सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
काँधमा सजिलै बोक्न मिल्ने, धुन सजिलो हुने कपडाका झोला, अर्थात् टोट ब्याग युवापुस्ताको रोजाइमा पर्छ। कपडाको झोला प्लास्टिकजस्तो वातावरणका लागि हानिकारक हुँदैन। सामानहरू मजाले धान्छ। हेर्दा स्टाइलिस देखिन्छ।
अनि सस्तो पनि पर्ने!
यस्तै टोट ब्यागको आइडिया लिएर सात जना साथीहरूले सञ्चालन गरेको झोला कम्पनी हो– 'काइजेन'।
नेपाली कपडाले बन्ने स्वदेशी ब्रान्डको यो नाम भने जापानी शब्दबाट राखिएको हो। काइजेनको अर्थ अझ सुधार गर्नु वा राम्रोका लागि परिवर्तन भन्ने हुन्छ।
काइजेनका सञ्चालकहरूको उद्देश्य पनि यही हो।
२३ देखि २४ वर्षका जागिरे युवाहरू ज्यास्मिन श्रेष्ठ, सौरभ श्रेष्ठ, मणि श्रेष्ठ, मिता कँडेल, बिभा जोशी, रियाज नकर्मी र सुमित शाक्य मिलेर यो कम्पनी सुरू गरेका हुन्। उनीहरू सबै स्कुलदेखि कलेजसम्म पढेका साथी हुन्। बाल्यकालदेखिको मित्रता छँदै थियो, अहिले उनीहरू बिजनेस पार्टनर्स पनि भएका छन्।
हाल काइजेनमा १३ फरक डिजाइनका टोट ब्याग पाइन्छ। कुनै दुवै काँधमा भिर्ने त कुनै एकातिर कुममा अड्याउने। यी झोलाका डिजाइन र रङका आधारमा आ–आफ्नै नाम पनि छ– ब्लस ब्यान्ड्स, कारमाइन वेब्स, लेलामा, काप्सा वाकान्डा ब्ल्याक, मिडो पिंक, माया, अट्लान्टिस ब्लु, इथेरियल ग्रिन, वोभन फाइर्अ, सिनिस्टर एड्ज, पिच र अज्योर।
'यसरी नाम दिनुको कारण ग्राहकले कुन झोला कति मनपराए भनेर सजिलै थाहा पाउनु हो,' सञ्चालकहरू भन्छन्।
काइजेन गत वर्ष अगस्टतिर सञ्चालन भएको हो। त्यो बेला भर्खरै लकडाउन सकिएको थियो। खासमा यो ब्रान्डको आइडिया नै लकडाउनले नै ल्याएको थियो।
'हामी सात जना साथीहरू जो जहाँ व्यस्त भए पनि भेट्न प्रायः समय मिलाइरहन्थ्यौं,' काइजेनका सह–सञ्चालक सौरभ भन्छन्, 'धेरैजसो हाम्रो भेट बास्केटबल खेल्ने ठाउँमा हुन्थ्यो। त्यही बेला लकडाउन भयो। हामी बास्केटबल खेल्न भने भेटिरहन्थ्यौं। खेल्दै कुराकानी क्रममा हामीलाई टोट ब्यागको आइडिया फुरेको हो।'
सुरूमा यी सबै साथीलाई सँगै व्यवसाय गर्ने कुनै सोच थिएन। मणि भने मिलेर सानोतिनो भए पनि व्यवसाय गर्नुपर्छ भनिरहन्थे। लकडाउनको खाली समयमा भने सबैले यसबारे बल्ल विचार दिन थाले।
उनीहरूले सुरूमै टोट ब्याग उत्पादन गर्ने योजना भने बनाएका थिएनन्। आ–आफ्नो व्यवसाय योजना सुनाउँदै गर्दा बिभा जोशीको टोट ब्याग बनाउने आइडिया सबैलाई चित्त बुझेको हो।
'हामीलाई उपभोक्ताले बढी खोज्ने सामान बनाउने इच्छा थियो। अहिले टोट ब्याग ट्रेन्डमा भएकाले यसैमा ध्यान दियौं,' मणिले भने, 'सुरूमा त टोट ब्याग किनेर प्रिन्ट मात्र गर्ने सोचेका थियौं। तर बजार बुझ्न जाँदा गुणस्तरीय नेपाली कपडा भेटियो। यता प्रिन्टको काम पनि चित्त बुझेन। अनि आफैं राम्रो टोट ब्याग उत्पादन गर्ने निधो गरेका हौं।'
कोही इञ्जिनियरिङ, कोही चिकित्सा त कोही कला क्षेत्रमा अध्ययन गरिरहेका काइजेनका सञ्चालकमध्ये कसैलाई पनि फेसन र व्यवसायबारे केही ज्ञान थिएन। त्यसैले उनीहरूले इन्टरनेटमा टोट ब्यागका बनावट र डिजाइनहरू खोजे। त्यसमध्ये उनीहरूलाई थैलीजस्तै आकार भएको टोट ब्याग मनपर्यो।
