सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
हामीमध्ये धेरैजसो टलक्क टल्किने सेता चामल खोजिरहेका हुन्छौं। हरिया केराउका दाना रोज्छौं। तर टिलिक्क देखिने सबै खानेकुरा स्वस्थकर हुँदैनन्।
हाम्रा गाउँठाउँमा भने स्वस्थकर अर्गानिक खानेकुरा फल्छन्। रङ नहालिएको, धेरै विषादी नमिसिएको। ती खानेकुरा काठमाडौंबासीले खान पाउने बेलामौकामा गाउँघरतिर पुग्दा मात्रै हो।
यही अवस्थालाई मध्यनजर गर्दै 'आजु फुड्स' ले स्थानीय रैथाने खानेकुरा काठमाडौंलाई खुवाउन सुरू गरेको छ। आजु फुड्सले गत मंसिरदेखि काठमाडौंबासीलाई स्थानीय खाद्यान्न चखाइरहेको हो।
सुरूमा बालाजुमा पसल खोलेको आजुले अहिले चार ठाउँमा पसल विस्तार गरिसकेको छ। बालाजुबाहेक स्वयम्भु, कमलादी र ललितपुरको भनिमण्डलमा यसका पसल छन्। यीमध्ये दुई ठाउँमा कम्पनीको आफ्नै लगानी छ। अरू दुई ठाउँमा लगानी छुट्टै व्यक्तिको छ, कम्पनीले वितरकको काम मात्रै गरिरहेको छ।
'दुइटा पसल लगानीकर्ताले आफ्नै व्यवस्थापनमा चलाउनु हुन्छ। हामीले उहाँहरूलाई होलसेल मूल्यमा सामान उपलब्ध गराउँछौं,' आजु फुड्सका सञ्चालक यादव देवकोटाले सेतोपाटीसँग भने।
स्वास्थ्यमा प्रतिकूल असर पार्ने चर्को विषादी प्रयोग गरिएका खाद्यान्न उपभोग गर्न बाध्य सहरबासीको अवस्थालाई मध्यनजर गर्दै आजु फुड्स सुरू गरिएको उनी बताउँछन्।
आजुले विशेष गरी कर्णालीमा उत्पादित रैथाने खाद्यान्न ल्याउँछ। जुम्लाको सिमीको दाल, मार्सी चामल, बोडी, कागुनो, चिनो, फपर, जौ, कालीकोटको सेतो मकै, जाजरकोटको भटमास, मस्याम (मास), गहत, सल्यानको मासको दाल, पिँडालु, अदुवा, दैलेखको अप्रशोधित मह, रोल्पाको भाङ, म्याग्दीको सिलाम, सिस्नो र अमलाको धूलो यहाँ पाइन्छ।
त्यस्तै मुस्ताङको जिम्बु, पोखरेली जेठोबुढो चामल, कपिलवस्तुको कालानमक चामल, गोरखाको इन्द्रबेली धानको चामल, अनदी चामल, भैंसीको घ्यु, बेसार, सातु, रामेछापको भटमास, सर्लाहीको बेसार, रहरको दाल, चितवन माडीको आलस, खोकनाको कोलमा पेलेको तोरी तेल, इलामको गाईको घ्यु, सोलुको सेतोसिमी जस्ता थुप्रै दैनिक उपभोग्य रैथाने खाद्यान्न कम्पनीले उपभोक्तासम्म ल्याउने गरेको सञ्चालक देवकोटाले बताए।
आजु फुड्सले एक सिजनमा स्थानीय फलफूल र कन्दमुल पनि बिक्री गरेको थियो। जुम्लाको स्याउ सल्यान र गोरखाको पिँडालु काठमाडौंबासीलाई चखायो। सिजन सकिएपछि ल्याएको छैन।
'हामीसँग कोल्डस्टोर छैन जसले गर्दा तरकारी, फलफूल र कन्दमुल ल्याउन समस्या छ। यहाँका कोल्डस्टोरसँग समन्वय गर्न सकिन्छ कि भन्ने सोच छ,' देवकोटाले भने।
आजुले खाद्यान्नको ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ टेकु, शुक्रपथमा रहेको गोदाममा गर्छ। ग्रेडिङमा खाद्यान्न निफन्ने, केलाउने, दालजन्य पदार्थ पिस्ने लगायत काम हुन्छ। त्यसपछि प्याकेजिङ गरिन्छ र लोगो टाँसेर पसलसम्म पुर्याइन्छ। वितरकका रूपमा अन्य पसलहरूमा पनि कम्पनीले सामान पुर्याउँछ। कम्पनीले खुद्रा र थोक दुबै मूल्यमा उपभोक्तासम्म किसानका उत्पादन पुर्याउँदै आएको देवकोटाले जानकारी दिए।
