चिया त अवश्य नै खाने गर्नुभएको होला, दूध भएको वा नभएको दुबै। दूध नभएको अर्थात कालो चिया मात्र पनि खानुहुन्छ होला।
'फर्मेन्टेसन' गरेर बनाइएको कालो चिया खानुभएको छ त? यस्तो चियाको कुरा नै अनौठो लाग्यो कि!
फर्मेन्ट गरिएको कालो चियाको खास नाम हो 'कम्बुचा'। खासमा कम्बुचा परम्परागत चिया हो। पेटसम्बन्धी कुनै समस्यामा यस्तो चिया खाने–खुवाउने गरिन्छ तर प्रचलन व्यापक छैन।
शरीरबाट विषाक्त पदार्थहरू हटाउन तथा पाचन क्षमता र प्रतिरक्षा प्रणाली बढाउन कम्बुचा सेवन गर्ने चलन संसारमै निकै पुरानो हो। यसले उच्च रक्तचाप नियन्त्रणमा राख्न र हृदय रोगबाट बच्न पनि मद्दत गर्छ भन्ने विश्वास छ। शरीरका लागि लाभदायी ब्याक्टेरिया प्रयोग गरेर चियापत्तीबाट कम्बुचा तयार गरिन्छ।
नेपालका केही सीमित ठाउँमा कम्बुचा पिउने चलन छ। व्यावसायिक स्तरमा भने व्यापक भइसकेको छैन। भमिसा फुड्स एन्ड बेभरेजले बजारको यही कमीलाई ध्यानमा राख्नै व्यावसायिक रूपमै कम्बुचा बनाउन थालेको छ।
कम्बुचा व्यावसायिकीकरण गर्ने पहिलो कम्पनी भमिसा फुड्स नै भएको सञ्चालकहरूको दाबी छ।
'गाउँघरमा कम्बुचा बनाइने भए पनि व्यावसायिक तरिकाले सार्वजनिक गर्ने पहिलो कम्पनी हाम्रै हो,' कम्पनीका अध्यक्ष तथा सञ्चालक अमीत क्षेत्री भन्छन्, 'हामीले विगत तीन वर्षदेखि कम्बुचा नाम बनाउँदैछौं।'
कम्पनीले 'एका कम्बुचा' ब्रान्ड नामबाट यो चिया बजारमा पठाउन थालेको भने साढे दुई वर्ष भयो।
अमीतका अनुसार 'एका' को अर्थ 'पहिलो' हो। नेपालमा कम्बुचाको व्यवसाय गर्ने पहिलो कम्पनी भएकाले ब्रान्डको नाममा यो शब्द जोडिएको उनी बताउँछन्।
भमिसाले परम्परागत कम्बुचामा केही स्वाद थपेर एका कम्बुचा बनाउँछ। फ्रेसा (स्ट्रबेरी), अनानस (भुइँकटर), ले मेन्टो (कागती र पुदिना), ब्लु जिन्जर (अदुवा), केमोमाइल (दामिनी/तारे फूल) लगायतका स्वाद छन्। बजारमा बढी रूचाइएका फ्रेसा र ले मेन्टो हुन्।
एका कम्बुचा हाल ३०० मिलिलिटरको सिसाको बोतलमा पाइन्छ। यसको मूल्य २५० रूपैयाँ छ।
'कम्बुचा पहिलो पटक खाँदा अर्कै, अलि असहज स्वाद आउँछ। कसैले छ्याङ वा वाइनको बासना आएको पनि भन्नुहुन्छ। खाँदै जाँदा बानी पर्छ,' कम्पनीकी अर्की सञ्चालक दिव्या महर्जन भन्छिन्, 'यसमा ०.५ पाँच प्रतिशतभन्दा कम रक्सी हुन्छ। यसलाई नेपाल सरकारले पनि अनुमति दिएको छ।'
दिव्या पनि कम्बुचा पिउन अभ्यस्त थिइनन्। सुरूमा उनलाई स्वाद उति सहज लागेको थिएन।