नेपालीहरू थैलीसँग परिचित भएकाले उनीहरूले यसमै डिजाइन दिएर टोट ब्याग बनाउने भए। अनि सिलाइको काम जानेका आफन्तलाई झोला बनाउन दिए।
'हामीले अर्डर धेरै आउला भन्ने अपेक्षा गरेकै थिएनौं,' सौरभले भने, 'त्यसैले आफ्नै आमा, ठूलीआमा, आन्टीहरूको सहयोगमा थोरै टोट ब्याग बनायौं।'
उनीहरूले ती झोलाका फोटो इन्स्टाग्राममा राखे। अर्डर सोचेभन्दा बढी आइदियो। लकडाउन सकिएपछि त आफन्तले सिलाएर नभ्याउने भए। अनि एउटा टेलर पसललाई सिलाइको जिम्मा दिएको सौरभले जानकारी दिए।
काइजेनका जुनकुनै झोलाको मूल्य एक हजार रूपैयाँ मात्र हो। विभिन्न डिजाइनमध्ये सबभन्दा धेरै वाकान्डा ब्ल्याक बिक्छ। यो झोला चर्चित हलिउड फिल्म 'ब्ल्याक प्यान्थर' का अभिनेताको भूमिकाको नाममा राखिएको हो।
'हामीले बनाएका झोला हेर्दा राम्रा र बलिया पनि छन्। ग्राहकले निकै मनपराउनुभएको छ,' काइजेनका सञ्चालकहरू भन्छन्, 'हाम्रो एक जना ग्राहकले नै सात वटासम्म झोला किन्नुभएको छ।'
झोलाको माग काठमाडौं उपत्यका र बाहिरी जिल्ला विराटनगर, पोखरा, बुटवल लगायतबाट पनि आइरहेको छ।
सात जना सञ्चालक हरेकले सात हजार रूपैयाँ लगानी गरेर काइजेन सुरू गरेका थिए, जम्मा ४९ हजार रूपैयाँमा। अहिले झोला बिक्री गरेरै महिनामा ८० हजार रूपैयाँभन्दा बढी कमाइ हुने उनीहरू बताउँछन्। यो पैसामध्ये ३० प्रतिशत सात जनाले बाँडफाँट गर्छन्। बाँकी ७० प्रतिशत उत्पादनमै लगानी गरिने काइजेनका अर्का सञ्चालक मणिले जानकारी दिए।
काइजेनका सबै सञ्चालक पढाइसँगै जागिर पनि गरिरहेका छन्। एउटै व्यवसायमा धेरै सञ्चालक हुँदा एकअर्काबीच खटपट हुन सक्छ। तर हालसम्म व्यवसायकै कारण मनमुटाव हुने अवस्था नभएको उनले बताए।
'हामी सात साथी मिलेर काम गरेको सुन्दा धेरै जना छक्क पर्छन्,' उनले भने, 'धेरै साझेदार भएपछि केही कुरा नमिल्न सक्छ। तर हामीबीच काइजेनको कुरामा झगडा भएको छैन। सबैले आफ्नो क्षमताअनुसार काम गरिरहेका हुन्छन्। जसको समय मिल्छ उसले काम गरिहाल्ने चलन छ।'
बरू काइजेनकै कारण आफूहरूले व्यवसायबारे धेरै कुरा सिक्न पाएको यी युवाहरू बताउँछन्।
'यो कामबाट हामीले नेपाली व्यवसाय र बजार कसरी चल्छ भनेर थाहा पाएका छौं,' मणिले भने, 'थोरै लगानीमा पनि व्यवसाय गर्न सकिँदो रहेछ। तर यसका लागि समय र धैर्य चाहिन्छ। मुख्यगरी यस्तो काम गर्दा कसैको समर्थन चाहिँदो रहेछ, जुन हामी सात जना साथीले एकअर्काबाट पायौं, पाइरहेका छौं।'
उनीहरू अब टोट ब्यागका नयाँ डिजाइन र अरू नयाँ सामान उत्पादन गर्ने सोचमा छन्। यी उत्पादनका लागि साना सिलाइबुनाइ गर्ने व्यवसायीलाई जिम्मा दिने योजना छ।
'हामीलाई आफ्नो स्वदेशी उत्पादन वृद्धि गर्न यहीँका स्थानीय जनशक्ति जरूरी हुन्छ,' उनीहरू भन्छन्, 'यसले नेपाली ब्रान्डसँगै साना कर्मचारीलाई पनि मद्दत पुग्छ। यो काममा हामी अगाडि बढिरहेका छौं, अब पछि हट्दैनौं।'
(काइजेनको फेसबुक पेज रइन्स्टाग्राम पेजका लागि यहाँ क्लिक गर्नुहोस्।)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)