं,' उनले भनिन्, 'त्यसपछि हाम्रो उत्पादन विदेशी बजारमा चिनाउन सकिन्छ।'
पूर्वमिस नेपाल अनुष्कालाई नेपाली मौलिक खानेकुरालाई विश्वमा चिनाउने सोच नेपाल प्रतिनिधित्व गर्दै मिस वर्ल्डको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुग्दा आएको हो। जित नभए पनि नेपाललाई अन्तर्राष्ट्रिय स्टेजमा चिनाउन पाउँदा उनी निकै खुसी थिइन्। फेरि एकपटक नेपाललाई विश्वभर चिनाउने मन भयो। अनि यसैका लागि मौलिक मिठाइको व्यवसाय गर्ने निधो गरेकी हुन् उनले।
मिस नेपाल हुनुपहिले उनी अस्ट्रेलियाको एउटा बैंकमा काम गर्थिन्। पछि नेपालमै काम गर्ने सोचले फर्किएको उनको भनाइ छ।
अनुष्काका अनुसार माक्कुसे भनेको नेवारी शब्द हो जुन खानाको स्वाद बुझाउन प्रयोग हुन्छ। यो शब्दको ठ्याक्कै अर्थ बुझाउन भने सकिँदैन।
'कुनै मिठो परिकार खाँदा मनै भरिने आनन्दको भावनालाई माक्कुसे भनेर बुझाउँछौं। यसले मिठो स्वादप्रतिको हाम्रो भावना व्यक्त गर्छ,' उनले भनिन्।
व्यवसायमा कहिल्यै नजोडिएकी अनुष्काका लागि यो काम बिल्कुल नयाँ थियो। उनले अरू व्यवसाय पनि सोचेकी थिइन्। तर सोधीखोजी क्रममा नेपाली खाना, विशेषगरी मिठाइले पाउनुपर्ने चर्चा नपाएको महसुस गरिन्।
'विदेशतिर नेपाली मिठाइबारे कसैले सोधे भने हामीसँग नाम हुँदैन,' उनी भन्छिन्, 'पुष्टकारी र गुँदपाक हाम्रा हुन् जो ओझेलमा पर्दै गएका छन्। यसको स्वाद बेग्लै र स्वास्थ्य महत्व पनि धेरै छ। त्यसैले यी परिकारले विश्व पहिचान पाउनै पर्छ।'
माक्कुसे स्थापनाका लागि उनले काठमाडौंका पुराना मिठाइ पसल चहारेर त्यहाँको व्यवस्थापन र पकाउने तरिका नियालेकी थिइन्। यी सबै जानकारी इन्टरनेटबाट पनि लिन सकिन्थ्यो। तर मौलिक स्वाद स्थानीय विधिबाट मात्रै पाउन सकिने उनको बुझाइ छ। अझ दुई महिना त उनले घरमा आफैं गुँदपाक र पुष्टकारी पकाउन सिकेको बताउँछिन्।
'आफूले बेच्ने उत्पादनको सबै जानकारी र तरिका थाहा हुनै पर्छ,' उनले भनिन्।
तर अनुभवी व्यक्तिले पकाएजस्तो भएन। त्यसैले यो कामको जिम्मा उनले तिनै अनुभवीहरूलाई दिएकी छन्।
हाल माक्कुसेका तीन परिकार छन्– पुष्टकारी, गुँदपाक र कुकिज। यसमा पनि ग्राहकले विभिन्न 'भेराइटी' पाउँछन्।
पहिले एउटा आकारमा मात्रै पाइने पुष्टकारी अहिले साना र ठूलो गरी दुई आकारमा पाइन्छ। सुरूमा रोजवाटर–पिस्ताचियो र मोचा गुँदपाक मात्रै बनाउँदै आएकोमा अहिले सुगर-फ्री र कुनै पनि 'फ्लेभर' नहाली 'ओरिजिनल' स्वादको गुँदपाक पनि छ।
त्यस्तै पहिले चकलेट र ओट्स गुँदपाक पम्प्किन सिड कुकिज मात्रै पाइन्थ्यो। अहिले सुजी कुकिज थपिएको छ।
माक्कुसेका परिकार काभ्रेका स्थानीय किसानबाट किनेको दूधबाट बनाइन्छ। यसमा प्रयोग हुने सबै सामान स्थानीय र रसायनबिहीन हुने अनुष्काको दाबी छ।
पाँच सय २९ रूपैयाँदेखि एक हजार दुई सय ४९ रूपैयाँसम्म माक्कुसेका परिकार पाइन्छन्। यसबाहेक परिकारसहितको दुई खालका गिफ्ट बक्स पनि उपलब्ध छ।
ठूलो गिफ्ट बक्सभित्र रोजवाटर र पिस्ताचियो गुँदपाक, मोचा गुँदपाक, सुगर-फ्री गुँदपाक र पुष्टकारीको एक-एक बट्टा हुन्छ। योसँगै ६ वटा कुकिज र तामाको चम्चा पाइन्छ। यसको मूल्य चार हजार चार सय ९९ रूपैयाँ पर्छ।
