कुनै समय थियो, नेपालमा छालाको जुत्ता उत्पादन गर्न 'बाँसबारी छालाजुत्ता कारखाना' बाहेक अन्य उद्योग थिएनन्। बजारमा छालाको सामान भन्नु विदेशबाट आयातित मात्र हुन्थ्यो।
छालाका उत्पादनमा विभिन्न प्रकारका झोला, ज्याकेट, पेटीलगायत सामग्री हुन्छन्। कपडाको तुलनामा छालाको उत्पादन महँगो पर्छ।
त्यो बेला बाँसबारी कारखानाले भने जुत्ता मात्र उत्पादन गर्थ्यो। छालाको सामानका पारखीहरू आयातितमा भर पर्नु पर्थ्यो।
२०३६ सालतिर भक्तपुरका वीरमणि बज्राचार्य काठमाडौंको न्युरोडमा साझेदारीमा 'ह्युमनफिट टेलर' नाममा टेलरिङ व्यवसाय चलाउँथे। छालाको ज्याकेट मर्मतको काम गर्थे। यो टेलर अहिले जमलमा छ। ह्युमनफिट सुरू गर्नुअघि वीरमणिले करिब एक दशक सर्टिङ–सुटिङमा सिलाइको काम गरेका थिए।
ज्याकेट मर्मत काममा वीरमणिले आयातित सामानमा व्यापारीले एकाधिकार र चर्को मूल्य लिने गरेको भेउ पाए।
'नेपालमा छालाका वस्तु उत्पादन नहुँदा आयातमा निर्भर हुनु पर्थ्यो। त्यसको फाइदा व्यापारीहरूले उठाए। उनीहरूको प्रवृत्ति मलाई चित्त बुझेको थिएन,' उनले भने।
अनि वीरमणि छालाका वस्तु उत्पादनमा लागे। कपडा सिलाइबाट अघि बढेका उनी छालाकै उत्पादनमा केन्द्रित भए। अनि ह्युमनफिट नाममै छालाका वस्तु उत्पादन गर्न थाले।
यो करिब ४० वर्षअघिको कुरा हो।
अहिले ह्युमनफिटको मुख्य कारखाना क्षेत्रपाटीमा छ। उपत्यकाभित्र जमल, पकनाजोल र झम्सिखेलमा पसल छ भने पोखरा र धनगढीमा पनि छन्।
वीरमणिका अनुसार ह्युमनफिटले भेडा, गाई, भैँसी र बाख्राको छालाबाट ज्याकेट, झोला, पर्स, पेटी, की–होल्डर, कोस्टर इत्यादि उत्पादन गर्छ।
ह्युमनफिटले २०४० सालमा छालाका वस्तुको उत्पादन सुरू गरेको हो।
वीरमणिका अनुसार नेपालमा छालाको ज्याकेट उत्पादन गर्ने पहिलो स्वदेशी कम्पनी ह्युमनफिट नै हो।
छालाको ज्याकेट उत्पादनमा लाग्नुको मुख्य पृष्ठभूमि सुनाए उनले।
२०३७ सालमा नेपालमा दोस्रो 'राष्ट्रिय औद्योगिक प्रदर्शनी' को तयारी हुँदै थियो। त्यस बेला बाँसबारी छालाजुत्ता कारखानाका महाप्रबन्धक थिए देवेन्द्रबहादुर शाह। उनले राजा वीरेन्द्रसँग छालाजुत्ता कारखानाले छालाको ज्याकेट पनि उत्पादन गर्ने कुरा गरेछन्।
'औद्योगिक प्रदर्शनीमा नेपालमा उत्पादित छालाको ज्याकेट पनि राख्ने योजना बनेछ। अनि छालाको ज्याकेट बनाउने नेपाली उद्यमीको खोजी भएछ,' वीरमणिले भने, 'मेरा एक जना ग्राहक इञ्जिनियर मदन मोहन श्रेष्ठले मलाई यसबारे सुनाउनुभयो।'
छालाको ज्याकेट बनाउने अनुभव त थिएन तर मर्मतबाटै पनि वीरमणिले सिप हासिल गरेका थिए। मदन र महाप्रबन्धक शाहबीच घनिष्ट सम्बन्ध थियो।
'मदनलाई म प्रयास गर्छु भनेँ। उहाँले देवेन्द्रसँग चिनाइदिनुभयो,' वीरमणिले भने, 'पहिलो भेटमै ज्याकेट बनाउनेबारे मौखिक सम्झौता भयो।'
महाप्रबन्धक शाहले आवश्यक छाला उपलब्ध गराइदिए। वीरमणिका लागि निकै ठूलो हाँक आइलाग्यो। उनले प्रदर्शनीका लागि दस वटा डिजाइनमा ज्याकेट तयार गरे।
उनले भने, 'मैले बनाएका सबै डिजाइनका ज्याकेट प्रदर्शनीमा राख्यौं। नेपाली उद्यमीले नेपालमै बनाएको छालाको ज्याकेट भनेपछि धेरैको ध्यान तानियो।'