'दालजन्य पदार्थ पिस्न सानो हाते मेसिन छ। त्यसले जाँतोमा पिँधेको जस्तो दाल हुन्छ। मेसिनले बनाएजस्तो एकै आकारको भने हुँदैन,' उनले भने।
जुम्लाबाट धान ल्याउँदा सुर्खेतमा कुटी चामल बनाएर ल्याइने उनले बताए। दाल र गेडागुडीमा पनि ढुंगामाटो हुन्छ, त्यो केलाउने र कुहिएको छान्ने काम गोदाममा हुन्छ। यस्तो काममा एकै पटक धेरै सामान ल्याउँदा १२ जनाले डेढ महिना रोजगारी पाएको उनको भनाइ छ।
'हामी पनि यिनै खाद्यान्न खान्छौं। जे हामीलाई खान ठीक लाग्दैन, त्यस्तो हामी बेच्दैनौं। गुणस्तरीय मात्र बिक्री गर्छौं। यसका लागि दुई/तीन जनाले ग्रेडिङ गर्नुहुन्छ,' उनले भने।
उनका अनुसार निफन्ने, केलाउने जस्ता काम गर्ने मान्छे पाउन अचेल मुस्किल हुन्छ। काम सधैं हुने पनि होइन। घरको काम सकेर फुर्सद निस्किनेहरू यो काममा जोडिन्छन्।
चर्को मूल्य तिरेर पनि स्वस्थकर खाद्यान्न नपाउने उपभोक्ताका लागि आजु फुड्सले स्वस्थ, ताजा र गुणस्तरीय खाद्यान्न सस्तोमा बिक्री गरिरहेको सञ्चालक देवकोटाको दावी छ। ठूलो परिमाणमा खाद्यान्न ल्याउने र थोक मूल्यमा पनि बिक्री गर्ने भएकाले अन्तभन्दा किलोमा दस रूपैयाँ जति सस्तो पर्ने उनी बताउँछन्।
आजुले मार्सी चामल एक किलो दुई सय रूपैयाँमा उपलब्ध गराउँछ। बेसार पाँच सय, मासको दाल तीन सय बीस र सिमीको दालको मूल्य तीन सय रूपैयाँ किलो पर्छ।
अहिले आजुले लोकल कुखुरा र हाँसको अन्डा पनि बेचिरहेको छ। कुखुराको अन्ड क्रेटको सात सय पचास र हाँसको आठ सय रूपैयाँमा पाइन्छ। कम्पनीले मासिक चार लाख रूपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरिरहेको देवकोटाले बताए।
तुलनात्मक रूपमा गाउँघरबाट ल्याइएको खाद्यान्न केही महँगो पर्ने उनी बताउँछन्। परम्परागत उत्पादन प्रक्रिया, लागत, ढुवानी खर्च जस्ता कारणले महँगो पर्छ। तर पछिल्लो समय मानिसहरूमा सचेतना बढेकाले केही महँगो परे पनि राम्रो माग भइरहेको उनको भनाइ छ।
'ट्र्याक्टरले जोतेर, मेसिनले काटेर गाडीमा ल्याउने चामल र जुम्लाबाट खच्चरलाई बोकाएर ल्याएको मार्सीको मूल्य फरक भइ नै हाल्छ,' उनी भन्छन्, 'तर स्वास्थ्यका दृष्टिकोणले सस्तो पर्छ।'
आजुले देशभरका किसानसँग प्रत्यक्ष जोडिएर खाद्य संकलन गर्दै आएको छ। ठाउँठाउँमा किसानकै सञ्जाल स्थापना गरिएको देवकोटा बताउँछन्। बिचौलियाका कारण किसान र उपभोक्ता मारमा नपरून् भनेर किसानसँगै प्रत्यक्ष जोडिएर काम गरिरहेको उनको भनाइ छ।
गोरखाका देवकोटा विभिन्न कामको सिलसिलामा ६६ जिल्ला पुगिसकेका छन्। यो क्रममा स्थानीय रैथाने खाद्यान्नले सहज रूपमा बजार नपाएको देखे। पाइहाले पनि बिचौलियामार्फत जानुपर्ने अवस्था भेटेपछि उनले यसमा अध्ययन पनि गरेको बताए।
'मैले गोरखाको घ्यालचोक र सर्लाहीको लालबन्दीमा अध्ययन गरेँ। घ्यालचोकमा बन्दागोभी र लालबन्दीमा गोलभेँडामाथि बिचौलियाले कसरी रजगज गरिरहेका छन् भन्ने अध्ययन गरेको थिएँ,' उनले भने।
त्यति बेलैदेखि उनले किसानले कसरी उत्पादनको मूल्य पाउन सक्लान् भन्ने सोचिरहेका थिए। किसानको सहकारी बनाउने र उत्पादित सामानको मूल्य उनीहरूकै समूहले मूल्य निर्धारण गर्ने योजना उनको थियो।