त्यस्तै मिनी गिफ्ट बक्सभित्र गुँदपाक, पुष्टकारी, कुकिज र तामाको चम्चा हुन्छ। यसको मूल्य २ हजार ५ सय रूपैयाँ पर्छ।
तुलनात्मक रूपमा बजारमा गुँदपाक र पुष्टकारी सस्तो पाइन्छ। त्यसैले माक्कुसेका उत्पादन महँगो लाग्न सक्छ। तर माक्कुसे 'लक्जरी' ब्रान्ड र ग्राहकप्रति जिम्मेवार भएकाले अलि महँगो हुनु स्वाभाविक भएको उनी बताउँछिन्।
'जब उत्पादनलाई ब्रान्डका रूपमा प्रस्तुत गरिन्छ, तब अलिकति महँगो पर्छ नै। हामी मूल्यसँगै गुणस्तरमा भरपर्दो छौं भन्ने ग्राहकले बुझ्नुपर्छ,' उनी भन्छिन्, 'विदेशी चकलेट चाहिँ ठूलो ब्रान्ड, महँगो हुन्छ भन्दै जति परे भए पनि किन्न पछि पर्दैनौं। तर त्यही चकलेट नेपाली ब्रान्ड भए खर्चिन चाहँदैनौं। राम्रा नेपाली ब्रान्ड प्रोत्साहन गरेर अगाडि बढाउन सक्यौं भने मात्र प्रिमियम ब्रान्डका रूपमा स्थापित हुन सक्छ।'
अहिले कम्पनीले खाद्य सम्बन्धी परामर्शदाता पनि राखेको छ।
माक्कुसेको प्याकेजिङमा पनि अझ ध्यान दिइएको उनी बताउँछिन्। पुष्टकारी सुनौलो कागजमा बेरेर नेपाली कागजबाट बनेको बलियो डब्बामा आउँछ। बाहिर अंग्रेजी र रञ्जना लिपिमा माक्कुसे लेखिएको छ। अनुष्काका अनुसार यो रञ्जना लिपिको डिजाइन मिस नेवा तथा हाल काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बनाएकी हुन्।
गुँदपाक सिसाको बट्टामा आउँछ। बिर्कोबाहिर नेपाली कागजले नै बेरेर झिलिमिली डोरीले बाँधिएको छ।
'हाम्रो उद्देश्य प्याकेजिङमार्फत पनि नेपाली मौलिकता झल्काउनु हो,' उनी भन्छिन्, 'हामीले अहिले प्याकेजिङमा गरेको खर्चभन्दा पाँच गुणा सस्तोमा चीनबाट सामान ल्याउन सकिन्थ्यो। तर हराउँदै गएको मौलिक कला बचाउन पनि यही रोजेका हौं।'
ठूलो भर्याङमा कारखाना रहेको माक्कुसे २५ लाख रूपैयाँ लगानीमा सुरू भएको हो। कम्पनीले अहिलेसम्म नाफा गर्दै आएको पैसा पनि व्यवसायमै लगानी गरेको उनको भनाइ छ।
'थप लगानी गरेका छैन, मुनाफा पनि लिएका छैन,' उनले भनिन्, 'मेरो अहिलेसम्मको कमाइ र मिहिनेत यसैमा छ। त्यसैले आफ्नो बच्चा जस्तै लाग्छ। मैले थुप्रै सहयोगी हातहरू पाएँ र माक्कुसे ब्रान्ड बनाउन सफल भएकी छु।'
विदेशमा काम गरेजस्तो अनुभव नेपालमा होला–नहोला, उनलाई थाहा छैन। तर जे भए पनि पछि नहट्ने बताउँछिन्।
'काम गर्न जहाँ पनि गाह्रो हुन्छ। विदेश हेरी यहाँको व्यवस्थापन कमजोर होला। तर काम गर्नै सकिँदैन भन्ने होइन,' उनले भनिन्, 'मुख्यगरी यहाँ युवापुस्ताको नयाँ आइडिया सम्मान गर्दै उनीहरूलाई अघि बढ्न प्रोत्साहन गर्न जरूरी छ। युवाले पनि आफ्नो काम धैर्यसाथ गर्नुपर्छ। अनि मात्र नेपाली उत्पादन विश्व बजारमा अगाडि आउन सफल हुन्छ।'
अहिले माक्कुसेको उत्पादन चितवन, हेटौंडा, पोखरा, दरबारमार्ग, झम्सिखेल, स्वयम्भुका पप-अप स्टोरमा पाइन्छ। कम्पनीले माक्कुसेका परिकार पस्किन चाँडै आफ्नै स्टोर (पसल) सञ्चालनमा ल्याउन लागेको छ।
'हामी ठमेलमा डेजर्ट-पार्क खोल्दै छौं। त्यहाँ माक्कुसेका साथै अन्य मौलिक खानेकुरा पनि राख्छौं,' अनुष्काले भनिन्।
(माक्कुसेको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्क नम्बरः ९८६२२६५७५४)