वीरमणिका अनुसार प्रदर्शनीमा राजा वीरेन्द्र पनि पुगे। उनलाई ज्याकेट खुब मन पर्यो। ज्याकेटकै कारण बाँसबारी छालाजुत्ता कारखानाले स्वर्ण पदक पायो।
'मैले कारखानाका लागि काम गरेको हुनाले कारखानाले नै स्वर्ण पदक पायो,' वीरमणिले भने, 'त्यसै वर्षदेखि बाँसबारी छालाजुत्ता कारखानाले छालाको ज्याकेट पनि बनाउने भयो।'
महाप्रबन्धक शाहले वीरमणिसँग छलफल गरे। उनले बाँसबारी छालाजुत्ता कारखाना र ह्युमनफिट मिलेर ज्याकेट र अन्य सामग्री उत्पादन गर्ने प्रस्ताव राखे। वीरमणिका लागि त्यो निकै ठूलो अवसर थियो। तर ह्युमनफिट साझेदारीमा चलेको थियो, अर्का साथीले मानेनन्।
शाहको प्रस्तावअनुसार काम नहुने भयो।
साझेदारले छालाजुत्ता कारखानाको प्रस्ताव अस्वीकार गरेपछि वीरमणिले नोक्सान भएको अनुभव गरे। उनलाई कारखानाबाटै प्रशिक्षणका लागि विदेश पठाउने पनि कुरा थियो तर जान नपाएको उनले बताए।
साझेदारको व्यवहारबाट उनी असन्तुष्ट भए। अन्ततः उनले साझेदारी नै तोडिदिए।
ह्युमनफिट टेलर २०३५ सालदेखि नै चलेको थियो। त्यही टेलर २०३६ मा साझेदारीमा १० हजार रूपैयाँमा किनेका थिए। साझेदारलाई ५० हजार रूपैयाँ दिएर वीरमणिले ह्युमनफिट आफ्नो बनाए। यसपछि उनले टेलरमै छालाको ज्याकेट बनाउन थाले। छाला बाँसबारी कारखानाबाटै लिए। ज्याकेट बिक्रीमा राखे तर ग्राहकले सजिलै पत्याएनन्।
'नेपालमै उत्पादन भएको भन्दा ग्राहकहरू विश्वास गर्दैनथे। गरिहाले पनि गुणस्तरमा प्रश्न उठाउँथे,' उनले भने, 'त्यस बेला विदेशी ब्रान्ड मात्रै चलेका थिए। नेपाली उत्पादनमा विश्वास दिलाउन लामो समय लाग्यो।'
निरूत्साहित नभई वीरमणिले आफ्नो कामलाई निरन्तरता दिए। परिणाम राम्रो देखिँदै गयो। २०४४ सालमा ह्युमनफिट नाममै छालाका सामान उत्पादन गर्ने कारखाना खोले। छाला भारतबाट ल्याउँथे।
त्यसयता ह्युमनफिटले छालाका सामानको नेपाली बजारमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ। हाल कारखाना र पसलहरूमा गरी सय जना भन्दाबढी मजदुर र कर्मचारीहरू छन्।
वीरमणि आफैं पनि दैनिक करिब १० घन्टा यसमै खट्छन्। बिहान ९ बजे नै क्षेत्रपाटीस्थित कारखाना पुग्छन्। ग्राहकको शरीरको नाप लिने, डिजाइन गर्ने र सिलाउने काममा उनको लामो अनुभव छ।
भन्छन्, 'व्यवसायीले कहिल्यै अवकाश लिँदैन। म सबै डिजाइन आफैं बनाउँछु। मेरो काम हस्तान्तरण गर्न योग्य व्यक्ति भेटेको छैन।'
वीरमणिलाई उनका दुई छोरा, विपिन र विक्कीले सघाउँछन्। जेठो विपिन बजार व्यवस्थापन सम्हाल्छन्। कान्छो विक्की कारखानाको काम हेर्छन्। यसरी ह्युमनफिट बज्राचार्य परिवारको पारिवारिक व्यवसाय बनेको छ।
विपिनले पनि यही कामलाई निरन्तरता दिने योजना बुनेका छन्। सानैदेखि बुबाको काम देख्दै जाँदा विस्तारै उनी आफैं यसमा आबद्ध भएका हुन्।
करिब २० वर्षदेखि ह्युमनफिटमै रहेका ३८ वर्षीय विपिनले भने, 'अहिले अर्को योजना छैन। यही कामलाई निरन्तरता दिन्छु।'
