नेपाली भान्सामा अदुवा र लसुन नहुने कुरै भएन। माछामासुमा होओस् कि तरकारीमा, सिलौटोमा लोहोरोले लसलसी पिसेर अदुवा र लसुन नहाली खान के मजा हुन्थ्यो र!
अदुवा–लसुन पिस्ने काम चाहिँ धेरैलाई झन्झटिलो लाग्न सक्छ। कहिलेकाहीँ त हतार पनि हुन्छ।
यस्तो झन्झट र हतारको समाधान छ। समाधान हो अदुवा–लसुन तयारी पेस्ट अर्थात लेदो। यस्तो पेस्टबारे धेरैलाई थाहा नहुन सक्छ।
'फेमिलियर' कम्पनीले अदुवा–लसुनको तयारी पेस्ट सर्वसाधारणमाझ चिनाइरहेको छ। कम्पनीको ब्रान्ड नारा छ– अदुवा लसुन किन्न नपर्ने, सिलौटामा पिस्न नपर्ने!
'बजार गएर अदुवा–लसुन किनिरहनु परेन, न त घरमा सिलौटामा पिस्नु पर्यो,' फेमिलियरकी सञ्चालक राधिका ढकाल भन्छिन्, 'हामीले बनाएको पेस्ट व्यस्त दैनिकीमा छिटो र सजिलो छ। काठमाडौंमा डेरामा बस्ने धेरै मानिस छन्। कतिपयसँग सिलौटो वा मिक्सर केही हुँदैन। उनीहरूका लागि पेस्ट चलाउन सजिलो भएको छ।'
फेमिलियरको कारखाना कपनमा छ। सात रोपनी जमिनमा कारखानासँगै अन्य पारिवारिक व्यवसाय पनि छ। कारखानामा अदुवा-लसुनको पेस्ट बन्छ।
राधिकाका अनुसार सुरूमा अदुवा धोएर मेसिनो टुक्रा बनाइन्छ। किटाणुरहित बनाउन थोरै समय उमालिन्छ। यसपछि मेसिनमा पेलेर लेदो बनाइन्छ। यही प्रक्रियाले लसुनको पेस्ट पनि तयार हुन्छ। यसरी बनेको पेस्ट प्याकेजिङ गरेर बजार पठाइन्छ।
'सबै पक्रिया पूरा भएपछि सिलौटामा अदुवा र लसुन पिसेको जस्तै पेस्ट बन्छ। यसको स्वाद अर्गानिक हुन्छ,' राधिका भन्छिन्।
यस्तो पेस्ट पचास ग्राम, सय ग्राम र चार सय ग्राम तौलमा प्याकेजिङ गरिन्छ। यसको मूल्य हाल क्रमशः २५ रूपैयाँ, ४० रूपैयाँ र १३० रूपैयाँ छ।
यस्तो पेस्टको प्याकेट नखोल्दा ६ महिनासम्म टिक्ने राधिकाको भनाइ छ। प्याकेट खोलेपछि सात दिनसम्म प्रयोग गर्न सकिन्छ। खोलेको प्याकेट फ्रिजमा राख्नु राम्रो हुन्छ।
कारखानामा हाल अदुवा र लसुनको गरेर दैनिक तीन सय किलो पेस्ट बन्छ। अदुवा–लसुन खँदिलो हुने भएकाले पेस्ट बनाउँदा तौल नघट्ने राधिका बताउँछिन्।
उनका अनुसार पेस्टको माग काठमाडौं उपत्यकामा नै धेरै छ। धेरै जसो पेस्ट मासु पसल र किराना पसलबाट बिक्री हुने गरेको छ।
'मासु पकाउँदा अदुवा–लसुन हाल्नैपर्छ भन्ने हुन्छ। लोहोरो–सिलौटो नभएका र भए पनि पिस्न झन्झट मान्नेहरूका लागि यो पेस्ट सजिलो भएको छ।'
कम्पनीको बजार अध्ययनअनुसार स्कुल–क्याम्पस रहेका क्षेत्रमा पेस्टको बिक्री राम्रो छ।
'विद्यार्थीहरूसँग समय कम हुन्छ। सबै चिज तयार गरेर बस्न झन्झट पनि हुन्छ,' राधिका भन्छिन्, 'यसै कारणले होला, विद्यार्थी बसेका क्षेत्रमा हाम्रो पेस्टको बिक्री राम्रो छ।'
काठमाडौं उपत्यकाबाहिरका धनगढी, पोखरा, विराटनगर, धरान, लगायतका सहरबाट पेस्टको माग आउने गरेको उनले बताइन्।
अदुवा–लसुन पेस्टसँगै फेमिलियरले मिट मसला, मल्टीमिट मसला, चिकेन मसला, मःमः मसला, चाट मसला र भेजिटेबल मसला पनि बनाउँछ। यीमध्ये सबभन्दा धेरै मल्टीमिट मसला बिक्छ। यसमा अदुवा, जिरा, धनियाँ, टिमुर, दालचिनी, अलैंची, ल्वाङ, सुकुमेल लगायतको मिश्रण हुन्छ। यसको मूल्य हाल एक प्याकेटको ६० रूपैयाँ छ।