'सुरूमा मलाई पनि मनपरेको थिएन। अहिले दैनिक पिउँछु। स्वाद राम्रो लाग्छ,' उनी भन्छिन्।
दिव्या र अमीतसँगै एका कम्बुचा बजारमा पुर्याउन सञ्जय श्रेष्ठ पनि सक्रिय छन्। उनी कम्पनीको आर्थिक र समग्र व्यवस्थापन सम्हाल्छन्। अमीत मार्केटिङमा सक्रिय छन्, दिव्या उत्पादनतर्फ।
दिव्या माइक्रोबायोलोजिस्ट हुन्। कम्पनी सञ्चालनको अवधारणा विकास भइरहँदा उनी थेसिस गर्दै थिइन्। उनी अहिले एका कम्बुचाको ल्याब परीक्षणदेखि उत्पादनसम्म समग्र पक्ष सम्हाल्छिन्।
अमीत फार्मासिस्ट (औषधि बनाउने विज्ञ) हुन्। यसअघि उनी औषधि कम्पनीमै आबद्ध थिए। करिब सात वर्ष औषधिको विशेष अनुसन्धान र विकासमा काम गरे। दिव्या र अमीतको चिनाजान कामको सिलसिलामै भएको थियो।
मेकानिकल इञ्जिनियर सञ्जय कक्षा ११ देखि नै अमीतका सहपाठी हुन्। दिव्यासँग भने कम्पनीको अवधारणाको क्रममै भेट भएको हो।
एका कम्बुचाको अवधारण सञ्जय र अमीतको थियो। कामको सिलसिलामा सञ्जय २०७३ सालतिर जापान पुगेका थिए। तीन वर्षपछि स्वदेश फर्के। व्यावसायिक पृष्ठभूमि नभए पनि उनी आफ्नै कुनै व्यवसाय गर्न चाहन्थे।
अमीतलाई पनि जागिरे जीवनबाट बाहिर निस्केर आफैं केही काम गर्न मन थियो।
सञ्जयले भने, 'हाम्रो सोच मिलेपछि व्यवसायतिर ध्यान केन्द्रित गर्यौं।'
उनीहरू उत्पादन र सेवाको व्यवसाय गर्न चाहन्थे। सोहीअनुसार ई–कमर्स क्षेत्रमा लाग्ने योजना बनाए। त्यही बेला कोरोना महामारी फैलिएर लकडाउन भयो। कोरोनाका कारण अरू धेरै व्यवसायी ई–कमर्समा होमिन थाले।
'हाम्रो पुँजी कम थियो, प्रतिस्पर्धी बजार ठूलो थियो। त्यसैले हामी ई–कमर्सको साटो अर्को कुनै व्यवसाय गर्ने योजनामा मोडियौ,' अमीतले भने।
केही दिनको मन्थनपछि उनीहरूलाई कम्बुचाको जुक्ति फुर्यो। कम्बुचाको गुणस्तर परीक्षण गर्न माइक्रोबायोलोजिस्ट आवश्यक हुन्थ्यो। यहीँनिर दिव्या आइपुगेकी हुन्।
उनीहरूले सुरूमा जम्मा पाँच लाख रूपैयाँ लगानीमा लाजिम्पाटमा एउटा सानो कोठा भाडामा लिएर काम सुरू गरे। परीक्षणका लागि दुई लिटर कम्बुचा बनाए। परीक्षण सफल भयो। उनीहरूले व्यावसायिक रूपमा अघि बढ्ने निधो गरे।
अनि एका कम्बुचा बजारमा पुग्यो।
अहिले यसको कार्यालय र एक हजार वर्गफिटको कारखाना मध्यपुर थिमीमा छ। तीन जना सञ्चालकबाहेक कम्पनीमा हाल १२ जना कर्मचारी छन्।
दिव्याका अनुसार कम्बुचा तयार हुन निकै समय लाग्छ। सुरूमा चियापत्तिलाई चिसो पानीमा राखेर फर्मेन्टेसनको प्रक्रिया सुरू गर्नुपर्छ। फर्मेन्ट हुन १४ देखि १८ दिनसम्म लाग्छ। यसबीच विभिन्न परीक्षणको काम हुन्छ। यसको सबै जिम्मेवारी दिव्याको काँधमा छ।