उनका अनुसार ह्युमनफिटका उत्पादन ग्राहकको रोजाइमा छन्। तीस–चालीस वर्षअघिदेखिका ग्राहकहरू छन्। नयाँ पुस्ताका ग्राहकमाझ पनि ह्युमनफिटको उत्पादन प्रिय बन्दैछ। ग्राहकहरूको प्रतिक्रिया सकारात्मक छ।
ह्युमनफिटले आफ्नो ब्रान्डको गुणस्तरमा जोड दिने र ग्राहक पनि त्यसमा विश्वस्त हुने विपीनले बताए।
बजारमा छालाका सामग्रीको माग निकै राम्रो छ। तैपनि कतिपय व्यवसायीले विकृति भित्र्याएको विपिनको भनाइ छ।
भन्छन्, 'केही व्यवसायी सेवामा भन्दा ठगी धन्दामा लागेका छन्। रेग्जिनलाई शुद्ध छाला भनेर सामान बेचिरहेका छन्।'
छालाका सामान किन्दा सचेत रहन र चिनेर मात्रै किन्न विपिन सल्लाह दिन्छन्। शुद्ध छाला सजिलै चिनिन्छ। रेग्जिनको गन्ध प्लास्टिकको जस्तै हुन्छ। शुद्ध छालाको गन्ध जीवित प्राणीको जस्तो हुन्छ। शुद्ध छालामा चाँडै आगो सल्किँदैन तर रेग्जिन तुरून्तै सल्किन्छ। शुद्ध छालाको बहिरी सतह खस्रो हुन्छ। रेग्जिन चिल्लो हुन्छ।
छालाको सामान खरिद गर्दा मर्मतको सुविधाबारे जानकारी लिन पनि विपिनको सल्लाह छ। रेग्जिनको तुलनामा शुद्ध छालाको उत्पादन महँगो हुन्छ। ह्युमनफिटमा छालाको ज्याकेट सस्तोमा पनि कम्तीमा १५ हजार रूपैयाँ छ। पर्स र झोलाको भाउ डिजाइन र आकारअनुसार कम्तीमा दुई हजार रूपैयाँ पर्छ। विपिनका अनुसार जतन गरेर चलाउनेका लागि छालाको सामान धेरै वर्ष टिक्छ। ह्युमनफिटले ग्राहकले दिएको डिजाइनअनुसार पनि उत्पादन गर्छ।
त्यस्तै कम्पनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीहरूमा सहभागी हुने गरेको छ। राष्ट्रियस्तरको पुरस्कार पनि पाएको छ। ह्युमनफिटले आफ्नो उत्पादन सिंगापुर, हङकङ, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका मुलुकमा निर्यात पनि गर्छ।
विपिनका अनुसार ह्युमनफिटले औसतमा वार्षिक चार करोड रूपैयाँको कारोबार गर्ने गरेको छ। मासिक करिब एक हजार ग्राहकलाई सेवा पुर्याउँछ।
सामग्री खरिदपछि ग्राहकले पाउने सुविधाका कारण पनि ह्युमनफिट धेरैको रोजाइमा परेको उनको भनाइ छ। ग्राहकहरूले अनलाइन अर्डरबाट पनि किन्न सकिन्छ।
ह्युमनफिटका संस्थापक वीरमणि ग्राहकले सामान किन्दा ध्यान दिनपर्ने बताउँछन्। व्यवसायीबारे पनि बुझ्नुपर्छ। व्यवसायी नियमित रूपमा राजस्व बुझाएको छ कि छैन भन्ने कुरा ग्राहकले थाहा पाउनु पर्ने उनको भनाइ छ।
'अवैध रूपमा आयातित सामग्रीले बजार व्यवस्थापनमा समस्या पार्छ। कुन व्यापारीबाट कस्तो सामान किन्दैछु भन्ने कुरामा सतर्क हुन जरुरी छ,' वीरमणि भन्छन्, 'ग्राहक सचेत भए भने स्वदेशी उत्पादन प्रवर्द्धनमा पुग्छ।'
सरकारले नेपाली उद्यमीलाई प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ। यसो गर्ने हो भने नयाँ पुस्ताका व्यवसायीहरू स्वदेशमै उद्यम गर्न उत्साहित हुन्छन्। आफ्नो जीवनको अधिकांश समय सिलाइ र डिजाइनमा लगाएका वीरमणि शरीरले साथ दिएसम्म काम गर्ने बताउँछन्। अनि ह्युमनफिटलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन चाहन्छन्।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
(ह्युमनफिटको वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्)