फेमिलियरको उत्पादन रूचाउने कतिपय ग्राहक कारखानामै पुग्छन्। अनलाइन अर्डर गर्न पनि मिल्छ। डेलिभरी पनि कम्पनीले नै गर्छ। डेलिभरीका लागि दुइटा गाडी र चार जना कर्मचारी छन्। उत्पादन, मार्केटिङ र व्यवस्थापनमा गरी ११ जनाले रोजगारी पाएका छन्।
राधिका आफू पनि मार्केटिङ र व्यवस्थापनमा खट्छिन्। घरको काम फत्ते गरेपछि दिनभर व्यवसायमै हुन्छिन्।
पेस्टको माग बढेसँगै कारखानामा अदुवा र लसुनको खपत बढ्दो क्रममा छ। राधिकाका अनुसार सुरूका दिनमा दुई जिल्लाबाट मात्र अदुवा–लसुन झिकाउँथे। हाल काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, स्याङ्जा, पाल्पा लगायत कम्तीमा सातवटा जिल्लाबाट आउँछ। कम्पनीले कृषि सहकारीबाट पनि अदुवा–लसुन किन्छ। तर बढ्दो माग पूरा गर्न नसकेको उनी बताउँछिन्।
फेमिलियरले अदुवा–लसुनको तयारी पेस्ट बनाउन थालेको आठ वर्ष भयो। त्यो बेला थोरै भारतीय कम्पनीले नेपालमा यसको बजार बनाइरहेका थिए। धेरै सर्वसाधारणलाई यसबारे जानकारी थिएन। राधिका आफैंले पनि यसरी अदुवा–लसुनको तयारी पेस्ट बेच्न सकिएला, यसको बजार होला भन्ने सोचेकी थिइनन्।
उनलाई फेमिलियर र अदुवा–लसुनको तयारी पेस्ट पाँच वर्षअघि श्रीमान सुमन दाहालले चिनाएका हुन्।
राधिका पाँच वर्षअघिसम्म पत्रकारिता गर्थिन्। आर्थिक गतिविधिको रिपोर्टिङमा लामो समय सक्रिय भइन्। यही सिलसिलामा उनमा व्यवसायी बन्ने सोच पलाएको थियो।
पत्रकारिता गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरिन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाबाट उपप्रमुखको उम्मेदवार बनिन्।
'त्यति बेला राजनीतिमा लाग्छु भन्ने थिएन तर पार्टीले टिकट दियो,' उनले भनिन्, 'आफ्नै ठाउँ हो, एकपटक प्रयास गरौं न त भनेर तयार भएँ।'
परिस्थिति अनुकूल भएन। उनी पराजित भइन्। यसपछि उनलाई पत्रकारितामा पनि फर्कन मन लागेन। त्यही बेला उनको बिहे पनि भयो।
सुमनले २०६८ सालमा फेमिलियर नामका कस्मेटिक सामानको उत्पादनबाट व्यवसाय सुरू गरेका थिए। उनले आयुर्वेदिक शिक्षा पढेका हुन्। जडीबुटीबाट बनाएका सौन्दर्य सामानको बजार उति फस्टाएन। त्यसपछि उनले २०७२ सालमा अदुवा–लसुनको पेस्ट बनाउन थालेका थिए। भूकम्प, नाकाबन्दी, कोरोना जस्ता समयमा स्वदेशी उत्पादनको बजार विस्तार भयो। यसकै प्रभाव फेमिलियरको अदुवा-लसुन पेस्टमा पनि पर्यो। फेमिलियरले अदुवा पिस्दा निस्केको रसबाट स्याम्पू बनाउँछ।
यसरी सुरू भएको काममा बिहेपछि राधिका जोडिएकी हुन्। पहिल्यैदेखि रूचि भएकाले उनले व्यवसाय हेर्न थालिन्। उनले व्यवसाय हेर्न थाल्दा दैनिक सय किलो पेस्ट उत्पादन हुन्थ्यो। अहिले तीन सय किलो तयार हुन्छ।
'पेस्टको उत्पादन र बजारले हामी खुसी छौं। किसान पनि खुसी छन्,' राधिकाले भनिन्, 'हामीसँगै किसानहरूले पनि उत्पादन बढाएका छन्।'
उत्पादन बढाउन राधिका हरेक दिन बजारबारे जानकारी लिन्छिन्। नेपालमा आयात हुने विदेशी ब्रान्ड खोजी गर्छिन्। गुणस्तर बढाउन अध्ययन गरिरहन्छिन्। उनका अनुसार अहिले नेपाली उत्पादनका प्रयोगकर्ता बढेका छन्। कम्पनीले वार्षिक सरदर चार करोड रूपैयाँ बराबरको कारोबार गरिरहेको उनले बताइन्।
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)