चिया फर्मेन्ट भएपछि स्वादहरू थपिन्छ। यसपछि फेरि चार दिन राखिन्छ। हाल एक खेपमा ३०० मिलिलिटरका चार हजार बोतल कम्बुचा बनिरहेको छ।
यसरी तयार भएको कम्बुचा बोतलमा लेबलसहित प्याकेजिङ गरी बजार पुर्याइन्छ। कम्बुचाको मार्केटिङ सम्हालिरहेका अमीतका अनुसार एक खेपको कम्बुचा बजार पुग्न कम्तीमा २५ दिन लाग्छ।
पेय पदार्थ कम्बुचा कहाँबाट सुरू भयो भन्ने यकिन छैन तर चीनबाट भएको अनुमान छ। पछि एसियाली मुलुकसँगै युरोपमा पनि प्रख्यात हुन थालेको मानिन्छ। अमीतका अनुसार नेपाली स्थानीय बजारमा पनि कम्बुचा पाइन्छ तर त्यसको ब्रान्डिङ छैन।
'व्यावसायिक हिसाबले प्रवर्द्धन नभएको मात्रै हो तर नेपालमै पनि लामो समयदेखि कम्बुचा बनाएर खाने–खुवाउने चलन छ,' अमीत भन्छन्, 'विशेष गरी पेटको समस्या हुँदा कम्बुचा खुवाइन्छ। मलाई पनि हजुरआमाले खुवाउनु हुन्थ्यो।'
स्वास्थ्यका लागि फाइदाजनक कम्बुचा नेपालमै व्यावसायिक उत्पादन गर्न र व्यापार विस्तार गर्न सक्ने सम्भावना देखेरै आफूहरू यसमा लागेको उनको भनाइ छ।
सामान्यतया कम्बुचा दुई महिनासम्म मात्रै भण्डारण गर्न मिल्ने हुन्छ। एका कम्बुचा भने छ महिनासम्म राख्न सकिने गरी तयार गरिएको उनले बताए।
एका कम्बुचा अहिले काठमाडौं उपत्यकाभित्र सेल्सबेरीका सबै आउटलेट, निना एन्ड ह्यागर, केके मार्ट, फार्म सप लगायत एक सय वटा ठाउँबाट बिक्री भइरहेको छ। पोखरामा पनि पाइन्छ। आगामी दिनमा धरान, चितवन, भैरहवा र अन्य मुख्य सहरमा पुर्याउने योजना सञ्चालकहरूको छ।
एका कम्बुचाका धेरैजसो ग्राहक पर्यटक हुन्। नेपालमा कम्बुचा पाइने रहेछ भनेर पर्यटकहरू खुसी हुने गरेको अमीत बताउँछन्। कम्बुचाको फाइदा थाहा पाएर उपभोक्ता आकर्षित हुन थाले पनि सोचेअनुसार बजारमा पुग्न सकेको छैन।
'ब्रान्डेड कम्बुचाका रूपमा ठूलो बजारमा पुग्न कम्पनीलाई अझै केही वर्ष लाग्न सक्छ,' अमीतले भने।
यसबीच बजारमा कम्बुचा उत्पादक कम्पनीहरू भित्रने पनि उनको अनुमान छ। प्रतिस्पर्धाका लागि सोहीअनुरूप तयार रहेको पनि उनले बताए।
अहिले एका कम्बुचालाई ब्रान्डका रूपमा विस्तार गर्नमा केन्द्रित भमिसा फुड्सले निकट भविष्यमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गर्दैछ।
(एका कम्बुचाको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्। सम्पर्क- ९८०१८४६१६७)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)