'वर्षभरि लगाएर किसानले उत्पादन गर्ने तर बिचौलियाले धेरै पैसा पाउने प्रथाको म विरोधी हुँ। मैले किसानले निर्धारण गरेकै मूल्यमा किनेर बेचिरहेको छु,' उनले दावी गरे।
उनले उदाहरण दिए- जाजरकोटका किसानले भटमास बेच्दा प्रतिकिलो ४५ रूपैयाँ पाइरहेका थिए। बिचौलियामार्फत कोहलपुर पुग्दा एक सय दस रूपैयाँ पर्थ्यो। उपभोक्ता र किसान दुबै मारमा परेको देखेपछि किसानले तोकेकै, किलोको ८२ रूपैयाँमा उनले किनिरहेका छन्। काठमाडौंसम्म ल्याउँदा भने कालो सानो भटमास प्रतिकिलो एक सय ५०, सेतो दुई सय २५ र खैरो दुई सय ५० रूपैयाँ पर्छ।
'हेर्दा ८० रूपैयाँमा ल्याएर दुई सय ५० मा बेच्यो भन्ने हुन्छ। तर ग्रेडिङका क्रममा खेर जान्छ। ढुवानी, कर्मचारी खर्च, प्याकेजिङ सबै गर्दा किलोमा १५ देखि २० रूपैयाँ मात्र नाफा बस्छ,' उनले भने।
ठूलो परिमाणमा बिक्री गर्न सके त्यति फाइदा राख्नु नपर्ने उनी बताउँछन्। यसबाट किसान र उपभोक्ताबीच आजु पुल बन्ने विश्वास उनको छ।
सुरूआती पुँजी पाँच लाख रूपैयाँ रहेको आजुको पुँजी अहिले ५० लाख नाघिसकेको छ। दुई वर्षभित्र काठमाडौं, ललितपुर र भक्तपुरमा आधा दर्जन पसल विस्तार गर्ने योजना छ। बाक्लो बस्ती र स्थानीय खाद्यान्नको माग हुने स्थान हेरेर पसल खोलिने उनले बताए।
कम्पनीले अनलाइन बजार दराजमार्फत पनि खाद्यान्न, गेडागुडी तथा दालजन्य पदार्थ बिक्री गर्दै आएको छ। आजुको आफ्नै सामाजिक सञ्जालबाट पनि ग्राहक जोडिन्छन्। ग्राहकको प्रतिक्रिया र मागका आधारमा व्यवसाय परिमार्जन गर्दै लैजाने योजना आजुको छ।
आजुले बेच्नेमध्ये सबभन्दा बढी माग जुम्लाको सेतो मकैको पिठोको छ। रोटी र ढिँडो खान यसको माग धेरै हुने देवकोटाले जानकारी दिए। त्यस्तै दालजन्य पदार्थको माग पनि धेरै छ। कर्णालीको सेतो मकैको पिठो हेर्दा सेतो चामलको जस्तो देखिन्छ। खाँदा गनाउँदैन पनि।
कम्पनीले पछिल्ला तीन महिनामा चार सय किलोभन्दा बढी यो पिठो बेचिसकेको छ। तर यो व्यवसाय सहज नभएको उनी बताउँछन्।
'ढुवानीको समस्या छ। चर्को शुल्क तिर्दा पनि भनेका बेला साधन पाइँदैन,' उनी भन्छन्, 'बिकट ठाउँबाट त बाढी पहिरो, हिउँसँग जुधेर सामान ल्याउनुपर्छ।'
पछिल्लो समय अर्गानिकका नाममा भारत तथा चीनबाट ल्याएका खाद्यान्न बिक्री गर्ने प्रवृत्तिले पनि समस्या निम्तिएको उनले बताए। उपभोक्तासम्म साँच्चै अर्गानिक सामान पुर्याऊँ भन्नेहरूलाई यसले हतोत्साहित गरेको उनी बताउँछन्। यसमा सम्बन्धित निकायले अनुगमन गर्न आवश्यक भएको उनले औंल्याए।
आजु भनेको नेपाल भाषामा भैरव हुन्।
कम्पनीको नाम आजु राख्नुको कारण खुलाउँदै देवकोटाले भने, 'भैरवले खाएजति खानेकुरा पचाउन सक्नुहुन्छ भन्ने मान्यता छ। आजु नाम हामीले यसै अधारमा राखेका हौं। यो खाँदा स्वास्थ्यलाई कुनै असर गर्दैन र पाचन शक्तिमा असर पुर्याउँदैन भन्ने अर्थ दिन खोजिएको हो।'
(आजु फुड्सको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८५१०१८६६०)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)